विद्यार्थी परीक्षामुखी सामग्रीमा मात्र केन्दित रहँदा उनीहरूको क्षमता विकास हुन नसकेको निचोडसहित शिक्षा मन्त्रालयले गेसपेपरलाई पूर्ण रूपमा प्रतिबन्ध लगाई
कारबाही प्रक्रिया सुरु गरेको छ । पाठ्यपुस्तक पढ्नेको संख्या वार्षिक रूपमा घट्दै गएकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म गेसपेपरलाई आगामी वैशाखदेखि प्रतिबन्ध लगाइएको शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले बताए । ‘विद्यार्थीले पाठ्यपुस्तक पढ्ने क्रम वार्षिक रूपमा घट्दै गएको र शैक्षिक गुणस्तरमा सुधार गर्न गेसपेपरलाई पूर्णरूपमा प्रतिबन्ध लगाएका हौं,’ सहसचिव शर्माले राजधानीसँग भने । मन्त्रालयको यो निर्णयअनुसार अब उपत्यकालगायत मुलुकभरका कुनै पनि प्रकाशन गृहले गेसपेपर छपाइ गर्न पाउने छैनन् भने व्यवसायीले पनि बिक्री–वितरण गर्न पाउँदैनन् ।
कक्षा १० देखि विश्व विद्यालय तहसम्मका गेसपेपर छपाइमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय मन्त्रालयले गरेकोे सहसचिव शर्माले बताए । यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न मुलुकभरका सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । नेपाल पुस्तक व्यवसायी महासंघका महासचिव नवनिधि पन्तले आगामी वैशाखदेखि पुस्तक व्यवसायीहरूले सरकारले प्रतिबन्ध गरेको गेसपेपर बिक्री–वितरण नगर्ने बताए । महासंघले देशभरका व्यवसायीलाई बिक्री नगर्न आग्रह गर्ने तर बिक्री गरेर सरकारले कारबाही गरेमा त्यस्ता व्यवसायीको पक्षमा नलाग्ने उनले बताए । गेसपेपर १४ प्रकाशन गृहले प्रकाशित गर्दै आएका छन् ।
गेसपेपरमा पूर्ण रूपमा प्रतिबन्ध लगाएर परीक्षा प्रणाली र शिक्षकले पढाउने शैलीमा सुधार गर्न आवश्यक छ । हाल परीक्षामा सोधिने प्रश्नहरू गेसका उत्तरमा मिल्ने भएकाले र विद्यार्थीले छोटो समयमा पढ्न सक्ने भएकाले विद्यार्थी तथा शिक्षकका माझ लोकप्रिय बनेको हो । माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालय तहका कुनै पनि गेसपेपर बिक्री–वितरण व्यवसायीले गर्न पाउँदैनन् । व्यवसायीले अटेर गर्दै बिक्री–वितरण गरेमा त्यस्ता व्यवसायीमाथि जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउनेछ । अटेरी गर्नेमाथि जरिवाना गर्ने, कालोसूचीमा राख्ने, पसलमा सिल लगाउनेसम्मको व्यवस्था छ ।
विद्यार्थीले अब बजारमा कुनै पनि गेसपेपर पाउने छैनन् त्यसकारण गेसको आसमा परीक्षा दिने तयारी नगर्न शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डेले विद्यार्थीसँग आग्रह गरेका छन् । गेसपेपरको आधारमा मात्र प्रश्नको उत्तर दिँदा विद्यार्थीले आवश्यक विषयवस्तुबारे जानकारी लिन नसक्ने भएकाले यसलाई नियन्त्रण गर्न लागिएको बताउँदै निर्देशक पाण्डेले राजधानीसँग भने, ‘पाठ्यपुस्तकप्रति विद्यार्थीको रुचि अब बढ्नेछ ।’ दश जोड दुईको ११, १२ र स्नातक तहको परीक्षा नजिकिँदै गरेको छ ।
परीक्षाको समयमा शिक्षा मन्त्रालयले पूर्ण रूपमा गेसपेपर प्रतिबन्ध लगाएको हो । अधिकांश विद्यार्थीहरू परीक्षाको समयमा पाठ्यपुस्तक पढ्नभन्दा गेसपेपरमा नै भर्नपर्ने भएकाले त्यसलाई निरुत्साहित गर्न आवश्यक रहेको पाठ्यपुस्तक लेखक संघ नेपालका महासचिव खोमराज खरेलले बताए । ‘गेसपेपरका माध्यमबाट शिक्षामा विकृति आएको छ, त्यसैले त्यसलाई नियन्त्रण गर्नुपर्छ र विद्यार्थीलाई पठन संस्कृतिको विकास गर्नुपर्छ,’ महासचिव खरेलले भने ।
-- प्रदीप न्यौपाने÷राजधानी काठमाडौं, १७ चैत
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !