CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यसरी अपराध न्यून हुँदै छ राजधानीमा

यसरी अपराध न्यून हुँदै छ राजधानीमा


गत शनिबार सिगलमा एउटा हत्या भयो । हिँड्दा ठोक्किएर भएको विवादमा एक समूहले आयुष श्रेष्ठको छुरा हानी हत्या गर्‍यो । अथक मिहिनेतपछि घटनामा संलग्न पाँचैजनालाई १८ घन्टाभित्रै पक्राउ गर्न हामी सफल भयौँ ।
घटनामा संलग्न सबै अवारा केटा दिए । दिउँसै भट्टी पसलबाट तुम्बा पिएर निस्किएका थिए । अनुसन्धानका क्रममा उनीहरू त्यसैगरी समूह बनाएर हिँड्ने गरेको बुझियो । त्यसपछि हामीलाई लाग्यो, यस्ता युवाको गतिविधि नियन्त्रण गरिनुपर्छ । उपचार गर्नुभन्दा रोग लाग्नै नदिनुु उत्तम भनेजस्तै त्यस्ता युवालाई
सुधार्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ र त्यसविरुद्ध अभियान नै चलाएका हौँ ।
अहिले गुन्डागर्दीमा संलग्न, कपाल पाल्ने, मुन्द्रा लगाउने, लागुऔषध प्रयोग गर्ने युवालाई नियन्त्रणमा लिने अभियान सुरु गर्नुको कारण यही घटना मात्र होइन । केही महिनायताको राजधानीमा हुनेगरेका अपराधका प्रकृतिको हामीले विश्लेषण गरेका थियौँ । सिक्री थुत्ने, मोबाइल, पैसा लुट्ने घटना बारम्बार भइरहन्छन् । त्यस्ता घटना विश्लेषण गर्दा तीस वर्षभन्दा बढी उमेरका मान्छेको संलग्नता खासै पाइएन । यस्ता अपराधमा १७ देखि २० वर्षसम्मका केटाको संलग्न अधिक पाइयो । त्यसपछि हामीले यो अभियान सुरु गरेका हौँ ।
काठमाडौंका हरेक एरियामा हामीले यो अभियान चलाएका छौँ । स्कुल/कलेज जाने वेलामा रक्सी पिएर होहल्ला गरी बस्ने, चुरोट पिउने, असभ्य र बिगारेको हुलियामा प्रस्तुत हुने युवा-युवतीलाई हामीले सचेत गराउन थालेका हौँ । त्यस्ता हुलियाका युवा अपराधमा पनि संलग्न हुन सक्छन् । उनीहरूलाई सचेत गराउनु आवश्यक छ भन्ने ठानेर नियन्त्रणमा लिने अभियान सञ्चालन गर्‍र्यांै । अभियानअन्तर्गत सोमबार, मंगलबार र बुधबार गरेर एक हजार दुई सय २८ जना केटा-केटीलाई नियन्त्रणमा लिई परामर्श दिएर छाडेका छौँ ।
नियन्त्रणमा लिइएका सबै मान्छे अपराधमा संलग्न छन् भन्ने पनि होइन । हुलियाका आधारमा शंकास्पद लागेपछि नियन्त्रणमा लिई उनीहरूको नाम, ठेगाना, फोटो, औँठाछाप रेकर्ड राख्ने काम
गरेका हौँ ।
हाम्रो यो अभियानलाई बहुसंख्यकले प्रशंसा गरेका छन् । केहीले भने प्रहरीले कपाल पालेको र मुद्रा लगाएको सबैलाई समात्न थाल्यो भन्ने खालका कुरा पनि गरे । हामीले त्यसरी जो पायो त्यहीलाई समातेका छैनौँ । यसका लागि हामीले विभिन्न टोलमा मत सर्वेक्षण पनि गर्‍यार्ंै । तपाइर्ंहरूको एरियामा कपाल चुल्ठे-मुन्द्रे को-को छन् ? भनेर सोध्ने काम गर्‍र्यौं । उनीहरूको सूचनाका आधारमा दिनभरि केही काम नगरी लुटपाट गर्ने तथा केटी जिस्काएर बस्ने केटाहरूलाई नियन्त्रणमा लियौं । स्थानीयले नै त्यस्ता केटालाई कारबाही गर्न हामीसँग आग्रह गरेका थिए ।
त्यस्ता युवालाई नियन्त्रणमा लिएपछि परामर्श दिने काम भयो । त्यसका लागि उनीहरूका अभिभावकलाई बोलायौँ । अभिभावकले हामीले सुरु गरेको अभियानप्रति अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएका छन् । बाबुआमाले 'हामीले जतिभन्दा पनि नमानेर कपाल पाली मुन्द्रा लगाएर कुरूप भएको थियो, ठीक गरिदिनुभयो' भन्दै खुसी व्यक्त गरेका छन् । हामीले त्यसरी पक्राउ गरेका युवालाई कपाल कटाउने मात्र होइन, गलत गतिविधिमा लाग्नबाटसमेत सचेत गराएका हौँ । यसको एकदमै सकारात्मक नतिजा आएको छ । यो अभियान सुरु भएयता चोरी/लुटपाट, झैझगडाजस्ता घटना शून्यप्रायः भएका छन् ।
यो अभियान दुःख दिने नभई जनताकै शान्तिसुरक्षालाई केन्द्रबिन्दुमा राखी सञ्चालन गरिएको हो । यसमा सबैको सहयोग जरुरी छ । यसले काठमाडौंलाई शान्त मात्र होइन, सभ्य बनाउन पनि सहयोग गर्नेछ ।


दुई महिनाको अनुभव

काठमाडौंमा अहिले पहिलेजस्तो ठूला अपराधको बिगबिगी छैन । अपराध क्रमशः घट्दै गएको छ । सामान्य किसिमका अपराध मात्र देखिन्छन् । काठमाडौं जनसंख्याको हिसाबले घना हँुदै गएको छ । नागरिकमा चेतना बढ्दै गएकाले पनि प्रहरीलाई सजिलो भएको छ । कतै केही भएमा तत्कालै खबर गर्ने अवस्था छ । जसकारण हामी तत्कालै रेस्पन्स गर्न सक्छौँ । लुटपाट, झैझगडा तथा सामान्य विवादमा हुने हत्याजस्ता घटना काठमाडौंको अहिलेका चुनौती हुन् । त्यस्ता घटना नियन्त्रणका लागि पनि हामी विभिन्न रणनीतिअनुसार काम गरिरहेका छौँ ।
काठमाडौंमा अहिले प्रत्यक्ष रूपमा तीन हजार प्रहरी परिचालन गरेका छौँ । अरू प्रहरीको पनि निगरानी ठाउँ-ठाउँमा छन् । यहाँ शान्तिसुरक्षा कायम राख्न चुनौती बनेको बेरोजगारी नै अपराध सुरु हुने मुख्य कारण हो । यहाँ बाहिरी जिल्लाबाट आएका मान्छे धेरै छन् । उनीहरूको बसोबास व्यवस्थित छैन । त्यस्ता व्यक्तिको अभिलेख कतै हँुदैन । को मान्छे कहाँ बस्छ, के गर्छ भन्ने खालको अभिलेख राख्ने पद्धति नहुनु अर्काे चुनौती हो ।
यहाँ बेरोजगारको ठूलो संख्या छ । उच्च शिक्षा र रोजगारीको सपना बोकेर काठमाडौं आएका तर कुनै काम नगरेका मान्छे यहाँ धेरै छन् । काठमाडौं महँगो हुँदै गइरहेको छ । त्यसकारण मान्छेलाई जसरी पनि पैसा चाहिएको छ, तर जागिर छैन । त्यसकारण चोरी गरेर हुन्छ कि लुटेर, केही युवा पैसा कमाउनै अपराधमा संलग्न हुने गरेको देखिन्छ ।
हामीसँगको साधनस्रोत पनि पर्याप्त छैन । त्यसकारण हामीले बढी मिहिनेत गर्नुपरेको छ । तर, पनि क्षमताले भ्याएसम्म मिहिनेत गरिरहेका छौँ । त्यहीकारण पछिल्लो समयमा भएका तीन हत्यामा संलग्न अभियुक्तलाई हामी छिट्टै समात्न सफल भयौँ ।
आर्थिक प्रलोभनको कारणले ज्याठामा दुई साताअघि एक दम्पतीको हत्या भयो । नाति पर्ने दुई युवकले त्यसरी हत्या गरेका थिए । जसलाई हामीले केही दिनमा पत्ता लगायौं र अभियुक्त समात्न सफल भयौँ । बाफलमा सामान्य विवादमा एक महिलाको हत्या भयो । १२ घन्टाभित्रै अभियुक्त पक्राउ परे । ब्लाकमेलिङ गरेकाले हत्या गरिदिएको बयान पक्राउ परेको अभियुक्तले दिएको छ । दिउँसै बरालिएर हिँडेको एकजनाले ठोक्किएको विवादमा साथीको हत्या गरिदियो । हामीले क्ष्ामताले भ्याएसम्मको मिहिनेत गर्‍यौँ र यसमा सफल पनि भयौँ । 

काठमाडौंको गुन्डागर्दी

एक समय थियो, जति वेला काठमाडौंमा गुन्डागर्दीको एकदमै बिगबिगी थियो । कुनै ठाउँमा केही काम गर्न खोज्यो कि गर्नै नसक्ने, त्यहाँ गुन्डाहरू उपस्थित हुने अवस्था थियो । अहिले कुनै पनि ठाउँमा कुनै व्यक्तिले म यो ठाउँको दादा हुँ भन्न सक्ने अवस्था छैन । धेरै ठाउँमा प्रहरीको उपस्थिति भएकाले पनि यसरी गुन्डागर्दी गर्नेहरू तह लागेका हुन् । प्रहरी र जनताबीचको सम्बन्ध सुमधुर हुदै गएकाले पनि शान्तिसुरक्षाको अवस्था बलियो हुँदै गएको हो । पहिला प्रहरीलाई धेरै कुरा भन्नुहुन्न, प्रहरीले दुःख दिन्छ भन्ने खालको मानसिकता थियो । त्यो मानसिकता अहिले छैन । अहिले ठीकविपरीत अवस्था छ । कसैले केही गर्‍यो, भन्यो भने प्रहरीलाई जानकारी दिनुपर्छ भन्ने सोचाइ बढ्दै गएको छ । यो सकारात्मक कुरा हो ।
मैले डन भनाउँदाहरू पनि कोही देखेको छैन । अदृश्य रूपमा हाम्रो जानकारीमा नआएको कुनै मान्छेले स्थानीय तहमा 'म यहाँको डन हुँ' भन्दै धम्क्याएको हुन सक्छ । तर, त्यो पनि निकै न्यून छ । यदि जानकारी भयो भने हामी बाकी राख्दैनौँ । डन भनाउँदाले मसल देखाएर म डन हुँ भनेर धम्काउने जुन किसिमको प्रवृत्ति थियो, त्यो अहिले छैन । चुल्ठेमुन्द्रेलाई नियन्त्रणमा लिएर समयमै परामर्श दियौँ भने पछि यस्ता गुन्डाको समूह बन्नै पाउँदैन । 

प्रविधिमैत्री प्रहरी

सोचअनुसार काम गर्न हामीसँग स्रोतसाधनको अभाव छ । तर, पहिलेका कामलाई निरन्तरता दिँदै थप काम अघि बढाएको छु । पहिले सुरु गरिएको बस्ती भेटघाट कार्यक्रमलाई पनि निरन्तरता दिएको छु । टोल सुरक्षा समिति गठन गरी स्थानीय जनतालाई स्वयंसेवक तोक्ने अभियान जारी राखेका छौँ । जनतासँग अन्तक्रिर्या निरन्तर भइरहेको छ । जसले प्रहरी र जनताबीचको सम्बन्ध असाध्यै सुमधुर हँुदै गएको छ ।
धेरै कामचाहिँ प्रविधिको माध्यमबाट प्रतिस्थापित होस् भन्ने पनि हाम्रो मनसाय छ । पहिलाचाहिँ कुनै मान्छेले प्रहरीका हाकिमलाई अथवा कार्यालयलाई कुनै सल्लाह दिन खोज्यो भने त्यो अलि झन्झटिलो थियो । फोनमा सधैँ भेट हुँदैन । व्यस्तताका कारण पनि भनेको समयमा फोनले काम नगर्न सक्छ । पहिला गुनासो बक्स राख्ने पनि गरिन्थ्यो । त्यसलाई हामीले एसएमएसको माध्यमबाट प्रतिस्थापन गरेका छौँ । सर्वसाधारणले ४५४६ नम्बरमा एसएमएस पठाई गुनासोका साथै सुझाब पनि दिन सक्छन्, जुन प्रभावकारी पनि भइरहेको छ । धेरैले गुनासा र सुझाब दिइरहेका छन् ।
कार्यालयभित्रको दैनिक कामलाई पनि प्रविधिको सहयोगमा सहज बनाउँदै लगिएको छ । प्रहरी प्रधान कार्यालयले पनि पेपरलेस सिस्टममा जोड दिइरहेको छ । त्यसकारण हामीले पनि परिसरअन्तर्गत मुद्दा चलाउने सबै वृत्तमा नेटवर्किङ गरिसकेका छौँ । डकुमेन्ट म्यानेजमेन्ट सिस्टमअन्तर्गत कुनै कार्यालयको डकुमेन्ट पि्रन्ट गरेर एउटा कार्यालयबाट अर्काे कार्यालयमा लैजानुपर्दैन । सर्भरबाट नै सबै काम गर्न लागिरहेका छौँ । यसले प्रहरीलाई आधुनिक र चुस्त बनाउनेछ ।
प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी हाम्रो पुराना मिसिलको डिजिटल रेकर्ड राख्ने तयारी गरेका छौँ । मातहतका कमान्डरलाई पनि मैले एसएमएसबाट नै आदेश दिने गरेको छु । हाम्रा ७२ जना कमान्डर छन् । उनीहरू सबैलाई केही भन्नुपर्‍यो भने कम्प्युटरको एकै क्लिकबाट हुन्छ । सूचना पनि प्रभावकारी भएको छ ।
अर्कातर्फ, हाम्रा काम धेरै छन्, तर समय थोरै हुन्छ । मिटिङमा जाँदा-जाँदा समय सकिन्छ, केही काम गर्न नै भ्याइँदैन । त्यसकारण केही मिटिङ भिडियो कन्प|mेन्सका माध्यमबाट गरौँ भनेर सबैलाई प्रस्ताव राखेको छु । मिटिङमा हिँड्दा हिँड्दै म समय अभावका कारण बढी पीडित भएको छु, त्यसकारण भिडियो कन्प|mेन्सको माध्यमबाट मिटिङ बस्यो भनेर समय बच्छ र हिँड्ने समयमा काम गर्न पाइन्छ । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी, नेपाली सेनालगायत जिल्ला सुरक्षा समितिमा हुने सबैलाई मैले यो प्रस्ताव राखेका छु । सायद एकहप्ताभित्रै भिडियो कन्प|mेन्स सिस्टम सुरु हुन्छ होला । सामान्य खालको डिसिजन गर्नुपर्‍यो भने भिडियो कन्प|mेन्समार्फत सजिलै गर्न सकिन्छ । 

अनुसन्धानमा विशिष्टीकरण

काठमाडौं परिसरमा जघन्य किसिमको अपराध एउटा अफिसरले हेर्छ, सामान्य किसिमको अर्काे अफिसरले हेर्छ । जघन्यभित्र पनि विशिष्टीकृत गर्दै गयो भने अनुसन्धान अझ सहज र चुस्त हुन्छ भन्ने मलाई लागेको छ ।
अपराधको प्रकृतिअनुसार सम्बन्धित विषयमा विज्ञ अनुसन्धान अधिकारी खटाउनुपर्छ । सुनचाँदी र गरगहनाको कारोबारमा सबैजसो मान्छे संलग्न हुन्छन् । तर, यसमा धेरै पीडित भइरहेका छन् भन्ने बुझिएको छ । गहनाको शुद्धता कति हो भन्ने सन्दर्भमा पसलेले जे भन्यो त्यही नै मान्नुपर्ने अवस्था छ । दोहोरो जर्ती काटेर ग्राहकलाई ठग्नेजस्ता गलत गतिविधि गहनाको कारोबारमा देखियो । तर, ग्राहकलाई पनि यस विषयमा धेरै जानकारी हुने गरेको पाइएन । कसलाई उजुरी गर्ने भन्नेमा पनि ज्ञान नभएकाले हामीले यससम्बन्धी अपराध अनुसन्धानमा जोड दिएका हौँ । मान्छेमा गहनाको विषयमा चेतना पनि आओस्, गहना व्यवसायीले पनि ठग्न छाडून् भनेर हामीले छुट्टै सेल गठन गरी अनुसन्धान थालेका हौँ । यसमा हामीले सुन व्यवसायीसँग सल्लाह पनि गरिरहेका छौँ ।

सुरक्षा शिक्षा

विद्यालय र प्लस टुमा विभिन्न विषयमा विद्यार्थीलाई जानकारी दिइन्छ, तर अपराध नियन्त्रण तथा सुरक्षाका विषयमा भने कुनै जानकारी दिइँदैन । त्यसकारण हामी स्कुल-कलेजका विद्यार्थीलाई सुरक्षा शिक्षा दिने तयारीमा जुटेका छौँ । १० कक्षामा पढ्ने विद्यार्थीलाई नङ काट्नुपर्छ भन्ने शिक्षा दिइन्छ । अहिले विभिन्न किसिमका अपराधबाट बालबालिका पीडित छन् । अपहरणमा पर्ने गरेका छन् । त्यसकारण अपराध किन हुन्छ र त्यसबाट कसरी जोगिने ? भन्ने हिसाबले हामी शिक्षा दिन गइरहेका छौँ । अहिले प्याब्सन र एनप्याब्सनलगायत निकायसँग हामी छलफल गरिरहेका छौँ । 

मजबुत हुँदै सुरक्षा

सुरक्षा मजबुत बनाउन प्रहरी स्ट्यान्डबाई हुनुपर्छ भनेर सिआरभी राखिँदै आएको छ । तर, काठमाडौंको सडकजामले गर्दा सिआरभी गाडी भनेको समयमा भनेको ठाउँमा पठाउन सकिरहेका छैनौँ । त्यसकारण अहिले मोटरसाइलकमा क्युआरटी -क्विक रेस्पोन्स टिम) परिचालन गर्न थालेका छौँ । यसमा ५० प्रहरीको टिम छ ।
कुनै ठाउँमा घटना भयो भने तत्काल सो टोली परिचालित हुन्छ । टोलीका कारण सिक्री लुट्नेहरू पनि तत्काल पक्राउ पर्न थालेका छन् । सामान्य अपराधका घटना हुन् वा जघन्य, सबैजसो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सफल भएका छौँ । त्यसकारण काठमाडौंको सुरक्षा सुदृढ हुँदै गइरहेको छ भन्ने मलाई लागेको छ ।

एसएसपी रणबहादुर चन्द, काठमाडौं प्रहरीप्रमुख
(कुराकानीमा आधारित)

-नयापत्रिका बाट साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis