CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » संसारकै "कुरूप" महिलाको अचम्म लाग्ने कथा

संसारकै "कुरूप" महिलाको अचम्म लाग्ने कथा


सुन्दै अनौठो लाग्ने गरी संसारकै 'कुरूप' महिलाको रूपमा कहलिएकी जुलिया पास्ट्रानाको मृत्यु भएको एक सय ५३ वर्षपछि गत मंगलबार अन्तिम संस्कार गरिएको छ । उनको शव मृत्यु भएको डेढ सय वर्षभन्दा बढी ओस्लो विश्वविद्यालयमा सुरक्षित राखिएको थियो । सन् १८३४ मा मेक्सिकोमा जन्मिएकी पास्ट्रानाले संसारमै 'कुरूप' महिलाको परिचय बनाइन् । उनको अनुहारभरि रौं थियो । अनुहार पनि बाहिर निस्किएकाले झट्ट हेर्दा बाँदरको झैं थियो । उचाइ चार फिट ६ इन्च भएकी सर्कसकी
कलाकार पास्ट्राना 'भालु महिला' भनेरसमेत चिनिन्थिन् । पतिले समेत उनलाई 'भालु आइमाई' भनेर सम्बोधन गर्थे ।
उनी जन्मजात दुई रोगले ग्रसित थिइन्, जसको उपचार जिन्दगीभर हुन सकेन । त्यही कारण पास्ट्राना कुरूप भइन् । 'हाइपरटिकोसिस लानुगिनोसा' का कारण उनको शरीरभरि रौं उमि्रएको थियो । त्यस्तै 'हाइपरप्लासिया' का कारण उनको ओठ र गाला बाक्ला हुनुका साथै अनुहार चुच्चो भएको थियो ।
उनलाई मेक्सिकोका एक सांस्कृतिक प्रशासकले आफ्नो ट्राभल कम्पनीको प्रवर्द्धन गर्न विभिन्न प्रदर्शनीमा 'अनौठी मान्छे'को रूपमा प्रस्तुत गरे । त्यतिवेला सर्कसका कलाकारको किनबेच हुन्थ्यो । प्रदर्शनीकै क्रममा भेटिएका सर्कसका म्यानेजर थियोडोर लेंटले पास्ट्रानालाई किनेका थिए ।


वैवाहिक जीवन

त्यसपछि उनी लेंटकै सर्कसमा काम गर्न थालिन् । सन् १८५४ मा पास्ट्रानाले सर्कस म्यानेजर लेंटसँग नै विवाह गरिन् । विवाहपछि पनि उनले लेंटकै सर्कसमा निरन्तर आफ्नो कला देखाइन् । लेंटले पास्ट्रानाको शारीरिक बनावटको खुबै फाइदा उठाए । किनभने पास्ट्रानालाई हेर्न सर्कसमा सयौँ मानिस जम्मा हुन्थे । उनी १९औँ शताब्दीको मध्यतिर 'संसारकी सबैभन्दा कुरूप महिला'को रूपमा प्रख्यात भइन् । आफ्नो सर्कसको दर्शक बढाउन नै लेंटले उनलाई विवाह गरेका थिए ।
न्युयोर्क टाइम्समा उनले सन् १८५४ मा गरेको आफ्नो सर्कसको विज्ञापनमा 'पास्ट्रानाले वनमान्छे -उराङउटाङ) र मानव जातिलाई जोड्ने' उल्लेख गरेका थिए । त्यसकारण उनले पास्ट्रानालाई उपयोग गर्ने उद्देश्यले विवाह गरेका थिए भन्ने स्पष्ट हुन्छ । लेंटले पास्ट्रानाको शवलाई पनि पैसा कमाउन प्रयाग गरे । उनले विभिन्न सर्कसमा उनको शवलाई 'कुरूप महिला' को रूपमा प्रदर्शन गरे । तर, ओस्लो पुगेपछि उनको कुकर्म त्यहीँ रोकियो ।

पास्ट्रानाको मृत्यु

सन् १८६० मा उनले रुसमा एक बच्चाको जन्म दिइन् । पास्ट्रानाको छोराको अनुहार पनि दुरुस्तै उनकै जस्तो थियो । तर, जन्मेको दुई दिनपछि नै बच्चाको मृत्यु भयो । पास्ट्रानाको मृत्यु भने सुत्केरी भएको पाँच दिनपछि भयो । जटिल सुत्केरी अवस्थाका कारण मृत्यु भएको चिकित्सकले बताएका थिए । मृत्युपछि लेंटले दर्शक बटुल्न पत्नीको मात्र होइन, छोराको शवलाई समेत युरोपका विभिन्न सर्कसमा देखाएका थिए ।

यसरी शव राखियो

मृत्युपछि पति थियोडोर लेंटले पत्नी र छोराको शवलाई रासायनिक पदार्थले लेपन गरी सुरक्षित राखेका थिए । दुवै शवलाई उनले 'सर्कस सो' मा युरोपका धेरै ठाउँमा प्रदर्शन गरे । तर, उनी १९७६ मा सर्कस प्रदर्शनका लागि नर्वे गएका वेला दुवै शव चोरी भयो । ती शव राखिएको घर फोरेर शव लगिएको थियो ।
नर्वे पुलिसले केही समयपछि दुवै शव बरामद गर्‍यो । तर, छोरोको शव भने कुहिसकेको अवस्थामा भेटियो । पास्ट्रानाको शवलाई सन् ०७६ देखि ओस्लो विश्वविद्यालयको वातावरण नियन्त्रण गरिएको कोठामा सुरक्षित राखियो ।

पास्ट्रानाबारे फिल्म र पुस्तक

उनको जीवनकथामा आधारित फिल्म 'द एप वुमन' ले निकै चर्चा बटुल्यो । इटालियन निर्माता कार्लो पोन्टीले फिल्म बनाएका थिए । सय मिनेट लामो यो फिल्म सन् १९६४ मा रिलिज भएको थियो । चर्चित निर्देशक मार्को फेरेरीले निर्देशन गरेको फिल्म कानस फिल्म फेस्टिभलमा समेत देखाइएको थियो ।
फिल्ममा पास्ट्राना नामको कोही पात्र प्रस्तुत गरिएको छैन । तर, मारिया नामक पात्रले पास्ट्रानाको प्रतिनिधित्व गरेकी छिन् । वनमान्छेझैं लाग्ने ती पात्रलाई निर्देशकले अपि|mकाबाट आएको भनी चित्रित गरेका छन् । ब्ल्याक एन्ड ह्वाइट यो फिल्म इटालियन र प|mेन्च भाषामा
बनेको थियो ।
पास्ट्रानाबारे धेरै पुस्तक र कमिक प्रकाशित छन् । बेलायतका इतिहासकार प|mान्सिस बकल्यान्डले १८६८ मा लेखेको 'क्युरिओसिटी अफ नेचुरल हिस्ट्री'मा उनको क्षमताको वर्णन गरिएको छ । बकल्यान्डले संगीत र नृत्यमा नयाँ स्वाद दिन सक्ने भन्दै उनको प्रशंसा गरेका छन् । सो पुस्तकमा पास्ट्रानाले तीनवटा भाषा बोल्न सक्ने उल्लेख छ ।

एक सय ५३ वर्षपछि अन्त्येष्टि

उनको शवलाई आफ्नै देश मेक्सिको फर्काएर सम्मानपूर्वक अन्त्येष्टि गर्नका लागि लाउरा एन्डरसन बार्बाटाले सन् २००५ बाट अभियान थालेकी थिइन् । न्युयोर्क बस्ने यी मेक्सिकोकी कलाकारको अभियानमा त्यहाँका अधिकारीले समेत साथ दिएका थिए । पास्ट्रानाले अरूको मनोरञ्जनका लागि जिन्दगीभर भोग्नुपरेको अपमानको बदलामा सम्मानपूर्वक अन्त्येष्टि होस् भन्ने बार्बाटा चाहन्थिन् । उनी गरिमामय इतिहासको हकदार भएको बार्बाटाले बताएकी छिन् ।
उनले झन्डै आठ वर्ष पास्ट्रानाको शव फर्काउन संघर्ष गरिन् । अन्ततः नर्वेका अधिकारी शवलाई मेक्सिको पुर्‍याउन सहमत भए । पास्ट्रानाको शवलाई उनी जन्मिएको सहर सिनालोआनजिक अन्त्येष्टि गरिएको छ । सो सहरका जनताले उनको अन्त्येष्टिमा सम्मान व्यक्त गरेका छन् । उनको शवलाई मृत्यु भएको एक सय ५३ वर्षपछि गत १२ प|mेबुअरीमा सेतो बाकसमा राखेर सेतै फूलको माला लगाइदिएर अन्त्येष्टि गरियो । अन्त्येष्टिमा सहभागी एक पादरीले भने, 'मानिस मरेपछि पनि कसैका लागि वस्तु हुन सक्दैन ।'
प्रकाश गुरागाईं (एजेन्सीको सहयोगमा)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis