CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेपाली को भबिष्य : जोखनाको भर : नियतिमुखी नेपाली समाज

नेपाली को भबिष्य : जोखनाको भर : नियतिमुखी नेपाली समाज



प्रश्न : गुरुजी, आउँदो सोमबार मेरो साथीको अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भयो । कुन समय उत्तम होला ? 


उत्तर : डाक्टर सा'ब, बेलुका साढे ९ बजेदेखि ११ बजेसम्मको समय शुभ छ ।

यो संवाद १९ वैशाखको मध्याह्न ज्योतिषी कृष्णराज शर्मा र काठमाडौँ मेडिकल कलेजकी एक महिला डाक्टरबीचको हो। नेपाल संवाददातालाई मोबाइलमा 'स्पिकर अन' गरेर सुनाएपछि शर्माले भने, "अब तपाईं आफँै बुझ्नूस्, मानिसहरू ज्योतिषीमाथि कति धेरै भर पर्छन्।" हुन पनि यो तथ्यले नेपाली
समाजमा भविष्यवाणीप्रतिको आशक्ति त छँदै छ, आधुनिक विज्ञानसमेत यसकै सहारामा पुगेको दर्शाउँछ।

जागिरदेखि बढुवासम्म, व्यापारदेखि पारवहनसम्म, वैदेशिक रोजगारीदेखि राजनीतिसम्म अनि प्रेमदेखि यौनसम्मका विषयमा आफ्नो भविष्य जान्न र बुझ्न धेरै नेपाली लालायित देखिन्छन्। राजधानीको नाम चलेको एक कलेजमा विज्ञानमा स्नातक गररिहेका अंकुश अग्रवाल मैतीदेवीस्थित ज्योतिषी सुनील सिटौलाकहाँ भेटिए। हातमा चिना बोकेर आएका उनी आफ्नो भाग्य, भविष्य र दशाबारे जान्न इच्छुक देखिन्थे। ज्योतिषीकहाँ अंकुशको यो पहिलो यात्रा भने होइन रहेछ। केहीअघि मात्रै बेलायतको क्याम्बि्रज युनिभर्सिटीमा पढ्नका लागि भिसा आवेदन गरेपछि पनि उनी सरासर ज्योतिषीकहाँ भिसा पाइएला/नपाइएला भनेर बुझ्न पुगेका थिए। उनी आमतन्नेरीका यस्ता प्रतिनिधि पात्र हुन्, जो कर्म त गर्छन् तर सँगसँगै भाग्य र भविष्यमा पनि उत्तिकै विश्वास गर्छन्। भन्छन्, "ज्योतिषीलाई नदेखाईकन म कुनै काम गर्दिनँ।"

पहिरन, रहनसहन, शिक्षा र जागिरका हिसाबले आधुनिक देखिए पनि सहरयिा जीवनमा ज्योतिष परम्परा आधुनिकताकै एउटा हिस्सा भइसकेको छ। त्यसैको उदाहरण हो, कमलपोखरीस्थित सिटी सेन्टर र त्यसको तेस्रो तल्लाको एउटा कुनामा आसन जमाएर बसेका हस्तरेखाविज्ञ ज्योतिषी पण्डित प्रेम शास्त्री। तीन वर्षयता शास्त्रीले त्यही कुनामा बसेर सयौँको ग्रहदशा अनि भाग्य र भविष्य बताइसकेका छन्। भन्छन्, "अधिकांश सेवाग्राही तन्नेरी नै छन् र तिनीहरू आफ्नो प्रेम र यौनदेखि विदेश यात्रा र धन कमाउने उपायबारे जान्न चाहन्छन्।" उनको भनाइले आधुनिक जीवनमा भाग्य र भविष्यप्रतिको आशक्ति बुझ्न सघाउँछ।

तिनै सिटौलाकहाँ भेटिए, लाजिम्पाटका एक धनाढ्य। श्रीमतीसहित छोरी र उनका प्रेमी लिएर आएका ती व्यापारी घन्टौँसम्म ज्योतिष परामर्शमा व्यस्त थिए। छोरीले प्रेम गरेको केटासँग बिहे गर्न नहुने तिब्बती ज्योतिषीले बताएपछि उनीहरू समस्याको गाँठो फुकाउन त्यहाँ पुगेका रहेछन्। तिब्बती पात्रो अनुसार घोडा वर्गका केटा र मुसा वर्गकी केटीको बिहे असम्भव मानिँदो रहेछ। हिन्दु शास्त्र अनुसार बिहे गर्न हुने ज्योतिषीले बताउँदा ती युवती थोरै लजाएझैँ गरनि् र मुसुक्क हाँसिन्। हातमा रहेको आइफोन नचाउँदै केटीका बाबुले सन्तुष्टिको लामो सास फेरे। तर, ज्योतिषी भन्दै थिए, "कि तिब्बती ज्योतिषीले भनेको मान्नूस् कि मैले। दोमन नगर्नूस् ।"

अब आफ्नो भविष्य र भाग्यका बारेमा बुझ्न चाहनेहरू परम्परागत सोचाइ या पुराना पुस्ताका मात्रै छैनन्। आधुनिक जीवनशैलीसँग अभ्यस्तहरू पनि ज्योतिषीको भर पर्छन्। उदाहरणकै लागि लालबन्दी घर भई ज्ञानेश्वरमा बस्ने दिनेश अधिकारी, ३१, लाई हेरौँ। दुई वर्ष अमेरिका बसेर छुट्टीमा फर्किएका उनी ज्योतिषीको परामर्शबिना कुनै काम गर्दैनन्। भन्छन्, "ज्योतिषीकै परामर्शमा मेरा सफलता टिकेका छन्।"

उमेर र पेसा अनुसार ज्योतिषीकहाँ पुग्नेका समस्या भने फरक-फरक हुन्छन्। ज्योतिषी ओजराज लोहनीका अनुसार अहिले विदेशमा पढ्न जान भिसा पाइन्छ/पाइँदैन भनेर हेराउन आउनेको संख्या ठूलो छ। कतिसम्म भने कुन दिन र कति बजे भिसा आवेदन गर्ने भनेर साइत जुराउनेको संख्यासमेत ठूलो छ। १८ वैशाखमा बालुवाटारकी सुलोचना खड्का, २८, पनि भिसा लाग्ने समयको योग हेर्न चिना बोकेर लोहनीकहाँ आइपुगेकी थिइन्। युरोप वा अमेरिका जाने सोचमा रहेकी उनी ज्योतिषीको भविष्यवाणीमा औधी विश्वास गर्छिन्। भन्छिन्, "गुरुले भनेको पुग्छ भन्ने विश्वासले डोर्‍याएर यहाँसम्म आइपुगेकी हुँ।"

पण्डित वासुदेवकृष्ण शास्त्रीकहाँ पुग्ने अधिकांश तन्नेरी प्रेमसम्बन्धको दिगोपन, वैवाहिक जीवनबारे सोधीखोजी र भविष्यका दिन-दशाका बारेमा जान्न चाहन्छन्। भन्छन्, "तिनीहरूमा कर्मप्रतिको लगावभन्दा भाग्यप्रतिको विश्वास धेरै देखिन्छ।" तर, चिना र टिप्पन देखाउन आउनेहरूमा ब्राह्मण मात्रै छैनन्। पाकिस्तानी मुसलमान, दुबई र कतारका शेखहरूको समेत चिना आफूले बनाइदिएको शास्त्री सुनाउँछन्। त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक डिल्लीराम दाहाल ज्योतिषीप्रतिको बढ्दो विश्वासलाई भविष्यवादप्रति बढ्दो आशक्तिका रूपमा अथ्र्याउँछन्। (हेर्नूस्, टिप्पणी)

भक्तपुरको सिद्धपोखरीको बायाँतर्फको बाटोलाई पछ्याउँदै गएपछि मन्दिरसहितको खुला चौर आइपुग्छ। त्यसैलाई दायाँ पारेर अँध्यारो गल्ली छिरेपछि पुगिन्छ, भूनरेश जोशी, ४५, को घर। उनको घरको तेस्रो तला उक्लिनुअघि नै ढोकाबाहिर चप्पल र जुत्ताको थुप्रो देखा पर्छ। भित्र त्यत्तिकै भीडभाड छ। त्यो भीडका सबैजसो भूनरेशकहाँ चिना देखाउन आएका हुन्।

भूनरेश आफ्नो परविारको सातौँ पुस्ताका ज्योतिषी हुन्। दैनिक ८० जनाभन्दा बढीको चिना, टिप्पन हेर्ने उनीकहाँ अनेकन् समस्या लिएर मानिसहरू आइपुग्छन्। ०४७ सालदेखि अविच्छिन्न रूपमा चिना हेररिहेका उनी पहिले र अहिले मानिसले ज्योतिषीबाट जान्न चाहेका समस्याका आयाम फेरएिको बताउँछन्। भन्छन्, "१० वर्षअघिसम्म मानिसहरू व्यापार, पारिवारिक समस्या र बिहेसम्बन्धी समस्या लिएर आउँथे। तर, अहिले भने विदेश भ्रमण, प्रेम र यौनसम्बन्धजस्ता समस्या लिएर धेरै आउँछन्।

विश्वप्रसिद्ध अमेरिकी वित्तीय कम्पनीका मालिक जेपी मोर्गानले कुनै प्रसंगमा भनेका छन्, 'लखपतिहरू ज्योतिषीकहाँ जाँदैनन् तर अर्बपतिहरू जान्छन्।' सायद मोर्गानको भनाइ नेपालका व्यापारीले राम्रै बुझेका छन्। त्यही भएर नै होला, ज्योतिषीकहाँ धाउने व्यापारी र सेयर कारोबारीको संख्या उत्तिकै छ। व्यापार, उद्यममा लागेकाहरू कुन समयमा लगानी गर्न उचित हुन्छ, कस्ता वस्तुको व्यापार-व्यवसाय गर्दा फाप्छ, कसलाई साझेदार बनाउँदा लाभ हुन्छ जस्ता जिज्ञासा लिएर ज्योतिषीको शरणमा पुग्छन्।

क्यासिनो व्यवसायी किशोर सिलवाल तिनैमध्येका एक हुन्, जो आफ्नो व्यावसायिक सफलतालाई ज्योतिषीको सल्लाहको उपज ठान्छन्। तिनको चिना, टिप्पन हेरेका ज्योतिषी उदय निरौला दाबी गर्छन्, "अर्बपति हुने योग देखिएको थियो।" गोदावरी रसिोर्ट र गि्रनविच भिलेज होटलका लगानीकर्ता प्रवीण आचार्य पनि चार-चार महिनामा ग्रहदशा देखाउन ज्योतिषीकहाँ जान्छन्।

युवा संघ नेपालका कोसी अञ्चल सम्पर्क समितिका सदस्य विष्णु पोखरेल पनि बेरोजगार हुँदा ज्योतिषीकहाँ पुगेका थिए। त्यसपछि ज्योतिषीकै सल्लाहमा व्यवसायमा हात हालेका उनले अहिले शैक्षिक परामर्श संस्था र जलविद्युत्मा लगानी गरसिकेका छन्। भन्छन्, "निराशाको बेला उत्साह जगाइदिन्छन्, ज्योतिषीले। परामर्श लिएर कर्म गर्न भने छाड्नुहुँदैन।"

स्तम्भकार सौरभ सहरका शिक्षित र व्यापारी वर्गमा ज्योतिषीप्रति विश्वास धेरै हुनु अनौठो कुरा मान्दैनन्। उनी विश्वकै सबैभन्दा ठूलो व्यापारकि केन्द्रका रूपमा रहेको वालस्टि्रटमा समेत ज्योतिषीहरू भेटिने प्रसंग सुनाउँछन्। भन्छन्, "प्रायः महत्त्वाकांक्षी मान्छे ज्योतिषीकहाँ जान्छन्।"

सेयर विश्लेषक रवीन्द्र भट्टराईले आफ्नो पुस्तक सेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषणमा वित्तीय ज्योतिषीका बारेमा छुट्टै एक अध्याय नै छुट्याएका छन्। उक्त अध्यायका लेखक सुनील सिटौला धेरैजसो सेयर कारोबारी आफूकहाँ कहिले सेयर किन्नु र कहिले बेच्नु उपयुक्त हुन्छ भन्ने बुझ्नका लागि आउने गरेको बताउँछन्।

नेपाल ज्योतिष परिषदमा मात्रै १९ हजार ५ सयभन्दा बढी ज्योतिषी आबद्ध छन्। तीमध्ये अधिकांश सहरी क्षेत्रमा क्रियाशील छन्। परिषदमा आबद्ध नरहेका ज्योतिषीहरूको जमात अझै ठूलो छ। यो तथ्यले नेपाली समाजमा ज्योतिष पेसाको सक्रिय उपस्थिति त देखाउँछ नै, तिनीहरूका सम्भावित सेवाग्राहीको ठूलो संख्या रहेको समेत बुझ्न गाह्रो पर्दैन।

ज्योतिष परिषद नेपालका अनुसार सहरमा ज्योतिषीकहाँ धाउनेहरूको संख्या धेरै भएकाले नै सहरकेन्दि्रत ज्योतिषीहरूको संख्या धेरै भएको हो। त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका अर्का प्राध्यापक चैतन्य मिश्र भन्छन्, "तर, त्यसो भन्दैमा सहर भविष्यवादी प्रवृत्तिको सिकार भएको भन्न मिल्दैन ।" गाउँको तुलनामा सहरमा धेरै अनिश्चितता छ। कमाउने सम्भावना धेरै छ र गुमाउने सम्भावना पनि। त्यसैले धेरै मान्छे आफ्नो भाग्य अजमाउन चाहन्छन्। प्रा मिश्रका अनुसार भाग्यको पछि दौडिए पनि मानिसले कर्म गर्न भने छाडेका छैनन्। भन्छन्, "कुण्डली हेरेकै आधारमा मान्छेको भविष्य निर्धारति हुन्छ कि हुँदैन भन्ने बहस जारी छ। यद्यपि, मानिसमा भविष्यप्रतिको आशक्ति भने उत्तिकै देखिन्छ। संस्कृतिका जानकार एमाले नेता मोदनाथ प्रश्रति मान्छेको स्वाभाव र चिन्तन क्षमतामा ग्रहगोचरको प्रभाव आंशिक मात्रै हुने बताउँछन्। भन्छन्, "भाग्यमै भर परेर हिँड्नुचाहिँ मूर्खता हो। संसारका अरबौं मान्छेको भाग्य लेख्दै हिँड्ने फुर्सद कुनचाहिँ भगवान्लाई छ ?





ज्योतिषीकहाँ हाई प्रोफाइलहरू
मुलुक हाँक्ने नेताहरू नै सबैभन्दा धेरै ज्योतिषीको भर पर्दा रहेछन्। आफ्नो राजनीतिक भविष्य के हुन्छ ? मन्त्री वा अन्य पदीय लाभ हासिल हुने सम्भावना छ कि छैन ? यस्ता उत्तर खोज्न अधिकांश नेता ज्योतिषीकहाँ धाउँछन्। संविधानसभा चुनावको मिति तय नभए पनि चुनावमा जितिन्छ कि जितिँदैन भनेर नेताहरूले जन्मकुण्डली हेराउन थालिसकेको ज्योतिषी सहदेव विष्ट सुनाउँछन्।

अरू त परै जाओस्, राष्ट्रपति रामवरण यादवसमेत ज्योतिषीलाई विश्वास गर्छन्। आफ्ना भतिजा-भतिजी र परविारका सदस्यले नियमित परामर्श लिने ज्योतिषीलाई आठ महिनाअघि निवासमै बोलाएर उनले देशको भविष्यका बारेमा सोधीखोजी गरेका थिए। राष्ट्रपति यादवले आफ्नै कार्यकालमा संविधान जारी गर्ने चाहनासमेत ज्योतिषीलाई बताएका थिए।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भूमिगत कालमै आफ्नो जन्मकुण्डली देखाएका थिए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। ०५७ सालमा ज्योतिषी उदय निरौलाले भट्टराईको चिना हेरेका थिए। भट्टराईकी दिदी उनको चिना लिएर निरौलाको घरमै पुगेकी थिइन्।

यसरी ज्योतिषीमा भर पर्ने नेताहरू अक्सर आफ्नो ग्रहगोचर सुधार्न वा बलियो पार्न विभिन्न मुगा र रत्नजडित औँठी र माला लगाउँछन्। ज्योतिषीका अनुसार अधिकांश नेताहरू हातमा पुष्पराज र रुबी लगाउँछन्। पुष्पराजले व्यक्तित्व तेज बनाउने र उपयुक्त समयमा विवेक प्रयोग गर्न सघाउने विश्वास गरन्िछ। रुबीले नेतृत्व प्राप्तिका निम्ति सघाउने विश्वास छ।

पाँचथरका ज्योतिषी चन्द्रकुमार शेर्माको सल्लाहमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पुष्पराजको औँठी लगाउन थालेका छन्। १-३ चैत ०६६ मा महेन्द्र पुलिस क्लबमा भएको अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन समापनमा तत्कालीन सभामुख नेम्वाङ प्रमुख अतिथिको हैसियतमा पुगेका थिए। त्यहाँ उनले ज्योतिषविज्ञानप्रति आफ्नो विश्वास र श्रद्धा खुलेर व्यक्त गरे।

कांग्रेस राजनीतिमा लामो समय प्रभाव जमाएको कोइराला परविारमा सुशील कोइरालाबाहेक सबैजसो ग्रहदशामा विश्वास गर्छन्। शेखर कोइराला र सुजाता कोइराला प्रत्यक्ष उपस्थित भएर आफ्नो भविष्यवाणी सुन्ने गरेको निरौला बताउँछन्। शेरबहादुर देउवा पनि ज्योतिषीमा विश्वास गर्ने नेता हुन्। उनी केही वर्षअघिसम्म ज्योतिषी ओजराज लोहनीलाई बारम्बार भेटिरहन्थे। अहिले भने उनी ज्योतिषी उदय निरौलाको नियमित सम्पर्कमा छन्।

चुनावी मन्त्रिपरिषदका अर्थमन्त्री शंकर कोइराला ज्योतिषीकै सल्लाह अनुरूप रुबी जडित औँठी लगाउँछन्। कांग्रेस नेता कृष्ण सिटौला र नवीन्द्रराज जोशी पनि पुष्पराज जडित औँठी लगाउँछन्। ठाकुर धर्मका अनुयायीसमेत रहेका सिटौलालाई अध्यात्ममा धेरै विश्वास छ। स्रोतका अनुसार उनले राष्ट्रपति रामवरण यादव र पार्टी सभापति सुशील कोइरालालाई समेत मन्त्र सुनाएर चेला बनाउन भ्याइसकेका छन्। कांग्रेसकै अर्का नेता पूर्वमन्त्री बालकृष्ण खाँडसमेत ज्योतिषीको परामर्श र सल्लाह पालना गर्ने नेता हुन्।

प्रजातान्त्रिक विचारधारा बोकेर राजनीति गर्नेहरू खुला रूपमै ज्योतिष विज्ञानप्रति विश्वास राख्छन् भने वामपन्थीहरू लुकीछिपी। जस्तो: नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले प्रधानमन्त्री हुनुअघि आफ्ना भान्जामार्फत जन्मकुण्डली ज्योतिषीकहाँ पुर्‍याएका थिए। नेपालको चिना ज्योतिषी निरौलाकहाँ नौ महिनासम्म राखिएको थियो। दक्षिण एसियाली ज्योतिषी महासंघका सहअध्यक्षसमेत रहेका सहदेव विष्ट भन्छन्, "आफ्नो कुनै संयन्त्रमार्फत  कम्युनिस्टहरूको जन्मकुण्डली आइपुग्छ।"

त्यसो त अधिकांश ज्योतिषी कम्युनिस्ट नेताहरू आफूकहाँ नियमित ग्रहदशा, भाग्य र भविष्य हेर्न आउने गरेको बताउँछन्। नेपाल ज्योतिष परिषदका प्रवक्ता समेत रहेका ज्योतिषी सन्तोष वाशिष्ठ भन्छन्, "कतिपय कम्युनिस्ट नेता अरूकै हातमा चिना पठाउँछन् तर आफू सार्वजनिक हुन चाहँदैनन्।"

रक्षामन्त्रीबाट बाहिरएिलगत्तै कार्यविनायकको पूजा गर्न दौडिएका राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी पनि ज्योतिषीको सल्लाह मान्छन्। मधेसवादी नेतामध्ये ज्योतिषीप्रति सबैभन्दा धेरै लगाव भने तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीमा छ। कतिसम्म भने उनी कुनै समय दुवै हातका आठवटा औँलामै विभिन्न पन्ना जडित औँठी लगाउँथे। कालीदास बाबाले १७ फागुन ०६६ मा पशुपतिमा लगाएको महायज्ञमा पनि सक्रिय थिए, त्रिपाठी।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष तथा पूर्वसञ्चारमन्त्री राजकिशोर यादव पनि ज्योतिषीकहाँ हात र चिनाटिप्पन देखाउन जान्छन्। छोटो राजनीतिक जीवनमा पार्टी अध्यक्ष र सञ्चारमन्त्रीसमेत भएका उनी निकटवर्तीहरूलाई आफ्नो चिनामा राजयोग रहेकै कारण सफलता मिलेको सुनाउँछन्। पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, "जति माथि गयो, भाग्यमा विश्वास त्यति नै बढी हुँदो रहेछ।"

वैशाखको पहिलो साता उपराष्ट्रपति कार्यालयबाट अवकाश पाएका सचिव लक्ष्मणकुमार पोख्रेल र वातावरण मन्त्रालयका सहसचिव पुरुषोत्तम घिमिरे केही समयअघि मात्रै मैतीदेवीस्थित ज्योतिष परामर्श परिषदमा ग्रहदशा हेराउन पुगेका थिए। परिषदका ज्योतिषी कृष्णराज शर्मा रिजालकहाँ यस्ता पूर्व र बहालवाला सरकारी अधिकारी उत्तिकै आउँछन्। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी प्रधानन्यायाधीश हुनुअघिसम्म छोराबुहारीलाई जन्मकुण्डली उनैकहाँ पठाउँथे। शर्मा भन्छन्, "प्रधानन्यायाधीश भएपछि भने उहाँको चिना आएको छैन।"

पूर्वमुख्यसचिव कोइराला अधिकांश निजामती कर्मचारीले बढुवापश्चात् साइत हेराएर मात्रै पदभार लिने गरेको सुनाउँछन्। ०५६ सालमा विशेष सचिव रहेका बेला राजीनामा दिने मनस्थिति बनाएका कोइराला ज्योतिषी निरौलाले मितिसहित अर्थसचिव हुने भविष्यवाणी गरेपछि थामिएका रहेछन्। नभन्दै उनी अर्थसचिव बने पनि। भन्छन्, "ज्योतिषीले भनेको कुराले आत्मविश्वासको तह बढाउँदो रहेछ। त्यसैले अविश्वास गर्न पनि सकिन्न।"

अझ सेना र प्रहरीका उच्च अधिकारीहरूमा ज्योतिषीप्रति धेरै नै विश्वास छ। पूर्वप्रधानसेनापति गौरवशमशेर राणा प्रधानसेनापति नहुँदै नियमित ज्योतिषीको सल्लाह र परामर्शमा भर पर्थे। त्यही सल्लाहबमोजिम नै उनले घरमा पितृदोष अर्थात् श्रापमोचन पनि गरेका थिए। बलाधिकृत रथी नेपालभूषण चन्द र पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल भने ज्योतिषीलाई घरमै बोलाएर सल्लाह लिन्छन्।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) कुवेरसिंह रानाले एसएसपी हुँदादेखि नै ज्योतिषी निरौलालाई जन्मकुण्डली देखाउँदै आएका छन्। आईजीपी हुनुभन्दा करबि डेढ महिनाअघि श्रीमतीसहित उनको घरमा कुण्डली लिएर पुगेका थिए। निरौला दाबी गर्छन्, "तपाईं आईजीपी हुन सक्ने ग्रह बलियो छ भन्दा उनले पत्याएका थिएनन्, आखिर भनेको मिलेरै छाड्यो।"

सार्वजनिक कार्यक्रममा पनि हातभर िविभिन्न तन्त्र, मन्त्र र शक्तिरूपी भनिएका औँठी लगाउनु नेपाली राजनीतिमा असामान्य कुरा रहेन। समाजशास्त्री चैतन्य मिश्र यस्तो प्रवृत्तिलाई व्यंग्य गर्दै भन्छन्, "लोकसम्मतिले शासन चलाउनुभन्दा पनि देवसम्मतिले शासन चलाउन खोजेजस्तो देखिन्छ।"

राज्य संयन्त्रको माथिल्लो तहका कर्मचारी, राजनीतिक दलका नेताहरू, समाजमा प्रभाव जमाउन सफल व्यक्तिहरू कसैले पनि ज्योतिषीलाई आफ्नो भाग्य देखाएको कुरा सार्वजनिक गर्दैनन्। प्रायः आफूलाई कमजोर र अक्षम ठान्ने मानिस भाग्य देखाउन जाने हुँदा यसलाई उनीहरूले सकेसम्म गोप्य राख्न खोज्ने लोहनी औँल्याउँछन्। भन्छन्, "नियत उदांगो हुने डरले भविष्य हेराएको कुरा लुकाउँछन्।"
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis