नेपालीहरू खानपिनका सौखिन मानिन्छन्। बिहान–बेलुकीको खाना तथा खाजा–नास्तामा उनीहरूको रूचि र रोजाइ के–कस्तो छ भन्ने कुराबाट नै उनीहरूको खानपिन प्रवृत्ति बुझन सघाउ पुग्छ। हिमाल खबरपत्रिकाले यो साता नेपालीहरूको यही प्रवृत्ति बुझन देशका प्रमुख १२ शहरमा खानपिन सम्बन्धी सर्वेक्षण गरेको छ।
सर्वेक्षणबाट बहुसंख्यक शहरिया नेपालीले बिहानको खाजा खाने गरेको देखिएको छ। सर्वेक्षणमा सहभागीमध्ये ६२.१ प्रतिशतले बिहानको खाजा खाने गरेको बताए भने ३७.९ प्रतिशतले 'खान्न' भन्ने जवाफ दिए। उमेर समूह अनुसार १८–२४ वर्षका उत्तरदातामा खाजा खानेको संख्या बढी (६५.३ प्रतिशत) छ भने ६० वर्षभन्दा माथिका ४४.४ प्रतिशतले खाजा खाँदैनन्। सबैभन्दा बढी ३८.४ प्रतिशतले बिहानको खाजामा चिया–पाउरोटी खान्छन्, ११.६ प्रतिशत रोटी, १०.६ प्रतिशत बिस्कुट/कुकिज, ७.९ प्रतिशत पुरी तरकारी र ६ प्रतिशतले चाउचाउ खान्छन्।
शहरिया नेपालीमध्ये बहुसंख्यक (९१.१ प्रतिशत) बिहानको खानामा भात खान्छन्। यसबाट 'भात नखाएसम्म पेट नभरिने' नेपालीको मनोवृत्ति झ्ल्कन्छ। त्यसैगरी भात–रोटी दुवै खाने ४ प्रतिशत, रोटी खाने ३.७ तथा ढिंडो खाने ०.६ प्रतिशत छन्। उमेर समूह अनुसार १८–२४ वर्षका उत्तरदातामध्ये ९८.९ प्रतिशतले बिहानको खानामा भात खान्छन् भने २५–३९, ४०–५९ र ६० वर्षमाथिका क्रमशः ९०.४, ८६ र ८६.७ प्रतिशतले भात खान्छन्। नारायणगढका शतप्रतिशतले बिहानको खानामा भात खान्छन् भने बुटवलमा यो संख्या ७६ प्रतिशत मात्र छ। बुटवलमा १२ प्रतिशतले भात–रोटी तथा ८ प्रतिशतले रोटी खान्छन्। बिहानी खानामा के खाने भन्नेमा आर्थिक स्थिति र खाद्यवस्तुको उपलब्धता पनि महत्वपूर्ण हुन्छ। तुलनात्मक रूपमा आर्थिक स्थिति सबल मानिने नेवार समुदायमा बिहान भात खाने ८२.४ प्रतिशत तथा खाद्यवस्तुको सहज आपूर्ति हुने मधेशीहरूमा यो संख्या ७६.२ प्रतिशत भेटिनु त्यसकै उदाहरण हो।
सर्वेक्षणमा सहभागी बहुसंख्यक (५९.५ प्रतिशत) उत्तरदाता बेलुकीको खानामा पनि भात नै खान्छन्, भात र रोटी दुवै खाने २२.४ प्रतिशत, रोटी खाने १५.५ प्रतिशत, ढिंडो खाने १.७ र अन्य ०.९ प्रतिशत छन्। नारायणगढका ७२ प्रतिशत उत्तरदाताले बेलुकीको खानामा भात खान्छन् भने धनगढीमा भात खाने ४८, रोटी खाने २८ र भात–रोटी दुवै खाने २४ प्रतिशत भेटिए।
मासु कति खानुहुन्छ भनेर सोधिएको प्रश्नमा सबैभन्दा बढी ३०.२ प्रतिशत उत्तरदाताले सातामा एक–दुई छाक खाने गरेको उत्तर दिए। सातामा तीन–चार छाक मासु खाने २०.७ प्रतिशत, १५ दिनमा एक छाक खाने ९.२, महीनामा एकछाक खाने ६.३, चाडपर्वमा मात्रै खाने ५.२, प्रत्येक शनिबार खाने ५.५ र हरेक छाक खाने ४.९ प्रतिशत भेटिए। निकै महँगो खाद्यवस्तु मानिने मासु खाने नेपालीको यो आँकडाले उनीहरूको आर्थिक हैसियत पनि प्रष्ट्याउँछ। सँगै १७.५ प्रतिशतले 'मासु खान्न' भन्ने जवाफ दिनुले शहरिया नेपालीको एउटा ठूलो संख्या शाकाहारी बनेको देखिन्छ।
दूध कत्तिको पिउनुहुन्छ भनेर सोधिएको प्रश्नमा सर्वाधिक ४०.८ प्रतिशत उत्तरदाताले कहिलेकाहीं मात्र पिउने गरेको उत्तर दिए। दूध पिउँदिन भन्ने २७.९, सधैं पिउँछु भन्ने २३.३ र बिरामी हुँदा मात्र पिउँछु भन्ने ७.५ प्रतिशत भेटिए। उमेर समूह अनुसार १८–२४ उमेरका उत्तरदातामध्ये १६.८ प्रतिशतले सधैं पिउने गरेको बताए भने ६० वर्षमाथिका उत्तरदातामध्ये ५५.६ प्रतिशतले सधैं दूध पिउने गरेको उत्तर दिए।
तथ्यांकशास्त्री बालकृष्ण खडकाको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।
–सम्पादक
हिमाल खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !