गाजलु ती ठूलाठूला आँखा
तीर बनी बस्यो यो दिलैमा।
पल्लो कुनाबाट बजेको त्यो गीतमा
लोली मिलाउँदै मदनकृष्ण श्रेष्ठका ओठहरू चलमलाए। एकछिन अघि देखिएको उनको मलिन मुहार बिस्तारै उज्यालो हुँदै गयो। गुलामअलिको यो गीतले उनलाई केही नोस्टाल्जिक बनाएजस्तो देखिन्थ्यो।
मदनकृष्ण एकैचोटी सुदूर अतीतमा पुगे। ०३२ सालतिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा कार्यक्रम सुरु हुनुअघि गुलाम अलि र नारायण गोपालका गीतहरू खुब बज्थे। ती गीत पटक-पटक उनको कानमा ठोक्किँदा मनमा पनि सुटुक्क बसेछन्। पाकिस्तानी गजलकार गुलाम अली उनलाई मनपर्ने कलाकार हुन्। 'जसरी गाए पनि उनका गीत हिट छन्।' मदनकृष्णले अनुहार उज्यालो बनाउँदै भने, 'उनी त हिट् हुनकै लागि जन्मिएजस्तो लाग्छ।' पुनः विषय गाईजात्रामै केन्दि्रत भयो। झन्डै चार दशकअघि प्रज्ञाभवनले आयोजना गर्ने गाईजात्रा कार्यक्रम कति लोकपि्रय थियो भने टिकट किन्न मानिसहरू राति प्रज्ञाभवन परिसरमै बास बस्थे। बिहानको समयमा टिकट बाँडिन्थ्यो।
टिकट हात पर्नेहरू ढुक्कले गाईजात्रा हेरेर मनोरञ्जन लिन्थे। नपाउनेहरू फेरी त्यतै बास बस्थे। त्यतिबेला मदनकृष्णलगायतका कलाकारले समसामयिक विषयवस्तुलाई टपक्क टिपेर गाईजात्रा प्रहसनमा प्रस्तुत गर्थे। तिनमा महँगी, भ्रष्टाचार, कमिसन, ढिलासुस्ती, नातावाद, कृपावाद, अन्याय, अत्याचारजस्ता विषयमा व्यंग्य गरिएको हुन्थ्यो। सुरुसुरुमा २५/३० पैसामा एक माना चामल पाइन्थ्यो, पछि १ मोहर पुग्दा त्यसको सर्वत्र विरोध हुन्थ्यो।
कसरी बाँच्ने होला भन्ने चिन्ता थपिन्थ्यो। आज त्यसको चार दशकपछि पनि व्यंग्यका विषयवस्तु खासै फरक छैनन्। मदनकृष्णको नजरमा बरु हत्या, हिंसा र फोहोरमैलाजस्ता केही विषय थपिएका छन्। 'यतिबेलाको हास्यव्यंग्यमा पात्रहरू मात्र फेरिएका छन्,' उनी सुनाउँछन्- 'विकृति तथा विसंगतिको मात्रा भने अझ बढेको छ।'
नेपालमा गाईजात्रा हास्यव्यंग्य कार्यक्रम सुरु हुनुका पछाडि एउटा रोचक प्रसंग छ। ०२८ सालतिर मदनकृष्णले आफ्ना केही सहकर्मीलाई साथमा लिएर मुनासः -आवाजको जमघट) नामक संस्था खोलेका रहेछन्। उक्त संस्थाले नियमित रूपमा हास्यव्यंग्य कार्यक्रमको प्रतिस्पर्धा गराउँथ्यो। राजधानीका विभिन्न ठाउँबाट हास्यव्यंग्य कलाकारहरू जमघट हुन्थे। तिनले आ-आफ्ना प्रस्तुति देखाएर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्थे। उनीहरू त्यसबापत मुनासः ले प्रदान गर्ने पुरस्कार थापेर बाटो लाग्थे। मदनकृष्ण उक्त कार्यक्रमको निरन्तरताले आफूलाई हास्यव्यंग्यतिर लाग्न प्रेरित गरेको मान्छन्। यसबाट उनले शैली, सीप, भाषा र प्रस्तुति सिके। मुनासः ले आयोजना गर्ने कार्यक्रममा एक पटक सत्यमोहन जोशी पनि निम्त्याइएका रहेछन्। नेवारी भाषामा मात्र प्रस्तुति देखाउने उक्त संस्थालाई 'अब नेपाली भाषामा पनि हास्यव्यंग्य देखाउनुपर्यो' भनेर जोशीले आग्रह गरे। त्यसपछि तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ जोशीको सल्लाह र प्रज्ञा भवनकै सहयोगमा गाइजात्रा हास्यव्यंग्य कार्यक्रम सुरु गरियो जसको अगुवाई मदनकृष्णलगायतका कलाकारले गरेका थिए।
२०३७ सालमा हरिवंश आचार्यसँग भेट भएपछि दुई जनाको जोडी जम्यो। जसले यतिबेला ३४ वर्ष लामो उतारचढाव पार गरिसकेको छ। यो जोडीले फरक जात, उमेर, भाषा र संस्कारमा हुर्किए पनि मिलेर बस्न सकिँदो रहेछ भन्ने बलियो उदाहरण देखाएको छ। 'यसबाट नेताहरूले राम्रो पाठ सिक्न सक्छन्।' हरिवंशभन्दा साढे ७ वर्ष जेठा मदनकृष्णले भने, 'चर्चित हुनेबित्तिकै अलग हुने जोडीहरूलाई पनि गतिलो शिक्षा मिल्न सक्छ।' सबै जातजाति, धर्म, भाषा र भूगोललाई माया गर्ने, आफ्नो सम्भिmने मह जोडीलाई पनि सिंगो मुलुकले आफ्नो मान्यो, विशिष्ट सम्मान दियो। यो जोडीका बनपाले, कान्तिपुर, लालपुर्जा, जलपरी, १५ गते जस्ता टेलिसिरियल आमदर्शकले अत्यन्तै रुचाए।
मदनकृष्ण स्कुल पढ्दा पेन्टिङ गर्थे। पछि उनले गीत रेकर्ड गराए, नाटक खेले, कमिक देखाए, टेलिभिजनका लागि सिरीयल बनाए, चलचित्रहरूमा गीत गाए। सञ्चयकोषमा असिस्टेन्टका रूपमा १२ वर्ष तथा कृषि विकासमा रेडियो उत्पादकका रूपमा १० वर्ष काम गरेका श्रेष्ठ सबैभन्दा बढी हास्यव्यंग्य विधामै जमे। उनले २०३५ सालतिर बीबीसीले दिएको एउटा तालिम लिने अवसर पाएका थिए। उक्त तालिमले कसरी माइक्रोफोनमा बोल्नुपर्छ, कार्यक्रम कसरी चाखलाग्दो बनाउने, श्रोताहरूसंग कस्तो व्यवहार गर्ने जस्ता थुप्रै कुरा सिकायो। त्यही मौकामा तालिम लिएकाहरूले एउटा रेडियो कार्यक्रमको डिजाइन तयार पारे। हास्यव्यंग्यमा आधारित रसरंग कार्यक्रम रेडियो नेपालबाट प्रसारण भयो। आधा घण्टा समय मिलाइएको रसरंगमा मदनकृष्णको १० मिनेटको प्रस्तुति थियो। कार्यालयका हाकिमप्रति व्यंग्य गरिएको उक्त प्रस्तुतिलाई सुरुमा सेन्सर गरियो। पछि काट्नै नमिल्ने भएपछि मात्र पास भयो। उक्त कार्यक्रम खुबै रुचाइयो, जुन कार्यक्रमलाई पछि रेडियो नेपालले निरन्तरता दियो।
पञ्चायतकालमा व्यंग्यमाथि प्रतिबन्ध थियो। रेडियो नेपालबाट रसरंग प्रसारण हुन थालेपछि विस्तारै व्यंग्यको मात्रा पनि बढ्न थाल्यो। स्टेजमा कार्यक्रम गर्दा मह जोडीले अञ्चलाधीशलाई स्क्रीप्ट बुझाउनुपथ्र्यो। त्यो पास भएपछि मात्र प्रस्तुती देखाउन मिल्थ्यो। उनीहरू अञ्चलाधीशलाई बुझाउने स्त्रिmप्टको भाषा अलि नरम राखेर पास गराउँथे र स्टेजमा आफूलाई मन लागेको प्रस्तुति देखाउँथे। त्यस्तो प्रस्तुति हेर्न दर्शकहरूको ओइरो लाग्थ्यो। यसरी चतुर्याँइपूर्वक देखाइएका स्टेज शोहरू यति चर्चित भए कि महजोडी मेचीदेखी महाकालीसम्म पुगे। राष्ट्रिय सभागृहमा विज्ञापन शीर्षकको नाटक देखाउँदा हलमा दर्शक नअटाएर भर्याङदेखि बाटो हुँदै महेन्द्र पुलिस क्लबसम्म मान्छेको लाइन हुन्थ्यो। त्यो नाटक ३ सय ७६ पटक देखाइएको मदनकृष्णलाई अझै सम्झना छ। त्यस्तै अर्को पूर्णङ्की नाटकले पनि लोकपि्रयता कमाएको थियो। उनले गाएका नेपाली तथा नेवारी गीतहरू पनि उत्तिकै चर्चित छन्।
भोटेबहालमा बसिरहेका मदनकृष्णलाई घर बनाउने इच्छा जाग्यो। उनले धोबिधारामा घर बनाउन थाले तर पैसा पुगेन। कसरी पैसा जुटाउने भन्ने उपाय खोजे। मनमा लाग्यो, अब हास्यव्यंग्यको क्यासेट निकालेर बेच्नुपर्छ। हरिवंशसंग मिलेर यमलोक शिर्षकको क्यासेट निकाले। २०३८ सालतिर उक्त क्यासेटले यति तहल्का मच्चायो कि मदनकृष्णले धोबीधारामा एक तलाको घर ठड्याए, हरिवंशले घट्टेकुलामा। उक्त क्यासेटमाथि प्रतिबन्ध लाग्यो भन्ने हल्ला चलेपछि त्यसको बिक्री अझ बढेको थियो। बिहान होस् कि साँझ एकछिन फुर्सद भयो कि महजोडी भेटघाट गरिहाल्थे, जसले गर्दा काम छिटो, छरितो र गुणस्तरीय हुन्थ्यो। आर्थिक हिसाबले मजबुत भइएन भने प्रगति गर्न सकिँदैन भन्ने ठम्याइ छ, मदनकृष्णको।
उमेरले ६३ वर्षको उकालो चढिरहेका मदनकृष्ण भर्खर नयाँ दिल्लीबाट फर्किएका छन्। क्यान्सरपीडित पत्नी यशोदाको कलेजोको अप्रेसन गर्ने सिलसिलामा दिल्ली पुगेका श्रेष्ठ श्रीमतीलाई बचाउने हरउपाय अपनाइरहेका छन्। आफै पनि पार्किन्सन रोगबाट ग्रस्त मदनकृष्ण थाइल्यान्ड र दिल्लीमा चेकअप गराएर औषधि खाइरहेका छन्। नातिकाजी, तारादेवी तथा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई समेत च्यापेको यो रोग लागेपछि दिमागका नशाहरूले बिस्तारै काम गर्न छाड्ने, हिंड्न असहज हुन्छ। ६ वर्ष अघि १९ लाख रुपैयाँ खर्चिएर किनेको फोर्ड गाडी उनी आफैं हाँक्छन्।
उनले यसअघि तीनवटा गाडी फेरिसकेका छन्। अबचाहिँ डा्रइभर राख्नुपर्छ कि जस्तो लागिरहेको छ। अहिले मदनकृष्णलाई हिंड्न पनि असहज भैरहेको देखिन्छ। 'तर म निराश छैन।' उनले हँसिलो मुद्रामा सुनाए- 'शरीर र दिमागले साथ दिउन्जेल काम गर्छु।' सम्भवतः उनलाई सकारात्मक सोच र कर्मले बचाइराखेको छ। रेस्टुराँमा कुराकानी गरिरहँदा उनका केही प्रशंसकले उनीसँग तस्बिर पनि खिचाए। डिस्टर्ब गरेकोमा माफी माग्ने प्रशंसकसँग उनले यो इन्टरभल हो भनेर ठट्टा गरे।
बिहान ५, साढे ५ तिर मदनकृष्णका आँखा खुल्छन्। बिहानीपख ४/५ किलोमिटर मर्निङवाक गरेर फर्किएपछि उनी हल्का ब्रेकफास्ट गर्छन्। उनलाई दाल, भात सबैभन्दा मनपर्ने खाना हो। पहिले पहिले विदेश जाँदा सपिङ गर्ने श्रेष्ठ अहिले खासै सपिङ गर्दैनन्। सामान्य र सजिलो लाग्ने पहिरनमा हिंड्न रुचाउँछन्। नोकिया फोनमै रमाइरहेका मदनकृष्ण दुई वर्ष यता आइफोन बोक्छन्। अमेरिकाको वल्र्ड ब्यांकमा काम गर्ने छोरी सरानाले दुइ वर्ष अघि पठाइदिएको आइफोनले फेसबुक चलाउन, इमेल चेक गर्न सघाएको छ। तारादेवी, बच्चुकैलाश, नारायणगोपाल र गुलाम अलिका पुराना गीत सुन्न मन पराउने मदनकृष्ण नयाँ पुस्ताका गायक, गायिकाका गीतहरू भने गाडीमै सुन्छन्। पहिले पहिले हिन्दी चलचित्र हेर्न खुब मन पराउँथे। अहिले हलमा नछिरेकै दुई वर्ष भैसकेको छ। रेडियो र टिभीमा समाचार सुन्न उनलाई झर्को लाग्छ। अहिलेको राजनीतिक वातावरण एकदम नियास्रोलाग्दो छ। समाचारमा एउटै विषय दोहोरिँदा कान थाप्न मन लाग्दैन। जनता आफैं शिक्षित नहुँदासम्म नेताहरूकै गुलाम बन्नुपर्ने स्थिति रहन्छ भन्ने उनको ठहर छ।
प्रायः अटोबायोग्राफी पढ्न रुचाउने मदनकृष्णले पछिल्लो समय हरिवंशको चिना हराएको मान्छे छिचोले। उक्त पुस्तकमा उल्लेखित ९५ प्रतिशत कुरा उनलाई पहिल्यैदेखि थाहा छ। हरिवंशका सुखसँग उनले आफ्नो हाँसो साटेका छन्, दुःख र अभावहरूसँग कैयौं पटक रोएका छन्। आफ्नै पुस्तक निकाल्ने तयारी गरिरहेका मदनकृष्णले त्यसको केही अध्याय लेखिसकेका छन्। 'लेखेर कहिले सकिन्छ ठ्याक्कै भन्न सक्दिन।' उनले सुनाए, 'हतार छैन, बिस्तारै लेख्दैछु।' उनलाई वर्तमान समय र आफ्नो अघि भएको व्यक्ति सबैभन्दा महत्वपूर्ण लाग्छ। बाल्यकाल, किशोरवय र युवाकालमध्ये कुनै एउटा रोज्नुपर्दा उनी युवाकाल रोज्छन्। ज्यान पनि बलियो हुने र रमाइलो पनि गर्न पाइने भएकाले युवावस्था रोजेको उनले सुनाए। कुराकानी सकेर र्फकंदा बाहिर सिमसिमे पानी बर्सिरहेको थियो। उनलाई पानीमा भिज्न मन लाग्दो रहेनछ। बिदाइको हात हल्लाउँदै उनी गाडीभित्र पसे। उनले हाकेको फोर्ड गाडी एकैछिनमा पर कतै हरायो।
पछिल्लो पटक कहिले रुनुभयो ?
हरिवंशकी श्रीमतीको निधन हुँदा।
सपना देख्नुहुन्छ ?
कमै देख्छु।
मन्दिर जानुहुन्छ ?
कहिलेकाहीं।
भगवानप्रति विश्वास छ ?
कृतज्ञ छु।
मनपर्ने नेता ?
बिपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी, गणेशमान तथा कृष्णप्रसाद भट्टराई
यसपालि मंसिरमा चुनाव हुन्छ ?
यकिन छैन तर हुनुपर्छ।
मिल्ने भए यो जुनीमा के गर्नुहुन्थ्यो ?
आफ्नो पूरै शरीर फेर्थें।
जीवन के हो ?
यसको कुनै निश्चित स्वरूप छैन।
मृत्यु के हो ?
धु्रवसत्य।
मृत्युदेखि डर लाग्छ ?
दिक्क भएका बेला लाग्दैन। आनन्दित भएका बेला कहिलेकाहीं डर लाग्छ।
कहिलेदेखि कपाल फुल्यो ?
६ वर्षअघिदेखि ।
चस्माको पावर कति छ ?
२ दशमलव ५ +
सबैभन्दा नजिकको व्यक्ति ?
काममा हरिवंश अरू बेला परिवार।
मन पर्ने चलचित्र ?
संगम, ससुराल, छोटीबहन, तकदीर।
मनपर्ने गायक-गायिका ?
बच्चुकैलाश, तारादेवी, नारायण गोपाल तथा गुलाम अली।
नेपालका कति जिल्ला घुमियो ?
लगभग ६५ जिल्ला।
विदेश ?
लगभग ३६ देश पुगियो होला।
पूरा गर्न मन लागेको काम ?
श्रीमतीलाई क्यान्सरबाट मुक्त गराउनु।
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !