कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा
रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा लगाएर कानुनी रुपमै अमेरिका छिर्छन्, नसक्नेहरुलाई लाखौँलाख रुपियाँ लिएर मानव तस्करहरुको समूहले विभिन्न देशको जोखिमपूर्ण यात्रा गर्दै अमेरिका छिराउने वाचा गर्छन्। त्यही अवैध बाटोबाट अमेरिका छिर्ने सञ्जालको बाटोमा पर्छ कोस्टा रिका। माथिको फोटो आठ जना नेपालीको हो। केही हप्ताअगाडि त्यहाँको पब्लिक सेक्युरिटी मिनिस्ट्रीले सार्वजनिक गरेको हो यो फोटो। कोस्टा रिकाबाट निकारागुआ पुर्याउन लागेका बेला त्यहाँको पुलिसले उनीहरुलाई लैजाने दुई आफ्नै देशका मानव तस्करसहित नियन्त्रणमा लिएको थियो। ती नेपालीहरु को हुन्, कहाँका हुन्, अहिले उनीहरुको अवस्था के छ ? कोस्टा रिकामै छन् कि नेपाल फर्किए ? केही हप्ताअघिदेखि उनीहरुको स्थिति बुझ्न खोजे पनि प्रयास सफल हुन सकेन।एउटा कुरा भने प्रष्ट छ- उनीहरु ऋण गरी वा घरखेत धितोमा राखी २५/३० लाख रुपियाँसम्म दलाललाई बुझाई डलर कमाउने मिठो सपना देखेर अमेरिकातिर लागेकाहरु हुन्। बीचमा कयौँ हन्डर खाएर उनीहरु कोस्टा रिकासम्म पुगेका हुन्। तर अचेल कोस्टा रिकामा भएको कडाइका कारण उनीहरुको प्रयास सफल हुन सकेन।
मानव तस्करहरुको सञ्जाल तपाईँले सोचेभन्दा बृहत् छ। हरेक देशमा सेटिङ मिलेको हुन्छ र हरेक देशमा लोकल दलालहरु हुन्छ। पनामातिरबाट लोकल दलाले ती आठ नेपालीलाई कोस्टा रिकाको दलालाई जिम्मा लगाएको हुनुपर्छ। अनि यी कोस्टा रिकाको दलालको काम निकारागुवाको सीमासम्म पुर्याइदिनु हुन्छ।
उनीहरुलाई लिएर दुई वटा कार गइरहेको रहेछ। अकस्मात् हाइवे पेट्रोलिङमा रहेको पुलिस देखेपछि दुई वटा कारले स्पिड बढाएछ। झन् शंका भइहाल्यो पुलिसलाई। पछ्याउँदा त कारबाट गोली चल्न थाल्यो। गोली हानाहानपछि उनीहरुलाई आखिरमा प्रहरीले उनीहरुलाई पक्रेरै छाड्यो।
कोस्टा रिकामा उनीहरु अवैध रुपमै जमिनबाटै प्रवेश गरेको त्यहाँको जुडिसियल इन्भेस्टिगेसन पुलिस बताउँछ। पुलिसले दुई जना उसकै देशका लोक दलाल ४३ वर्षका कोरिया र २० वर्षका लारालाई पक्रेको छ। कोरिया त त्यहाँको नामी ड्रग र मानव तस्कर रहेछ। अभियोग प्रमाणित भए उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ।
ती आठ नेपालीलाई भने प्रोसेक्युटरको अफिसले हिरासतमा राखेको थियो अपराधका प्रत्यक्षदर्शी र शिकारका रुपमा। अध्यागमन विभागले उनीहरुलाई नेपाल फर्काउने कि कोस्टा रिकामै राखेर अपराधीविरुद्ध बयान सयान दिन लगाउने भन्ने निर्णय गर्ने भनिएको थियो। अवैध रुपमा कोस्टा रिका छिरेको हुनाले उनीहरु अध्यागमन कानुन अनुसार पनि दोषी हुन्छन्।
चार नेपाली बेपत्ता
कोस्टा रिकाका प्रहरी/प्रशासन नेपाली भन्ने बित्तिकै चनाखो हुन थालिसकेका छन्। त्यहाँका मिडियामा पनि नेपालीको नाम आउनु नौलो नभइसकेको छ। गएको जुलाई १३ मा पनि युनिभर्सिटी अफ कोस्टा रिकाको निमन्त्रणामा आएका चार नेपाली भागेर बेपत्ता भएका थिए। उनीहरु जुलाई १० मा त्यहाँ पुगेका थिए। तेस्रो दिनमा बेपत्ता भएकोले अमेरिकातिर लाग्न नियोजित रुपमै त्यहाँ गएको शंका गर्न सकिन्छ। ती नेपाली भागेको कान्ड बारे अर्को ब्लगमा विस्तृत लेखौँला।
कोस्टा रिका नाघ्दैमा अमेरिका पुग्ने हैन
कोस्टा रिका त अमेरिका अवैध रुपमा प्रवेश गर्ने लामो तर जोखिमपूर्ण यात्राको एउटा बिसौनी मात्र हो। सान्दर्भिक भएकोले पुरानै ब्लगका केही अंश फेरि पनि यहाँ राख्दैछु।
सभासम्मेलनमा भाग लिन, कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमेरिका वैधानिक बाटोबाट पुग्ने र त्यहाँ पुगेपछि अवैधानिक रुपमा लुक्ने सजिलो बाटो हो। अमेरिकी दूतावासबाट निश्चित अवधिको अनुमति (भिसा) त्यसका लागि जरुरी हुन्छ। तर भिसा लगाउन गाह्रो छ। त्यसो भए अमेरिका पुग्ने अर्को बाटो के छ त ? चोर बाटो ! अमेरिकाको सीमा जोडिएको मेक्सिकोबाट चोरबाटोबाट त्यहाँ छिर्न पाइयो भने भिसा पनि लगाउनु परेन। अमेरिका छिर्नुमात्र पर्छ, काम फालाफाल। डलरै डलर। अनि टन्न कमाउनुस् न, अहिले अलि अलि पैसा खर्च गर्नुपरेकोमा लोभ नगर्नुस्- यस्तै भन्दै दलालहरु फकाउने गर्छन्।
तर दलालहरुले फकाए जस्तो चोरबाटोबाट अमेरिका पुग्न सजिलो भने छैन। महिनौँ समय लाग्छ। अनेक देशहरुमा लोकल दलालहरु एजेन्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने संभावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठीकै छ, भएन भने र दलालहरुले छाडेर भागे भने गुमनाम देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरु विकल्प हुन्न।
कस्तो छ बाटो ?
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।
चोर बाटोबाट अमेरिका पुग्न विमान, सडक र जल तीनैथरिका यात्रा गर्नुपर्छ। अमेरिका गएर डलर कमाउने भयो भनेर काठमाडौँ विमानस्थलमा फूलमाला पहिर्याएर विदा गरेकै दिनदेखि दुःखको एउटा लामो यात्रा सुरु हुन्छ। कम्तिमा १२ देश हुँदै यात्रा गर्नुपर्छ उसले।
सुरुमा काठमाडौँबाट दलालले उसलाई कतारको दोहा पुर्याउँछ। यो पहिलो गन्तव्य भयो। दोस्रो महत्त्वपूर्ण गन्तव्य हो ब्राजिल। दोहाबाट विमानमा १४ घण्टा उडेपछि आइपुग्छ नेपालीले विश्वकप फुटबलमा मात्र धेरै सुन्ने गरेको देश ब्राजिल। दक्षिण अमेरिकाको यो उदाउँदो अर्थतन्त्र भएको देशलाई ट्रान्जिटको रुपमा दलालहरुले उपयोग गर्ने हुन्। तर कतिपयको अमेरिकी सपना सेटिङ नमिलेर यहीँ टुङ्गिन्छ। अहिले पनि झण्डै १०० जना नेपाली त्यहाँ अलपत्र परेका छन्।
दलालहरुले यस्तरी सेटिङ मिलाएका हुन्छन् कि ब्राजिल वा अर्को गन्तव्य बोलिभियाको भिसा नहुँदासमेत उनीहरु त्रिभुवन विमानस्थल र कतारको विमानस्थलको अध्यागमनबाट समेत सहजै पार हुन्छन्। ब्राजिलमा त्यहीँको दलालले सेटिङ मिलाउँछ र त्यहाँबाट अर्को गन्तव्य बोलिभियाका लागि प्लेन चढाउँछ। बोलिभियामा अन अराइभल भिसा पाइन्छ।
बोलिभिया अर्को एउटा महत्त्वपूर्ण गन्तव्य हो। त्यहाँबाट अर्को कदम के हुने निश्चित गरिन्छ। बोलिभियाको लापाजमा मेक्सिको र ब्राजिलको भिसा लाग्यो भने फेरि बोलिभियाबाट ब्राजिलै पुग्नुपर्छ सडक बाटो। अनि साओ पाउलोबाट कोलम्बियासम्म फेरि प्लेन यात्रा। कोलम्बिया पुगेपछि पासपोर्ट लगायतका सबै कागजात च्यातेर फालेर मोटरबाटो, जंगल, समुद्र हुँदै लुकीछिपी मेक्सिको र त्यहाँबाट फेरि लुकेर अमेरिका प्रवेश गराइन्छ।
मेक्सिकोले भिसा दिएन भने अर्को रुट पनि छ- बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्ने। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ माथिको फोटोमा देखाइए जस्तै कोच्चिएर। बोलिभियाका लोकल दलाले पेरुको सीमासम्म पुर्याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टारिका अनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्याइदिन्छ।
सबै देशको यात्रा बिना भिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकोले जोखिम उत्तिकै हुन्छ। कुनै पनि देशमा समातिन सक्छन् उनीहरु। मेक्सिको पुगेपछि भने अमेरिकाको संघार मै आइपुगियो। मेक्सिको र अमेरिकाको सीमामा ठूल्ठूला पर्खाल लगाइएका छन्। तर तस्करहरुले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि कसैगरी प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराइदिन्छ।
मेक्सिकोबाट पर्खाल चढेर अमेरिका जाँदै। फोटोः विकिपेडिया
यो चोर बाटोको रुटमा पर्ने विभिन्न देशमा हजारभन्दा बढी नेपाली अलपत्र परेर बसिरहेका छन्। सबैले लाखौँ खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरुको स्थिति के होला ? कल्पना गर्दा पनि डरलाग्दो!
कोही कोही फर्कन पाउँछन्। तर त्यतिञ्जेल दलालहरुलाई दिने र आफ्नो बाटो खर्च गरी लाखौँ खर्च भइसकेको हुन्छ। कोही भने बीच कै रुटमा शरणार्थी बन्दै सानोतिनो जीविका चलाइरहेका हुन्छन्। कोही भने आफै दलालका रुपमा परिणत भएर नेपालीलाई ठग्ने काममा लागेका हुन्छन्।
[साथीहरु, के तपाईँ वा तपाईँका कुनै परिचित पनि यस्तै चोर बाटोबाट अमेरिका पुग्नुभएको छ? तपाईँ पुग्नुभएको भए तपाईँ कसरी पुग्नुभयो, बाटोमा कस्तो दुःख भयो, त्यसको अनुभव वा तपाईँका कोही साथी, परिचित पुगेको भए उनीहरुले सुनाएको अनुभव तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !