CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » किन कारबाहीमा पर्‍यो खेतानको एभरेस्ट इन्सुरेन्स ?

किन कारबाहीमा पर्‍यो खेतानको एभरेस्ट इन्सुरेन्स ?


काठमाडौं, १३ भदौ 
एभरेस्ट इन्सुरेन्सका अध्यक्ष राजेन्द्र खेतानसहितका नौजना सञ्चालकले अनियमितता गरेको भन्दै बिमा समितिले सचेत गराएको छ । इन्सुरेन्सका प्रमुख कार्यकारी केवलकृष्ण श्रेष्ठसहितका उच्च अधिकारीलाई जरिवाना गर्ने निर्णय
भएको छ ।
आफ्नै लगानीमा सञ्चालित मायोज चाउचाउको उद्योगलाई नियमविपरीत चार करोड क्षतिपूर्ति भुक्तान गरेको पुष्टि भएपछि अध्यक्ष खेतानसहित सञ्चालक समिति र उच्च अधिकारी कारबाहीमा परेका हुन् । एभरेस्टका सञ्चालकले आफ्नै लगानीका उद्योगबाट पैसा नलिई उधारोमा बिमा गराएको, व्यवस्थापकले गर्ने काममा सञ्चालकले आफैं हात हालेकोे, नियमित विवरण नबुझाएको, नियमविपरीत सहकारीमा लगानी गरेकोजस्ता १८ वटा गम्भीर आरोप पुष्टि भएपछि समितिले कारबाहीको निर्णय गरेको हो । 
इन्सुरेन्सको सञ्चालक समितिको अध्यक्षमा उद्योगपति, पूर्वसभासद् एवं खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान छन् । उपाध्यक्ष रतनलाल संघाई, सञ्चालकहरूमा राजेन्द्रका भाइ प्रेमप्रकाश खेतान, वीरेन्द्रकुमार शाह, मधुसुधन अग्रवाल, निरञ्जन टिवडेवाला, ओमप्रकाश सिकरिया, प्रसाद ज्ञवाली र रविकुमार टिवडेवाला छन् । 
खेतान गु्रपको लगानीमा सञ्चालित हिमालयन स्न्याक्स एन्ड नुडल्सको कारखानामा अघिल्लो असारमा आगलागी भएपछि क्षतिको पूर्ण विवरण नआउँदै इन्सुरेन्सबाट चार करोड क्षतिपूर्ति भुक्तानी गरिएको थियो । जब कि इन्सुरेन्स गरेको पैसा एभरेस्टमा बुझाइएको नै थिएन । उद्योग र इन्सुरेन्स दुवैतिर खेतान आफैं अध्यक्ष भएकाले कागजमा मिलाएर इन्सुरेन्स रकम उधारो राखेका थिए । एभरेस्टले आफ्नै अध्यक्षको उद्योग हिमालयन स्न्याक्सको बिमा गरिएको जानकारीसमेत बिमा समितिलाई दिएको थिएन ।
एभरेस्ट इन्सुरेन्सले सर्वसाधारणका ३८ सय दाबी भुक्तानी गर्न बाँकी छ । एउटा दाबीलाई भुक्तानी गर्नुपर्ने रकम न्यूनतम एक लाख भएमा पनि एभरेस्टले सर्वसाधारणको ३८ करोड रुपैयाँका भुक्तानी गर्नुपर्छ । तर, ३८ सय सर्वसाधारणलाई क्षतिपूर्तिका लागि झुलाउने एभरेस्टले आफ्ना अध्यक्षको उद्योगलाई भने क्षतिको पूर्ण रिपोर्ट नआउँदै रकम भुक्तानी गर्नुलाई जायज मान्न नसकिने समितिका एक अधिकारीले भने । 'कम्पनीले एकातिर सर्वसाधारणको भुक्तानी रोकेको छ, अर्कोतिर आफ्नै अध्यक्षको उद्योगको भुक्तानी अगि्रम रूपमा दिएको छ, त्यसैले कारबाही गरिएको हो,' उनले भने, 'हतार-हतार भुक्तानी गरिएकाले पनि आगलागी पनि शंकास्पद देखिएको छ, यस विषयमा छानबिन गर्नुपर्छ ।'
समितिले स्थलगत रूपमा अध्ययन गर्दा इन्सुरेन्सका अध्यक्ष राजेन्द्र, सञ्चालक रतनलालले इन्सुरेन्सको दैनिक प्रशासनिक कार्य सञ्चालनमा समेत हात हालेको भेटिएको थियो । उनीहरूले सर्वसाधारणका दाबीका विषयमा आफंै अघि सरेर निर्णय गर्दै आएका थिए । 
एभरेस्टले बिमाबापत उठेको रकम सञ्चालकहरूको लगानी रहेको नेपाल एसबिआई बैंक र हिमालयन बैंकमा खाता खोली राखेका थिए । आफू सञ्चालक भएको इन्सुरेन्सको रकम आफैं सञ्चालक रहेको बैंक तथा वित्तीय संस्थामा राख्न नपाइने व्यवस्था छ । एसबिआईमा एभरेस्टकै सञ्चालक निरञ्जन र हिमालयनमा प्रेमप्रकाश खेतान सञ्चालक छन् । 
एभरेस्टले व्यवसाय प्रवर्द्धनका लागि विभिन्न उपहार खरिद गर्न दुई करोड खर्च गरेको देखाएको छ, 'उपहारमा दुई करोड खर्चनु पनि अर्को आर्थिक अनियमितता हो,' समितिका अधिकारीले भने, 'एभरेस्ट इन्सुरेन्सले सहकारीमा समेत लगानी गरेको छ, यो पनि अनियमित नै हो ।' त्यस्तै सञ्चालककै घर भाडामा लिएको, इजाजत प्राप्त नभएका व्यक्तिलाई बिमाको अभिकर्ता बनाएको पनि पुष्टि भएको छ । 
अनियमितता गरेको पुष्टि भएकाले एभरेस्टको अग्नि बिमा व्यवसायमा समितिले प्रतिबन्ध लगाएको छ र अनियमितता भएका विषय सुधार्न ३५ दिनको समय दिएको छ । त्यस्तै, इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठलाई १० हजार जरिवाना तोेकेको थियो । चार लाखभन्दा बढीको भुक्तानी सञ्चालक समितिको निर्णयमा गर्नुपर्ने भएपछि श्रेष्ठले खेतानको उद्योगलाई भने एक्लै चार करोड भुक्तानी दिएका थिए । नियमविपरीत हुने यो निर्णय एक्लै गर्न श्रेष्ठलाई अध्यक्षले नै दबाब दिएको स्रोतको दाबी छ । 
बिमाको अगि्रम दाबी रकम भुक्तानी सिफारिस गर्ने इन्सुरेन्सका उपमहाप्रबन्धक तुल्सीनारायण मानन्धर, सहायक महाप्रबन्धक अनिल ढुंगेल र सहायक महाप्रबन्धक सुद्युम्न उपाध्याय पनि कारबाहीमा परेका छन् । बिमा समितिले उनीहरूलाई जनही तीन हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । 
बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले एभरेस्ट इन्सुरेन्सको स्थलगत अध्ययनको क्रममा कम्पनीले संस्थागत सुशासनलाई कायम नगरेको देखिएको बताए । 'ऐनविपरीत कार्य गरेको हुनाले एभरेस्टको कारोबारमा आंशिक रोक लगाइएको छ, ३५ दिनभित्रमा सुधार नगरे थप कारबाही हुन्छ,' उनले भने । 

बिमा समितिको ठहर

१ पूर्वसभासद्, उद्योगपति तथा एभरेस्ट इन्सुरेन्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नै लगानीको हिमालयन स्न्याक्स एन्ड नुडल्स -मायोज चाउचाउको उत्पादक) को इन्सुरेन्स गराए तर उधारोमा, हिमालयन स्न्याक्सको इन्सुरेन्स भएको छ भन्ने बिमा समितिलाई जानकारी पनि थिएन

२ अघिल्लो १७ असारमा हिमालयन स्न्याक्सको बनेपास्थित कारखानामा आगलागी भयो, क्षतिको अन्तिम विवरण नआउँदै एभरेस्ट इन्सुरेन्सबाट चार करोड भुक्तानी भयो, एभरेस्टमा इन्सुरेन्स गरेका ३८ सय सर्वसाधारणका दाबी "पेन्डिङ" छन्, तर उधारो इन्सुरेन्स भएको उद्योगको भुक्तानी भने हतारमा गरियो

३ चार लाखभन्दा बढी रकमको भुक्तानी गर्दा सञ्चालक समितिबाट निर्णय गराउनुपर्छ, तर आफ्नै उद्योगलाई नियमविपरीत चार करोड भुक्तानी दिलाउने निर्णयमा राजेन्द्र खेतानले हस्ताक्षर गरेनन्, प्रमुख कार्यकारीको एकल निर्णयबाट भुक्तानी भयो, नियमविपरीत हुने निर्णयमा सञ्चालक समिति चोखो बस्यो

४ इन्सुरेन्सका सञ्चालकहरु नै सञ्चालक भएको बैंकमा रकम राख्न नपाइने नियम छ, तर एभरेस्टको रकम आफ्नै सञ्चालकहरू नै भएको हिमालयन र नेपाल एसबिआई बैंकमा खाता खोलेर जम्मा गरेको भेटियो, हिमालयनमा प्रेमप्रकाश खेतान र एसबिआईमा निरञ्जन टिवडेवाला सञ्चालक छन्

५ बिमा समितिले अनुसन्धान गर्दा एभरेस्ट इन्सुरेन्सको रकम नियमविपरीत सहकारीमा समेत लगानी गरेको भेटियो, त्यस्तै सञ्चालकहरुकै घर भाडामा लिएको र त्यसको जानकारी समितिलाई नदिएको पुष्टि, इजाजत प्रमाणपत्र नलिएका व्यक्तिहरुलाई बिमा अभिकर्ताका रुपमा परिचालन






आशीष ज्ञवाली/नयाँ पत्रिका 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis