मुम्बई, माघ ११ - बलात्कारबाट बच्न के के गर्ने भन्ने बहस भारतमा गत एक महिनादेखि व्यापक रुपमा चलिरहेको छ ।
यस क्रममा बुधबार थालिएको भनिएको एउटा पहल भने अत्यन्तै अनौठो छ र सो पहलका बारेमा भारतका आजका अखबारमा व्यापक मात्रामा रिपोर्टिङ भएको छ ।
बलात्कारबाट बच्ने उपायहरूको खोजीका बहसहरू जारी नै रहेका बेला बुधबार अबेरतिर गरिएको नयाँ निर्णय हो– महिलाले नै हतियार बोकेर हिंड्ने ।
भारतको एक हिन्दु अतिवादी पार्टीका रुपमा परिचित शिवसेना पार्टीको नयाँ निर्णय हो । सो पार्टीले उक्त निर्णय सार्वजनिक मात्र गरेन उसले महिलालाई सँगै लिएर
हिँड्नका लागि भन्दै छुरी नै वितरण गर्यो ।
बुधबार साँझ मुम्बइमा आयोजित एक समारोहमा सो पार्टीले त्यहाँ जम्मा भएका हजारौँ महिलालाई छुरी नै वितरण गरेको थियो ।
भारतमा अशान्ति मच्चाउने पार्टीका रुपमा चर्चामा ल्याउने गरिएको सो दलले औपचारिक रुपमा नै हिजो बुधबार एक कार्यक्रमको आयोजना गरी ती छुरी वितरण गरेको हो ।
शिव सेना पार्टीका संस्थापक बाल ठाकरेको जन्मदिनको अवसर पारेर हिजो सो समारोहको आयोजना गरिएको जानकारी एकजना पार्टी सदस्यले दिए ।
महिलालाई तीन इन्च लामो छुरी वितरण गरिएको थियो । सो छुरी वितरण समारोहपछि सो पार्टीका एकजना नेता अजय चौधरीले भने– जुन रुपमा तपाईंहरू तरकारी काट्नुहुन्छ त्यही रुपमा बलात्कार गर्न खोज्नेको हात पनि काटिदिनु ।
साथै उनले सबै महिलालाई आफू हाट बजार एवम् अन्यत्र जहाँ जाँदापनि आफ्नो झोलामा छुरी बोक्न नबिर्सन पनि सुझाव दिएका थिए ।
महाराष्ट्र राज्यमा आफुहरूले २१ हजार महिलालाई छुरी वितरण गर्ने कार्यक्रम राखेको जानकारी पनि उनले सोही समारोहमा दिएका थिए ।
गत डिसेम्बर महिनामा भारतीय राजधानी नयाँ दिल्लीमा एक २३ वर्षीया युवती सामुहिक बलात्कारमा परी पछि उनको निधन भएपछि भारतमा बलात्कार घटना रोक्नका लागि विविध पहलहरू भएका छन् । रासस/एएफपी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !