CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नेपाल त रित्तिन पो लागेछ

नेपाल त रित्तिन पो लागेछ

संयुक्त राज्य अमेरिकामा एक लाख २५ हजार नेपाली बसोवास गर्छन्, जसमध्ये ५९ हजार 'ग्रीनकार्ड होल्डर' छन्। तर अमेरिकामा नेपालीहरूको आफ्नै पहिचान भने छैन। दक्षिण एसियन भनेर चिनाउनुपर्ने अवस्था छ। सर्वसाधारणको त कुरै छाडौं, अमेरिकी सिनेटर र कांग्रेस म्यानहरूले समेत नेपाल चिन्दैनन्। नेपाल कहाँ छ भन्ने उनीहरूलाई थाहा छैन। त्यसैले नेपालसम्बन्धी अमेरिकी नीति चीन र भारतमार्फत तय हुन्छ। कम्तीमा पनि अमेरिकी कांग्रेसमा दक्षिण एसियाको प्रतिनिधित्व हुन्थ्यो भने नेपाल कहाँ पर्छ भनेर कांग्रेस बेखबर हुने थिएन।  
आफ्नो देशमा रहँदा म राजनीतिमा खासै चासो राख्दैनथे। अमृत साइन्स जस्तो सधैं विद्यार्थी राजनीतिले तानिने क्याम्पसमा म
२४ वर्षअघि विद्यार्थी थिएँ। त्यो बेला देशको सडक राजनीति विद्यार्थीहरूले नै धान्थे। तर मलाई भने त्यति चासो थिएन। इलेक्ट्रोनिक विषयमा इन्जिनियरिङ अध्ययनका लागि जब २४ वर्षअघि अमेरिका पुगें, त्यसलगत्तै खाडी युद्ध सुरु भयो। मेरो सपनाको अमेरिका र गल्फ वारका क्रमको अमेरिकामा मैले धेरै नै फरक पाएँ। त्यसबेला रिपब्लिक पार्टीको सत्ता थियो। गल्फ वार गलत हो, रिपब्लिनहरूले गलत गरे भन्ने महसुस गर्दै म पनि लबिङमा लागें। त्यो लबिङ नै मेरा लागि अमेरिकी राजनीतिमा प्रवेश गर्न द्वार बन्यो। पढाइ र राजनीति सँगसँगै अघि बढ्यो। पढाइ खर्चको जोहो गर्न काम पनि गर्नुपर्थ्यो। दैनिक १८/२० घन्टा नखटिई सुखै थिएन। सन् २००३ मा पढाइ सकिएपछि नेपाल फर्कने कि भन्ने सोचाइ पनि आयो, तर माओवादी जनयुद्धका कारण नेपाल फर्केर जागिर खाने या व्यवसाय गर्ने वातावरण थिएन। अमेरिकामै बस्नुपर्ने भयो। राजनीतिमा पनि संलग्न भएकाले अरुकोमा जागिर खानुभन्दा आफ्नै व्यवसाय गरी अरुका लागि पनि रोजगारी सिर्जना गर्नु उपयुक्त हुन्छ कि भन्ने सोचाइ मनमा आयो। आफूले अध्ययन गरेकै विषयमा आधारित इलेक्ट्रिकल वस्तुको उत्पादन गर्ने विषयमा साथीहरूबीच छलफल भयो। यसका लागि केही महिना लगाएर बजार अध्ययन गर्‍यौं। हाम्रो उत्पादनले बजार पाउँछ भन्ने सुनिश्चित भएपछि सन् २००३ मा आफ्नै कम्पनी खोल्यौं। त्यतिबेला दैनिक १८/२० घन्टा काममा खटिन्थ्यौं। हाम्रो उत्पादनले विस्तारै बजार लिन थाल्यो। अमेरिकाका ५० वटै राज्यमा हाम्रो उत्पादनले राम्रो बजार पायो।  
आफ्नो उत्पादनलाई बजार दिलाउन त सफल भइयो, अब अमेरिकामा रहने नेपालीलाई कसरी पहिचान दिलाउने भन्नेतिर म केन्द्रित हुन थालंे। गल्फ वारकै क्रममा मेरो राजनीतिक छवि स्थापित भइसकेको थियो। डेमोत्रे्कटिक पार्टीका नेताहरूले मलाई राम्रै रेस्पोन्स गर्थे। एकपटक अमेरिकी कांग्रेसमा पुग्न सकियो भने नेपालीलाई पहिचान दिलाउन सकिन्छ भन्ने लाग्यो। त्यसपछि चुनावी राजनीति सुरु गरें। तल्लो तह मानिने सिटी काउन्ट्रीको निर्वाचनमा भाग लिन थालें। चुनावमा उम्मेदवार बन्नुअघि आफू आबद्ध पार्टीभित्रै प्रतिपर्स्धा गर्नुपर्छ। यी प्रतिस्पर्धामा पनि मैले जित्दै गएँ। काउन्ट्रीका तर्फबाट राज्यमा प्रतिनिधित्व गर्ने अवसर पाएँ। यसैक्रममा सन् २००८ मा बाराक ओबामा हाम्रो वासिंगटन राज्यबाट प्रतिनिधित्व गर्दै देशको राष्ट्रपति बन्ने अभियानमा लागे। त्यसक्रममा हामीले निकै ठूलो लबिङ गर्‍यौं। बाराक ओबामाले युवावर्गको प्रतिनिधित्वलाई जोड दिएका थिए।  
ओबामाले राष्ट्रपति चुनाव जितेपछि म बढी नै उत्साहित भएँ। अब कांग्रेस म्यान बन्न सक्छु भन्ने हिम्मत आयो। सन् २०११ को जनसंख्याको वृद्धि आधारमा वासिंगटनमा एउटा निर्वाचन क्षेत्र थप गरियो। त्यस क्षेत्रमा क्रियाशील हाम्रो पार्टी (डेमोक्रेटिक) का नेता गभर्नर बन्न चाहेका कारण मैले मौका पाउँछु कि जस्तो लाग्यो। पार्टीभित्र र बाहिर लबिङ गरें। त्यस क्षेत्रबाट कांग्रेसका लागि चुनाव लड्न चाहने रिपब्लिकन पार्टीबाट जम्मा एकजना थिए। तर हामी डेमोक्रेटिक पार्टीमा भने पाँचजना भयौं। पाँचजनामध्ये एकजना छानिने पार्टीभित्रै आन्तरिक चुनाव भयो। त्यो चुनावमा सफल भएँ। यसरी अमेरिकी कांग्रेसमा पुग्ने मेरो अभियान आधा सफल भयो। मुख्य खुड्किलोका रूपमा रहेको चुनाव त बाँकी नै थियो। मेरा प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार आर्थिक दृष्टिकोणले निकै सम्पन्न थिए। चुनावको लबिङ गर्न निक्कै नै ठूलो रकम चाहिने भयो। तर एसियाली मुलुकबाट आएको उम्मेदवार भन्दै मिडियाले मलाई पनि सहानुभूतिका साथ स्थान दियो। नेपाली मिडियाले पनि धेरै हाइलाइट गरे। मिडियाको यो हाइलाइटपछि अमेरिकामा बस्ने नेपालीहरूले धमाधम सम्पर्क गर्न थाले। वास्तवमा अमेरिकामा बस्ने नेपालीहरूले मेरो उम्मेदवारी ऐतिहासिक ठाने।   
सबैले आफ्ना ठाउँबाट सहयोग गरे। घरघरमा गएर प्रचार–प्रसार गरें। चुनावी प्रचारका लागि तीन महिनाको अवधिमा १० लाख डलर संकलन भयो। प्रचार–प्रसारको सिलसिलामा म आफैं ६ हजार घरमा पुगें। मेरी आमा पाँच हजार घरमा पुग्नु भएछ। १५ हजार मैले टेलिफोन सम्पर्क गरे। सात लाख जनसंख्या र पाँच लाख मतदाता भएको निर्वाचन क्षेत्र थियो त्यो। क्षेत्रफलको हिसाबले पनि निकै ठूलो थियो। दुई सय किमी लम्बाइको थियो। क्यानडासँग सीमा जोडिएको थियो। त्यसैले प्रचार–प्रसारका लागि दैनिक १८/२० घन्टा नखटी सुख्खै थिएन। झिनो मतले पराजित हुन पुगंे। तर पराजित भएकोमा मलाई दुःख लागेको छैन, कम्तीमा पनि अमेरिकी कांग्रेसका लागि उम्मेदवार बन्न डेमोक्रेटिक जस्तो पार्टीले पत्यायो। डेमोक्रेटिक पार्टीभित्र राम्रै चिनजान र पकड भयो। जित्न सकेको भए आफ्नै देश नेपालका लागि धेरै नै गर्न सकिन्थ्यो। पराजित नै भए पनि आफ्नो पार्टीका कांग्रेस म्यान साथीहरूलाई नेपालका बारेमा अवगत गराइरहेको छु।  
अर्काे वर्ष कांग्रेस म्यानको एउटा टोलीलाई नै नेपाल भ्रमण गराउने योजनामा छु। चुनावमा पराजय ठूलो कुरा हुन्न। पराजयबाट पनि शिक्षा लिन सकिन्छ। काठमाडौं इन्द्रचोकको सामान्य परिवारमा जन्मेको म जस्तो व्यक्ति अमेरिकी राजनीतिको त्यो हैसियतमा पुग्नु ठूलै उपलब्धि हो भन्ने लाग्छ। अमेरिकामा बसोवास गर्ने झन्डै डेढ लाख नेपालीहरू त्यहाँ पनि केही कांग्रेस, कोही एमाले, कोही माओवादी भनेर कित्ता  छुट्याई विभाजित भएकोमा म पहिलेदेखि नै दुःखी थिएँ। हुँदाहुँदा यतिबेला त आफूलाई नेपाली भन्न भन्दा पनि नेवार, मधेसी, जनजाति भन्न थालिसकेका छन्। नेपाल र नेपालीकै पहिचान बनाउन धौ धौ परिरहेको अवस्थामा फेरि जात, थर, गोत्र तथा समुदायको पहिचान रोज्नु भनेको दुर्दिन निम्त्याउनु हो। अमेरिकामा बस्ने नेपालीहरूको यो पाराबाट त म दिक्क हुँदै थिए। डेढ महिनाअघि नेपाल आएँ र वस्तुस्थिति बुझ्न केही जिल्ला भ्रमणमा निस्कें। वीरगन्ज, पोखरा, चितवन, बाग्लुङ, पर्वत घुमेर भर्खर फर्कें। यो भ्रमणले मलाई थप निराश बनाएको छ। नेपालको होइन, आफ्नो समुदाय र जातको कुरा गर्न थालिएछ। हिमालसँग हिउँ होइन, कालो चट्टान देखिन थालेछ, नदीहरू सुकेर स–साना भएछन्, जंगल फँडानी भएर जतासुकै उजाड भएछ। स्थानीय निकायको निर्वाचन नभएको ठ्याक्कै १५ वर्ष बितेछ।  
संविधान बनाउन नसकी संविधानसभा विघटन भएको अवस्था एकातिर छ भने अर्काेतिर आमनिर्वाचनमा लागि कुनै पहल भएको छैन। एक हिसाबले नेपाल डुब्नै लागेको रहेछ। राजनीतिक दलका वर्तमान नेताहरूकै अयोग्यताले देश डुब्न लागेको हो। तर मेरो जन्मभूमि नेपाल कुनै पनि हालतमा म डुब्न दिन्न भन्ने अठोट मैले लिएको छु। जिल्ला भ्रमणबाट फर्केलगत्तै अमेरिकी राजदूतलाई भेटेर मैले यस विषयमा कुरा उठाएँ पनि।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis