१४ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालुवाटारबाट निकालेर जेल हाल्ने चेतावनी दिनु भएको छ ।
सरकारविरुद्ध २६ गते काठमाडौंमा हुने आमसभालाई प्रभावकारी बनाउने तयारी स्वरुप आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा गौतमले मुलुकलाई उग्रवामपन्थी पञ्जवाट मुक्त गराइछाड्ने बताउनु भयो । ‘बालुवाटारभित्र छिरेर बाबुरामलाई बाहिर निकाल्छौं’ उहाँले भन्नुभयो-’उनले गोली खान्छु सरकार छोडि्दन भनेका छन्। हामी मार्दैनौं, पक्रेर जेल हाल्छौं ।’
भेलालाई सम्बोधन गर्दै नेता केपी शर्मा ओलीले अब आन्दोलनको नेतृत्व एमालेले गर्ने बताउनु भयो । अब आन्दोलनको नेतृत्व एमालेले गर्छ । यसो भन्दा कांग्रेस आत्तिन्छ होला’ उहाँले भन्नुभयो-’एमाले बाख्राको घाटीमा झुण्डिएको लुर्को हैन । जसले न दुध दिन्छ । कान भनु भने सन्दैन । सङ्ग्न पनि सक्दैन । त्यस्तो लुर्कोको के काम ।’
नेता ओलीले २०६२/६३ को आन्दोलनपछि हिंसावादीको हातमा नेतृत्व गएकै कारण संक्रमणकाल लम्बिएको बताउनु भयो ।