१० फागुन, काठमाडौं । आफ्ना छोराछोरी र घरका सदस्यमात्रै होइन, अरु कुनै आफन्त र छरछिमेकी गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका छन् भन्ने सुन्नेबित्तिकै मान्छे चारतिरको काम छोडेर भेट्न अस्पताल पुग्छन् । जसरी हुन्छ, जतिसक्दो छिटो बिरामीको अनुहार हेरौं भन्ने सबैलाई हुन्छ ।
त्यसमाथि आफ्नै छोराछोरी बिरामी भएर इन्तु न चिन्तुसँग
अस्पतालमा छ भन्ने थाहा पाएका बाबुआमा त अरु केही सोच्दैनन् । घरखेत बेचेर भएपनि उसलाई ठीक पार्न तयार हुन्छन् । तर, पूर्वयुवराज पारस शाह बिरामी भएर अस्पतालमा भर्ना भएको तीन दिन बितिसक्दा पनि उहाँका बाबुआमा ज्ञानेन्द्र र कोमल अहिलेसम्म सिमरामै बसिरहनुभएको छ ।
डेढ हप्ताअघि पारिवारिक घुमफिरका लागि सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अझै उतै हुनुहुन्छ । जीवन र मरणको दोसाँधमा रहेका छोरा पारसलाई भेट्न बैंककसम्म पुग्ने योजना उहाँहरुले अझै बनाउनुभएको छैन । बैंकक जानका लागि खर्चका अभाव पनि पक्कै भएको होइन । बैंकक टाढा पनि होइन, जाउँ भनेर बिहान योजना बनाउनेबित्तिकै काठमाडौंबाट ४ घण्टामा बैंकक पुगिन्छ ।
आफ्नो एक्लो बिरामी छोरालाई भेट्न पूर्व राजारानी किन बैंकक गएनन् ? ‘सबै गुरुरु गएर पनि हुने केही होइन, छोरी-ज्वाइँंलाई पठाउनुभएकै छ’ पूर्वराजाका एकजना सहयोगीले अनलाइनखबरसित भने-’बैंकक नै नगए पनि उहाँहरुले छिनछिनमा छोराको स्वास्थ्य अवस्थाबारे सिमराबाटै सोधीखोजी गरिरहनुनभएको छ ।’
ती सहयोगीका अनुसार सिमरामा रहेका पूर्वराजारानी छोराको अवस्था सुनेर निकै चिन्तित हुनुहुन्छ । सबैजना त्यहाँ पुगेर पनि केही नहुने भएकाले उहाँहरु तत्काल बैंकक नजाने सोचमा हुनुहुन्छ । ‘आजभोलि नै त जाने योजना छैन’ ती सहयोगीले भने ।
आउँदो १५ गते बुबा महेन्द्रको श्राद्ध परेकाले १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं र्फकने कार्यक्रम छ । त्यसपछि पनि पारसको हालत यस्तै रहृयो भने उहाँहरु बैंकक जान सक्ने पूर्वराजाका सहयोगीले बताए ।
हिमानीलाई छटपटी
श्रीमान र छोरी एकैपटक गम्भीर बिरामी परेपछि पूर्वयुवराज्ञी हिमानी गहिरो चिन्तामा हुनुहुन्छ । सिमरामा सासुससुरा र छोराछोरीको साथमा रहेकै बेला थाइल्याण्डको बैंककमा रहेका पारसलाई हृदयघात भए खबर उहाँले सुन्नुभयो । बिरामीलाई श्रीमानलाई भेट्न भोलिपल्ट अर्थात बुधबार बिहान बैंकक जाने तयारी गरेकै बेला कान्छी छोरी कृतिकालाई एपेन्डिसाइट भयो र मंगलबार राति नै हतारहतार छोरीलाई सिमराबाट राजधानीको नर्भिक अस्पताल ल्याउनुपर्यो ।
नर्भिक अस्पतालमा उपचारपछि छोरी कृतिकाको स्वास्थ्यमा सुधार आएको छ । चिकित्सकले घरमै लगेर आराम गर्न सल्लाह दिएपछि कृतिकालाई बिहीबार बिहान १० बजे डिस्चार्ज गरिएको छ ।
छोरीलाई घर पुर्याएपछि हिमानी अब बैंकक उड्ने तयारीमा हुनुहुन्छ । पारसको अवस्था अझै गम्भीर भएको खबर सुनेपछि उहाँ निकै चिन्तित हुनुहुन्छ । शुक्रबार बेलुकीसम्म हिमानी बैंकक जाने उहाँ निकट स्रोतले जनाएको छ ।
-अनलाईनखबर साभार