
उत्खननको समयमा देवदह क्षेत्र अतिक्रमणमा
बौद्ध क्षेत्रको प्रचारप्रसार तथा पर्यटन व्यवसायलाई मजबुत बनाउने भन्दै सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरियो। तर, भ्रमण वर्ष चलिरहेकै समय बुद्धको मावली थलो रूपन्देहीको देवदह भने सबैभन्दा बढी अतिक्रमणको चपेटामा पर्यो। संरक्षण गर्नुपर्ने स्थान मात्र होइन, उत्खनन गर्नुपर्ने धेरै पुरातात्त्विक स्थलसमेत
अतिक्रमणमा परेका छन्।देवदहका एक दर्जन पुरातात्त्विक क्षेत्रमध्ये कतिपयमा नयाँ संरचना नै निर्माण गरिएको छ। अस्थायी रूपमा जग्गा प्लटिङ् गर्नेको बिगबिगी एकातिर छ भने अर्कोतिर पुरातात्त्विक स्थलभित्रै पक्की घर बनाउने क्रम पनि जारी छ। यसले गर्दा बुद्ध मावली घुम्न जाने पर्यटकको संख्या घटेको छ। जानेहरू पनि दुःखमनाउ गर्दै र्फकने गरेका छन्।
उसो त देवदह क्षेत्र संरक्षणका लागि भन्दैै करबि एक दर्जन संस्था खुलेका छन्। ती संस्थाले अतिक्रमण रोक्ने र संरक्षण गर्ने काममा ध्यान दिन सकेका छैनन्। पुरातात्त्विक वस्तु लोप भएपछि बुद्ध मावलीका रूपमा प्रमाणित गर्न र उत्खननका लागि पनि समस्या उत्पन्न हुनेे स्थानीय संरक्षणकर्ताको चिन्ता छ।
देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भीम गुरुङ स्थानीय स्तरमा संरक्षणको प्रयास हुँदाहँुदै पनि भूमाफियाको चलखेलले देवदह तहसनहस हुन लागेको लाचारी प्रकट गर्छन्। लुम्बिनी विकास कोषको व्यवस्थापकीय निष्त्रिmयता र सरकारी बेवास्ताले उनीहरूको मनोबल बढेको गुरुङको दाबी छ। भन्छन्, "उत्खनन गरिएको क्षेत्रमा समेत प्लटिङ् भइरहेको छ, बुद्ध मावली क्षेत्रका बारेमा विवाद भइरहेका बेला यसरी अतिक्रमण बढ्ने हो भने देवदहलाई बुद्ध मावली क्षेत्र पुष्टि गर्न समस्या हुनेछ।"
बुुद्ध मावली क्षेत्र उत्खननका लागि वाषिर्क योजना बनाएको पुरातत्त्व विभागले पनि अतिक्रमण बढेकामा पटक-पटक सरोकारवालाहरूलाई सचेत गराएको छ। पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत प्रकाश दर्नाल उत्खननबिना पुरातात्त्विक स्थलमा जथाभावी नयाँ संरचना बनाउँदा अवशेष नासिने मात्र होइन, उत्खननका लागि योजना बनाउन पनि समस्या देखिएको बताउँछन्। देवदहको कन्यामाई र कोलिया क्षेत्रको भवानीपुर क्षेत्रमा उत्खननको अगुवाइ गरेका दर्नाल भन्छन्, "पुरातात्त्विक स्थलमा हामीले २१औँ शताब्दीको संस्कृति देखाउन खोजेका हौँ कि बुद्धकालीन संस्कृति ? यसमा स्थानीय र सरोकारवालाहरू दुवै स्पष्ट हुनुपर्छ।"
भवानीपुर र कन्यामाईमा भएको उत्खननमा बुद्धको अर्धकदको मूर्ति, इनार, दरबार, शिलालेख, माटाका भाँडा, ढुंगाका मूर्तिलगायत बुद्धकालीन अवशेष फेला परेेका छन्। यी अवशेष फेला परेका स्थानको आसपासमा समेत अतिक्रमण भएपछि अब कता उत्खनन गर्ने र कसरी संरक्षण गर्ने भन्ने समस्या उब्जिएको देवदह डेभलपमेन्ट सोसाइटीका सचिव त्रिलोचन दाहाल बताउँछन्। भन्छन्, "कन्यामाईमा जाने बाटो नै छेक्ने गरी प्लटिङ् भएको छ। त्यहाँबाट अर्को क्षेत्र जाने बौद्धपथ त घरले नै भरिएको छ।"भवानीपुरमा स्थानीयले उत्खननमा बाधा गर्दैनौँ भने पनि पुरातात्त्विक क्षेत्र निश्चित गरिएको क्षेत्रमा करबि २० वटा पक्की घर छन्। वषौर्ंअघि बनाइएका ती घर भत्काउने साहस स्थानीय प्रशासनसँग छैन। कन्यामाई स्थानसँगै बुद्ध मावली देवदहमा रहेका पाकरी वृक्ष, बैरीमाई, भवानीपुर, खयरडाँडा, रोहिणी नदी, माथागढी, देवी दमार, कुवरवर्तीलगायत दर्जन ऐतिहासिक तथा पुरातात्त्विक स्थल संकटमा परेका छन्। उत्खनन गर्नुपर्ने धेरै स्थान अतिक्रमणमा परेका छन्। धेरै ऐतिहासिक मूर्त्र्िा रवस्तु चोरिएका छन्।
पुरातत्त्व विभागका अनुसार सय वर्षअघि नै देवदह क्षेत्र पहिचान भए पनि उत्खनन नहँुदा संरक्षण क्षेत्र छुट्याउन सकिएको छैन। गौतमीका नाममा देवीको पूजा गरिने यस ठाउँमा अंशु वर्माको पालादेखि अहिलेसम्म ह्वेनसाङ, फाहियान, ह्वे, एसबी देव, बाबुकृष्ण रिजाल, दिनेशचन्द्र रेग्मी, कृष्ण न्यौपानेलगायतले विस्तृत अध्ययन गरी उत्खननको पहल गरेका थिए। तर, लुम्बिनी विकास कोषको बेवास्ता र बजेट अभावमा उत्खनन हुन सकेको थिएन। कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेती भने विगतमा जे भए पनि अहिले देवदहको संरक्षण र सम्वर्द्धनमा चनाखो भएको दाबी गर्छन्।
- अमृता अनमोल , नेपाल
