CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बैंकिङ क्षेत्र मारवाडी कब्जामा

बैंकिङ क्षेत्र मारवाडी कब्जामा

निजी क्षेत्रको विभिन्न वाणिज्य बैंकहरूमा जम्मा ६९ जना व्यापारीको आधिपत्य रहेको पाइएको छ। त्यसमध्येमा पनि केही सीमित माडवारीहरूको हालिमुहाली बैंकिङ क्षेत्रमा रहेको तथ्य देखिएको छ। प्राप्त तथ्यअनुसार खेतान, अग्रवाल, चौधरी, जैन, संघाई, मुरारकालगायतका ग्रुपमा आबद्ध रहेका व्यापारीको लगानी ज्यादा रहेको छ।  
कुनै पनि बैंकमा १५ प्रतिशत सेयर रहेको व्यक्तिले अर्को बैंकमा लगानी गर्न कानुनतः मिल्दैन। तर, नेपालका सीमित व्यापारीले एउटा बैंकमा २५ प्रतिशतभन्दा बढी लगानी गरेर पनि अर्को बैंकमा उत्तिकै सङ्ख्यामा लगानी
गरेका छन्। यसरी लगानी गर्दा बैंकिङ प्रणाली आफूअनुकूल सञ्चालन गर्न सजिलो हुने भएकाले नेपालका सबैजसो वाणिज्य बैंकमा लगानी उनीहरूले गरेका हुन्।  
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार व्यापारीले सर्वसाधारणका नाममा बैंकको सेयर खरिद गर्न लगाएर सेकेन्डरी सेयर खरिद भन्दै पछि आफ्नो नाममा पास गर्ने गरेका छन्। यसरी सेकेन्डरी सेयर किन्ने व्यापारीमा खेतान समूह र अग्रवाल समूह अग्रपङ्क्तिमा रहेका छन्। उनीहरूले धेरै बैंकका सेकेन्डरी सेयर खरिद गरेर विस्तारै बैंकिङ प्रणालीलाई नै आफूअनुकूल चलाउन खोजिरहेका छन्। राष्ट्र बैंकका अनुसार निजी क्षेत्रको वाणिज्य बैंकहरूमा सर्वसाधारणको नाममा सेयर रहेको भनिए पनि ती साना व्यापारी तथा सेयर दलालहरूको बढी सेयर रहने गरेको देखिन्छ।  
नेपालका बैंकमा लगानी गरेका केही उद्योगीले नेपालमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई विदेशमा लगानी गरिरहेका छन्। यसरी लगानी गर्नेमा चौधरी र खेतान समूहका व्यापारी अग्रस्थानमा रहेका छन्। चौधरी ग्रुपमा विनोद चौधरीले भारतमा चाउचाउ कारखानामा लगानी गरेका छन् भने खेतान ग्रुपका राजेन्द्र खेतानले भारतमै  
बियर कम्पनीमा लगानी गरेका छन्। स्मरणीय छ, विनोद चौधरीले नेपाली नागरिकले पनि विदेशमा लगानी गर्न पाउनुपर्ने माग राख्दै आएका छन्। उनले यस्तो माग दरबार हत्याकाण्डपछि उठाउँदै आएका हुन्। दरबार हत्याकाण्डअघिसम्म कालोसूचीमा परेको चौधरीले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार धीरेन्द्रले विदेशमा विभिन्न व्यवसायमा लगानी गरेको र सो लगानीलाई वैध तुल्याउन उनले यसप्रकारको वकालत गर्दै आएको बताइन्छ।  
राष्ट्र बैंकका अनुसार निजी क्षेत्रको लगानीबाट सञ्चालनमा ल्याइएको नबिल बैंकमा ३० प्रतिशत मात्र सर्वसाधारणको लगानी रहेको छ। त्यस्तै बैंकमा एनबी इन्टरनेसनलको नाममा ५० प्रतिशतभन्दा बढी सेयर रहेको छ। त्यसमा चौधरी ग्रुपको प्रमुख सेयर रहेको छ। चौधरी ग्रुपका विनोद चौधरी, निर्माण चौधरी, अरुण चौधरी, सारिका चौधरी, राहुल चौधरीलगायत रहेका छन्। स्रोतका अनुसार चौधरी ग्रुपको मात्र ५३ प्रतिशतभन्दा बढी सेयर रहेको छ। यसैगरी बैंकमा बिमा संस्थानको १० र औद्योगिक विकास निगमको करिब ६ प्रतिशत सेयर रहेको छ। बंैकमा अहिले चुक्ता पुँजीको रूपमा दुई अर्ब तीन करोडभन्दा बढी रहेको छ। 
०४९ सालका स्थापना भएको हिमालयन बैंकमा पनि खेतान समूहको आधिपत्य रहेको छ। उक्त बैंकमा खेतानपछि ज्योति ग्रुपको लगानी रहेको छ। त्यस्तै, पकिस्तानको हबिब बैंकको २०, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर पनि त्यहाँ रहेको छ। एन टे्रडिङ र म्युचल टे्रेडिङ कम्पनीको १३–१३ प्रतिशत सेयर रहेको उक्त बैंकमा सर्वसाधारणको नाममा १५ प्रतिशत मात्र सेयर रहेको बताइन्छ। बैंकमा चुक्ता पुँजी दुई अर्बभन्दा बढी रहेको छ। यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि व्यापारीहरूकै आधिपत्य छ। ८० प्रतिशत सेयर व्यापारीहरूको र बाँकी २० प्रतिशत सर्वसाधारणको सेयर रहेको बताइन्छ। १५–१५ प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंक र बिमा संस्थानको रहेको छ। बैंकमा व्यक्तिभन्दा पनि कम्पनीहरूको नाममा लगानी गरिएको छ। ती कम्पनीहरूमा घरजग्गा तथा सेयर कारोबारीहरूको लगानी रहेको छ।  
एसिया, अमेरिका, युरोपलगायत विभिन्न ६९ वटा देशमा सञ्चालित रहेको नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेपाल शाखामा पनि सर्वसाधारणका नाममा माडवारीहरूले सेयर खरिद गरेका छन्। उनीहरूले सो बैंकका सेकेन्डरी सेयरका रूपमा बैंकको सेयर खरिद गरेका हुन्। बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७५ र नेपालीहरूको २५ प्रतिशत सेयर रहेको छ। ५५ प्रतिशत सेयर स्टेट बैंक अफ इन्डियाको रहेको नेपाल एसबीआई बैंकमा व्यापारीहरूले नै सर्वसाधारणको नाममा सेयर खरिद गरेका छन्। बैंकमा सर्वसाधारणको तर्फबाट मनोजकुमार अग्रवाल, निरञ्जनकुमार टिबडेवालालगायत रहेका छन्। उनीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्। त्यसैगरी बैंकमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंकको १५–१५ प्रतिशत र बाँकी सेयर सर्वसाधारणको नाममा रहेको छ।  
त्यस्तै नेपाल बंगलादेश बैंकमा एनबी ग्रुपको लगानी रहेको छ भने बंगलादेशमा रहेको बैंक एसिया लिमिटेडको १५, आईएफआईसी बैंकको करिब १०, क्यापिटल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज् र मनास्लु इन्भेष्टमेन्ट प्रालिको १५ प्रतिशत सेयर रहेको छ। यी दुवै कम्पनी एनबी ग्रुपका हुन्। यो बैंकमा जितबहादुर श्रेष्ठलगायतका व्यक्तिहरूको चर्तिकला रहेको छ।  
पञ्जाव नेसनल बैंकको २० प्रतिशत सेयर रहेको एभरेष्ट बैंकमा उद्योगीहरू मित्रदेश पाठक, राधा श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतका छन्। यसैगरी बी.के. श्रेष्ठ र स्वोनो होटलको करिब १९ प्रतिशत सेयर रहेको छ। बैंक यी व्यक्तिहरूकै अधीनमा चलिरहेको छ भने यसमा सर्वसाधारणको नाममा ३० प्रतिशत सेयर रहेको छ। स्रोतका अनुसार बंैकले अन्य बैंकहरूसँग मर्जरका लागि बेलाबेलामा प्रयास गर्दै आए पनि अहिलेसम्म मर्जर हुन सकेको छैन।  
बैंक अफ काठमाडौंमा ९१ दशमलब ६८ प्रतिशत सेयर सर्वसाधारणको रहेको बताइन्छ। अन्य संस्थाको सेयर जम्मा ८ दशमलब ३२ मात्र रहेको छ। तर, यस बैंकमा सबैभन्दा बढी सेयर रणबहादुर शाहको रहेको बताइन्छ। यसैगरी केही महिनाअघिबाट बैंकमा खेतान समूह पनि प्रवेश गरेको छ। बैंकका एक सञ्चालकले दिएको जानकारीअनुसार बैंकमा सर्वसाधारणका नाममा उद्योगीहरूले मेजर सेयर लिएका छन्।  
यसैगरी होटल तथा पर्यटन व्यवसायीहरू मञ्जु अग्रवाल, श्रवण मास्के, शक्ति गोल्यान, गोपालसुन्दर कक्षपति, राजारामा जोशी, निर्मल प्रधानलगायतका व्यक्तिको विशेष लगानी रहेको लुम्बिनी बैंकमा कर्मचारी सञ्चय कोषको १५, नागरिक लगानी कोषको साढे सात प्रतिशत मात्र सेयर रहेको छ। त्यस्तै एनआईसी बैंक यस बैंकको संस्थागत लगानी एक प्रतिशत र नागरिकको लगानी ९९ प्रतिशत रहेको बताइन्छ। यसमा सर्वसाधारण जनताको नामबाट मारवाडी समूहको प्रमुख सेयर रहेको बताइन्छ। सुवासचन्द्र संघाईको नाममा मात्र १३ प्रतिशतभन्दा बढी सेयर रहेको छ। त्यस्तै दिवाकर गोल्छा र लोकमान्य गोल्छाको १३ प्रतिशत, तुल्सीराम अग्रवाल र पवनकुमार अग्रवालको १०, वासुदेव गोल्यान, विशाल अग्रवाल, त्रिलोचन्द्र अग्रवाल, अशोकचन्द्र अग्रवाल, अञ्जु, जगदीश आग्रवाल पनि यसका प्रमुख सेयरधनीहरूमा पर्छन्।  
माच्छापुच्छे्र बैंकमा संस्थाको लगानी २२ प्रतिशत रहेको छ भने व्यक्तिको लगानी ७८ प्रतिशत रहेको छ। यस बैंकमा उद्योगी, दलका नेता तथा सर्वसाधारणको मिश्रित लगानी रहेको बताइन्छ। यसमा सूर्यबहादुर केसी र उनको परिवारको राम्रै लगानी रहेको छ भने शोभितबहादुर कार्की, जगतमोन गौचन, योगेन्द्र श्रेष्ठ यस बैंकका प्रमुख सेयरकर्ता हुन्।  
कुमारी बैंकमा संस्थापकको ७० प्रतिशत सेयर रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत मात्र सेयर रहेको छ। यस बैंकमा शारदा ग्रुप, मुरारका ग्रुप, दुगड ग्रुप, गोयल, अग्रवाल ग्रुपमा आबद्ध व्यक्तिको सेयर रहेको छ। त्यस्तै, खेतान समूहको लगानीमा लक्ष्मी बैंक सञ्चालित छ। यसमा खेतान परिवारको मात्र २३ प्रतिशत लगानी रहेको छ भने ७७ प्रतिशत लगानी अन्य व्यक्तिको रहेको बताइन्छ। स्थापनाकालमा मोहनगोपाल खेतान अध्यक्ष रहेको यस बैंकमा अहिले उनका छोरा राजेन्द्र खेतान अध्यक्ष छन्। यस बैंकको ३५ प्रतिशत सेयर सर्वसाधारणको रहेको बताइन्छ। बाँकी अन्य सेयर सर्वसाधारणको नाममा खेतान समूहले नै किनेको तथा अग्रवाल र संघाई ग्रुपको पनि त्ससमा सेयर रहेको बताइन्छ।  
सनराइज् बैंकमा दुगड परिवारको बाहुल्य छ र यो परिवारको मात्र २३ प्रतिशत एकमुष्ट सेयर रहेको छ। त्यस्तै, गोयल परिवारको १०, सर्वसाधारणको ३० र बाँकी अग्रवाल, शारदा, तातेड, माडवारी समुदायलगायतको सेयर रहेको छ। बैंक अफ एसियामा रामचन्द्र संघाई र गोविन्दलाल संघाईको मात्र २० प्रतिशत सेयर रहेको छ। त्यसैगरी त्रिलोचन अग्रवाल, तुल्सीराम अग्रवाल, विशाल अग्रवाल, अनुज अग्रवालको नाममा पनि २० प्रतिशत सेयर रहेको छ भने सर्वसाधारणको नाममा ३० प्रतिशत सेयर रहेको छ। ग्राण्ड बैंक बंैकर्सहरूको मिश्रित लगानीमा सञ्चालन गरिएको छ। यसमा संस्थापक सेयर २१ प्रतिशत रहेको छ। व्यक्तिगत लगानी ७९ प्रतिशत रहेको छ।  
सिद्धार्थ बैंकमा केडिया समूहको बढी सेयर रहेको छ। यो समूहको लगानी बैंकमा २० प्रतिशत रहेको छ। यसमा नरेन्द्रकुमार अग्रवाल, पवनकुमार अग्रवाल, चिरञ्जीवी अग्रवाललगायतको पनि सेयर रहेको छ। ग्लोबल आईएमई बैंकमा संस्थापकहरूको ४७ प्रतिशत लगानी रहेको छ। व्यक्तिगत संस्थापकहरूको लगानी १७ र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको बताइन्छ।  
सिटिजन बैंकमा कालु गुरुङ, प्रदीपजंग पाण्डेको प्रमुख लगानी रहेको छ भने विभिन्न व्यापारीको मात्र ४५ प्रतिशतभन्दा बढी सेयर रहेको छ। यस्तै प्राइम कमर्सियल बैंकमा पनि व्यापारीहरूको लगानी बढी रहेको छ। बैंकमा शिक्षा व्यवसायी उमेश श्रेष्ठको सबैभन्दा बढी लगानी रहेको बताइन्छ। यस बैंकमा सर्वसाधारण जनताको नाममा पनि ३० प्रतिशत लगानी रहेको छ।  
एनएमबी बैंकमा मलेसियन कम्पनीको १२, कर्मचारी सञ्चय कोषको ११ प्रतिशत लगानी रहेको छ भने अन्य माडवारी समुदायको लगानी रहेको छ। यसैगरी मुरारका, अग्रवाल, राठी, गोयल, जैनलगायतका व्यापारी समूहको लगानी रहेको छ। किष्ट बैंकमा कमलप्रसाद ज्ञवालीको सबैभन्दा बढी सेयर रहेको बताइन्छ। फाइनान्सबाट बैंकमा रूपान्तरण भएको यस बैंकमा राजेन्द्र शाक्य परिवारको २३ प्रतिशत तथा अन्य संस्थापकसमेत गरेर ६० र ४० प्रतिशत सर्वसाधारणको सेयर रहेको छ। जनता बैंकमा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका व्यक्तिको बढी लगानी रहेको बताइन्छ। मेघा बैंक, कमर्ज एण्ड टुरिजम बैंक, सिभिल बैंक, सेन्चुरी बैंकमा पनि विभिन्न क्षेत्रका व्यापारीको लगानी रहेको छ। सानिमा बैंक गैरआवासीय नेपालीको लगानीमा सञ्चालन गरिएको बैंक हो। यसमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रमुख सेयर रहेको छ।


---- विक्ली नेपाल 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis