काठमाडौ, फाल्गुन ११ - यस वर्षको दस महिनाभित्र सयभन्दा माथि नेपाली फिल्मले हलको मुख देखिसके । तर कुनै पनि फिल्मले नाफा कमाउन सकेका छैनन् । निराशाजनक रूपमा गुजि्ररहेको फिल्म क्षेत्रलाई शुक्रबार रिलिज हुने 'छड्के' ले भने उत्साह थप्ने छनक देखाएको छ । देशभरका मुख्य ३० स्टेसनबाट प्रदर्शनमा आएको निगम श्रेष्ठ निर्देशित 'छड्के' ले राजधानीका मल्टिप्लेक्समा
आक्रामक अगि्रम बुकिङ पाएको छ ।
राजधानीमा रहेका मल्टिप्लेक्सहरू क्यूएफएक्स सिनेमा, बिग मुभिज र एफक्यूब सिनेमाले थालेको बुकिङमा 'छड्के' को चाप बढ्दै गएपछि शुक्रबार नै रिलिज हलिउड फिल्म 'अ गुड डे टु डाई हार्ड' र बलिउडको 'जिला गाजियाबाद' लाई माथ गरेको छ । १४ शो रहेको क्यूएफएक्सको सेन्ट्रल हलमा 'छड्के' ले सात शो पाएको छ, जसमा ४ सय ७१ सिट क्षमताको ठूलो हलमा पाँच शो पाएको छ भने प्रत्येक २ सय ३४ का दुई हलमा एक-एक शो चल्ने निश्चित भइसकेको छ । मल्टिप्लेक्स हलले बुकिङको आधारमा शो संख्यामा थपघट गर्ने गर्छन् । क्यूएफएक्सकै जय नेपालमा भने 'छड्के' ले सोलो रिलिजका रूपमा चार शो पाएको छ । कुमारीका दुई हलमा दस शोमध्ये नेपाली फिल्म 'छड्के' ले ६ शो पाएको छ ।
यसअघि पनि गतवर्षको हिट फिल्म 'लुट' ले ठूलो मुनाफा यिनै मल्टिप्लेक्सबाट गरेको थियो । 'छड्के' ले क्यूएफएक्सका २८ शोमध्ये शुक्रबार १७ शो पाएपछि यसका निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जन दंग देखिए । फिल्म रिलिजको पूर्वसन्ध्यामा बिहीबार फिल्मको अडियो विमोचन कार्यक्रमपछि नरेन्द्रले शोबारे हलबाट जानकारी पाएपछि भने, 'पहिले सेन्ट्रल हलमा केही शो मात्रै दिने क्यूएफएक्सको निर्णय बुकिङ बढ्दै गएपछि कुमारी हुँदै जय नेपालमा पूरै शो दिने भएको हो ।' उनले यही हिसाबले बाहिर पनि ठिकैको व्यापार गरे मात्रै पनि फिल्मले कम्तीमा ३० लाख रुपैयाँको व्यापार गर्ने बताए ।
हालै चाबहिलको चुच्चेपाटीमा खुलेको अर्को सुविधासम्पन्न एफक्यूब सिनेमामा पनि 'छड्के' ले विदेशी दुई फिल्मलाई उछिनेको छ । एफक्यूबको पहिलो हलका पूरै ६ शोमा 'छड्के' लाग्ने भएको छ भने अर्को हलमा पनि एक शो थपिएको छ । सिटी सेन्टरस्थित बिग मुभिजले पनि 'छड्के' लाई चार शो दिएको छ भने बाँकी ११ शोमा विदेशी फिल्म लाग्ने भएका छन् । यसअघि पनि माधव र नरेन्द्रको 'लुट' फिल्मले सिंगल्स स्त्रिmन थिएटरबाट भन्दा सीमित मल्टिप्लेक्स हलबाटै बढी रकम उठाएको थियो । निर्माता माधवले आफूहरूको डेढ वर्षदेखिको मिहिनेत सार्थक हुन लागेको बताए । भने, ''लुट' जस्तै आशा गरेर 'छड्के' हेर्न आउने दर्शकले बोनस पाउने छन् । त्योभन्दा पनि बढी आशा गरेर आए भने भन्न सक्दिनँ ।' मल्टिस्टारर फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, रबिन तामाङ, सुनील पोखरेल, प्रतीकराज न्यौपाने, विपीन कार्की लगायतको अभिनय रहेको छ । फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । कार्यक्रममा भने सौगात, रविन भने उपस्थित भएनन् ।