काठमाडौ, फाल्गुन ३० - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेलगत्तै बिद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका छन् । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको निर्णय गरेको थियो । निगमले पेट्रोलमा सबैभन्दा धेरे १० रुपैयाँ प्रतिलिटर मूल्यबृद्धि गरेको छ ।
डिजेल र मटि्टतेलमा प्रतिलिटर ६-६ रुपैयाँ बढाइएको छ ।
अनेरास्ववियु अध्यक्ष किशोरबिक्रम मल्ले मूल्य बढाउने निर्णय निन्दनीय भन्दै आज साँझ ५ बजे विरोध प्रदर्शन गरिने बताए । 'सरकारले जनतालाई राहत दिने बेला मूल्य बृद्धि गरेर आघात पुर्याएको छ', उनले भने । अनेरास्ववियुले आज साँझ ५ बजे प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
संयुक्त आन्दोलनका लागि अन्य बिद्यार्थी संगठनसँग छलफल सुरु गर्ने मल्लले बताए ।
अनेरास्ववियु क्रान्तिकारीले मूल्यबृद्धिको विरोधमा आज ४ बजे उपत्यकाका सबै क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने जनाएको छ । क्रान्तिकारीका उपत्यका सह ईञ्चार्ज विजय गौतमले मूल्यबृद्धिको विरोधमा अन्य संगठनसँग छलफल गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघले पनि सरकारसँग मूल्य बृद्धि फिर्ता लिन माग गर्ने भएको छ । संघका प्रवक्ता यूपी लामिछानेले जनतालाई राहत दिनुपर्ने दायित्वबाट सरकार भाग्न नमिल्ने भन्दै मूल्यबृद्धि फिर्ता गर्न माग गरे ।
'मूल्यबृद्धि फिर्ता लिएर विकल्प सोच्नुपर्छ', उनले भने,'मूल्यबृद्धि विरुद्ध दबाब दिन अन्य संगठनसँग छलफल गछौं ।'
यसअघि असोजमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने निर्णय गरेको निगम बिद्यार्थी आन्दोलनका कारण पछि हटेको थियो । साभार : इकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !