CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » सवा सात फीट अग्ला राजन अधिकारीका दुःखपनि अग्लैअग्ला

सवा सात फीट अग्ला राजन अधिकारीका दुःखपनि अग्लैअग्ला


सात फिट तीन इन्च उचाइका राजन अधिकारी नेपालका सबैभन्दा अग्ला मात्रै होइनन्, विश्वकै अग्लामध्ये तेस्रो हुन् । अहिले ३४ वर्ष पुगेका राजन जन्मँदै दुई दिदीभन्दा पनि अग्ला थिए रे । १३ वर्ष पुग्दा त ६ फिट अग्ला भइसकेका थिए । १५ वर्षकै उमेरमा ५ फिट १ इन्चकी तारा पराजुलीसँग विवाह गरेका उनी एक छोरी र एक छोराका पिता हुन् । 

खोटाङको मात्तिम-१ मा जन्मिए पनि मलाई त्यहाँको बारे धेरै थाहा छैन । जन्मेको अढाई वर्षपछि परिवार प्रकाशपुर बसाइ सर्‍यो । त्यसपछि झापाको शरणामती हुँदै हामी मोरङको बयरबन पुग्यौँ । बयरबनमै बुबा बित्नुभयो । अहिले इटहरी-५ मा बस्दै आएको छु । 
चर्चा
झापामा बुबालाई फोक्सो रोगले च्यापेपछि दमकको आम्दा अस्पताल लगेँ । जाँचपछि औषधि लिएर जाँदा ढोकामा टाउको ठोक्कियो । मेरो उचाइ देखेर डाक्टर छक्क परे । त्यसवेला म सात फिट रहेछु । तिनै डाक्टरले पत्रकारलाई भेटाइदिए । भोलिपल्ट समाचार आयो 'अग्ला व्यक्तिको बाबुको उपचारमा समस्या' भनेर । त्यसपछि मानिस मलाई भेट्न आउन थाले । सहयोग पनि पाउन थालेँ । दमकको सुरज मेडिकल र सुमन फर्निचरले निकै गुन लगाए । 
त्यसपछि राष्ट्रिय पत्रिका र टेलिभिजनमा पनि समाचार आउन थाले । अनि मात्र थाहा भयो, मेरो उचाइ नेपालमै सबैभन्दा बढी रहेछ । 
चर्चापछि मलाईं काठमाडौं बोलाइयो । दरबारबाट पनि लिन गएका थिए । तर, बुबा बिरामी भएकाले मैले मानिनँ । पछि, भलिबल संघले पत्र पठाएर अनुरोध गरेपछि काठमाडौं गएँ । दुई वर्ष धनगढी बसेर भलिबलको राष्ट्रिय टोलीको प्रशिक्षण पनि लिएँ । भारतसँग भएको पहिलो म्याच जितियो पनि । तर, ०५७ सालको पिकनिकमा बिदा नमिलाएको रिसमा प्रशिक्षकहरूमाथि हातपात भएको थियो । म त्यसमा सहभागी नभए पनि सबैलाई सस्पेन्स गरियो । त्यसपछि भलिबल टिम छाडेँ । 
त्यसैवेला भलिबल खेल्न जान्ने भएकाले गृह मन्त्रालयले मलाई प्रहरीमा भर्ना गरिदिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीलाई पत्र लेखिदियो । तर, त्यहाँका इन्स्पेक्टरले जागिर खान सिफारिस लिएर आएको भनेर होच्याएनन् मात्र, तीन/चार दिन धाउँदा पनि पत्र खोलेनन् । मैले अपमानित भएको महसुस गरेर प्रहरी नहुने निधो गरेँ । 
कोइराला छक्क
त्यसपछिको केही समय घरमै बसे पनि चर्चामा आइसकेकाले खेती नै गरेर बस्न मन लागेन । काठमाडांै गएर संघर्ष गर्ने विचार गरेँ । काठमाडौं आएर प्रधानमन्त्री भेट्न गएँ । तर, पिए गोकर्ण पौडेलले भेट्न दिएनन् । त्यही वेला मलाई पहिलोपटक अग्लो व्यक्ति भनेर रेयुकाईले सम्मान गर्‍यो । त्यहाँ तत्कालीन समाज कल्याणमन्त्री कमला पन्त पनि आउनुभएको थियो । उहाँलाई भनेपछि बल्ल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न पाएँ । उहाँले मलाई देखेर छक्क पर्दै भन्नुभयो, 'बाफरे π कत्ति अग्लो मान्छे' । उहाँलाई आफू निकै अग्लो छुजस्तो लाग्दो रहेछ । उहाँले जिल्लावासी पनि भएकाले फोन नम्बर दिएर केही परे सोझै फोन गर्न भन्नुभयो । मैले शान्तिदूत बनेर विश्वभ्रमण गर्ने योजना सुनाएँ । उहाँले सबै प्रबन्ध मिलाइदिनुभयो । उहाँकै सल्लाहमा 'वल्र्ड पिस एन्ड लभ' भन्ने संस्था दर्ता गरेँ । 
अधुरो विश्वभ्रमण
बुद्धको स्तुपाको प्रतीक बोकेर बुद्धजयन्तीको अवसर पारेर विश्वभ्रमणमा निस्किएँ । मसँग अपांगता भएका साथी चित्र पौडेल पनि हुनुहुन्थ्यो । हामीले भारत, बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, कम्बोडिया, म्यानमारलगायत देशको भ्रमण गर्‍यौँ । भ्रमणका क्रममा पुगेका स्थानमा सम्मान पनि पाइयो । सरकारी निकाय र सञ्चारमाध्यमले राम्रो सहयोग गरे । तर, विदेशमा नेपालीले पाएको दुःख देखेर साह्रै चित्त दुख्यो । 
तीन महिना १५ दिनको भ्रमणपछि स्वास्थ्यका कारण भ्रमण स्थगित गर्नुपर्‍यो । 
अप्रेसन गर्न डाक्टरको झगडा
काठमाडौं बस्दा मैले सिएमएको तालिम पनि लिएँ । त्यसै क्रममा मह जोडीका साथै डा. उपेन्द्र देवकोटासँग पनि भेट भयो । डा. देवकोटाले मेरो उचाइ बढेको बढ्यै गरेको थाहा पाएपछि डा. वसन्त पन्तसँग भेटाइदिनुभयो । स्वास्थ्यमा समस्या पर्ने थाहा पाएकाले म अप्रेसनका लागि तयार भएँ । डा. वसन्त मेरो अप्रेसन गर्न तयार हुनुभयो । ९ चैत ०५८ मा अप्रेसन गर्ने तय भयो । त्यसैवेला नेपाल टेलिभिजनबाट मेरो अन्तर्वार्ता प्रसारण भयो । मैले उचाइ बढेको-बढ्यै भएकाले अप्रेसन गराउँदै छु भनेँ । त्यो अन्तर्वार्ता डा. देवकोटाले पनि हेर्नुभएछ र भोलिपल्ट बिहानै मलाई वीर अस्पतालमा बोलाउनुभयो । 
देशकै अग्लो मान्छे भएकोले मेरो अप्रेसन उहाँले आफैँ गरिदिने बताउनुभयो । मलाई के गरौँ-के गरौँ भयो । त्यसले निकै तनाव भयो । 
अन्ततः ७ चैतमा डा. देवकोटाले नै वीर अस्पतालमा अप्रेसन गर्नुभयो । अप्रेसन सफल पनि भयो । तर, देवकोटा र वसन्तबीच मनमुटाव भयो । 
अग्लो हुनुको दुःख
अग्लो हुनुका फाइदाभन्दा बेफाइदा धेरै छन् । उचाइमैत्री साधन पाइँदैन । त्यसले यात्रा गर्दा साह्रै गाह्रो हुन्छ । पहिरन र अन्य आफूलाई चाहिने सामान पनि सहजै नपाइने । 
मैले घर बनाउँदा पनि ११ फिट अग्लो तला भएको बनाएको छु । ढोकाको उचाइ पनि ७ फिट ६ इन्च बनाएको छु । सबैले मेरो घरलाई 'कति अग्लो' भन्छन् । पलङ पनि आफ्नै साइजको बनाएको छु । नभए त सुत्दा राम्ररी खुट्टा तन्काउन पनि नपाइने । उचाइकै कारण सेलिब्रेटी पनि भएको छु । सेलिब्रेटी हुनुको पनि आफ्नै दुःख छ । 
तर, व्यक्तिगत जीवनमा भने सन्तुष्ट छु । पत्नीले मप्रति गर्व गर्छिन् । छोराछोरीलाई निःशुल्क पढाउन पाएको छु । 
योजना
राजन अधिकारी फाउन्डेसनमार्फत समाजसेवा गरिरहेको छु । यसले सुनसरी, मोरङ र झापामा अलग-अलग शाखा बनाएर एम्बुलेन्स सञ्चालन गरेको छ । जसमा गरिब र दलितलाई पैसा लिइँदैन । 
अब आधुनिक कृषिमा लाग्ने योजना छ । गाई पाल्ने योजनाका साथ गोधुली एकीकृत कृषि पशुपालन र्फम दर्ता गरेको छु । सबै पूर्वाधार तयार भइसक्यो । गाई ल्याउन बाँकी छ ।
प्रस्तुति : गणेश लम्साल/विराटनगर , नयाँ पत्रिका 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis