CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » २५ दिनभित्र प्रधानमन्त्रीलाई टुप्पी समातेर झार्छौं'

२५ दिनभित्र प्रधानमन्त्रीलाई टुप्पी समातेर झार्छौं'


सुरेश यादव, जनकपुर, माघ २४- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २५ वर्ष सरकार चलाउने सपना देखिरहेका बाबुराम भट्टराईलाई २५ दिनभित्र टुप्पी समातेर कुर्सी खोस्ने चेतावनी दिएका छन्। उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेका सरकारले एकपछि  अर्को अपराध गरिरहेको बताए।
'भ्रष्टाचारमा चुर्लुम्म डुबेको यो सरकारले एकपछि अर्को अपराध गर्दै अझ २५ वर्षसम्म एकलौटी राज्यसत्ता हाँक्ने सपना
देखिरहेको छ,' नेपाली कांग्रेस, नेकपा एमालेलगायत सत्ता विपक्षमा उभिएका विभिन्न नौ दलले बुधबार जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको संयुक्त विरोध सभाको सम्बोधन गर्दैगौतमले भने 'तर, जनताको नजरमा पुरै खुलस्त भइसकेकाले २५ दिनभित्र प्रधानमन्त्री भट्टराईको टुप्पी समातेर कुर्सीबाट झारेर देखाइदिन्छौं।'
माघ २६ गते राजधानीमा हुन लागेको शक्ति प्रदर्शनले पनि सरकारले पद त्याग गर्ने चेष्टा नगरे सिंह दरबार घेराउ गरेर भएपनि सरकार परिवर्तन गरिछाड्ने गौतमले धम्की दिए। करिब एक घण्टा लामो बोलेका उनले वर्तमान सरकारको नालीबेलीमात्रै केलाए। सरकार परिवर्तन भएलगत्तै अर्को सरकारले वर्तमान सरकारको भ्रष्टाचार सम्बन्धी सबै मुद्दा सक्रिय हुने भयले पनि एकीकृत माओवादीले सरकार छाड्न नमानेको आरोप उनको थियो। 'सरकार आज छाडून् कि भोलि,' गौतमले थपे, 'बाबुरामलगायत अहिले भ्रष्टाचारमा लिप्त भइरहेका सबै मन्त्रीलाई एक-एक गरी जेलमा हाल्ने निश्चित छ।'
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अर्को संविधान सभाको निर्वाचन गराउन एकीकृत माओवादी नेतृत्वको सरकार परिवर्तन एक मात्र विकल्प भएको दोहोर्‍याएका छन्। कोइरालाले भने, 'वर्तमान राजनीति गतिरोधको निकास संविधान सभाको निर्वाचन नै हो तर, यसका लागि राष्ट्रिय सहमतिको चुनावी सरकार आवश्यक छ।' एमाओवादी नेतृत्वको वर्तमान सरकारले गराउने निर्वाचन कुनै हालतमा स्वतन्त्र र निष्पक्ष हुन नसक्ने कोइरालाको जिकिर थियो।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जारी देशव्यापी विरोध सभाबाट एमाओवादीलाई सन्देश दिइसकेकोले समयमै सचेत हुन सुझाए। 'एमाओवादीले अहिले पनि बुझ्ने चेष्टा गरेन भने भोली कल्पना नगरेको क्षति उसले व्यहोर्नुपर्ने पक्का छ,' पौडेलको चेतावनी थियो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई आधार मानेर नयाँ संविधानबारे सोच्नुको विकल्प कुनै पार्टीसँग नभएको उनले तर्क गरे।
एमाओवादी अध्यक्षले चुनावी सरकारको नेतृत्वको लागि तटस्थ व्यक्तिको नाउँ अघि सारेर काँग्रेस र एमालेलाई निषेध गर्न खोजेको उनको आरोप थियो। 'अहिलेको राजनीतिक गतिरोध फुकाउन काँग्रेस र एमालेको सहमती बिना एमाओवादी एक्लैले सक्ने कुरै आउँदैन,' उनले भने, 'तर, पुष्पकमल दाहालले तटस्थ व्यक्तिको नाउँ अघि सारेर काँग्रेस र एमालेलाई निषेध गर्न खोज्नु भएको छ।' एमाओवादीको उक्त प्रस्ताव वर्तमान अवस्थामा आफूहरुले कुनै दृष्टिकोणले पनि लागु हुन नदिने बताए।
कांग्रेसकै नेता विमलेन्द्र निधीले एमाओवादीले मधेशवादी मोर्चाको काँधमा चढेर निरंकुश शासन चलाइरहेको टिप्पनी गरे। मधेश र मधेशीको नाउँमा केही सिमित नेताले व्यक्तिगत स्वार्थका निम्ति एमाओवादीसँग साँठगाँठ गरेको आरोप उनले लगाए। निधीले अहिंसाको पद्धतिबाट राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मजबुत पार्न गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली तथा धर्म निरपेक्षताको मुद्दालाई स्थायीत्व गराउन जारी विरोध सभाको मुख्य एजेन्डा भएको बताए।
सभामा महिला संघकी अध्यक्ष डिला संग्रौला, एमाले सदस्य केशव देवकोटा, रघुवीर महासेठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वीरबहादुर गोले लगायतले बोलेका थिए। का|ग्रेस जिल्ला सभापति रामसरोज यादवको सभापतित्वमा आयोजित विरोध सभामा धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा र सप्तरीबाट कांग्रेस, एमाले लगायत नौ वटा विपक्षी दलले कार्यकर्ता ओसारेका थिए। सभामा कांग्रेस र एमालेले दाबी गरेको भन्दा लगभग आधा सहभागीता थियो।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis