CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » श्रीमती जचाउन जाँदा जासुसी क्यामेरा ! 'डाक्टरमाथि षड्यन्त्र'

श्रीमती जचाउन जाँदा जासुसी क्यामेरा ! 'डाक्टरमाथि षड्यन्त्र'


काठमाडौ, फाल्गुन १८ - सानालाई ऐन, ठूलालाई चैन भन्छन् । एकजना भारतीय मूलको डाक्टरका सम्बन्धमा यही उखान चरितार्थ भएको छ । 'पत्रकारलाई जिउँदै गाडेको हुँ, पश्चाताप भइरहेको छ, कारबाही होस्' भन्ने अभियुक्तलाई बचाउने प्रधानमन्त्री कार्यालयले सामान्य अभियोगमा एक चिकित्सकको लाइसेन्स नै खारेज गर्न नेपाल मेडिकल काउन्सिललाई
निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लकै उर्दीका डरले काउन्सिलले ती डाक्टरमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
एउटा महिलाको पेटमा रहेको बच्चा छोरा हो कि छोरी हो भनिदिएबापत अल्का अस्पतालमा कार्यरत स्त्रिरोग तथा बाँझेपन विशेषज्ञ डा. नूतन शर्माविरुद्ध काउन्सिलले कारबाही गर्न लागेको हो । 'प्रधानमन्त्री कार्यालयले नै निर्देशन दिएकाले हामी केही न केही गर्न बाध्य छौं' काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले कान्तिपुरसँग भने,'यस्तो कुरामा यति ठूलो निकायबाट चासो चाहिँ किन राखियो, त्यो बुझिनसक्नु छ ।'
डा.शर्माविरुद्ध जुटाइएको प्रमाण पनि नाटकीय छ । ६ महिनाअघि सञ्जय झा नामका एक व्यक्तीले उनीविरुद्ध सरकारका विभिन्न निकायमा उजुरी दिएका आधारमा काउन्सिलले कारबाही गर्न लागेको हो । 'मविरुद्ध ठूलो षड्यन्त्र भयो' शर्मा भन्छिन्,'गर्दै नगरेको कामलाई गरेको हो भनेर फसाउने र चरित्र हत्या गर्नेहरु खुलेआम हिँडिरहेको छन्, काउन्सिल भने उल्टो उनीहरुकै पक्षमा उभिएको देख्दा अचम्म लागेर आउँछ ।'
घटना अनुसार झाले गीता श्रेष्ठ नाम गरेकी अर्कैकी पत्नीलाई आफ्नो पत्नी भनेर डा. शर्माकोमा जँचाउन लगेका थिए । आफ्नी पत्नीको पेटमा भएको बच्चा कस्तो छ भनेर झाले डाक्टरलाई हेरिदिन आग्रह गरेको शर्माले बताइन् । शर्माले अल्ट्रा साउण्ड गरेर पेटको बच्चा स्वस्थ भएको बताएकी थिइन् ।
'छोरा छ कि छोरी छ भनेर उसले सोध्यो, मैले छोरा छ भनिदिएँ' शर्मा भन्छिन्,'उसले जासुसी गर्न मिल्ने गोप्य भिडियो क्यामेरा बोकेको रहेछ, केही दिनपछि आएर गर्भपतन पनि गराउन भन्यो, सात महिना नाघिसकेकाले मैले गर्न मानिन ।' यो सबै संवादका दृश्य सम्पादन गरेर झा एकदिन त्यो देखाउन अस्पताल आएको शर्माले बताइन् ।
'छोरा हो कि छोरी हो भनेर लिंग पहिचान गर्नु अपराध हो, अब तपाईलाई थुनाइन्छिु भनेर उ गयो' शर्मा भन्छिन्,'त्यसको केही हप्ता पछि अनेक निकायबाट स्पष्टिकरणको पत्र अयाो, काउन्सिलले त कारबाही किन नगर्ने भनेर सोध्यो, मैले अझै पनि कसरी यस्तो भयो कुरा बुझ्न सकिरहेको छैन ।'
मानअधिकारआयोग, प्रधामन्त्री कार्यालय, महिला आयोग, अख्तियार, सिडिओ कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलागयत विभिन्न ११ निकायमा शर्माविरुद्ध झाले उक्त सिडि र कारबाही गरिपाऊँ भनी उजुरी दिएको अल्का अस्पताल स्रोतले बतायो । अस्पतालका अनुसार उजुरी दिनुअघि विभिन्न व्यक्तीमार्फत झाले ५० लाख रुपैयाँ दिए सिडि कसैलाई नदेखाउने प्रस्ताव समेत राखेका थिए । झाले डा. ज्योति अग्रवाल, डा. अमिला श्रेष्ठलागयतको पनि यस्तै जासुसी तरिकाले भिडियो खिचेका थिए । तर उनले उजुरी भने डा. शर्माविरुद्ध मात्रै गरे । खोटा सिक्का चलनमा ६ महिना जेल परिसकेका झा अपराधि चरित्रका भएको र यसरी भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै हिँड्ने गरेको प्रहरी अभिलेखबाट देखिन्छ ।
यसबारे कुरा गर्न खोज्दा झाले भेट्न मानेनन्, पछि फोनसमेत पनि उठाएनन् । 'उनी सद्दे नियतका हुन्थे भने श्रीमती जँचाउने जाँदा जासुसी क्यामेरा किन बोक्थे र ?' अधिवक्ता बाबुराम दाहाल भन्छन्,'जानाजान फसाउने नियतले नै डाक्टरविरुद्ध उनी लागेको देखिन्छ, काउन्सिलले यस्तोलाई प्रमाण मान्नु चाहिँ आश्चर्यको कुरा हो ।'
उनले खिचेको भिडियोलाई प्रमाणकै रुपमा माने पनि कानून अनुसार कारबाही गर्ने कुनै आधार भने नभएको दाहालले बताए । 'गर्भपतन गर्ने उद्देश्यले भ्रुणको लिंग पहिचान गर्नु गराउनु हुँदैन भन्ने कानूनमा छ' उनले भने,'तर यहाँ गर्भ पतन भएको छैन, त्यसमाथि गराउने मान्छे आफैं कपटका साथ अर्काकी श्रीमती बोकेर डाक्टरकोमा गएको देखिन्छ ।'
झाका कारण आफू ६ महिनादेखि निरन्तर तनावमा आएको बताउँदै उनीविरुद्ध छानबिन गरी कारबाही गर्न माग गर्दै शर्माले बिहीबार विज्ञप्ती जारी गरेकी छन् । झाले खिचेको भिडियोलाई एक टेलिभिजनले ७ दिनदेखि निरन्तर प्रसाशरण गर्दै आइरहेकामा आफू स्तब्ध भएको शर्माको प्रतिक्रिया छ ।
'मसँग कुरै गर्न नआई जसले जे भन्यो त्यही पत्याएर दिनको चार पटक सातदिनदेखि लगातार मविरुद्ध चरित्र हत्या गर्ने काम भइरहेको छ' शार्माले भनिन्,'यो कहाँको पत्रकारिता हो, पत्रकार महासंघ र प्रेस काउन्सिलले छानबिन गरोस् ।' टेलिभिनजका कारण चरित्र हत्या भएकाले त्यसको क्षतिपूर्तिसहित कारबाहीको माग लिएर अदालत जाने तयारी भएको पनि शर्माले बताइन् ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ १२:३६ 
घनश्याम खड्का ईकान्तिपुर
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis