CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » भारतीय सुरक्षाकर्मीले नेपाली बेपत्ता पारे

भारतीय सुरक्षाकर्मीले नेपाली बेपत्ता पारे

 बर्दिया, फागुन १८ - नेपालसँग सीमा जोडिएको भारतको मुर्तिहा कतरनिया जंगलमा पस्ने नेपाली दाउरेलाई त्यहाँका सुरक्षाकर्मीले बेपत्ता पार्न थालेका छन्। दुई वर्षमा भारतको जंगलमा घाँस, दाउरा गर्न जंगल भित्र पस्ने दुई नेपालीलाई सुरक्षाकर्मीले बेपत्ता पारेका छन्।
पछिल्लो पटक १२ गते मुर्तिहा जंगलमा दाउरा बटुल्न गएका आशापुरका ४६ वर्षे राममिलन लोधलाई भारतीय सुरक्षाकर्मीले
गायब पारेका छन्। छ जनासँग गएका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएका थिए।
राममिलनको अबस्था थाहा नपाउँदा उनको गाउँ चिन्तित छ। साथीको अबस्था पत्ता लाउन स्थानीय प्रहरीलाई पहल गरिदिन गाउँलेले अनुरोध गरेका छन्। १२ गते ११ बजे बिहान दाउरा बटुल्न गएका राधेशाम लोध, राममिलन लोध, प्रेम सागर लोध, अमृत लाल लोध, दिन दयाल बर्मा र सुकाई लोधमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए।
सुरक्षाकर्मीले दाउरा बटुल्ने क्रममा गोली चलाएको घाइते राधेश्याम लोधले बताए। ‘मोटरसाइकलमा आएका दुई जना वन सुरक्षाकर्मीले हामीलाई देख्न बित्तिकै बन्दुक पडकाए,' उनले नागरिकसँग भने,‘गोली लाग्ने बित्तिकै म लगायत अरु भाग्यौँ। सँगै अरु पनि भागे।' उनका अनुसार गोली लागेका राममिलनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
सधै जंगल जाँदा केहि नगर्ने सुरक्षाकर्मीले त्यो दिन गोली चलाएको उनले सुनाए। ‘पहिला वनमा भेटाए पनि बाटो खन्न, सुरक्षा क्याम्प सफा गर्न लगाउँथे। त्यो दिन एक्कासी गोली लाग्यो,' उनले भने। सीमामा जग्गा जमिन भएकाले गाउँलेहरु सधै जंगल जाने गरेको उनले बताए। पिडितका अनुसार मोटरसाइकलमा सवार वन सुरक्षाकर्मी बंबन मिश्रा र जय प्रकाशले गोली चलाएका थिए।

यस्तै,जमुनि-९ की ५१ वर्षिया जुनकिरी शाही डेढ बर्षदेखि श्रीमानको अबस्थाबारे अनभिज्ञ छन्। उनले भारतीय सुरक्षाकर्मीले बेपत्ता बनाएका श्रीमान हर्कबहादुरको अबस्था थाहा पाउन सकेकी छैनन्। श्रीमानको खोजीमा बाँके, बर्दियाका सरकारी निकाय र मानवअधिकार लगायत सबै ठाउँ पुगेकिछन्। २०६७ फागुन ५ गते दिउँसो साढे ११ बजे शाहीलाई जंगल छेउबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। स्थानीय प्रशासनले पटकपटक पत्राचार गरेपनि अबस्था सार्बजनिक नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
वर्षेनि सुरक्षाकर्मीले बेपत्ता पार्न थालेपछि सीमावर्ती गाउँमा बस्ने नेपाली चिन्तित छन्। सुरक्षाकर्मीको ज्यादती सहँदा पनि बिभिन्न बहानामा बेपत्ता पार्न थालेपछि स्थानीय त्रसित भएको राम बहादुर चौधरीले बताए। ‘बेला बेलामा हतियारसहित गाउँमा आएर तर्साउने गर्छन,'उनले भने,‘हाम्रो ज्यानको सुरक्षा भएन।'
स्थानीय प्रहरीले राममीलनको अबस्थाबारे सोध्न खोज्दा भारतीय सुरक्षाकर्मीले अनविज्ञता प्रकट गरेको प्रहरी प्रमुख सुरेश बिक्रम शाहले बताए। ‘नियन्त्रणमा लिएको हो भनेर सोध्दा समेत थाहा छैन भन्छन,'उनले भने,‘कानुन मिचेर जंगल पसेको भए पनि नियन्त्रणमा लिएको भन्नु पर्ने हो।' भारतीय प्रहरीसँग समन्वय गरेर अबस्था सार्बजनिक गर्न अनुरोध गरेको उनले बताए।
सरुवा भएर आउने स्थानीय प्रशासन प्रमुखहरुले भारतीय सुरक्षाकर्मीसँग समन्वय नर्गने भएकाले यस्ता घटना भइरहेको स्थानीयको भनाई छ। ‘तीन तीन महिनामा प्रमुख जिल्ला अधिकारी सरुवा हुन्छ,'उनले भने,‘सीमाबारे बुझनै पाउँदैनन्। गृह नबुझेका प्रमुख जिल्ला अधिकारी आउँछन। त्यसैले सीमामा सुरक्षा चुस्त हुन सकेको छैन।'
परराष्ट्रबाट आएका प्रजिअ मानबहादुर बिकको तीन महिना भए लगत्तै प्रजिअ धुब्रराज जोशी आएका छन्। ‘सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापबारे गृह प्रशासन बुझेको खप्पिस प्रजिअ चाहिन्छ,'एक स्थानीयले भने,‘भारतीय सुरक्षाकर्मी छिटो हेरफेर हुने हुनाले नेपालको बस्तुस्थिति बुझाउन समन्वय गर्न जरुरी छ।'
सरुवा भएर आउने प्रजिअ र प्रहरी प्रमुखले भारतीयसुरक्षाकर्मीसँग समन्वय गरेर समाधानको उपाय नखोजेकाले यस्ता घटना भइरहेको स्थानीय बताउँछन्।
श्रोतका अनुसार १२ गते भारतीय सुरक्षाकर्मीको गोलीबाट गम्भिर घाइते राममिलनको उपचार भारतको लखनउँमा भईरहेका छ।

निर्मल घिमिरे,नागरिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis