CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पुलिसको नमिल्ने पारा

पुलिसको नमिल्ने पारा



काठमाडौ, फाल्गुन १८ - 
'कार्ल माक्र्स वा अलबर्ट आइन्स्टाइन जीवित र नेपालमा भए के हुन्थ्यो ? ती अहिले प्रहरी नियन्त्रणमा हुन्थे । गुन्डागर्दी, चोरी, लुटपाट र डकैतीमा आशंकित भन्दै प्रहरीले तिनको लामो कपाल बुच्याइदिएको हुन्थ्यो ।' साताको सुरुवातसँगै प्रहरीले लामो कपाल र मुन्द्राका सोखिन युवाविरुद्ध 'जेहाद' छेडेपछि सहरमा यस्तै चर्चा छ । प्रहरीले दुई दिनमै १ हजार १ सयभन्दा बढीको कपाल बुच्यायो, मुन्द्रा फुकाल्यो । 'लौ अब प्रहरीले यिनको पनि कपाल काट्ने भो,' सहरमा आएका लामो कपाल पाल्ने आध्यात्मिक गुरु रविशंकरको तस्बिर राखेर सामाजिक सञ्जालमा लेखियो ।  

लामो कपाल र मुन्द्राविरुद्ध अभियानका जननी अच्युतकृष्ण खरेल मानिन्छन् । तीन दशकअघि काठमाडौं जिल्लाको प्रहरी प्रमुख छँदा तिनले छेडेको यस्तै अभियान प्रहरीले अहिलेसम्म बिर्सिएको रहेनछ । सामाजिक स्वीकार्यता नपाए यस्ता अभियानले प्रहरीलाई खलपात्र बनाउन सक्नेतर्फ अहिलेका प्रहरीलाई खरेल सचेत गराउँछन् । 'अर्को कुरा अभियान लामो कपाल र मुन्द्रा होइन आपराधिक प्रवृत्तिविरुद्ध लक्षित हुनपर्छ,' उनी भन्छन् । 

तत्कालीन डीएसपी खरेलले २०४० सालमा काठमाडौं जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा सहरमा हिप्पीको 'ह्याङ्ओभर' थियो । 'लामो कपाल पाल्ने, मुन्द्रा लगाउने, गाँजा तान्ने, सडक-चोकमा बसेर तरुनी जिस्क्याउनेको बिगबिगी नै थियो,' उनी सम्भिmन्छन् । झांेछेका रेस्टुरेन्टमा चुल्ठो बाटेका/मुन्द्रा लगाएर हिप्पी रूप धारण गरेका नेपाली युवा चिलिम तानिरहेका भेटिन्थे । ठूलाबडाका छोराहरूले सेतो/खैरो हेरोइनबारे थाहा पाइसकेका थिए । हिप्पीको रूप धारण गर्ने सबैजसो लागूऔषध दुव्र्यसन, गुन्डागर्दीमा संलग्न पाएपछि तिनका कपालमा कैंची लगाइदिन थालेको उनी बताउँछन् । यसैले त दिनमा पचासभन्दा बढीको कपाल छोट्टँिदा पनि समाजमा विरोध भएन । 'विरोध होइन प्रहरी अड्डासम्म आएर अभिभावकले धन्यवाद पो दिन्थे,' खरेल सम्भिmन्छन् ।

तीन दशकमा वागमतीमा धेरै फोहोर बगेको मात्र होइन महानगरमा लामो कपाल पाल्ने र मुन्द्रा लगाउने चलन दुव्र्यसनी वा गुन्डामा सीमित छैन । चिकित्सक, प्राध्यापक, पत्रकारमा पनि यस्तो फेसन सुरु भइसकेको छ । आँखाका प्रख्यात चिकित्सक सुमनशमशेर थापा लामो कपालका सोखिन हुन् । यसैले त पत्रकार केशव कोइरालाले ट्विट गरे, 'प्रधानमन्त्रीज्यू गृहमन्त्रीलाई भनिदिनुपर्‍यो मेरा पनि लामा कपाल छन, दुवै कानमा मुन्द्रा पनि ।' समाज मानवअधिकारको विषयमा सचेत भइसकेको कुरा बुझ्न प्रहरी पछि परेको देखिएको छ । 'कानुनको परिधिमा रहेर आफ्नै हिसाबले जीवन जिउने नागरिकको मौलिक अधिकार हो,' अधिवक्ता सज्जनवर सिंह थापा भन्छन्, 'प्रहरीले गरेको काम मानवअधिकारको उल्लंघन हो ।'

बाटोमा धक्का दिएको निहुँमा शनिबार छुरा प्रहार हुँदा आयुष श्रेष्ठको मृत्यु भएपछि प्रहरी बरालिएका ठिटा तह लगाउन तम्सिएको हो । 'हत्याका साथै लैंगिक दुव्र्यवहार र लुटिएको घटना भएपछि निगरानी बढाउने भन्या थिएँ,' महानगरीय प्रहरी आयुक्त नवराज ढकाल भन्छन्, 'केटाहरूले ज्यादती गरेछन् ।' लामो कपाल र मुन्द्राकै भरमा प्रहरीले आइन्दा कसैको हुर्मत नलिने उनको आश्वासन छ ।    

लामो कपालकै कारण कसैलाई सडकबाट थुतेर थाना नपुर्‍याइने आश्वासन दिइए पनि प्राथमिकता पाउनुपर्ने काम छाडेर हाट्टहुट्ट 'कस्मेटिक' कारबाहीमा रमाउन थालेको प्रहरीले कसको हुर्मत लिने हुन् भन्न सकिने अवस्था छैन । काम देखाउने जोशमा प्राथमिकता एकातिर थन्क्याएको प्रहरी कुम्लो बोकेर अन्त्ातिर हिँडेको छ । गुन्डागर्दीको बलमा अकूत कालोधन थुपारेका प्रमाण फेला पारे पनि गणेश लामा, परशुराम बस्नेत, दीपक मनाङ्गे, चक्रे मिलन, बलराम सापकोटालगायतविरुद्ध मुद्दा दायर भएको छैन । शान्ति सुव्यवस्थामा चुनौती बनेका यस्ता 'नाइके' जिम्मेवार निकायकै संरक्षणमा निस्पिmक्री छन् । तर हाम्रो प्रहरीचाहिँ लामो कपाल र मुन्द्रा लगाउनेजति सबैलाई गुन्डा, चोर, लुटेरा, डाँका ठानेर खनिएको छ । जस्तो ः काठमाडौं प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा 'उपत्यकाभित्र बढ्दै गरेको चोरी, लुटपाट, गुन्डागर्दीजस्ता अपराधलाई नियन्त्रण गर्न सञ्चालन गरिएको शंकित व्यक्तिहरू ट्यापे, मुन्द्रे, गुन्डा, सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरूलाई नियन्त्रणमा लिने अभियानअन्तर्गत आज मिति २०६९।११।१५ गते ११ः००-१५ः०० बजे शंकित व्यक्तिहरू ट्यापे, मुन्द्रे, गुन्डा, सार्वजनिक स्थानमा चुरोट सेवन गर्नेहरू गरी जम्मा ४६२ जनालाई नियन्त्रणमा लिई निजहरूको नाम, थर, वतन, हुलिया, औंठाछाप, फोटो राख्ने कार्य गरिएको, अबउप्रान्त त्यस्ता प्रकारको गतिविधि, अशोभनीय पहिरन र हुलिया बनाई नहिँड्न चेतावनी दिएको र थप आवश्यक अनुसन्धान कार्य जारी राखिएको' उल्लेख छ ।

प्रहरीले लामो कपाल, मुन्द्रा र तिनलाई अशोभनीय लागेको पहिरनकै भरमा गम्भीर अपराधमा संलग्न भनेर शंका गरेको छ । तर उपत्यकामा गुन्डाका नाइके भनेर चिनिएकामा लामो कपाल र मुन्द्राका सोखिन विरलै छन् । 'चक्रे मिलनबाहेक कुनै पनि नाइकेले लामो कपाल पालेका छैनन्,' एक प्रहरी अधिकृत भन्छन्, 'मदिरा नछुने अधिकांश नाइके हेर्दा भद्र देखिन्छन् ।'  

सडकमा सवारी अराजकतामा जस्ताको तस्तै छ । तर ट्राफिक प्रहरीको मादक पदार्थ सेवन गरी सवारी चलाउने -मापसे) विरुद्ध सक्रियता देख्दा लाग्छ- मुलुकका सबै समस्याको जड यही नै हो, मापसे नियन्त्रण भए राजनीतिक जटिलताको निस्कने मात्र होइन विकासको मूल फुट्नेछ । काठमाडौंमा त धन्न मापसेमा समातिए लाइसेन्स बुझाएर घर जान पाइन्छ । ट्राफिक प्रहरीको झर्कोलाग्दो एकघन्टे क्लासमा बसेर एक हजार रुपैयाँ जरिवाना तिरेपछि प्वाल परेको लाइसेन्स फिर्ता पाइन्छ । पोखरामा त रातभर थुनामा राखेर भोलिपल्ट सीडीओ कार्यालयमा दिनभर हुर्मत लिएपछि मात्र छुट्कारा पाउँछन् । सहरमा अँधवैंशे महिलासमेत लैङ्गिक दुव्र्यवहारको सिकार भइरहेका छन् । बलात्कारका समाचार आइरहेका छन् । तर, प्रहरी 'डेटिङ' जाने युगल जोडी खोज्दै हिँड्छ । होटलमै बसेर कसैले अपराधको योजना बुनिरहेको हुनसक्छ भन्ने कुरा प्रहरीलाई मतलब हुँदैन । ऊ त कुनचाहिँ कोठामा युगलजोडा छन् भनेर खोजखबर गर्छ । पोखरामा गुन्डालाई कमिसन नदिई जग्गा किनबेच र लिलामको काम हुन सक्तैन भन्ने बताइन्छ । तर प्रहरीचाहिँ लामो समय -अहिले गुन्डाविरुद्ध पनि अभियान चलाएको छ) मापसे गरी सवारी चलाउनेकै हुर्मत लिएर सबै समस्या छुमन्तर हुने भ्रममा रमायो । अनि होटलका कोठा चहार्दै युगलजोडालाई मुद्दा लगायो । पोखरामा त आधा दर्जन जति भारतीय पर्यटक युवतीसित फेला परेको भन्दै मुद्दा चलाएर पर्यटन व्यवसायमा थोरबहुत क्षति पुर्‍याउन योगदान गर्‍यो हाम्रो प्रहरीले । पर्यटन मुलुकलाई विकसित गर्ने उद्यम भनिन्छ । हाम्रो प्रहरी साँझ ९ बजे चमेनागृह बन्द गर्ने उर्दी जारी गर्दै हिँड्छ । 

विशेष उत्सवमा आतिशबाजी गर्ने चलन संसारभरि प्रचलित छ । नयाँ वर्ष/क्रिसमसमा सडकमा भेला भएर आतिशबाजी गरेको दृश्य टेलिभिजनमा हाम्रा प्रहरीले नदेखेका होइनन् । तर सुविधानगरमा पान पसले विन्ाोद साहले केही थानपटक बेचेकोमा तिहार र छठ प्रहरीको हिरासतमा बितेन मात्रै, सार्वजनिक मुद्दा खेप्नुपर्‍यो । गएको तिहारताका प्रहरी आतिशबाजीव्ािरुद्ध यसरी सक्रिय भयो, लाग्थ्यो दीपावली सुनसान भइदिए सबै समस्या खलास् हुनेछन् । नयाँ वर्षको अघिल्लो साँझ उत्सवको रूपमा मनाउने चलन संस्कृति बन्दै गएको छ, सहरिया समाजमा । हाम्रो प्रहरी त्यही उत्सव बिथोल्न ९ बजेदेखि बाजागाजा, मदिरा बन्द गर्ने उर्दी जारी गर्छ । 'लाग्छ प्रहरी आफूले रमाइलो गर्न नपाइने भएपछि अरू कसैले पनि रमाइलो गर्न पाउनुहुन्न भन्ने मान्यतामा छ,' अधिवक्ता थापा थप्छन् ।        

किन हुन्छ ? 

संगठित भई राजनीतिक र प्रहरी संरक्षणमा हुने गुन्डागर्दीले सुरक्षा व्यवस्थामा चुनौती दिइरहेको मात्र होइन राजनीतिको अपराधीकरण तीव्र रफ्तारमा भइरहेको छ । तर प्रहरीले संगठित गुन्डागर्दीमार्फत भइरहेको जबर्जस्ती असुलीको धन्दाविरुद्ध जेहाद छेड्न आवश्यक ठान्दैन । 'गणेश लामालाई कारबाही हुन नदिनु गृहमन्त्रीको प्रमुख एजेन्डा छ, एमालेको ओली खेमालाई परशुराम बस्नेत चाहिएको छ,' एक प्रहरी अधिकृत भन्छन्, 'अनि प्रहरी यस्तै चुल्ठे/मुन्द्रेको पछि नलागेर के गरोस् ।' कालोधन सहरका साहुमार्फत चर्को ब्याजमा लगाउने प्रहरीका हाकिम, ती साहुले प्रयोग गर्ने गुन्डा । 'साँच्चिकै गुन्डा तह लगाउने काम प्रहरीले सक्तैन,' ती प्रहरी भन्छन्, 'अनि लामो कपाल पाल्नेलाई गुन्डा भन्दै तह लगायो ।'   

'नेपाल प्रहरीमा अध्ययन/अनुसन्धान गरी प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्ने परिपाटी बस्नै बाँकी छ,' प्रधान कार्यालयको अन्वेषण विभागका नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारी भन्छन्, 'अनि गर्नुपर्ने काम एकातिर प्रहरी अर्कोतिर लागेको अवस्था पनि छ ।' सस्तो लोकपि्रयताका लागि पनि हाट्टहुट्ट खालको गतिविधिमा प्रहरी लागेको उनी ठान्छन् । 'संस्थागत अभिलेख -इन्सिटच्युसनल मेमोरी) नभएको कार्यालय, एक वर्षको छोटो कार्यकाल, गम्भीर काम गर्न अनेका व्यवधान,' उनी थप्छन्, 'अनि प्रहरी प्रचारबाजीतिर लाग्छ ।' यस्तै प्रचारबाजीमा सञ्चारमाध्यम आकिर्षत भएकाले पनि केही प्रहरी हौसिएको उनी बताउँछन् ।

प्रहरीको पछिल्ला हाट्टहुट्ट गतिविधि रमेश खरेलको सेलिबि्रटी स्टाटससँग पनि जोडिएको छ । सञ्चारमाध्यममा छाएर अर्को रमेश खरेल बन्ने सनक धेरैमा चढेको छ । तर खरेलजस्तो इमान, अडान, कार्यशैली बनाउने जाँगर छैन । 'प्रहरीमा एकथरी अधिकृतलाई खरेलजस्तो सेलिबि्रटी बन्ने भूत त सवार भएको छ,' प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्, 'तर ऊ किन त्यति चर्चित भयो भन्नेतिर जान चाहिरहेका छैनन् ।'  

प्रकाशित मिति: २०६९ फाल्गुन १९ ०९:५५
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis