काठमाडौ, चैत्र ५ - भारतभन्दा कम आर्थिक बृद्धिदर भएको नेपाल र बंगलादेशले शक्तिशाली छिमेकीभन्दा छिटो गरिबीको दर घटाइरहेको एक अध्ययनले देखाएको छ ।
अक्सफोर्ड बिश्वबिद्यालयले तयार पारेको बहुआयामिक गरिबी सूचककालाई आधार मानेर संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले प्रकाशित गरेको रिपोर्टमा नेपालले सन् १९९९ देखि सन् २००६ सम्म प्रतिबर्ष चार दशमलब १ प्रतिशतका दरले गरिबी घटाउँदै लगेको
तथ्यांक छ । छिमेकी भारतले भने निकै कम अर्थात् एक दशमलब २ प्रतिशतका दरले मात्रै गरिबी घटाइरहेको छ भने बंगलादेशले भारतको भन्दा बढी तीन दशमलब २ प्रतिशतका दरले गरिबी घटाइरहेको छ ।
रिपोर्टमा उल्लेख गरिएअनुसार नेपालले प्रतिबर्ष चार दशमलब एक प्रतिशतका दरले गरिबी घटाएर ४४ दशमलब २ प्रतिशतमा झारेको छ । सन् १९९९ मा नेपालको गरिबी दर ६४ दशमलब ७ प्रतिशत थियो । सन् २००४ मा यो ४४ दशमलब २ प्रतिशतमा झरेको छ ।
नेपाल र बंगलादेशमा अझैं गरिब रहेकाहरुको अवस्था पनि अहिले कम गरिबीको अवस्थामा पुगेको रिपोर्टमा भनिएको छ । उनीहरु धेरै कुरामा असुविधा पाएको अवस्थाबाट थोरै कुरामा मात्रै असुविधा पाउने अवस्थामा आइपुगेका छन् ।
भारतको गरिब मानिएका सहरमध्ये बिहार, मध्य प्रदेश, राजस्थान, उत्तर प्रदेश र पश्चिम बंगालमा भने गरिबी घट्ने दर समग्र दर भन्दा उच्च छ ।
अध्ययन गर्ने निकाय अक्सफोर्ड गरिबी तथा मानव विकास अभियानका निर्देशक डा. सबिना एल्किरेका अनुसार नेपाल र बंगलादेशले गरिबी निवारणमा पाएको सफलता समुदायमा गरेको लगानी र उनीहरुको सहभागिताको प्रतिफल हो ।
गरिब मानिसले पाउने असुविधाका आधारमा बहुआयामिक गरिबी सूचक तयार पारेर अध्ययन गरिएको अध्ययनकर्ताहरुको दाबी छ । गरिब मानिसले झेल्नुपर्ने समस्याहरु कुपोषण, शिक्षा, सरसफाईलाई आधार मानेर बहुआयामिक गरिबी सूचक निर्धारण गरिएको उनीहरुको भनाई छ । -- ईकान्तिपुर