CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अब केबुल र डिटिएचभन्दा भिन्न प्रविधिबाट टिभी हेर्न सकिने

अब केबुल र डिटिएचभन्दा भिन्न प्रविधिबाट टिभी हेर्न सकिने

विष्णु पोखरेल, काठमाडौं, फागुन २४ - केबल सञ्जाल र स्याटेलाइट प्रसारण प्रणाली डाइरेक्ट टु होम (डिटिएच) मार्फत् टेलिभिजन हेरिरहेका नेपाली उपभोक्ताले अब नयाँ प्रविधिबाट हेर्न पाउने भएका छन्। 
उपभोक्ताले चाँडै केबुल र डिटिएचभन्दा भिन्न
प्रविधि 'मल्टिपल भिडियो डिस्ट्रिब्युसन सिस्टम' (एमभिडिएस) मार्फत् टिभी हेर्न पाउने भएका हुन्। रेडियो तरंगलाई एन्टेनामार्फत् टिभीसम्म पुर्याोउन मिल्ने एमभिडिएस प्रविधि सञ्चालन गर्न एक कम्पनीलाई सरकारले अनुमति दिएपछि उपभोक्ताले यस्तो प्रविधि उपयोग गर्न पाउने भएका हुन्। यो प्रविधिमा तार र स्याटेलाइट प्रयोगबिना टिभीमा रेडियो तरंग पुर्या इन्छ।
टेरेस्ट्रियल प्रविधिको के-यु ब्यान्डमा आधारित यो प्रविधि सञ्चालन गर्न तीन साताअघि सञ्चार मन्त्रालयबाट मेघा ब्रोडकास्ट प्रालिले अनुमति पाएको हो। 'तीनसाता अघि मेघालाई 'माइ टिभी' ब्रान्डमा प्रसारण अनुमति दिएका हौं,' मन्त्रालयको अनुमति शाखाकी उपसचिव शैलजा रेग्मीले बुधबार नागरिकसँग भनिन्, 'यस्तो प्रविधि प्रयोग गर्न अनुमति पाउने यो कम्पनी पहिलो हो।'
कम्पनीले माई टिभी सञ्चालन गर्न फ्रिक्वेन्सी र च्यानल शुल्क बुझाइसकेको छ। राष्ट्रिय प्रसारण नियमावलीअनुसार यस्तो प्रसारण अनुमति लिने कम्पनीले प्रतिच्यानल २५ हजार रुपैयाँ तिर्नुपर्छ। मेघाले १ सय च्यानल चलाउने गरी अनुमति पाएको हो। कम्पनीले नेपालभर सेवा विस्तार गर्न पाउँछ।
मन्त्रालयको फ्रिक्वेन्सी महाशाखाका उपसचिव अनुप नेपालका अनुसार मेघाले के-यु ब्यान्डको १०.४ देखि १२.२ गिगाहर्जसम्म फ्रिक्वेन्सी उपयोग गर्न अनुमति पाएको हो। २ सय मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गर्न यो कम्पनीसँग मन्त्रालयले प्रसारण नियमावलीअनुसार १२ लाख शुल्क लिएको छ।
'यो प्रविधि नेपालका लागि नौलो हो,' कम्पनी स्रोतले भन्यो, 'यसमा स्याटेलाइट शुल्क तिर्नुनपर्ने भएकाले सञ्चालक र उपभोक्ता दुवैले सस्तोमा सेवा उपभोग गर्न सक्छन्।' अनुमति पाएपछि कम्पनीले अमेरिकाबाट उपकरण ल्याएर जडान गरिसकेको छ। आगामी साता कम्पनीले राजधानीबाट सेवा सुरु गरेको औपचारिक घोषणा गर्न लागेको स्रोतले बतायो।
होम टिभी ब्रान्डमा डिटिएच सेवा सुरु गर्ने तयारी गरेको समूहले नयाँ प्रविधिमा लगानी गरेको हो। होम टिभी र डिस नेपाल गाभिएपछि होम टिभीका केही लगानीकर्ता असन्तुष्ट भएका थिए। त्यही समूहले एमभिडिएसमा लगानी गरेको हो। स्रोतका अनुसार यो कम्पनीको कूल लगानी ९५ करोडको हुनेछ।
कम्पनीले सुरुमा राजधानीबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पछि सेवा विस्तार गरेर मुलुकभर विस्तार गर्ने योजना छ। एमभिडिएस प्रविधिमा सेवा सञ्चालन गर्न कम्पनीले विभिन्न स्थानमा टेलिफोन सेवा प्रदायकलेजस्तै टावर स्थापना गर्नुपर्छ। यस्ता टावरमार्फत् फालिने सिग्नल समात्न घरको छानामा एन्टेना राखिन्छ।
यस्तो एन्टेनानादेखि टिभीसम्म तार जोडेर विभिन्न च्यानल हेर्न सकिन्छ। यो प्रविधिमा टिभीसँगै इन्टरनेट पनि प्रयोग गर्न मिल्छ। कम्पनीले इन्टरनेटसमेत विस्तार योजना बनाएको छ। तर, पहिलो चरणमा भने टिभीमात्र प्रसारण हुनेछ।
डिटिएचको सेटअप बक्सजस्तै यसको एन्टेनासहितको प्याकेजको मूल्य करिब ५ हजार पर्ने अनुमान गरिएको छ। यसै गरी मासिक शुल्क डिटिएचभन्दा कम राख्ने तयारीमा कम्पनी छ। कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डिटिटी) का रूपमा प्रचार गर्ने तयारी गरेको छ।
केही वर्षअघिसम्म यस्तै खाले प्रसारण प्रविधि मल्टिच्यानल मल्टिप्वाइन्ट डिस्ट्रिब्युसन सर्भिस (एमएमडिएस) चलनमा थियो। यो प्रविधि भने २.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चलाइन्थ्यो। अहिले चलनमा रहेको एमभिडिएस प्रविधि भने १०.७ देखि १३.५ र ४०.५ देखि ४३.५ गिगाहर्ज फ्रिक्वेन्सीमा चलाइन्छ।
डिटिएच सेवा सञ्चालकले स्याटेलाइट ब्यान्डविथका लागि शुल्क तिर्नुपर्छ। नेपालको आफ्नै भूउपग्रह नभएकाले यस्तो शुल्कवापत् वर्षेनि रकम बाहिरिने गरेको छ। तर, एमभिडिएस प्रविधिमा भने पूर्वाधार विकासका लागि आवश्यक उपकरण खरिद गर्न रकम विदेशिए पनि वर्षेनि विदेशिन रकम भने रोकिने कम्पनी स्रोतको दाबी छ।
सहरी क्षेत्रको तुलनामा यो प्रविधि ग्रामीणमा उपयोगी हुने देखिन्छ। यस्तो प्रविधि छिमेकी मुलुक भारतसहित श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, कम्बोडिया, अमेरिका, क्यानडा, मेक्सिकोलगायतमा चलनमा छ। दक्षिण अमेरिकी र युरोपेली मुलुकमा पनि यो प्रविधि चलनमा छ। सबैभन्दा पहिले अमेरिकाले यस्तो प्रविधि प्रयोगमा ल्याएको थियो।
-ईकान्तिपुर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis