मलेसिया, फाल्गुन २५ - 'मलाई सास फेर्न गाह्रो भयो, सास फेर्न गाह्रो भया... ।' फेब्रुवरी १९ तारिख (फागुन ९) बेलुका करिब ८ बजे बैंककस्थित नेपाली सुनिल खड्का कहाँ टेलिभिजन हेर्दै गर्दा पूर्वयुवराज पारस शाहले छट्पटिँदै यसै भनेका थिए । त्यसपछि अचानक अचेत भएका उनलाई खड्काकी श्रीमती र शाहकी एक महिला
मित्रले ट्याक्सीमा राखेर अस्पताल पुर्याए ।
'म सामान्य सपिङका लागि बाहिर निस्किएको थिएँ, उहाँलाई त्यस्तो भएको फोन आयो' खड्काले १५ दिनअघिको उक्त घटनाबारे कान्तिपुरसँग भने, 'त्यसपछि म सीधै अस्पताल हान्निएँ ।'
गैरआवासीय नेपाली संघका महासचिवसमेत रहेका खड्काले हृदयाघातपछि मात्रै होइन, शाहलाई त्यसअघि लागू औषधसहित पक्राउ पर्दा पनि सहयोग गरेका थिए । 'उहाँ पनि एक नेपाली भएको नाताले पहिलेदेखि नै सकेको सहयोग गर्दै आएको छु,' उनले थपे ।
खड्का पुग्दा शाहलाई उपचारार्थ भर्ना गर्न अस्पतालले १ लाख २५ हजार थाई भाट धरौटी रकम माग गरेको थियो । भर्ना गर्न आनाकानी गरेपछि खड्कालगायत नेपालीले रकम केही दिनमै तिरिदिने कबोल गरेपछि त्यसमा अस्पताल सहमत भएको थियो । 'त्यतिखेर अस्पताललाई रकमको चिन्ता नलिनुस्, हामी छौं भनेर बचन दिएपछि बल्ल भर्ना गर्यो' उनले भने ।
गम्भीर अवस्थामा भर्ना भएका शाहलाई केही घन्टापछि चिकित्सकले 'आशा मात्रै बाँकी छ' भनेका थिए । चिकित्सक स्वयंले दुईपटक 'हि इज नो मोर' भन्दै परिवारलाई बोलाइदिन आग्रह गरेको समेत स्रोतले बतायो । 'चिकित्सकले त्यसो भनेपछि हामीलाई निकै तनाव भयो, त्यसो हुन सक्दैन, कोसिस गर्नुस भनेर अनुनय विनय गरिरह्यौं,' स्रोतले भन्यो, 'अन्ततः दुई चिकित्सकले सक्दो मिहिनेत गरे । झन्डै दुई घन्टा जतिको अथक मिहिनेतपछि उनीहरूले हामीलाई 'हि इज ब्याक' भन्दै 'स्टिल होप' भने । त्यसपछि आशा जाग्यो ।'
झन्डै दुई घन्टा लामो अथक प्रयासपछि 'थोरै आशामात्र बाँकी' रहेको चिकित्सकले बताएपछि नेपालस्थित परिवारजनलाई खबर पुर्याइएको थियो । 'परिवारलाई एकदमै नाजुक हुनुहुन्छ भनेर खबर गर्यौं, त्यसपछि उहाँ बिरामी भएकोबारे खबरहरू सार्वजनिक भए' स्रोतले भन्यो ।
'चिकित्सकले सोमबार जारी गरेको लामो विज्ञप्तिमा ९० मिनेटको 'सीपीआर' विधिसँगै 'मल्टिपलडिसी सक्स' -करेन्टको तरंगबाट गरिने उपचार) मार्फत उपचार गरेको उल्लेख गरेको भनेको त्यही हो' स्रोतले भन्यो, 'उहाँको सुधारले चिकित्सकसमेत तीनछक परे ।' एक सातासम्म स्वास्थ्य स्थिर रहेपछि थप दुई चिकित्सक थपिएको थियो । उपचारमा दुईदेखि ६ जनासम्म चिकित्सक संलग्न भएका थिए ।
खतरामुक्त भइसके पनि उनी अझै आईसीयू कक्षमै उपचाररत छन् । उनलाई श्रीमती हिमानी र बुवा आमा ज्ञानेन्द्र र कोमलबाहेक कसैलाई भेट्न अनुमति दिइएको छैन । 'थोरै पानी र झोलिलो कुरा आफैंले खान थालेका छन्' स्रोतले भन्यो । क्रमिक सुधार भइरहे पनि मुटुको ढुकढुकी बिहीबारसम्म पनि सामान्य अवस्थामा आइसकेको छैन ।
पूर्वयुवराजको यसअघिको लागू औषधसम्बन्धी मुद्दा अझै छिनोफानो भएको छैन । स्रोतका अनुसार उनलाई फुकेत अदालतले अपि्रल पहिलो साता पुनः बोलाएको छ । अस्पताल भर्ना भएयता उनको उपचारमा १ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
उनलाई भेट्न बैंकक पुगेका शुभेच्छुकहरू र्फकन थालेका छन् । '७ जना र्फके, अब ५/६ जना बाँकी छन्' खड्काले भने । उनका अनुसार शुभेच्छुकबाहेक आफन्त एवं पारिवारिक सदस्य भने अझै केही समय बैंककमै बस्नेछन् ।
पारिवारिक सदस्यमध्ये पारसका बुवा-आमा भने त्यहाँको एक होटलमा बस्दै आएका छन् । पारस अस्पताल भर्ना भएको दुई दिनपछि बहिनी ज्वाईंलगायत आफन्त, ५ दिनपछि पत्नी हिमानी र ८ दिनपछि उनका बुवा-आमा पूर्वराजदम्पती ज्ञानेन्द्र र कोमल आएका थिए । छोरा पारसको स्वास्थ्यस्थितिमा सुधार नआएपछि आफ्नो १ महिने सिमरा भ्रमण छोट्याएर पूर्वराजदम्पती ज्ञानेन्द्र शाह र कोमल शाह नातिनातिना हृदयेन्द्र, पूणिर्का र कीर्तिकासहित बैंकक आएका थिए ।
-- ईकान्तिपुर
प्रकाशित मिति: २०६९ फाल्गुन २५ ०१:१५
प्रकाशित मिति: २०६९ फाल्गुन २५ ०१:१५