CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अमोल पालेकर: मध्यमवर्गीय हिरो तपाई को बुबाको पालाको

अमोल पालेकर: मध्यमवर्गीय हिरो तपाई को बुबाको पालाको



काठमाडौ, फाल्गुन १८ - 
अमोल पालेकर आपनो बेलामा कुनै ठूलो सुपरस्टार थिएनन् । अमिताभ बच्चन नामक एउटा ठूलो वरको रूखजस्तो हिरोको सेप लागेका हिरोमा उनी पनि पर्थे । इन्दिरा गान्धीले संकटकाल लगाएपछि त्यसको विरुद्ध जन्मिएको मध्यम वर्गको आक्रोशको पर्दामा हिंस्रक प्रतिविम्बन गरेर बच्चन संसार प्रसिद्ध अभिनेता बनेका थिए । अमोलचाहिँ बच्चनको ठीकविपरीत मध्यम वर्गको शालीन र मृदु संस्करण थिए । यसैले उनी सुपरस्टार होइन, अल्टरनेट स्टारजस्ता थिए । 

शनिबार राजधानीको सोल्टी होटलमा भेटिँदा पनि उनी उस्तै शालीन र मस्त थिए । फोटोका लागि पोज दिन दुवोमा हिँड्दा उनको चालमा कुनै गति थिएन, धेरै उत्साह थिएन । यस्तो लाग्थ्यो मानौं, काठमाडौं ओर्लिनासाथ यिनलाई यताको धूलो र राजनीतिको प्रदूषणले भयाप्पै छोपेको छ, इन्फेक्सन भएको छ । 

उनको आवाज उस्तै थियो, जसरी उनी पर्दामा उत्पल दत्तलाई 'स...र' भन्छन् । ६८ वर्षको उमेरमा उनी बच्चनकै जस्तो सेतो प|mेन्च कट दाह्री लिएर डुल्छन् । गएको साता उनी नेपालका धुलिखेल, जनकपुर, चितवन र पोखरा डुले । र सायद, फर्किंदा उनको सेतो दाह्रीमा अड्किएर यो सहरमा डुलिहिँड्ने धूलोका केही कण पनि बम्बै पुना पुगे । 

हिन्दीमा एउटा शब्द छ- आम आदमी । अंग्रेजीमा यसलाई 'कमन म्यान' भनिन्छ । तर, यसको एउटा बलिउडी भर्सन पनि छ- 'द म्यांगो पिपुल ।' अमोल पालेकर पर्दामा मात्र 'म्यांगो पिपुल' थिएनन्, वास्तविक जीवनमा पनि थिए । साधारण मानिसको चरित्रमा अभिनय गर्दा गर्दै उनी असाधारण अभिनेता बन्न पुगे । र, यो प्रसिद्धिले उनलाई एउटा ब्यांकको जागिरेबाट बलिउड स्टार बनाइदियो । बिस्तारै उनी निर्माता बने र निर्देशक । हिन्दीका साथै मराठी रंगमञ्च र फिल्मको निर्देशकका रूपमा अहिले उनी चिनिन्छिन् । र, यसपटकको उनको नेपाल भ्रमणको अन्तर्यमा नेपाली भाषाका फिल्मको बजार बुझ्ने र लोकेसन हेर्ने काम लुकेको थियो । तालमेल मिल्यो भने अमोल पालेकर कुनै दिन नेपाली फिल्मको पनि निर्देशक बन्न सक्छन् । उनलाई नेपाल भ्रमणको निम्तो दिने माउन्टेन रिभर फिल्म्सको आशय पनि यस्तै बुझिन्छ । 

अमोल पालेरकलाई आफूले पर्दामा बाँचेको चरित्रमा अहिले बिस्तारै तर ठूलो परिवर्तन आइरहेको छ भन्ने लाग्छ । 'मध्यम वर्गमा धेरै परिवर्तन आएका छन्,' उनले भने । 'तपाईं मध्यम वर्गलाई सधैं एउटै आँखाले हेर्न सक्नुहुन्न । पहिला रेल चढ्ने मध्यम वर्ग हुन्थे अहिले हरेक मध्यम वर्गसँग गाडी हुन्छ,' उनले आपनो वर्गबारे बताए । र, महाराष्ट्रको एउटा बजार औरंगावादको एउटा उदाहरण दिए । 'औरंगावादजस्तो सानो ठाउँमा केही दिनपहिले आउडी कार लन्च गरिँदा पहिलो दिनमै सयवटा कार बुक भए,' यसमा उनको प्वाइन्ट के थियो भने, 'यी सबै ग्राहक मध्यम वर्गका थिए ।' 

'अहिलेका फिल्ममा मध्यम वर्ग कम, मध्यम वर्ग के बन्न चाहन्छ भन्ने कुरा बढी छ,' उनले भने । फिल्महरू 'लार्जर देन लाइफ' भएकोमा उनी हल्का चिन्तित देखिए, 'यसले फिल्मलाई खाली बिक्रीको विषय बनाइदिएको छ ।' सपनाको संकलन काउन्टरजस्तो ! यसैले फिल्मको व्यापार पनि सोचेभन्दा ठूलो भएको छ । 'गएको वर्ष सातवटा हिन्दी फिल्मले सय करोडभन्दा बढी पैसा कमाए,' उनले भने, 'जति ठूलो व्यापार भयो, वास्तविकता त्यति कम हुन्छ, मसला त्यति बढी हुन्छ ।' तर केही फिल्मले वास्तविक स्वाद बचाएर राखेकोमा यिनी खुसी पनि छन् । यस्ता फिल्ममा उनले 'कहानी', 'इंगलिस विंगलिस', 'पान सिंह तोमर' र 'विकी डोनर'को गणना गरे । यी फिल्म सानो बजेटका थिए । यिनका स्टार पनि तुलनात्मक रूपमा सानै थिए । एक हिसाबले यी फिल्महरू 'शोले', 'डन', 'मुकद्दर का सिकन्दर'का अगाडि 'छोटी सी बात' वा 'गोलमाल' जस्ता थिए । कमेडी 'टच' भएका रसिला फिल्म !

आपना धेरैजसो हिट फिल्ममा अमोल पालेकर जागिर खोज्न हिँडेको वा मन पराएकी केटीले नपत्याएको वा हाकिमद्वारा हेपिएको आत्मशक्तिहीन युवाको भूमिकामा देखिएका छन् । उनलाई लाग्छ, अहिलेका युवाका लागि जीवन बढी गाह्रो हुनेछ । 'किनभने, यी कोही सानो चीज देख्दैनन्, सबका सपना ठूला छन्, सबभन्दा ठूलो बन्नु छ, पैसा पनि ठीकै कमाएर नपुग्ने भएको छ, समाजले यिनको इच्छालाई पनि 'लार्जर देन लाइफ' बनाइदिएको छ,' उनले भने, 'हाम्रो पालामा यस्तो थिएन, हामी सन्तुष्ट हुन जान्दथ्यौं, अहिलेको पुस्ताले त्यो जान्दैनजस्तो लाग्छ ।' सब चीज ठूलो । ठूला फिल्म, ठूला स्टार र ठूला सपना । उनलाई लाग्छ, ठूला सपनाले सबभन्दा बढी साना सहरका युवालाई लखेटिरहेको छ । 'बिस्तारै सहर र गाउँको दूरी घट्दै गएको छ, यसैले मध्यम वर्गको पनि अर्को नयाँ अनुहार बनिरहेको छ,' अमोलले भने । 

सत्तरीको दशकमा सुरु भएको समानान्तर सिनेमाको एउटा हिस्सा हुन पाएकोमा अमोल गर्व गर्छन् । बासु चटर्जी र ऋषिकेश मुखर्जीका फिल्म खेल्न पाएको उनी अहिले पनि मक्ख पर्दा रैछन् । तर, उनलाई फेरि त्यस्ता निर्देशक जन्मिनसक्छन् भन्ने लाग्दो रैछ । 'जोया अख्तर र गौरी सिन्दे' उनले दुई महिला निर्देशकको नाम लिए, जो उनलाई अहिलेका ऋषिकेश मुखर्जी र वासु चटर्जी बन्ने सम्भावना भएका लाग्छन् । विशाल भारद्वाजका यी ठूला पयान हुन् । तिग्मांशु धुलिया पनि यो लिस्टमा छन् । अनुराग कश्यप टाइमका हिंसायुक्त कलात्मकता भएका निर्देशक भने उनको यो लिस्टमा अलि पछाडि पर्दा रैछन् । मैले नाम लिएपछि बल्ल उनले 'अँ, ऊ पनि राम्रै फिल्म बनाउँछ' भनेर मुन्टो हल्लाए । सायद, यी दुईको जनरा मिल्दैन । 

मुम्बईमा जन्मेका मराठी मानुस अमोलले जेजे स्कुल अफ आर्ट पढे । केही एकल पेन्टिङ एक्जिविसन पनि गरे । त्यसपछि एक दिन अचानक मनु भण्डारीको कथा 'ए सच है'मा वासु चटर्जीले बनाएको 'रजनीगन्धा' फिल्मबाट हिरो बने । त्यसअघि मराठी फिल्ममा उनले अभिनय गरिसकेका थिए । उनले अभिनय गरेको पहिलो मराठी फिल्म 'शान्त कोर्ट चालु आहे' अमरिस पुरीले अभिनय गरेको पनि पहिलो फिल्म थियो । मराठी नाटकमा त उनी नामी निर्देशक अभिनेता भइसकेका थिए । 

दुर्घटनामा परे भने मानिसहरू कि त मर्छन् कि घाइते हुन्छन् । अमोल पालेकर हिरो भए । उनले कहिल्यै हिरो भइएला भन्ने सोचेका थिएनन् । पछि त उनी निर्देशकसमेत भए । उनले निर्देशन गरेको फिल्म 'पहेली'मा अमिताभ बच्चन र शाहरूख खानजस्ता सुपरस्टारले अभिनय गरे । 

उनी धेरै प्रश्न मन पराउँदैनन् । उनकी पटकथा लेखिका श्रीमती सन्ध्या गोखलेलाई त झन् छेउमा बसेर तिनै कुरा सुनिरहनु झन् मन पर्ने कुरै भएन । 'गोलमाल'को लक्ष्मणप्रसादजस्तो उनी धेरै रोचक उत्तर पनि दिँदैनन् । तर, मराठीको कुरा झिक्यो भने यी मराठी मानुसका कान ठाडा हुँदा रैछन् । यिनलाई बलिउडप्रति खासै धेरै प्रेम छैन । यसैले त उनी भन्छन्, 'मराठीले दर्शकलाई स्वादमा जुन विविधता दिनसक्छ, हिन्दी फिल्मले त्यो सोच्न पनि सक्दैन ।' 

मराठी र अरू भारतीय भाषाका फिल्मको बजारलाई हिन्दीले प्रभावित पारेको छ भन्ने उनलाई थाहा थियो । यसपालिको भ्रमणबाट बलिउडको सेपले नेपालीको फिल्मका पनि पात पहेंला भएका छन् भन्ने उनले थाहा पाए । उनको थप चिन्ता केमा छ भने, 'मराठी र हिन्दी दुवै फिल्मको केन्द्र मुम्बई भएकाले मराठीमा बलिउडको सबभन्दा नराम्रो प्रभाव छ ।' ठूलो हिन्दी फिल्म रिलिज हुने हप्ता मुम्बई पुनामा मराठी फिल्मले एउटा पनि स्त्रिmन पाउँदैन भन्दै उनी थप चिन्तित बने । र थपे, 'मैले सुनें नेपालमा पनि करिब त्यस्तै छ रे ।' 

उनलाई लाग्छ साना उद्योगले बलिउडसँग 'फाइट' गर्नुपर्छ । 'आपनो स्थान, मौलिकता र स्वाद कायम गर्नका लागि यस्तो फाइट गर्नुपर्छ,' उनले थपे । मुम्बइकर भएका नाताले मात्र होइन, मराठीमा फिल्म बनाउने पनि भएकाले होला, अमोल पालेकर मराठी फिल्मप्रति 'फिदा' देखिए । 'अहिले त टेक्निकल रूपमा र बजारमै पनि मराठी फिल्म हिन्दीको टक्करमा छ,' उनी पुलकित बने । 

'नेपाली फिल्मले पनि आपनो बेग्लै परिचय बनाउनुपर्छ, बलिउडका मसलाले धेरै धान्दैन,' उनले सुझाव दिए । गएको शुक्रबार धुलिखेलमा केही कलाकर्मीसँगको अन्तरक्रियामा पनि उनले यस्तै विचार राखेका थिए । र, सय करोड कमाउँदैमा फिल्म राम्रो हुँदैन भनेर हिट फिल्महरूको आलोचना गरेका थिए । 'आपनै स्वादको निर्माण नबनाउने हो भने टिक्न सकिँदैन,' उनले दोहोर्‍याए र इरानी फिल्मको उदाहरण दिए । 'हलिउडले संसारभरको सिनेमालाई प्रभावित पारे पनि बजार कब्जा गरे पनि इरानी फिल्मले आपनो पहिचान बनाएको छ । संसारभर इरानी फिल्म चिनिन्छ,' उनले उदाहरण दिए ।

निर्देशकका रूपमा अमोलले हिन्दी, अंग्रेजी र मराठी फिल्म बनाए । सबै कलाकार निर्देशक बन्दैनन् वा बन्न सक्दैनन् । अमोल बने । यसको उनीसँग कारण छ । 'फिल्म भनेको निर्देशकको माध्यम हो । कलाकार जतिसुकै ठूलो स्टार भए पनि फिल्म उसको होइन । एउटा कला विधाका रूपमा फिल्म अभिव्यक्तिको माध्यम हो, जसले निर्देशकको विचार र मान्यता अभिव्यक्त गर्छ । म आफूलाई अभिव्यक्त गर्न चाहन्थें,' यसैले उनी निर्देशक बने । त्यसमाथि पेन्टरका रूपमा उनीसँग एउटा विधा अगाडिदेखि नै थियो । यसले फिल्म बनाउन ठूलै मद्दत गर्‍यो । अहिलेका फिल्म अमोलका बेलाका जस्ता छैनन् । जसरी दर्शक र समाज परिवर्तन भएका छन्, हिरो पनि परिवर्तन भएका छन् । उनीजस्तो सोझो, भलाद्मी तर रोचक पात्र मुस्किलले देख्न पाइन्छ । उनका मराठी फिल्म त नेपालमा चल्दै चल्दैनन् । तर, 'चितचोर', 'गोलमाल', 'छोटी सी बात' र 'बातों बातों मे' जस्ता फिल्मको स्मृति मेटिँदैनन् । 

झुसिल्कीराजस्ता जुंगा र लरक्क परेको कपाल पालेर अहिले कोही हिरो बन्ने कल्पना गर्न सक्दैन । यसैले अमोल पालेकर दर्शकको स्मृतिबाट विस्थापित हुनेछैनन् । 'म्याचो म्यान'को जंगलमा परिणत भइरहेको बलिउडमा अमोल पालेकर अझै केही वर्ष डीभीडी र टेलिभिजनमा हेरिनेछन् । यसपालिको 'लोकेसन हन्टिङ'ले केही कमाल गरेको रहेछ भने, नेपालका हलमा पनि उनका फिल्म हेरिनेछन्, नेपाली भाषामा । 

प्रकाशित मिति: २०६९ फाल्गुन १९ ०९:५५
-यज्ञश - कोशेली 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis