शिक्षिकाले किताबले हान्दा ९ असारमा बाँके, हिरमिनियाका अजय धोबी, ८, को बायाँ आँखाको नानी फुट्यो। नेपालगन्जको फत्तेबाला आँखा अस्पतालमा अप्रेसन गरियो। तैपनि, उनको आँखाको ज्योति फर्किएन। थप उपचारका लागि
राजधानीस्थित तिलगंगा आँखा अस्पताल पुर्याइएका अजयको २१ असारमा दोस्रो अप्रेसन गरियो। अप्रेसनमा संलग्न डा रीता गुरुङ भन्छिन्, "पहिलो अप्रेसनमा लगाइएका टाँका फुस्केकाले घाउ पाकेर पीप जमेको थियो। अब राम्रोसँग सन्चो भएपछि मात्र नानी प्रत्यारोपण तथा देख्न सक्ने वा नसक्ने भन्न सकिन्छ।"यसै वर्ष खुलेको भेरी जोन इंग्लिस बोर्डिङ् स्कुलको यो घटना मात्र होइन, बाँकेका निजी विद्यालयहरूमा शिक्षकको यातनाले विद्यार्थी घाइते भएका थुप्रै घटना छन्। नगरभित्रको एन्जल्स बोर्डिङ् स्कुलका कम्प्युटर शिक्षक नवीन गुरुङले गत १८ चैतमा कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीलाई सानै निहुँमा ठूलो दण्ड सजाय दिए। बिहान साढे १० बजे परीक्षा केन्द्र प्रवेश गर्दा विद्यार्थीले लाइन बाङ्गो भयो रे ! त्यही निहुँमा प्रकाश बुढाको गालामा जोडले झापड हान्दा कानको जाली नै फुट्यो। प्रकाशको परीक्षा त बिगि्रयो नै, उपचारपछि पनि उनी एउटा कानले राम्ररी सुन्दैनन्।
त्यसअघि गत वर्ष २१ असारमा शिक्षिका नीलु त्रिपाठीले कक्षा ६ का सात विद्यार्थीलाई होहल्ला गरेको भन्दै अगाडि बोलाएर एकले अर्काको हात पछाडि समात्न लगाइन्। लगत्तै उनले धेरै हल्ला गरेको भन्दै अंकित महतको कानमा समाई गाला र कन्चटमा १५ पटक पिटिन्। अंकितको गाला र कन्चटमा नीलडाम मात्र बसेन, उनी बिरामी नै भए। त्यस्तै, वेस्टजोन स्कुलकी शिक्षिका पञ्जम रावतले १४ जेठ मध्याह्न १२ बजे कक्षा ३ का विशोक विष्ट, ९, लाई लाठीले पिट्दा उनको शरीरमा नीलडाम बस्यो। कुटाइबाट १०४ डिग्री ज्वरो आएपछि अस्पताल भर्ना गरयिो। चिकित्सकले जाँच गर्ने क्रममा शरीरमा नीलडाम देखिएपछि मात्र उनले मिसले पिटेको रहस्य खोलेका थिए। पाँचपटक ढाड र पाखुरामा लाठीले हानेकाले नीलडाम प्रस्टै देखिन्थ्यो। "ट्वाइलेट जान लाग्दा साथीलाई बाटो छाड् भनेको, मिसले बेस्सरी पिट्नुभयो," विशोक भन्छन्, "घरमा भने झन् पिट्छु भन्नुभएको थियो, त्यसैले नभनेको।" गत १५ वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भएयता आठपटक लाठीले पिटाइ खाइसकेको उनी बताउँछन्। त्यसले विद्यालयमा यातना दिएर पढाउने प्रवृत्ति रहेको देखाउँछ। विद्यालयले भने अभिभावकको गुनासो आए सम्बन्धित शिक्षकलाई विभागीय कारबाही गरेको भन्दै पन्छिने गरेको छ। वेस्टजोन विद्यालयका पि्रन्सिपल आरपी गौतम विद्यार्थीलाई यातनारहित शिक्षा दिने नीति भएकाले शिक्षकले लाठी लिनसमेत नपाउने दाबी गर्छन्।
निजी विद्यालयहरूले विद्यार्थीलाई अनुशासित राख्ने निहुँमा यातना दिने संस्कृति बाँकेमा हुर्किंदै गएको छ। बितेका तीन महिनामा नेपाल बाल मजदुर सरोकार केन्द्र -सिविन)को बाल हेल्प लाइनमा झन्डै एक दर्जन बालबालिकाले फोन गरेर कक्षा कोठामा शिक्षकले पिट्ने गरेको दुखेसो पोखेको पाइएको छ। गत वर्ष शिक्षकले यातना दिएपछि स्थानीय ब्राइटल्यान्ड स्कुलका विद्यार्थी केही दिन घर छाडेर भागेका थिए। त्यस्तै, यातना दिने विद्यालय छाडेर अर्को विद्यालय सर्ने घटना पनि नेपालगन्जमा प्रशस्तै छन्।
"जिल्ला शिक्षा कार्यालयले नियमित र प्रभावकारी अनुगमन गरेको छैन। न त अभिभावकले कानुनी उपचार लिन्छन्। त्यसैले पनि घटना दोहोरएिका हुन्," सिविनका क्षेत्रीय प्रमुख मधुसूदन दबाडी भन्छन्, "हुर्कंदो यातना संस्कृतिलाई अन्त्य गर्न अब ढिला गर्नुहुन्न। गत वर्ष बाँकेका विद्यालयमा दिइएका यातनासम्बन्धी ६२ उजुरीमध्ये ६१ वटा घटना निजी विद्यालयमा भएको पाइएको बाल हेल्पलाइनको तथ्यांक छ।
बालमैत्री विद्यालय राष्ट्रिय प्रारूपले विद्यार्थीलाई भौतिक तथा शारीरकि दण्ड दिन निषेध गरेको छ। तर, अधिकांश निजी विद्यालयमा प्रारूप पुगेको छैन। ती विद्यालयले शिक्षकलाई तालिमसमेत दिएका छैनन्। जिल्ला शिक्षा अधिकारी धनसिंह धामी स्रोत केन्द्रले नियमित अनुगमन गर्नुपर्ने भए पनि कमी रहेको स्वीकार्छन्। भन्छन्, "सामुदायिकको तुलनामा संस्थागत विद्यालयमा धेरै समस्या देखिएको छ। कान र आँखै फुट्नेसम्मका घटना भएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न पहल गछौ।" -- नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !