CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ठग पेट्रोल पम्पबाट मासिक पाँच लाख घुस , अख्तियारद्वारा चोरलाई चावी

ठग पेट्रोल पम्पबाट मासिक पाँच लाख घुस , अख्तियारद्वारा चोरलाई चावी

काठमाडौं। दैनिक उपभोग्य बस्तु लगायतका सेवाहरूको नापतौलमा उपभोक्ताहरू नठगिऊन् भन्ने उद्देश्यले स्थापना भएको नेपाल गुणस्तर तथा नापतौल विभाग नै अनियमितताको दलदलमा परेको छ। पेट्रोल र डिजेल बिक्री गर्दा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पहरूलाई विभागले दररेट तोक्दै घुस असुली गर्दै उन्मुक्ति दिएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्तालाई ठगी गर्ने पम्पहरूलाई कारबाही गर्न निर्देशन दिएपनि विभागले तौलमा ठगी गर्ने
पम्पहरूलाई विनाकारबाही उन्मुक्ति दिएको छ।
पेट्रोल पम्पहरूले उपभोक्ताहरूलाई तेल बिक्री गर्दा तौलमा ठगी गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाणिज्य विभागलार्ई अनुगमन गर्न निर्देशन दिएको थियो।
अख्तियारको निर्देशन र बाणिज्य विभागको नेतृत्वमा अख्तियार, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल प्रहरी, उपभोक्ता हक अधिकारसँग सरोकार राख्ने संघसंस्थाका प्रतिनिधि सम्मिलित बजार अनुगमन टोलीले पम्पहरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा काठमाडौं उपत्यका र वरिपरिका जिल्लाका कतिपय पेट्रोलपम्पले प्रति पाँच लिटरमा पचास मिलि लिटरदेखि दुई सय पचास मिलि लिटरसम्म नपगु तेल बिक्री गरेको भेटिएको थियो। गुणस्तर तथा नापतौल विभागका कर्मचारीले ठग पेट्रोल पम्पहरूबाट घुस खाएर उपभोक्ताहरूलाई तौलमा हुनुपर्ने भन्दा कम तेल बिक्री गरेको उजुरीका आधारमा अख्तियारले अनुगमन गरेको थियो। तर, अनुगमनपछि नपुग तेल बिक्री गरेको पुष्टी भएको थियो। नापतौल विभागले लगाएको सिल र टाँचा यथावत भएका पम्पमा पनि प्रति पाँच लिटरमा दुई सय असी मिली लिटर कम तेल बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो।
विभागले सिल र टाँचा नचलाइएका पम्पले पनि नपुग तेल बिक्री गरेकोले विभागकै मिलेमतोमा ठगी भएको कुरालाई पुष्टी गरेको छ। तर, अख्तियारले उपभोक्ता ठगी गर्ने पम्पको बारेमा छानबिन नगरी नापतौल विभागलाई नै छानबिन गरी बदमासी गर्नेलाई कारबाही गर्ने निर्देशन दियो। पम्पहरूबाट मासिक दररेट तोकेर घुस खाई उपभोक्ता ठग्ने छुट दिएको आरोप लाग्दैआएका नापतौल विभागका महानिर्देशक रामआधार साहलाई अख्तियारको निर्देशन पम्पहरूबाट थप असुली गर्ने माध्यम बनेको गुनासो पीडित उपभोक्ताहरूको रहेको छ। अख्तियारले कारबाही गर्न निर्देशन दिएका पम्पहरूबाट उनले एउटा पम्प बराबर एकलाख रुपैयाँसम्म असुली गर्दै उन्मुक्ति दिएको नापतौल विभाग सूत्रले बतायो। कम तौल भेटिएका जयन्ती आयल स्टोर र दक्षिणकाली आयल स्टोरको पम्प बन्द गरी मोलमोलाई मिलेपछि खोलिसकिएको छ भने घुसमा कुरा नमिलेपछि सिद्धार्थ फ्युल सेन्टर लोकन्थलीको भने अहिलेसम्म खोलिएको छैन।
स्तरीय नापतौल कायम गर्न स्थापित विभागका महानिर्देशक साहले पेट्रोल पम्पहरूबाट मासिक रुपमै घुस असुली गर्दै उपभोक्ता ठगी गर्न छुट दिएको सूत्रले बतायो। सूत्रका अनुसार, महानिर्देशक साहको गिरोहले उपभोक्ता ठगी गर्न छुट दिएबापत हेटौंडा, काठमाडौं, धादिङ, काभे्र र सिन्धुपाल्चोक जिल्लाबाट मात्र मासिक दुईलाख पचास हजार घुस लिने गरेको आरोप छ। काठमाडौंदेखि मुग्लिङसम्मका पम्पहरूबाट मासिक एक लाख, मनोहरा पुल पारीदेेखि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसेसम्म मासिक एक लाख र मुग्लिङदेखि हेटौंडासम्म पचास हजार रुपैयाँ मासिक लिने गरेको आरोप महानिर्देशक साहको नेतृत्वको घुस्याहा गिरोहमाथि छ।
अख्तियारमा परेको उजुरीमा पनि महानिर्देशक साहले पम्पहरूबाट घुस खाएर उपभोक्ता ठगी गर्ने छुट दिएको उल्लेख छ। अनुगमनका क्रममा विभागले लगाएको सिल र टाँचा दुरुस्त भएका पम्पमा पनि नपुग तेल बिक्री गरेको भेटिएकाले ती पम्पहरूबाट घुस खाएर उपभोक्ता ठग्ने छुट दिएको कुरालाई पुष्टी गरेको विभाग सूत्रले बतायो। नापतौलमा ठगी गर्ने पम्पहरूलाई अख्तियारको निर्देशनअनुसार कारबाही नगरिएकोबारेमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहको कार्यालयको फोन नं.४३५६८१० मा भदौ २० गते पट पटक सम्पर्क गर्दा उनका निजी सचिव राजाराम यादवले कार्यक्रममा गएको बताए। र, मोवाइल नं दिन चाहेनन्। उद्योग मन्त्रालयमार्फत् लिएको उनको मोवाइल नं.९८५१०४६९३४ मा पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।
विभागले उपभोक्तालाई नापतौलमा ठगी गर्ने पम्पलाई सिलबन्दी गरी कारबाही अगाडि बढाउनसक्छ। सूत्रका अनुसार, महानिर्देशक साहले अख्तियारका प्रतिनिधि सहितले गरेको अनुगमनमा गल्ती गर्ने पम्पलाई दररेट अनुसार घुस लिएर उन्मुक्ति दिएका छन्। र, साह गिरोहलाई घुस नदिने पम्पमा सिल लगाएका छन्।
बाणिज्य विभागले गरेको अनुगमनका क्रममा जयन्ती आयल स्टोर त्रिपुरेश्वरले उपभोक्तालाई पचास मिलीलिटर नपुग तेल बिक्री गरेको फेला परेको थियो भने दक्षिणकाली आयल स्टोर बल्खुमा अनुगमन गर्दा एकसय मिली लिटर कम देखिएको थियो। दक्षिणकालीका तीनवटा पम्पमध्ये एउटाको मात्र मापदण्डअनुसारको तौलमा तेल बिक्री फेला परेको थियो भने दुईवटा पम्पको नपुग देखिएको थियो भने डिजलमा चालिस मिलीलिटर कम देखिएको थियो। पच्चिस मिलीलिटरसम्मलाई लस मानिए पनि त्यो भन्दा माथि परिमाणमा कम देखिनुहुँदैन। गुणस्तर विभागले जयन्ती आयल स्टोर र दक्षिणकालीमा तौलमा ठगी गरेपछि स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार पम्प बन्द गरे पनि आर्थिक प्रभावमा परी तुरुन्तै खोलेको बताइन्छ। सिद्धार्थ फ्युल सेन्टर लोकन्थलीले त दुई सय पचास मिलीलिटर नै नपुग तेल बिक्री गरेको भेटिएको थियो। नपुग तेल बिक्री गरेको उजुरीका आधारमा त्रिलोचन इन्टरप्राइेजज पानीपोखरी, खड्का आयल सप्लायर्स बाँसबारी, नेपाली सेनाकै भद्रकालीमा रहेको रिपुमर्दिनी पेट्रोल पम्पको पनि बाणिज्य विभागको टोलीले नमूना परीक्षणका लागि लिएको छ।
सेना र प्रहरीको पम्पमा पनि ठगी
बाणिज्य विभागले गरेको अनुगमनका क्रममा नेपाल प्रहरीको कल्याणकारी कोषद्वारा संचालित नक्सालको पेट्रोल पम्पमा पनि तीस मिलीलिटर नपुग तेल बिक्री गरेको फेला परेको थियो। नेपाली सेनाले संचालन गरेको शक्तिदेवी पेट्रोल पम्प लगनखेलको चार पटक नापजाँच गर्दा पनि पचास मिलीलिटर घटी देखिएको छ। सेनाकै भद्रकालीमा रहेको रिपुमर्दिनी पम्पबाट पनि बाणिज्य विभागको टोलीले तौलमा आशंका गर्दै नमूना लिएको छ। सेना र प्रहरीद्वारा संचालित पम्पहरूको साख उपभोक्तामा राम्रो रहँदैआएको परिप्रेक्ष्यमा अनुगमनले त्यो जनविश्वासमा पनि धक्का पुर्या्एको छ।
अख्तियारद्वारा चोरलाई चावी
बाणिज्य विभागका एक अधिकारीले भने, पेट्रोल पम्पहरूले नपुग तेल बिक्री बितरण गर्दै नापतौलमा ठगी गरेको पुष्टी भइसकेपछि अख्तियारले छानबिन गरी गुणस्तर तथा नापतौल विभागका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने थियो। तर अख्तियारले गुणस्तर विभागलाई नै ती पम्पमाथि कारबाही गर्न निर्देशन दिएपछि ‘चोरलाई चावी’ भन्ने उखान चरितार्थ गरेको बाणिज्य विभागका अधिकारीले भने– बाणिज्य विभागको काम अनुगमन गर्ने हो, कारबाही गर्ने अधिकार विभागलाई छैन। कारबाहीका लागि जुन निकायमा पठायो, ती निकायका हाकिमलाई दुहुनो गाई पठाएजस्तै हुने गरेको छ। आर्थिक लेनदेन गर्दै कारबाही फासफुस हुन्छ। कारबाहीका लागि गुणस्तर विभागमा पठाइएका पेट्रोल पम्पहरूलाई गुणस्तर विभागले उन्मुक्ति दिएपछि अुनगमन गरेको के अर्थ? ती अधिकारीले प्रश्न गरे–अख्तियारले सिल टाँचा लगाइएका पम्पहरूमा कसरी कम तौल भेटियो? विभागले सिल टाँचा लगाउने क्रममै पम्पहरूबाट फाइदा नलिएको भए कसरी बदमासी भयो भनेर खोजी गर्नुपर्छ।
http://sanghu.weeklynepal.com/2013/09/10/article-item01378795465/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis