CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अभिभावकको भूमिका

अभिभावकको भूमिका



 केही अपवादबाहेक, अभिभावकको सबैभन्दा कमजोर र लुकेको पक्ष हो आफ्नो बालबच्चालाई समय नदिनु। ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ। अचेल विद्यार्थीलाई सानै उमेरदेखि विद्यालयमै राखेर पढाउने चलन छ। व्यस्त दैनिकी र बालबच्चाहरूले दिने झन्झटबाट मुक्तिका लागि यो
एक हिसाबले राम्रो पनि होला तर व्यावहारिक कोणबाट नियाल्दा त्यति उपयुक्त देखिँदैन। सानै उमेरदेखि विद्यालयमा राखेर पढाउँदा पहिलो कुरा त अभिभावक र बालबच्चाबीचको सम्बन्ध आत्मीय नहुन सक्छ। तै पनि अहिलेको व्यस्त दैनिकीमा यो एउटा वैकल्पिक उपाय भने हो, यसरी विद्यालयमै राखेर अध्ययन गराउँदा पनि विद्यार्थीका लागि समय छुट्याउनुपर्छ।

अर्को कुरा घरमै बसेर पढ्ने विद्यार्थीका अभिभावकहरू घरमा राखिएका ट्युसन शिक्षकको भरमा विद्यार्थीलाई छाडी दिन्छन्। बिहान बालबच्चा उठ्दा अभिभावक काममा गैसकेका हुन्छन् बेलुका फर्कंदा बालबच्चा निदाइसकेका हुन्छन्। अभिभावक एवं विद्यार्थीबीच हप्तामा एकपटक पनि कुराकानी हुँदैन। विद्यार्थीका लागि जति खर्चिन पनि सक्ने तर समय दिन नसक्ने अभिभावक थुप्रै छन्। अर्कातिर फुर्सदिला अभिभावकहरू विद्यार्थीलाई विद्यालय भर्ना गरिदिइसकेपछि बाँकी सबै शिक्षक, विद्यालय र विद्यार्थीको काम सम्झन्छन्। विद्यार्थीको रुचि, चाहना, आवश्यकता, सम्बन्ध, प्रतिभा, व्यावहारिकता इत्यादि बुझ्न अभिभावकहरूले आफ्ना सन्तानका लागि निश्चित समय छुट्याउनुपर्छ।

मायालु एवं आत्मीय व्यवहार

विद्यार्थीको पहिलो विद्यालय घर हो भने पहिलो गुरु अभिभावक हुन्। घरमा जस्तो व्यवहार सिकाइन्छ विद्यार्थीले बाहिर पनि उस्तै व्यवहार गर्न थाल्छन्। त्यसो त विद्यार्थीको बोली, व्यवहार एवं स्वभावले घरमा अभिभावकको व्यवहार कस्तो छ भन्ने कुरा पनि पत्ता लाग्छ। 'नानीदेखि लागेको बानी' भने जस्तै सानैदेखि सिकाएको व्यवहार ठूलो भैसक्दा पनि कायम रहने हुँदा सानैदेखि बालबच्चालाई असल र राम्रो बानी व्यवहार सिकाउनुपर्छ। बालबच्चाहरूसँग सकारात्मक व्यवहार गर्नुपर्छ। असल व्यवहारले नै असल भविष्यको आधार निर्माण हुने हुँदा हरेक अभिभावकले असल व्यवहारसँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्छ। अभिभावकबाट मायालु, आत्मीय र आदरणीय व्यवहार पाएको विद्यार्थीले अरूप्रति पनि त्यस्तै व्यवहार गर्छ, जसले उसको व्यक्तित्वमै राम्रो छाप पर्छ।

सहयोगी एवं मित्रवत् व्यवहार

अभिभावक केवल अभिभावक मात्र होइनन् विद्यार्थीका लागि सहयोगी एवं मित्र पनि हुन्। अभिभावकले कुनै बेला अग्रजको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कुनै बेला मित्रवत् व्यवहार गर्नुपर्ने हुन्छ। विद्यार्थीलाई आवश्यकताभन्दा बढी नियन्त्रणमा पनि राख्नुहुँदैन। यसले उनीहरूमा एक्लोपन अनुभव गर्ने अवस्था सिर्जना गरिदिन सक्छ। त्यसकारण अनावश्यक र गलत कुरामा सचेत गराउने अभिभावकीय दायित्व निर्वाह गर्दै अरू बेला मित्रवत् व्यवहार गर्नुपर्छ। मित्रवत् व्यवहारले उनीहरूमा सहज र सरलताको भाव जगाइदिन्छ। त्यसका साथै उनीहरू आफूलाई आवश्यक पर्ने कुरा र आफ्नो मनमा लागेको कुरा स्पष्ट रूपमा भन्न सक्छन्, जसले गर्दा पढाइमा अप्ठ्यारो लागेको कुरा स्पष्ट रूपमा भन्न सक्छन्, जसले गर्दा अध्ययनमा समेत सकारात्मक प्रभाव पर्छ। सहयोगी व्यवहारले विद्यार्थीहरूमा सिक्ने खुबी र उत्साह जगाउँछ।

हौसला र प्रोत्साहन

कलिलो मस्तिष्कमा स-साना गल्ती र समस्याले पनि ठूलो समस्या पैदा गरिदिन्छ। त्यसैले यस्तो बेलामा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ। विद्यार्थीहरू नयाँ कुरा सिक्न जतिधेरै उत्सुक र जागरूक हुन्छन् उत्तिकै समस्या आइपर्छन्। यस्ता समस्यामा पनि अभिभावकहरूले उत्प्रेरणा एवं उत्साह जगाइदिनुपर्छ। विद्यार्थीको भविष्य नै अभिभावक र शिक्षकको हातमा हुन्छ। पढ्ने वातावरणको व्यवस्था गर्नुका साथै माया, उपहार, पुरस्कार इत्यादि दिएर अध्ययनका लागि हौसला दिनुपर्छ जसले विद्यार्थीहरूलाई थप बल पुग्छ। विद्यार्थी उमेर भनेको सिकारु समय हो। यस्तो अवस्थामा विद्यार्थीहरूका नजिकका मित्र भनेकै अभिभावक हुन्।

सजाय होइन प्रेरणा

गल्ती जो-कोहीबाट पनि हुन्छ। जुनसुकै काम पनि सुरुमा बिग्रनु स्वाभाविक हो। गल्ती हुनु र गल्ती गर्नुभन्दा सोही प्रकृतिको गल्ती दोहोर्‍याउनु महागल्ती हो। त्यसैले एकै प्रकारको गल्ती बारम्बार दोहोर्‍याउनु हुँदैन तर गल्ती गर्दैमा डराउने, हतास हुने र अत्तालिने काम गर्नुहुँदैन। आफ्ना बालबच्चाले गल्ती गर्दैमा पिट्ने, कराउने, होच्याउने, तर्साउने र सजाय दिने जस्ता व्यवहार गर्नुहुँदैन। ठूलो विज्ञ/अनुभवी मान्छेले त काम गर्दै जाँदा बिग्रन्छ भने सिकारु नानीबाबुले बिगार्नु कुनै नौलो कुरा होइन। विद्यार्थीको कुनै परीक्षा बिग्रँदैमा सजाय दिनतिर नभई अगामी परीक्षामा कसरी राम्रो अंक ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ।  शिक्षक एवं अभिभावकहरूले पनि विद्यार्थीले एक-दुईवटा गल्ती गर्दैमा पिट्ने, कडा सजाय दिने र मानिसक दबाब पर्ने खालका गाली गर्नुहुँदैन। नतिजा राम्रो आएन भनेर गाली गर्नुभन्दा विद्यार्थीको पढाईप्रति सुरुदेखि नै सचेत हुनुपर्छ। परीक्षाको परिणाम आएपछि पछुताउँदैमा वा विद्यार्थीलाई सजाय दिँदैमा नतिजा राम्रो हुने होइन। नतिजा राम्रो बनाउन हौसला र उत्प्रेरणा दिएर पढाइतर्फ केन्दि्रत गराउनुपर्छ। गाली गर्दा र पिट्दा विद्यार्थीमा भएको क्षमतासमेत ह्रास हुने सम्भावना हुन्छ। विद्यार्थीमा मानसिक दबाब पर्नुका साथै नैराश्यता समेत छाउँछ। त्यसैले शिक्षक अथवा अभिभावक दुवैले सहज र प्रेरक शब्दहरूका साथ सम्झाउँदै मनोवैज्ञानिक रूपले पढ्न हौसला दिनुपर्छ।

मनोभाव बुझौं

सबै विद्यार्थीको स्वभाव एकै किसिमको हुँदैन। विद्यार्थीको स्वभाव अभिभावकको व्यवहारमा निर्भर रहन्छ भने कतिपय अवस्थामा साथीभाइ एवं शिक्षक-शिक्षिकाहरूको व्यवहारमा पनि निर्भर रहन्छ। कतिपय विद्यार्थी आफूलाई चाहिएको शैक्षिक सामग्री ल्याइदिन अभिभावकलाई भन्न समेत डराउने खालका हुन्छन् भने कतिपय अनावश्यक पैसा माग्ने स्वभावका हुन्छन्।

कतिपय विद्यार्थीले विद्यालयको गातिविधि, साथीभाइहरूसँग हिँड्दा आइपरेका समस्याहरू स्वास्थ्य, मानसिक, घुमफिर इत्यादि समस्याहरू अभिभावकलाई भन्न सकिरहेका हुँदैनन्। अहिले सहरी क्षेत्रका बालबालिका केही हदसम्म निकै बाठा देखिएका छन्, माध्यमिक तहका विद्यार्थीहरूमा प्रविधिको प्रभाव परिसकेको हुन्छ। त्यसकारण केही हदसम्म अभिभावकसँग खुला रूपमा कुराकानी हुने गरेको छ, तर ग्रामीण क्षेत्रमा अझै पनि अभिभावकदेखि डराउने/लजाउने विद्यार्थी थुप्रै छन्। त्यसैले अभिभावकहरूले विद्यार्थीको आवश्यकता, चाहना एवं वास्तविकतालाई नजिकबाट नियमित रूपमा बुझ्ने प्रयास गर्नुपर्छ।

आफूलाई आइपरेका समस्या भन्न नसक्दा, हिनताबोध हुँदा, नैराश्यता हुँदा, दुःख पर्दा, शारीरिक समस्या उत्पन्न हुँदा, साथीहरूको संगतका कारण विविध समस्याहरू आइपरेका हुन्छन्। यस्ता समस्या राम्रोसँग बुझेर समाधानतर्फ लाग्नुपर्छ। शिक्षक/शिक्षिकाहरूले यस्तो कुरामा विशेष ख्याल राख्नुपर्छ। कुनै विद्यार्थीले गृहकार्य नगर्नुको पछाडि अनेक कारण हुन सक्छन्। गृहकार्य गरेन भनेर सीधै कराउनु र पिट्नुभन्दा किन गरेन ? भन्नेतर्फ पनि हेर्नुपर्छ। अभिभावकको बेवास्ता, कापी कलमको अभाव काममा जानुपर्ने बाध्यता इत्यादि कारणले पनि विद्यार्थीले गृहकार्य नगरेका हुन सक्छन्। त्यसैले यस्ता कुरा बुझेर मात्र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। विद्यार्थीको मनोभाव बुझेर काम गर्दा उनीहरूमा मानसिक दबाव पनि पर्दैन।

तनावमुक्त राखौं

विद्यार्थीहरू विभिन्न किसिमले तनावमा हुन्छन्। मुख्यतः अध्ययनका क्रममा आइपरेका समस्या कसरी समाधान गर्ने, कसरी राम्रो अंक ल्याउने, कसरी अघि बढ्ने भन्ने तनाव उत्पन्न हुन्छ। यस्तो तनावपूर्ण अवस्थामा घरायसी तनाव दिएर थप पीडा बोकाउनुहुँदैन। विद्यार्थीलाई घरायसी समस्या देखाएर थप तनाव दिनु भनेको पढाइमा बाधा पुर्‍याउनु हो। त्यसैले प्राथमिक, माध्यमिक अझ भनौं 'प्लस टु' तहका विद्यार्थीहरूलाई समेत घरायसी समस्या बताउनु उपयुक्त हुँदैन।

विद्यार्थीले पढ्नु मात्र पर्छ भन्ने मानसिकता भएका अभिभावकहरू पनि हुन्छन्। जतिबेला पनि जहिले पनि पढ्ने-पढ्ने-पढ्ने भन्ने मानसिकतालाई पनि केही हदसम्म खुकुलो बनाउनुपर्ने हुन्छ। विद्यार्थीको अधिक समय पढाइमा हुनुपर्छ, सँगसँगै केही समय रमाइलो, घुमफिर इत्यादिमा पनि बित्नुपर्छ। उनीहरूलाई पढाइसँगै अन्य क्रियाकलापतर्फ पनि केन्दि्रत गराउनुपर्छ। विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटनका लागि अवसर प्रदान गर्नँपर्छ। अध्ययन प्राथमिक कुरा हो भने सँगसँगै सिक्नु र प्रतिभा प्रस्फुटन गर्नु पनि महत्वपूर्ण कुरा हो।

पढ्ने वातावरणको व्यवस्था

विद्यार्थीहरूका लागि पढ्ने वातावरणको व्यवस्था गरिदिनु अभिभावकको प्रमुख दायित्व हो। विद्यालयमा भर्ना गरिदिँदैमा अरू बाँकी सबै काम विद्यार्थीकै हो भनेर बस्नु हुँदैन। विद्यार्थीका आवश्यकता अभिभावकले पूरा गरिदिनुपर्छ। त्यसका साथै विद्यालयमा साथीहरूसँगको व्यवहार गर्दा आवश्यक पर्ने खर्चको जोहोसमेत समयमै गरिदिनुपर्छ, अन्यथा विद्यार्थीहरूलाई उसका साथीहरू माझ हीनताबोध हुनसक्छ र पढाइप्रति ध्यान नजान सक्छ। अभिभावकले विद्यार्थीको उज्ज्वल भविष्यका लागि पढाइमा विशेष ख्याल राखी आवश्यक हरेक कुराको जोहो गरिदिएर पढ्ने अवसर र वातावरण सिर्जना गरी दिनुपर्छ।

गलत संगत

आफ्ना सन्तान गलतसंगतमा लागेको कुनै पनि अभिभावकलाई मन पर्दैन तर गलतसंगतमा नलाग्न उनीहरू समयमै सावधानी भने अपनाउँदैनन्। विशेषतः प्लस टुतहका विद्यार्थीहरू गलतसंगतको सिकार हुन्छन्। साथीहरूको लहलहैमा लागेर कतिपय 'क्लास बंक' गर्दै हिँड्ने, लागूपदार्थ सेवन गर्ने, अनैतिक र विकृतिजन्य काम गर्ने खालका हुन्छन्। विद्यार्थीको व्यवहारमा आएको फेरबदल, समयको दुरुपयोग, अध्ययनको स्तर, साथीहरूको स्वभाव, शारीरिक अवस्थामा आएको फेरबदल, अभिभावकहरूसँगको व्यवहारमा आएको परिवर्तन जस्ता लक्षणबाट आफ्ना बालबच्चा गलत संगतमा लागेका छन्/छैनन् भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ। राम्रो मान्छे पनि गलतसंगतमा परेपछि गलत बाटोमा लाग्छन्। त्यसैले समयमै आफ्ना सन्तानका साथीभाइ कस्ता छन् भन्ने विषयमा जानकारी राख्नुपर्छ।

स्वास्थ्यमा ध्यान

स्वस्थ शरीरले नै जाँगर उत्पन्न गराउँछ। शरीर स्वस्थ भएन भने पढ्न अल्छी लाग्ने, जाँगर नचल्ने, शिक्षक र अभिभावकको कुरा मान्न हिचकिचाउने, साथीहरूसँग घुलमिल गर्न नचाहनेजस्ता समस्या उत्पन्न हुनसक्छन्। राम्रो नतिजाका लागि विद्यार्थीको स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्छ। विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासक्रम एवं स्वास्थमा नियमित ध्यान पुर्‍याउनुपर्छ।

हरेक अभिभावकले आफ्ना सन्तान अध्ययन गर्ने विद्यालयका शिक्षक/शिक्षिकाहरूसँग नियमित सम्पर्क गर्नुपर्छ। यसले पनि विद्यार्थीको पढाइ कस्तो छ र विद्यार्थीको व्यवहार कस्तो छ भन्ने कुरा बुझ्न सघाउ पुर्‍याउँछ। यति मात्र होइन, आवश्यक सल्लाह, सुझाव र समाधानका लागि पनि विद्यालयका शिक्षकहरूसँग नियमित सम्पर्कमा रहनुपर्छ। यसले शिक्षकहरूमा पनि विद्यार्थीप्रतिको दृष्टिकोणमा परिवर्तन आउँछ। विद्यालयले आयोजना गर्ने अविभावक भेला र बैठकहरूमा नियमित सहभागी भै आफ्ना कुरा राख्नुपर्छ।

नियमित निरीक्षण

बालबच्चाले कसरी पढ्दै छन्? साथीहरूसँगको व्यवहार कस्तो छ? शिक्षिक र घर-परिवारसँग कस्तो व्यवहार गर्छन् ? पढाइको स्तर कस्तो छ ? जस्ता कुरामा अभिभावकहरूले विशेष ध्यान दिनुपर्छ। अभिभावकको नियमित निरीक्षणले विद्यार्थीहरू नराम्रो संगतमा फस्न पाउँदैन। राम्रो अध्ययन र नतिजाका लागि अभिभावकले कहिलेकाहीँ निरीक्षकको भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ। पढाइसँग सम्बन्धित मात्र नभएर विद्यार्थीसँग सरोकार रहने हरेक कुरामा सचेत हुनुपर्छ।

विषय/शिक्षण संस्था छनौट

एसएलसी परीक्षा उत्तीर्ण भएपछि सबै अभिभावक तथा विद्यार्थीलाई एउटा महत्त्वपूर्ण निर्णय गर्ने अवसर प्राप्त हुन्छ। अभिभावकहरू आफ्ना सन्तानको विद्यालय छनौटमा अग्रसर देखिए पनि विषय छनौटमा विद्यार्थीलाई नै जिम्मा लगाउँछन्। विद्यार्थीको रुचि, चाहना एवं अपेक्षाअनुरुपको विषय अध्ययन गराउनुपर्छ। विषय छनौटमा अभिभावहरूले करकाप गर्नुहुँदैन। अधिकांश अभिभावक एसएलसी उत्तीर्ण भएपछि विद्यार्थीको चाहनाभन्दा पनि आफ्नो चाहनाको विषय पढ्न लगाउँछन्। यसले विद्यार्थीहरूमा अभिभावकका लागि पढी दिन लागेको जस्तो भावना उब्जिन सक्छ। त्यसैले विद्यार्थीको रुचिअनुसारको विषय छनौट गर्न लगाउनुपर्छ। यद्यपि विद्यार्थीको रुचि र चाहनामा अभिभावकले पनि सल्लाह/सुझाव दिनुपर्ने हुन्छ। विद्यार्थीले कतै साथीभाइहरूको लहलहैमा पो विषय छनौट गरेका हुन कि ? भन्ने पनि ख्याल गर्नुपर्छ।

नैतिक तथा व्यावहारिक ज्ञान

विद्यार्थीहरूलाई नैतिक तथा व्यावहारिक ज्ञान सिकाउनु अभिभावकहरूको दायित्व हो। विद्यार्थीहरूले नैतिक एवं व्यावहारिक शिक्षा प्राप्त गर्ने प्रभावकारी थलो घर नै हो। बोलीचालीको भाषादेखि आफन्तसँगको सम्बन्ध, नाता र व्यावहारिक पक्षका बारेमा समेत सिकाउनुपर्छ। आदरपूर्ण, सभ्य, अनुशासित, असल र भलाद्मी व्यवहारले नै सबैको निकट हुन सकिन्छ। उपयुक्त नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्न सकेको खण्डमा ठूलो भैसक्दासमेत यससँग सम्बन्धित गल्ती गर्ने सम्भावना रहँदैन। कतिपय अभिभावक विद्यालयबाटै सबथोक सिक्छन् भन्ने भ्रममा हुन्छन्। विद्यालयमा सिकाइने नैतिक तथा व्यावहारिक ज्ञानले मात्र विद्यार्थीहरूलाई पुग्दैन।

व्यक्तिसँग भेट्दा सुरुमा गरिने नमस्कारदेखि छुट्ने बेलामा गरिने नमस्कारसम्मका शिष्टाचार सिकाउनु आवश्यक छ। असल व्यवहारले नै असल मानिस बन्न सहयोग गर्छ। असल मानिस बन्न असल व्यवहार नितान्त आवश्यक छ। विद्यार्थीको उमेर अनुसारको व्यवहार सिकाउनुपर्छ। बालक, युवा, तन्नेरी अवस्था हेरेर व्यवहार गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा के हो भने आफन्त, इष्टमित्र एवं नातेदारहरूसँगको नाता पनि अभिभावकहरूले नैबुझाउनुपर्छ।

 (रामजी बलामीद्वारा लिखित 'विद्यार्थीका लागि एटु जेड खुराक' बाट साभार)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis