सरकारले बनाएको नियमावलीको मस्यौदाले पिरामिड शैलीको नेटवर्क मार्केटिङ सञ्चालकलाई ठग्ने लाइसेन्स दिनेछ।
४ चैतमा सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले प्रस्तुत गरेको सरकारको न्यूनतम साझा कार्यक्रमको २६औं बुँदा हो यो। तर, यसरी सिन्डिकेट प्रथा हटाएर प्रतिस्पर्धात्मक सेवा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएको सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भने सिन्डिकेट र कार्टेलिङ गरेर उपभोक्तालाई ठग्ने पिरामिड शैलीको नेटवर्क मार्केटिङ सञ्चालन गर्न सजिलो पार्ने गरी नियमावली ल्याउन लागेको छ। वाणिज्य मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव अर्जुनकुमार खड्का नेतृत्वको टोलीले तयार पारेको 'प्रत्यक्ष बिक्री व्यवसायलाई नियमन गर्न बनेको नियमावली, २०७०' नाम दिइएको मस्यौदा हेर्दा उपभोक्तालाई ठग्ने उद्देश्यले यो तयार पारिएको देखिन्छ। ४ मंसीर २०६६ मा तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो संयोजकत्वको टोलीले तयार पारेको निर्देशिका भन्दा पनि यो नियमावली नेटवर्क सञ्चालक मैत्री छ। अघिल्लो निर्देशिकाले वस्तुको मात्रै नेटवर्क व्यापार गर्न पाइने भनेकोमा यो नियमावलीमा सेवालाई पनि पिरामिड शैलीमा बेच्न पाइने प्रावधान राखिएको छ। जबकि, नेटवर्क मार्फत सेवा बिक्री गरिएको उदाहरण संसारमा अन्यत्र छैन। उपभोक्ता अधिकारकर्मीहरूका अनुसार सेवाको कारोबार लिने र दिनेबीच मात्रै हुन सक्छ, तेस्रो व्यक्तिले किनबेच गर्न मिल्दैन।
नेटवर्क चलाउनेले राख्नुपर्ने धरौटी रकम पनि यो नियमावलीमा निकै कम राखिएको छ। नियमावलीको दफा ६ मा वस्तुगत सेवा दिने नेटवर्क सञ्चालकले रु.४० लाख र सेवा प्रदान गर्ने नेटवर्कले रु.६० लाख बराबरको नगद वा ब्याङ्क ग्यारेन्टी वाणिज्य विभागमा दाखिला गर्नुपर्ने भनिएको छ। नेटवर्क सञ्चालकले उपभोक्ताबाट ठग्ने रकमको तुलनामा यो धरौटी नाममात्रको हो। हिमाल ले (१–१५ वैशाख, २०६७ मा) ठगीको खुलासा गरेपछि सरकारले प्रतिबन्ध लगाएको युनिटी लाइफले चार लाख नेपालीको रु.६ अर्ब लुटेको थियो (हे. टेबल)। २०६२ मा निर्देशिका बनाउने विषयमा छलफल हुँदा नेटवर्क सञ्चालकहरूले नै स्वदेशी कम्पनीले रु.३ करोड र विदेशी कम्पनीले रु.६ करोड धरौटी राख्नुपर्ने माग गरेका थिए।
कानून विपरीत
मस्यौदा नियमावलीको प्रस्तावना अनुसार उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर नेटवर्क नियमावली लागू गर्न लागिएको हो। ऐनको दफा ३० मा भनिएको छ, “यस ऐनको उद्देश्य पूर्तिको लागि नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।” तर ऐनको सो व्यवस्था अनुसार 'उपभोक्ता संरक्षण नियमावली, २०५६' लागू भइसकेको छ।
ठूलो स्वार्थ
नेटवर्क सञ्चालन गरेर उपभोक्ता ठगेका युनिटी लाइफका केही सञ्चालक थुनामा रहेका र कृष्णबहादुर क्षेत्री, विष्णुबहादुर क्षेत्री र महेन्द्र केसीलाई प्रहरीले 'मोस्ट वान्टेड' भनेर खोजिरहेको वेला सरकार नेटवर्क सञ्चालनको पक्षमा देखिनु रहस्यमय रहेको सरकारी अधिकारीहरूको भनाइ छ। अर्थ मन्त्रालयका एक सहसचिव नेटवर्क संचालनका पक्षमा सरकारी साधन, स्रोत र अधिकारको दुरुपयोग हुनु ठूलो स्वार्थ रहेको अनुमान गर्छन्।
नेटवर्क कम्पनीबाट ठगिएकाहरूको उजुरी संकलन गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग पनि यो नियमावली ल्याउने पक्षमा हुनु अर्को आश्चर्य देखिन्छ। युनिटी लाइफ, हर्बो, क्रिस्टल भिजन, डिएक्सएन जस्ता नेटवर्कबाट पीडित उपभोक्ताको उजुरी अहिले सोही विभागले संकलन गर्दैछ। तर, नियमावली मस्यौदा निर्माण समितिमा सदस्य रहेका वाणिज्य विभागका निर्देशक हरिनारायण वेल्बासे भने नेटवर्क सञ्चालकहरूबाट उपभोक्ता (सदस्य) नठगिउन् भन्ने पक्षमा आफूहरूको जोड रहेको बताउँछन्। वाणिज्य विभाग अनुगमनकारी निकाय भएकाले कुनै पनि व्यवसायको प्रभावकारी अनुगमन हुने गरी कानून बन्नुपर्ने पक्षमा रहने उनको तर्क छ।
सुपथ मूल्य, सहज आपूर्ति र गुणस्तरीय वस्तु तथा सेवा पाउन उपभोक्ताका लागि प्रतिस्पर्धात्मक बजार चाहिन्छ। तर नेटवर्क व्यवसाय सिन्डिकेट र कार्टेलिङमा चल्छ। सदस्य बन्नेले बाहेक त्यो वस्तुको उपयोग अरूले गर्न पाउँदैन। जुन, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६२ को प्रतिकूल हो। कानून विपरीत ल्याउन लागिएको नियमावली तुरुन्त खारेज गर्नुपर्ने बताउँदै अधिवक्ता सिम्खडा भन्छन्, “मन्त्रालयले खारेज गरेन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गर्नुपर्छ।”
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !