-ईश्वरचन्द्र झा, जनकपुर
वर्षौपछि छोराहरूको शव पाएका धनुषाका पीडित परिवारजन न्याय पाउने आशामा छन्।
माओवादी हिंसात्मक विद्रोहको बेला सुरक्षाकर्मीले बेपत्ता पारेर हत्या गरेका जनकपुरका पाँच युवकको अस्थिपञ्जर परिवारजनलाई बुझाउन राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय, जनकपुरले ७ साउन बिहान राखेको पत्रकार भेटघाट कार्यक्रममा मृतकका परिवार हलको पछाडिका कुर्सीमा बसिरहेका थिए। आयोगका सचिव वेद भट्टराईले मृतक सञ्जीव कर्णको नाम बोलाउनासाथ आमा विमलादेवी भक्कानो छाडेर रुन थालिन्।
त्यसपछि मृतक जितेन्द्र झाकी आमा इन्दिरा, प्रमोदनारायण मण्डलकी आमा जिवछीदेवी र दुर्गेश लाभकी आमा गायत्रीदेवीको पनि विमलासँगै डाँको छुट्यो। रुवाइ बढ्दै गएपछि पाँच मिनेट कार्यक्रम स्थगित गरेर पुनः शुरू गर्दा पनि स्थिति फेरिएन। त्यसपछिको अस्थिपञ्जर हस्तान्तरण कार्यक्रम थप शोकाकूल बन्यो।
छोरा बेपत्ता भएको पीडा बल्झाएको भए पनि उनीहरू सन्तानको अन्तिम संस्कार गर्न पाउँदा केही सन्तुष्ट देखिन्थे। तर, विमलादेवीका पति अधिवक्ता जयकिशोरले प्रयास नगरेको भए २१ असोज २०६० को दिउँसो २ बजे जनकपुरको कटैया चौरीबाट सुरक्षाफौजले ती पाँच युवकलाई पक्राउ गरी बेपत्ता बनाएको घटनाले मानवअधिकार आयोगको यो रूपमा ध्यान आकर्षित नगर्ने जनकपुरका अमरचन्द्र अनिल बताउँछन्।
जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न नमानेपछि जयकिशोर राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय स्वीट्जरल्यान्डको जेनेभासम्म पुग्नुपरेको थियो। पुनरावेदन र सर्वोच्च अदालतले आदेश दिएपछि २५ असार २०६३ मा मात्र प्रहरीले जाहेरी दर्ता गरेको थियो।
त्यसपछि पनि धनुषा प्रहरीले अनुसन्धान शुरू गरेन। गोदारमा शव उत्खनन् भएर पहिचान नहुँदासम्म प्रहरी त्यसरी नै चुपचाप बसेको थियो। मृतक शैलेन्द्र यादवका बुबा बौएराम भन्छन्, “जयकिशोरले हामीलाई न्याय दिलाए पनि आफू भने हेर्न नपाई बित्नुभयो।” जयकिशोरको साढे दुई वर्षअघि निधन भएको थियो।
कार्यक्रममा पीडितहरूले रोदनमिश्रित स्वरमा भए पनि घटनाका दोषीलाई कानूनको कठघरामा ल्याएर कारबाही शुरू गर्ने माग भने चर्को रूपमा उठाए। उनीहरूलाई जवाफ दिंदै आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले उत्खनन्, परीक्षण र अनुसन्धानले दोषी ठहर गरिसकेकाले अनुसन्धान पूरा गरेर अदालतबाट सजाय दिलाउने पहल गर्न प्रहरीले ढिलाइ गर्न नहुने धारणा राखे। आयोगका सचिव वेद भट्टराईले पनि जनकपुर अञ्चल प्रहरी, धनुषा प्रहरी र धारापानीस्थित सैनिक ब्यारेकको संयुक्त टोलीले पक्राउ गरी बेपत्ता बनाएको पुष्टि भइसकेकाले जिल्ला प्रहरी कार्यालय, धनुषाले अनुसन्धान प्रक्रिया तत्कालै ब्युँताउनुपर्ने माग गरे।
यस्तो थियो, गोदार काण्ड
जनकपुरको कटैया चौरीबाट संयुक्त सुरक्षा फौजले तत्कालीन विद्रोही माओवादीलाई सहयोग गरेको आरोपमा छोराहरूलाई पक्राउ गरेको खबर पाउनासाथ परिवारजनले स्थानीय प्रशासनदेखि मानवअधिकार आयोगसम्म हारगुहार गरे। तर, केही दिनपछि उनीहरूलाई गोली हानी हत्या गरिएको अर्काे खबर आयो। तर, त्यसको औपचारिक जानकारी पाउन भने उनीहरूले सात वर्ष कुर्नुपर्यो।
राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे छानबिन र अनुसन्धानपछि जनकपुर नगरपालिका–१० का सञ्जीवकुमार (२४), दुर्गेश (२१), जनपा–४ का जितेन्द्र (१९), दुहबी–७ कर्महीका शैलेन्द्र (१७) र कुर्था–१ का प्रमोदनारायण (१९) लाई पक्राउ गरेको केही दिनमै धारापानीस्थित सैनिक ब्यारेकबाट कमला नदीको किनार गोदार–३ स्थित खाली जग्गामा लगेर गोली हानी हत्या गरिएको निष्कर्ष १५ माघ २०६४ मा निकाल्यो। उसले त्यसैबेला घटनाका दोषीहरूलाई कानून बमोजिम कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिन सरकारलाई सिफारिश सहित निर्देशन दिएको थियो। त्यसपछि आयोग हत्याको पुष्टि गर्न शव उत्खनन्तर्फ लाग्यो।
२१ भदौ २०६७ देखि पाँचै जनाको शव गाडिएको अनुमान गरिएको गोदार–३ मा आयोगले फिनल्यान्डबाट झिकाइएका फरेन्सिक विज्ञहरूको सहयोगमा १३ दिनसम्म उत्खनन् गर्दा चार वटा मानव कंकालसहितका सामग्री फेला पार्यो। उत्खनन्मा फिनल्यान्डका फरेन्सिक विज्ञ हिलेना रान्ता, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका विज्ञ डा. हरिहर वस्ती र प्रमोद श्रेष्ठ तथा आयोगका सदस्य गौरी प्रधान सम्मिलित टोली संलग्न थियो भने नेपाल प्रहरीले टोलीलाई सहयोग गरेको थियो। १ फागुन २०६७ मा तीन दिन त्यही स्थानमा टोलीले पुनः उत्खनन् गर्दा थप एक कंकाल फेला पर्यो।
१८ असोज २०६० मा बुबा बौएरामलाई काठमाडौं जान लागेको बताएर शैलेन्द्र घरबाट हिंडेका थिए। ललितपुरको जावलाखेलस्थित वेलह्याम्स कलेजमा अध्ययनरत शैलेन्द्र सेनाले कलेजमै पुगेर सोधपुछ गर्ने गरेकाले काठमाडौं जाने वा जनकपुर बस्नेबारे अन्योलमा रहेको बौएराम बताउँछन्। सञ्जीवचाहिं २१ असोज २०६० को बिहान १० बजे घरबाट बुबा र आमासँग पिकनिक जान रु.१५० लिएर हिंडेका थिए।
तर, सुरक्षाफौजले पक्राउ गरेको थाहा पाएपछि दिउँसो २ बजे अञ्चल प्रहरी कार्यालय अगाडि पुग्दा बुबाआमाले छोरासहित पाँच जनालाई तीन वटा भ्यानमा भित्र लगेको देखे। त्यतिबेला अञ्चल प्रहरी कार्यालयका डीएसपी कृष्ण गौतमले ‘तपाईंको छोरालाई केही हुन्न’ भनेकोमा साँझ् ६ बजे ‘हामीलाई केही थाहा छैन’ भनेको सञ्जीवकी आमा विमला बताउँछिन्।
कटैया चौरीबाट ल्याइएका पाँचै जनालाई प्रमुख जिल्ला अधिकारी रेवतीरमण काफ्ले, जिल्ला प्रहरी प्रमुख, कुवेरसिं राना, अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक चुडाबहादुर श्रेष्ठ र नेपाली सेनाका तत्कालीन बाहिनीपतिको निर्देशनमा अञ्चल प्रहरी कार्यालयमा राखिएको थियो। सुरक्षा समितिको बैठकपछि भोलिपल्ट उनीहरूलाई धारापानीस्थित सैनिक ब्यारेक पुर्याइयो। आयोगले तत्कालीन प्रजिअ काफ्ले, प्रहरी उपरीक्षक राना, प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ र सेनानी अनुप अधिकारी उक्त घटनामा दोषी देखिएको भन्दै सरकारलाई कारबाही गर्न निर्देशन दिएको छ।
न्यायको आशा
लासको अवशेष पाउनुले पीडित परिवारमा न्याय पाउने आशा पलाएको एड्भोकेसी फोरम जनकपुरका कानून व्यवसायी राजकुमार महासेठको भनाइ छ। राष्ट्रिय मानवअधिकार आयोगका मध्यमाञ्चल क्षेत्रीय निर्देशक बुद्धनारायण सहनी भने हत्या भएको पुष्टि भएकोले प्रहरीले अनुसन्धान पूरा गरी प्रमाण जुटाएर दोषीलाई कारबाही गर्न मुद्दा अदालत लैजानुपर्ने बताउँछन्। सञ्जीवकी आमा विमलादेवी पनि छोराको हत्यामा संलग्नहरूमाथि कारबाही हुने आशा जागेको बताउँछिन्।
तर, उक्त हत्यामा मुछिएका धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी कुवेरसिं राना प्रहरी महानिरीक्षक बनेर सेवानिवृत्त भइसकेका छन्। रानालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्दा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाले विरोध गरेका थिए। शैलेन्द्रका बाबु बौएराम पीडित परिवारलाई उपेक्षा गरेर एमाओवादी नेतृत्वको सरकारले रानालाई प्रहरी महानिरीक्षक बनाएको बताउँछन्। प्रत्यक्षदर्शीका अनुसार, २३ असोज २०६० को राति एघार बजे गोदार–३ स्थित कमला नदीको छेउमा नेपाली सेनाले उनीहरूलाई हत्या गरी खाल्डो खनेर गाडेको थियो।
__________________________________________________________________________________
लासमा राजनीति
पाँचजना युवकको अस्थिपञ्जर जनकपुर ल्याइएपछि ४ साउनमा राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय पुगेका एकीकृत माओवादी, वैद्य माओवादी र मातृका यादव नेतृत्वको नेकपा माओवादीका जिल्ला इन्चार्जहरूले देवी चोकमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिने प्रस्ताव राख्दा पीडित परिवारले अस्वीकार गरे। परिवारजनले त्यसो नगर्न उनीहरूलाई चेतावनी पनि दिए। उक्त घटनामा मारिएका प्रमोदनारायणका भाइ दिनेशले हत्यामा मुछिएका रानाको बढुवाबारे धारणा सार्वजनिक नगरेसम्म एमाओवादीका प्रतिनिधिलाई श्रद्धाञ्जली कार्यक्रममा सहभागी समेत हुन नदिने बताएका थिए।
तर, ७ साउनमा उनीहरूको दाहसंस्कार गरिएको स्थल स्वर्गद्वारमा ती तीनवटै पार्टीले हँसिया–हथौडा अंकित झन्डा ओढाए। नेकपा माओवादीका नेता मातृका यादवले श्रद्धाञ्जली कार्यक्रममा एमाओवादीले आन्दोलन बेचेको आरोप लगाएका थिए।
शव हस्तान्तरण कार्यक्रममा तीन माओवादीका कार्यकर्ताहरू नारा जुलूससाथ आउँदा पीडित परिवारजनले सहज मानेनन्। पछि दाहसंस्कारस्थलमा झ्ान्डा मात्र ओढाउनेमा पीडित परिवारजन र माओवादीबीच सहमति भयो। तर, जानकी मन्दिर नपुग्दै एउटा समूह ‘श्रद्धाञ्जली सभा’ र ‘आयोजक एमाओवादी’ लेखिएको व्यानर लिएर अगाडि पुग्यो। अधिकारकर्मीले आपत्ति जनाएपछि भने त्यो समूह पछि हट्यो। दाहसंस्कारस्थलमा तिनै ब्यानर बोकेको समूह फेरि अस्थिपञ्जर राखिएको बाकसअघि उभियो। पछि त्यो समूहलाई मातृका यादवले हटाए।
साप्ताहिक खबरपत्रिका हिमालबाट
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !