CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » अदालतमा घूस

अदालतमा घूस


न्यायिक जगत्मा घूस खाने र ख्वाउने प्रक्रिया बडो विचित्रका छन् । मुद्दाका क्रममा वकिल/न्यायाधीश घुमाउरो र खुलेआम दुवै किसिमले घूस खान्छन् । न्यायिक क्षेत्रको ६० वर्ष लामो अनुभवका आधारमा भन्न सक्छु, अत्यधिक घूस खाने संवैधानिक निकायमा अदालत चौथो नम्बरमा पर्छ । मैले आफैँले पनि घूस खाएका र ख्वाएका धेरै मुद्दा देखेको छु । हेटौँडाको एउटा ठेक्का मुद्दाका क्रममा दिएको घूस प्रकरणमा मै पनि एक किसिमले फसेको थिएँ ।

लगभग ३० वर्षअघिको घटना हो, एक व्यापारीले म र कमलनारायण दासलाई काठमाडौँबाट मोटरमा राखेर हेटौँडा लगे । त्यहाँ सीमा लजमा पुर्‍याएपछि ब्यागबाट १० हजार १ सय १ रुपियाँ दिएर न्यायाधीशले पढ्ने फैसला तयार गरिदिन भने । उनको
भनाइ थियो कि, कुराकानी भइसकेको छ, फैसला लेखेर मात्रै लैजानु छ । मैले फैसला लेखिदिएँ, उनले मुद्दा जिते ।

अदालतमा मुद्दा दर्ताकै क्रममा पनि ठूलो रकमको चलखेल हुन्छ । मुद्दा जिते नगद लिने, हारे फिर्ता गर्ने सर्तमा घूस खाने न्यायाधीशहरू पनि मैले देखेको छु । वकिल/न्यायाधीश मिलेर एउटै मुद्दामा घूस खाएका उदाहरण पनि छन् । मुद्दा दर्ता गरिसकेपछि पक्ष/विपक्षका दुवै वकिलले सम्झौता गरेर पनि घूस खाएका छन् । ठूलठूला मुद्दामा दुवै पक्षबाट घूस लिन्छन्, नजिते फिर्ता गर्ने सर्तमा । अनि, दुवै न्यायाधीश मिल्छन् र रकम बाँडीचुँडी लिन्छन् ।

जिल्ला न्यायाधीशले पुनरावेदन अदालतका न्यायाधीशलाई घूस दिएका प्रमाण पनि थुप्रै छन् । घूस दिएरै कति मुद्दा सदर गराएको देखेको छु । झगडियाले वकिल/न्यायाधीशलाई घूस ख्वाएको त सुनिन्छ तर न्यायाधीशले न्यायाधीशलाई घूस ख्वाएका घटना पनि प्रशस्त छन् । घूसका रूपमा नगदका साथै सुरा–सुन्दरीको व्यवस्था मिलाइदिने वकिलहरू पनि छन् ।

सर्वोच्च अदालतमा आउन न्यायाधीश स्वयंले घूस ख्वाएको पनि देखेको छु । लागूऔषध प्रकरणमा घूस खाएर अकालमा मृत्युवरण गर्ने न्यायाधीश पनि छन्, घूस खाएरै नाम कमाउनेहरू पनि छन् । जिल्लामा अत्यन्त घुस्याहाको छवि बनाएका वकिलहरू अन्त्यमा निष्कलंक न्यायाधीश भएर अवकाश पाएका पनि छन् । जिल्लामा बस्दा थुप्रो घूस खान्छन्, बंगला, गाडी सबैको बन्दोबस्त मिलाउँछन् । अञ्चलमा सरुवा भएपछि बडो साधु बन्छन् अनि सर्वोच्चमा तानिएका पनि छन् । हिजोको कर्तुत कसले हेर्ने ?

सर्वोच्चका तिनै न्यायाधीशहरू जिल्लाका मुद्दा बोकेर पनि घूस खान्छन् । घूसबाहेक त्यसमा अन्य कुनै इरादा हुँदैन । न्यायपरिषद्मा बसेका मेरै कति मित्रले त्यस्तो गरेको मैले देखेको छु । तर, तिनै इमानदार र घूस नखाने न्यायाधीशमा दरिन्छन् । न्यायाधीशलाई वकिलमार्फत घूस खान ज्यादै सजिलो हुन्छ । जिल्लाको वकिल केन्द्र (काठमाडौँ)मा आएर कुनै न्यायाधीशलाई घूस दिएको कसले पत्तो पाउने ? वकिलहरू निषेधाज्ञा मुद्दा दर्ता गर्न उक्साएर पनि घूस खान्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । खास गरी जिल्ला/इलाकातिर यस्तो खुब चल्छ ।

कुनै धनीमानीको छोरा छ, पैसावाल छ र कसैले फसाउने नियत राखेको छ भने त्यस्ता घटनामा वकिलहरू घूस खाएर मुद्दा लड्दा रहेछन् र पैसाको लोभमा त्यस्ता मुद्दा आफैँ उत्पन्न गर्दा रहेछन् । कसैकी विवाहिता पत्नीलाई उक्साएर, पैसाको लोभ देखाएर छोडपत्र गर्न लगाएर पनि वकिलहरूले घूस खाँदा रहेछन् । मेरै एक मित्रका छोरालाई ‘डमी’ दुलही तयार गरेर त्यसरी फसाइएको छ । न्याय क्षेत्रलाई नै बदनाम तुल्याउने यस्ता वकिल/न्यायाधीशको एउटा सञ्जाल नै रहेछ । डमी दुलहीलाई छोटो समयमै छोडपत्रको कागजमा सही गर्न लगाएर त्यति ठूलो रकमको कारोबार भएको सहजै पत्याउन सकिँदैन । तर, जसमाथि त्यो बज्रपात पर्‍यो, उसले सहनुबाहेक के नै गर्न सक्छ र ?

मिसिल किन्ने, मुद्दा दर्ता प्रक्रियामै घूस खाने कुरा पनि अदालतमा खुब चल्छ । ०३० सालतिर कृष्णप्रसाद घिमिरे र हामी छुट्टिएर अलग–अलग फर्म खोलेर काम गरिरहेका थियौँ । प्राय: मालदार मुद्दा म र घिमिरेकहाँ नै आउँथे । त्यसैले त्यस्ता मुद्दा किन्न हामीकहाँ वकिलहरूको लाइन लाग्थ्यो । पहिलेपहिले त्यस्ता मुद्दा विचारी लगाएर किन्ने काम हुन्थ्यो, अहिले त न्यायाधीशहरू खुलेआम त्यस्ता मुद्दा किन्दै हिँड्छन् । यसभन्दा अनौठो र घूसको पराकाष्ठा के हुन सक्छ ?

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis