CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , , , , » मुरारका ग्रुपका अशोकको बदमासी ३० करोड राजस्व ठगी, ८७ करोड अपचलन

मुरारका ग्रुपका अशोकको बदमासी ३० करोड राजस्व ठगी, ८७ करोड अपचलन

Ashok-Murarkaदेश भूकम्प र नाकाबन्दीको चपेटामा परेको विषम परिस्थितिमा मुरारका ग्रुपका सदस्य उद्योगी अशोक मुरारकाले ३० करोड बढी राजस्व छली गरेको खुलेको छ । पशुपति आइरन, पशुपति पेन्ट्स, इलाम टी, पञ्चकन्या चिया, अवनिश एग्रिगेट लगायत आधा दर्जन बढी उद्योग बैंक तथा वित्तीय संस्थामा लगानी गरेका मुरारकाले ३०
करोड ११ लाख ६६ हजार एक सय ८० रुपैयाँ राजस्व ठगी गरेको उजुरी आन्तरिक राजस्व कार्यालयमा परेको हो । उजुरीमाथि छानबिन थालेको कार्यालयले जनाएको छ ।
मुरारकाले व्यावसायिक साझेदारलाई समेत झुक्याएर हिसाब–किताब गोलमाल पारेको थाहा भएपछि उनीविरुद्ध साझेदारले नै उजुरी गरेका हुन् । साझेदार कृष्णप्रसाद प्रसाईंका अनुसार मुरारकाले इलाम टी प्रोड्युसर्स प्रालिको आयकरबापत १६ करोड ४६ लाख ६ हजार सात सय ७६ रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी, भ्याटबापत १० करोड ७० लाख ५९ हजार चार सय चार रुपैयाँ राजस्व ठगेका छन् । थानकोटमा रहेको पशुपति स्टोन क्रसरको एक करोड आयकर र एक करोड ९५ लाख भ्याट ठगी गरेको प्रमाण प्रसाईले राजस्वमा पेस गरेका हुन् ।
Ashok-Murarka
८७ करोड अपचलन 
मुरारकाले उत्पादित सामानको अन्डरबिलिङ गरी ८७ करोड रुपैयाँ भारत पठाएको पनि खुलेको छ । उनले इलाम टी उत्पादन भएको चिया भारतमा रहेकी आफ्नी श्रीमतीको नाममा रहेको क्यामेलिया इन्टरनेसनलमा निर्यात गरेर प्रतिकेजी करिब ८० रुपैयाँ अन्डरबिलिङ गरी ८२ करोड ३५ लाख ३३ हजार आठ सय ८० रुपैयाँ अपचलन गरेका छन् । त्यस्तै, पशुपति स्टोन क्रसरको बाट ०६० देखि ०६४ सम्मको नाफा पाँच करोड नदेखाएर अपचलन गरेको उल्लेख छ ।
इलाम टीको सुरुदेखि हालसम्म उत्पादन भएको ८६ लाख ९४ हजार एक सय केजी चियाको प्रतिकेजी करिब ८० अन्डरबिलिङ गरी ६९ करोड ५५ लाख ३३ हजार आठ सय ८० रुपैयाँ अपचलन गरेका छन् ।
त्यसैगरी, २०१४ र २०१५ को १६ लाख केजीको १२ करोड ८० लाख रुपैयाँ अपचलन गरेको राजस्वमा परेको उजुरीमा उल्लेख छ । ‘यसको पुष्टि यसै प्रकृतिको इलाम जिल्लाकै हिमालयन सांग्रिला टी प्रालिले आन्तरिक राजस्व कार्यालयमा पेस गरेको सम्पूर्ण राजस्वको विवरण हेरेमा पुष्टि हुन्छ,’ प्रसाईंले भने ।
१८ करोडको जग्गा बेचेर ५४ लाख राजस्व ठगी
मुरारकाले अवनिश एग्रिगेटको नाममा रहेको १८ करोडको जग्गा १० लाखमा बिक्री गरेको कागज बनाई ५४ लाख रुपैयाँ राजस्व ठगी गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको साझेदारी फर्मका कागजात किर्ते गरी प्रालि कम्पनी बनाएर विभिन्न स्थानमा रहेको १८ करोडको जग्गा उनले सरकारी कागज किर्ते गरी बेचेको उजुरी जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएको छ ।
०७२ भदौ १३, असोज ३ र कात्तिक ४ गते मालपोत कार्यालयलाई चिठी लेखेर काका अशोक र एजेन्टमार्फत अवनिश एग्रिगेटको नाममा धाइजन–१ मा कित्ता नम्बर १२०१ को १ रोपनी, कित्ता नम्बर ३५३ को १० आना, ११९९ को १५ आना र र १२०० को दुई रोपनी १५ आना जग्गा टुक्राटुक्रा पारी बिक्री गरेको मालपोत कार्यालय झापाले जनाएको छ ।
साझेदार प्रसाईंका अनुसार बाटोको सुविधा भएको उक्त जग्गामा १८ करोड रुपैयाँ मूल्य पर्छ । तर, मुरारकाले किर्ते गरेर कम मूल्यमा बेचेका छन् । ‘मूल सडकसँग जोडिएको पिच सडक भएको जग्गा भए पनि कम्पनीको सञ्चालक समितिको बैठकमा मेरो सही किर्ते गरी बाटो नभएको भनेर गाविसबाट घर बाटोको सिफारिस लिएका छन्,’ उनले भने ।
मुलुकी ऐन अदालती बन्दोबस्तको ७१ (ख) र रजिस्ट्रेसनको ११ (क) नम्बर बमोजिम यस्तो सम्पत्ति बिक्री–वितरण हक हस्तान्तरण लगायत कार्य गर्दा अधिकृत वारेसनामा वा मालपोतमा आफैँ उपस्थित भई सनाखत गर्नुपर्ने र साझेदारी ऐन ०३१ को दफा ६ (ख) ले पनि सोही बमोजिमको व्यवस्था गरेको छ ।
ऐनअनुसार जग्गा किनबेच गर्दा तीन प्रतिशत राजस्व तिर्नुपर्छ । झुटा कागजात बनाएर जग्गा बेचेका उनले ५४ लाख रुपैयाँ राजस्व ठगी गरेको मालपोतका कर्मचारी बताउँछन् । ‘सरकारी मूल्य र सोको राजस्व समेत ठगी गरी जग्गा बिक्री–वितरण गरेको पाइएकाले मुलुकी ऐन किर्ते कागजको महलको १८ नम्बर र मुलुकी ऐन ठगीको महलको ८ नम्बरअनुसार कारबाही हुनुपर्छ,’ मालपोत कार्यालयका झापाका एक कर्मचारीले भने ।
राजस्व ठग्न तीन प्रकारको आयव्यय विवरण
भारतबाट वाणिज्यशास्त्रमा स्वर्णपदक पाएका मुरारकाले आफ्नो शिक्षा भने उद्योग विस्तार र देशको उन्नतिका लागि लगाएको पाइँदैन । उनका कम्पनीका कर्मचारीका अनुसार साझेदारीमा सञ्चालित उद्योगको आय विवरण उनले तीन प्रकारको बनाउने गरेका छन् । ‘एउटा साझेदारलाई देखाउने र ठग्ने, अर्को आन्तरिक राजस्व कार्यालयमा बुझाउने विवरण हुन्छ । जुन वास्तविक आयभन्दा कम देखाइएको हुन्छ,’ एक कर्मचारीले भने, ‘अर्को एउटा वास्तविक हुन्छ, जुन हिसाब राखेर तुरुन्तै भारत पठाउँछन् ।’
उनका साझेदार प्रसाईंका अनुसार उनको सम्पूर्ण आर्थिक कारोबार मुरारकाको एकल निर्णयबाट हुने गरेको थियो । बारम्बार हिसाब माग्दा पनि नदिने गरेपछि उनीहरूबीच ०७१ सालमा विवाद भएको थियो । विवाद समाधानका लागि गठन गरिएको मध्यस्थकर्ता समितिले हिसाब हेर्दा ठूलो राजस्व विवरण ठगी गरेको भेटिएको एक मध्यस्तकर्ताले बताए । ‘साझेदारी व्यवसाय त विश्वासमा पो हुनुपर्ने, साझेदारकै विश्वासमा कुठाराघात गरेर करोडौँ रुपैयाँ ठगी गरेको भेटियो,’ उनले भने, ‘अहिलेसम्म त्यसको हिसाब क्लियर गरेका छैनन् ।’
बैंकबाट ऋण निकाल्दै भारत लैजाँदै 
उनले उत्पादित चियाको अन्डरबिलिङ गरी घाटा र न्यूननाफा देखाएर श्रीमतीको नाममा दर्ता भएको भारतीय कम्पनीमा पठाउने र नेपालका बैंकबाट ऋण लिने समेत गरेका छन् । चिया उद्योगका लागि चालू पुँजी दुई करोडभन्दा बढी नलाग्ने भए पनि उनले दुई करोडको उद्योग देखाएर विभिन्न बैंकबाट २० करोड बढी ऋण लिएका छन् । उनले एनआइसी, सनराइज, ग्लोबल आइएमईलगायत बैंकहरूबाट ऋण लिएको कर्मचारीले बताए ।
कम धितोको उद्योगबाट धेरै ऋण लिएर भारत पठाउने गरेको विषयमा उनका साझेदार र कर्मचारीले सम्बन्धित बैंकहरूमा जानकारी समेत गराएका छन् । बैंक कसुर ऐनअनुसार एउटा प्रयोजनका लागि लिएको ऋण अर्कोमा चलाउन नपाइने भए पनि उनले लिएको ऋण सोझै हुन्डीमार्फत भारत पठाउने गरेको प्रतिस्पर्धी व्यवसायी बताउँछन् । ‘त्यो ऋण त चिया उद्योग चलाउन आवश्यक नै छैन, तर अवैध तरिकाले हुन्डीमार्फत भारत पठाएको हामीले भेटाएका छौँ,’ एक चिया उद्योगीले भने ।
भारतमा कहाँकहाँ छ लगानी ?
मुरारकाले भारतका विभिन्न उद्योगहरूमा लगानी गरेका छन् । पछिल्लोपटक बेलायतमा पढेर फर्किएका उनको छोरा मधुसुदनले विवाह गरेपछि नेपाल आउन नमानेकाले उनी तनावमा परेका थिए । छोराबुहारी नेपाल आउन नमानेपछि उनकी श्रीमती समेत भारत गइन् । त्यसपछि मुरारकाले नेपालका उद्योगबाट कमाएर भारतमा लगानी गर्न थालेको स्रोत बताउँछ । उनले जयपुरमा ससुरालीमार्फत फ्याक्ट्री र हैदारावादमा छोरीज्वाइँको डायमन्ड फ्याक्ट्रीमा लगानी गरेका छन् । उनको ससुराली भारतको जयपुरमा हो । उनले भारतमा जग्गामा समेत लगानी गरेर कलकत्तामा बस्ने छोराको नाममा कारोबार गरिरहेको उनका एक कर्मचारीले बताए ।
घन्टी बज्छ फोन उठ्दैन
विभिन्न स्रोतबाट समाचार प्राप्त भएपछि डिसकभरी न्युज नेटवर्क (डिएनएन)ले समाचारबारे कुरा गर्न अशोक मुरारकासँग सम्पर्क गर्ने कोसिस गर्यो । तर, उनी कुनै च्यानलबाट पनि सम्पर्कमा आउन तयार भएनन् । उनले बोक्ने सेल फोनमा घन्टी जान्छ, तर उठ्दैन ।
असर
देशको मुख्य आयस्रोत भनेकै राजस्व संकलन हो । वर्षभरि संकलन हुने राजस्वबाट नै सरकारले चालू तथा पुँजीगत खर्चको व्यवस्थापन गर्छ । अहिले देशमा भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनका कारण राजस्व संकलनमा ठूलो असर पर्यो । जसकारण अर्बौंले घटेको छ । सरकारले मंसिरसम्म एक सय ६२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा जम्मा एक सय दुई अर्ब मात्र राजस्व संकलन भएको सरकारी तथ्यांक छ । यो लक्ष्यभन्दा ३० प्रतिशतले कमी हो । धेरै वर्षपछि नेपालमा अर्थतन्त्रमा संकुचन छ । आर्थिक वृद्धि संकुचनको अवस्थामा पुग्ने राष्ट्र बैंकले जनाएको छ । देश संकटमा परेका बेला उद्योगी व्यवसायी, जनताले कर तिरेर राज्यलाई सहयोग गर्नुपर्ने हो, तर उद्योगीले करोडौँ रुपैयाँ राजस्व ठगी गरेपछि देशको अर्थतन्त्र धरापमा पर्छ ।
साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis