CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » » प्रचण्डले भने – हो, सरकार छोड्ने हो भने हामी सबैलाई जेलमा कोच्छन्

प्रचण्डले भने – हो, सरकार छोड्ने हो भने हामी सबैलाई जेलमा कोच्छन्

काठमाडौं। 'अहिलेको अवस्थामा सरकार छोड्ने हो भने तपाईं हामी सबैलाई जेलमा कोच्छन्। बेलायतमा नेपाली सेनाका कर्णेल पक्राउ पर्नु र दैलेखमा डेकेन्द्र थापाको मुद्दा यही बेलामा उठाइनु संयोग मात्र होइन। सरकारमा हुँदा त हामीलाई यस्तो गरिएको छ भने भोलि सरकार छोड्ने हो भने कसैलाई पनि बाँकी राख्दैनन्।' 
कुनै हालतमा पनि सरकार छोड्नुपर्ला र आफू बाहिरिनुपर्ला भनेर चिन्तित भएका प्रधानमन्त्री बाबुराम भट्टराईका सल्लाहकार देवेन्द्र पौडेलले शुक्रबार बैठकमा भनेका कुरा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निकै घत परेका रहेछन्। भोलिपल्ट महाधिवेशन आयोजक समितिको बैठक समापन गर्दै दाहालले त्यसैमा सही थप्दै भने, 'हो, हिजो देवेन्द्र कमरेडले ठीकै भन्नुभएको छ, अहिले सरकार छोड्ने हो भने हामी सबैलाई जेलमा कोच्छन्।'  
अघिल्लो दिन भेरी कर्णालीका तर्फबाट बोल्दै लेखराज भट्टले पनि सरकार छोडेमा सबैलाई मुद्दा लाग्न सक्छ भन्दै दाहाललाई डराउन दिएका थिए। अरू त अरू विगतमा माओवादीले युद्ध सञ्चालन गरिरहेका बेला त्यसको विरुद्धमा भाषण गर्दै हिँड्ने नवराज सुवेदीले पनि दाहाललाई जेल जान सक्ने डर देखाएका थिए। कर्णेल लामाको गिरफ्तारी र डेकेन्द्र थापाको मुद्दाबाटै निकै आत्तिएका दाहालले पछि त्यसैलाई सिरानी हालेर अहिले सरकार छोड्ने कुरा आफूले नभनेको र नसोचेको बताएका थिए। स्रोतका अनुसार
त्यस दिन दाहाल अलि बढी हतास मुद्रामा बैठकमा प्रस्तुत भएका थिए।
उनले आफूले बाबुरामलाई हटाउनका लागि कांग्रेस–एमालेसँग सहमति गर्नै लागेको, गरिसकेको जस्ता प्रचार गरिएकोमा पनि बैठकमा आपत्ति व्यक्त गरेका थिए। उनको भनाइ थियो, 'मैले  
कहाँ त्यसरी सत्ता छोडिहाल्नुपर्छ भनेको छु र? पहिला यत्तिकै सरकार छोड्दा कुन अवस्था भयो भन्ने मैले पनि बुझेको छु। प्याकेजमा सहमति नभएसम्म सरकार छोडिँदैन।' दाहालले प्याकेजमा सहमति भए पनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा असम्भव भएको समेत दुई सयभन्दा बढी केन्द्रीय सदस्यहरूलाई जानकारी गराए। उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– 'बाबुरामजीको नेतृत्वमा पनि सर्वसहमति बन्दैन भने सुशील कोइरालाको नाममा पनि सर्वसहमति बन्दैन।' यस्तो अवस्थामा सबैलाई मान्य हुने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने आफ्नो धारणा पनि उनले बैठकमा राखेका थिए।  
बैठकमा दाहालले 'यहाँ आउनुअघि भर्खरै एमालेका नेताहरूसँग कुराकानी भएको थियो' भन्दै त्यसलाई सकारात्मक बताएका थिए। उनको भनाइ थियो– 'कुराकानीमा एमालेका नेताहरू सकारात्मक देखिन्छन्। निकासमा उनीहरूले बाधक नहुने बताएका छन्।' बैठकमा दाहालले एमालेका शीर्षस्थ तीन नेताका बारेमा पनि अलग–अलग टिप्पणी गरेका थिए। उनले भने– 'यसमा माधव नेपालको अरू तरिकाले निकास निस्किँदैन भने स्वतन्त्रमा गएर भए पनि निकास निकाल्नुपर्छ भन्ने हाम्रै जस्तो धारणा छ। झलनाथजीको खासै पहलकदमी नभए पनि उहाँ पनि बाधक देखिनुभएको छैन। तर, केपी ओलीको भने पूरै नकारात्मक धारणा छ। उहाँले कुनै हालतमा पनि स्वतन्त्र व्यक्ति हुँदैन भन्ने धारणा राख्नुभएको छ।' दाहालले आफूले एकजना व्यक्तिको नाम (त्यहाँ उल्लेख नगरे पनि देवेन्द्रराज पाण्डे) लिएकोमा एमालेबाट एकजनामा मात्र होइन, पाँच/सात जनाको नाममा छलफल गरौं भन्ने प्रस्ताव आएको र त्यसमा आफू खुला रहेको पनि बैठकलाई जानकारी गराएका थिए। बिहान एमाले र आफ्नाबीचमा कुरा भएको, अहिले एमाले र कांग्रेसबीच कुरा भइरहेको र बेलुकी तीन पार्टीबीच कुरा हुने जानकारी गराएर उनले त्यसमा पनि कांग्रेसको नेतृत्व कुनै हालतमा स्वीकार भने नगरिने विश्वास बैठकलाई दिलाएका थिए। सुशील कोइरालाको विकल्पमा कांग्रेसबाटै अर्को नाम आए के गर्ने भन्ने प्रश्नमा दाहालले त्यो पनि स्वीकार्य नहुने बरु एमालेका बारेमा सोच्न सकिने बताएका थिए। तर, एमालेका नेताहरूसँग भने उनले कुनै पनि हालतमा एमालेलाई पनि दिन नसकिने बताउँदै आएका छन्।  
स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने र त्यसमा सहमति हुन नसकेमा संविधानसभा पुनःस्थापनामा जानेबाहेकका विकल्प आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि दाहालले बैठकमा राखेका थिए। 'यसमा मैले मोहन वैद्यजीहरूसँग पनि कुराकानी गरिसकेको छु। उहाँहरूलाई आफ्नो हैसियत के हुन्छ भन्ने चिन्ता छ। यदि त्यो कुरा मिल्ने हो भने उहाँहरू पुनःस्थापनामा लचिलो हुनुहुन्छ। यस्तो अवस्थामा जसले बहुमत जुटाउन सक्छ, त्यसैले सरकार गठन गर्छ'– दाहालको भनाइ थियो– 'सरकारको विषय पनि टुंगो लाग्छ, कांग्रेस, एमाले पनि साइजमा आउँछन्।' 









----budhabar 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis