यसरी भ्यालेन्टाइन्स डेको दिन प्रपोज हानाहानको लहर गजबले चल्ने गर्छ युवायवतीमाझ। अरू दिनमा प्रपोज गर्दा उत्तरको भर नहुने तर यस दिन गरेमा प्रायः पोजिटिभ उत्तर आउने भएकाले पनि भ्यालेन्टाइन्स डे कुर्नेहरू धेरै हुन्छन्। केही समयअघिसम्म प्रेम प्रस्ताव राख्ने मामिलामा केटा नै अगाडि हुन्थे। तर, आजभोलि युवतीहरूले पनि मनको कुरा पोख्न धक मान्न छाडेका छन्। उनीहरूले प्रायः फोन, एसएमएस र च्याटिङमार्फत प्रेम प्रस्ताव राख्ने गर्छन्। 'फेस टू फेस भन्न त लाजै हुन्छ नि,' प्रिया थापाले भनिन्, 'मैले त पोहोर साल फेसबुकमा अनलाइन च्याट गरेर भनेकी थिएँ।'
धादिङका ईश्वर बूढाले यसपालि पहिलोपटक प्रपोज हान्न लागेको बताए। भ्यालेन्टाइन्स डेको दिन अफिसमा छुट्टी मिलाएका छन् उनले। ‘अहिलेसम्म कसैलाई प्रपोज हानेको छैन्,' उनले भने, 'साह्रै डर पो लागेको छ त। तर, जसरी भए नि उनलाई यसपालि मनको कुरा भनेरै छाड्छु।' फेसबुकमा र्यान्डम एड गरेर फेला परेकी युवतीसँग उनको दुई वर्षयता गोइङ अराउन्ड रिलेसन छ। ‘पोहोर ज्यान गए मुख खोल्न सकिएन,' उनले थपे, 'यसपालिको भ्यालेन्टाइन्स डे चाहिँ मेरा लागि शुभ होस्!'
-- नागरिक
