CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ९३ दिनदेखि नेता चक्र बास्तोला अचेत

९३ दिनदेखि नेता चक्र बास्तोला अचेत


काठमाडौं, १७ चैत कांग्रेस नेता चक्र बास्तोला मस्तिष्कघातका कारण ९३ दिनदेखि अचेत छन् । पछिल्लो समय उनलाई मधुरो संगीत सुनाएर जगाउने प्रयास भइरहेको छ । 
बास्तोलाको होस खुल्ने सम्भावनाबारे उपचारमा संलग्न चिकित्सकहरू नै केही भन्न सक्दैनन् । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा ९० दिनको उपचारपछि चिकित्सककै सल्लाहमा उनलाई परिवारले शुक्रबार स्वदेश फर्काएका थिए । मेदान्त अस्पतालले जटिल उपचार भइसकेको र
अब 'नर्सिङ केयर' मात्रै गरे पुग्ने बताएपछि परिवारले नेपाल फर्काएका हुन् । ६८ वषर्ीय बास्तोलालाई शुक्रबार दिल्लीबाट एयर एम्बुलेन्समा काठमाडौं ल्याइएको हो ।
बास्तोलाको शुक्रबार दिउँसो पौने एक बजेबाट थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आइसियू वार्डको ८०१ बेडमा उपचार सुरु भएको छ । उनको उपचारमा मस्तिष्करोग विशेषज्ञ डा. पंकज जलान र फिजिसियन डा. मधु घिमिरे संलग्न छन् । 
चिकित्सकहरूले बास्तोलाको अवस्थालाई 'मिनिमल्ली कन्सियस' भनेका छन् । उनलाई नर्सिङ केयर, खानपान र अन्य संक्रमण बढ्न नदिन साधारण खालको उपचार मात्रै भइरहेको छ । प्रेसर कम गर्ने औषधि तथा खानामा विशेष खालको झोल बनाएर खुवाउने गरिएको छ । 
उपचारमा संलग्न डा. जलानले बास्तोलाको अवस्थाबारे अहिले पनि यसै भन्न नसकिने बताए । 'उहाँको होस अझै खुलेको छैन । कति समय लाग्छ भन्न पनि सकिँदैन । पूर्ण होस आउँछ-आउँदैन त्यो पनि भन्न गाह्रो छ । तर, पहिलेको भन्दा झिनो सुधार देखिएकाले हामी आशावादी छौँ,' डा. जलानले नयाँ पत्रिकासँग भने । 
अहिले बास्तोलाको ब्लडप्रेसर, फोक्सोको गति, श्वासप्रश्वास सन्तुलनमा आएको डा. जलानले जानकारी दिए । 'हातगोडा चलेको छ, आँखा पनि ठीक छ, दुखाइ छैन । तर, मस्तिष्कले नै काम गरेको छैन । आँखा खोल्छन्, तर मस्तिष्कमा परेको असरले चिन्दैनन् । कानले सुन्दैनन्,' डा. जलानले भने, 'झोल खानेकुराहरू दिइएको छ । दूध र सुपहरू नली -पेट-टयुब)बाट दिइएको छ ।' 
चिकित्सकका अनुसार मस्तिष्कभित्र नसा फुटेर जमेको रगतको चोक्टा -क्लट) शल्यक्रिया गरी निकालिएको छ । तर, मस्तिष्कमा रहने पानीको मात्रा पास नभएपछि चिकित्सकहरूले १५-१५ दिनमा पानी निकाल्ने गरेका छन् । अहिलेसम्म दुईपटक बे्रनबाट र दुईपटक ढाडबाट पानी निकालिएको छ । 
१४ चैतमा बेहोस भई सिलगुडीस्थित नर्थ बंगाल अस्पतालमा पुर्‍याइएका बास्तोलालाई १७ चैतसम्म त्यहीँ उपचार गरिएको थियो । सोही अस्पतालमा उनको टाउकोको शल्यक्रिया गरी मस्तिष्कमा जमेको रगत निकालिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई १७ चैतमा एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । 
बास्तोला परिवारले सिलगुडीबाट दिल्ली लैजाँदा एयर एम्बुलेन्सका लागि सात लाख २५ हजार र दिल्लीबाट काठमाडौं ल्याउँदा पाँच लाख ८० हजार भारतीय रुपैयाँ खर्च गरेको छ । तर, तीन महिना भारत बस्दा कति खर्च भयो भन्नेबारेमा परिवार स्रोतले बताउन चाहेन ।
संगीतको धुन सुनाइँदै
चिकित्सकहरूले बास्तोलालाई होसमा ल्याउन मस्तिष्क थेरापी गर्ने गरेका छन् । यसका लागि संगीतको सहारा लिइएको छ । बास्तोलाकी भान्जी सरिता प्रसाईंका अनुसार बेडमा नै संगीतको मधुरो धुन सुनाउने गरिएको छ । तर, अहिलेसम्म यसको खासै प्रभाव परेको छैन । 
यसैगरी चिकित्सकको सल्लाहमा नजिकका साथी र आफन्तहरूले काननजिक गएर जोडले बोलाउने गर्छन् । संगीत र आफन्तको स्वरले सेलाएको मस्तिष्क पुनः क्रियाशील हुनसक्ने चिकित्सकको भनाइ छ । पार्टीका प्रतिनिधिले पनि चिच्याएर बोलाउने गरेका छन् । 
'अघि भर्खरै पनि मामा -बास्तोला)को नातिले हजुरबा-हजुरबा भनेर चिच्याएर बोलायो । उहाँले बिस्तारै आँखा मात्रै खोल्नुभो । अरू प्रतिक्रिया केही थिएन । हामीलाई सुन्नुभयो कि जस्तो लाग्छ, तर चिकित्सकहरू त्यस्तो नभएको बताउँछन्,' प्रसाईंले भनिन् । उनका अनुसार मेदान्तका चिकित्सकहरूले मस्तिष्कको ६० प्रतिशत भाग ठीक भएको र बाँकी ४० प्रतिशत ठीक भएपछि होसमा आउन सक्ने बताएका छन् । 
बास्तोलासँग नजिक भएका व्यक्तिहरूले आइसियूभित्रै छिरेर जोडले बोलाउने गरेका छन् । धेरै नजिकपन भएकाहरूले बोलाउँदा उनको मस्तिष्क क्रियाशील भई सुधारमा सहयोग पुग्ने भएकाले उनलाई बोलाउन लगाइएको डा. जलानले बताए । 
नर्भिक अस्पतालको आइसियूमा भर्ना भएका बास्तोलालाई भेट्न कांग्रेस नेता तथा कार्यकर्ताको भीड लागेको थियो । अस्पतालको गेटमा राखेको पुस्तिकामा पाँच सयभन्दा बढीले स्वास्थ्यलाभको कामनासहितको हस्ताक्षर गरेका छन् । शुक्रबार अस्पताल भर्ना हुनासाथ कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, प्रवक्ता दिलेन्द्र बडू, केन्द्रीय सदस्यहरू नरहरि आचार्य, नेताहरू दीपकुमार उपाध्याय, राधेश्याम अधिकारीलगायत नेता-कार्यकर्ता तथा आफन्तहरू उनलाई भेट्न पुगेका थिए ।
विपक्षी दल तथा सरकारी कुनै पनि अधिकारी उनलाई भेट्न गएका छैनन् । 'दिल्लीमा एकपटक एमाले उपाध्यक्ष विद्या भण्डारी पुग्नुभएको थियो, अरू खासै आएका छैनन्,' नयाँ पत्रिकासँग भान्जी प्रसाईंले भनिन् । बेहोस भएदेखि नै बास्तोलाको हेरविचारमा श्रीमती कुसुम, दिदी दिव्या प्रसाईं, भान्जी सरिता र दुई छोरीहरू खटिएका छन् । 


कोमाभन्दा एक स्टेप सुधार

डा. पंकज जलान, मस्तिष्क रोग विशेषज्ञ
बास्तोला अहिले 'मिनिमल्ली कन्सियस' अवस्थामा हुनुहुन्छ । यो कोमाभन्दा एक कदम सुधारको अवस्था हो । यहाँ -नर्भिक अस्पताल) ल्याएर पनि उहाँको ठूलो उपचार भएको छैन । सामान्य उपचार मात्र भइरहेको छ । ब्रेनको प्रेसर कम गर्ने औषधि दिएका छौँ । औषधिले नै ब्रेनको प्रेसर कम गराउँछौँ । 
मान्छे चिन्ने र कुरा गर्ने अवस्थालाई मस्तिष्कले शतप्रतिशत काम गरेको मानिन्छ । मस्तिष्कको केसमा शतप्रतिशत सुधार नहुँदासम्म कति सुधार भयो भन्न गाह्रो हुन्छ । प्यारालाइसिसको अवस्था होइन यो । हातखुट्टा र आँखा चलेको छ । 'कोमा'भन्दा एक स्टेप राम्रो अवस्था हो । 
सुरुमा कोमामा हुनुहुन्थ्यो, तर अहिले त्यो अवस्थामा हुनुहुन्न । यद्यपि होसमा आउनुभएको छैन । हामीले लगातार म्युजिक सुनाएका छौँ । यसले ब्रेनलाई 'स्टिमुलेट' गर्छ । यसरी होस गुमेपछि फर्काउन सक्ने छुट्टै कुनै औषधि छैन विश्वमा । यो आफसेआफ फर्किन सक्छ । त्यसका लागि वातावरण तयार गर्ने मात्रै हो । यो भनेको ब्रेन सुकेको अवस्था पनि होइन, तर मस्तिष्कको नसामा असर परेको हो ।
अहिले नर्सिङ केयर भइरहेको छ । हामीले निरन्तर मनिटरिङ गरिहेका छौँ, अरू कम्प्िलकेसन नआओस् भनेर । मेदान्तको रिपोर्टले पछिल्लो एक-डेढ महिनापछि केही सुधार भएको देखिएको छ । हामीले यहाँ पाँच-सात दिन कस्तो सुधार हुन्छ हेरेर घरमै राखेर उपचार गर्न पनि सल्लाह दिन सक्छौँ । परिवारले अस्पतालमै राख्न भनेमा अस्पतालमै राख्न पनि मिल्छ, घरमै लैजान्छौँ भने घरमै लान पनि मिल्छ । 
उहाँको स्पेसल डाइट छ । पाटन अस्पतालमा पाइने सञ्जीवनीजस्तो आहारलाई झोल बनाई खुवाउने गरेका छौँ । पेटमा टयुब राखिएको छ- फिडिङ टयुब । त्यसमार्फत खाने खुवाउने काम भएको छ ।

रामप्रसाद न्यौपाने/नयाँ पत्रिका 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis