CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » अपाङ्ग महिलालाई यौन चाहिँदैन? बिचार उत्तेजक लेख --

अपाङ्ग महिलालाई यौन चाहिँदैन? बिचार उत्तेजक लेख --

photo sketch'कस्तो छ तरकारी ? लाटीको म्वाइँ खाए जस्तो ।' प्रत्येकजसो नेपाली घरमा खाना खाने बेला सुनिन्छ, यो संवाद । यदि तरकारी खाँदा नुन कम छ, मसालेदार छैन भने स्वाभाविक रूपमा हामी भन्छौं, 'लाटीको म्वाइँ खाए जस्तो ।' यतिखेर मुम्बईको बान्द्रास्थित 'एडाप्ट' सेन्टरमा बसेर सेन्टरकी सचिव मालिनी चिवको किताब 'वन लिटिल फिङ्गर' पढ्दै उनीसँग किताब र उनको जीवनबारे कुरा
गर्दैगर्दा मलाई आफूले सानैदेखि सुन्दै आएको यो प्रचलित नेपाली संवाद याद आयो । सेरेब्रल पल्सी नामक एक प्रकारको अपाङ्गताका साथ जन्मेकी मालिनीको आयु डाक्टरले ७२ घन्टामात्रै घोषणा गरेका थिए । आज उनी ४२ वर्षकी छन् । मालिनी हामीजस्ता 'साधारण' भनाउँदा मान्छेले झैं बोल्न सक्दिनन्, तर दुई विषयमा स्नातकोत्तर उनी पेसाले इभेन्ट संयोजक र परामर्शदाता हुन् । आमा डा. मीठु अलुरले स्थापना गरेको 'स्प्यास्टिक्स सोसाइटी अफ इन्डिया' आज मालिनीकै प्रयासले 'एडाप्ट' बनेको छ । 'एडाप्ट' अर्थात 'एबल डिसेबल अल पिपुल टुगेदर ।' ४० वर्षदेखि समावेशी शिक्षाको क्षेत्रमा कार्यरत यो संस्थाबाट आजसम्म लाखौं विद्यार्थी  शिक्षित  भइसकेका छन् । एउटै कक्षामा काला, गोरा, धनी, गरिब, केटा, केटीमात्र नभई शारीरिक र मानसिक अपांगता भएका विद्यार्थी अटाएर पढ्न पाउने संवैधानिक अधिकारको सुरक्षाका पक्षमा वकालत गरिरहेको एडाप्टले १० वर्षदेखि एसिया प्रशान्त क्षेत्रका १६ देशबाट प्रत्येक वर्ष २० जनाभन्दा बढी व्यक्तिलाई समावेशीको प्रशिक्षण पनि दिँदै आएको छ । कुनै सिनेमा मनपरेन, किताब मनपरेन, साथीले सोध्यो 'कस्तो थियो' ? 'खत्तम , झुर लाटीको म्वाइँ खाए जस्तो ।' यसको अर्थ हो, लाटी अर्थात् बोल्न नसक्ने केटीलाई म्वाइँ खाँदा कुनै प्रतिक्रिया जनाउँदिन, त्यसैले लाटीलाई म्वाइँ खान कोही चाहँदैन । हाम्रो समाजमा सदियौंदेखि प्रचलित यो भनाइलाई गहिरिएर सोच्ने हो भने 'लाटीलाई म्वाइँ खाने' यो वाक्यले प्रस्ट बताउँछ, सदियौंदेखि अपांगता भएका महिलाको वयस्क हुने अधिकारलाई कसरी नकारिँदै आएको छ । सुन्दा साधारण लागे पनि यो वाक्यले प्रतिनिधित्व गर्छ, अपाङ्गता भएका महिलालाई हेर्ने समाजको दृष्टिकोणको । आजभोलि निकै प्रचलनमा रहेको शब्द 'शाब्दिक हिंसा' ले पनि यसलाई कतै सम्बोधन गरेको पाइँदैन । १२ वर्षदेखि एडाप्टमै तालिम संयोजकका रूपमा कार्यरत डा. शर्मिला दोंदेका अनुसार, यदि हाम्रो हातको एउटा औंलामा काटेको छ भने हामी अर्को औंलालाई प्रयोग गर्र्छौ, त्यसले गर्ने काम गर्नका लागि । अपांगता पनि त्यस्तै हो । महिला मात्र नभई प्रत्येक अपाङ्गता भएका व्यक्तिबारे हाम्रो धारणा हुन्छ कि उसको शरीरको एउटा अंगले काम गरेन भने उसको पुरै शरीरसहित दिमागले पनि कुनै काम गर्दैन । 'ओहो दृष्टिविहीन भएर पनि कति राम्रो गीत गाएको' जस्ता टिप्पणी यस्तै अज्ञानका उपज हुन् । किनकि व्यक्तिको अपांगता उसको आँखामा हो, स्वरमा, गलामा होइन । डा. दोंदेका अनुसार, 'डिसेबल' अर्थात् कुनै काम गर्न अक्षम हुनु र यो अक्षमता कहीं न कहीं हामी सबैमा हुन्छ ।
अमेरिकी नारीवादी लेखक सुसन वेन्डवेलका अनुसार, समाज 'बडी ब्युटीफुल' को मान्यताबाट ग्रस्त छ । महिला सुन्दर देखिनैपर्ने परम्परागत सोचाइ छ र यो सुन्दरतामा शारीरिक सुन्दरता मात्रै पर्छ । यो मान्यतालाई मिडियाले झनै बढी 'प्रमोट' गर्छ । 'सुन्दरता' को सामाजिक परिभाषामा अपांगता भएका महिला कतै पनि अटाउँदैनन् । उनीहरूको शरीर मात्रै हेरिन्छ र नकारिन्छ । अपांगता भएका महिलाको शरीरलाई सुसनले 'रिजेक्टेड बडी' भनेर सम्बोधन गरेकी छन् ।
मालिनी भन्छिन्, 'मेरा लागि सबैभन्दा पीडादायी क्षण त्यो हुन्थ्यो, जब म आफ्ना साथीहरूलाई उनीहरूका ब्वाइ फ्रेन्डसंग समय बिताएको देख्थें । सबै वयस्क केटीहरूजस्तै म पनि कसैसँग अत्यन्त निकट सम्बन्ध चाहन्थेँ । मलाई पनि रहर लाग्थ्यो, आफूलाई माया गर्ने मान्छेको अँगालो महसुस गर्न ।' मालिनीका अनुसार, कलेजका केटा साथीहरू एकदमै राम्रो व्यवहार त गर्थे, तर त्यो प्रेम नभई सहयोग मात्रै थियो ।
कतै कुनै कार्यक्रममा जाँदा आफूसँग नसोधी आफ्ना 'केयरर' अर्थात् हेरविचार गर्ने मान्छेसँग 'उनलाई चियामा चिनी चाहिन्छ कि चाहिँदैन' भनेर सोधिएका कर्यौ नमीठा प्रसंगको सम्झना गर्दै मालिनी भन्छिन्, 'असह्य पीडा त्यतिबेला हुन्थ्यो, जब परिवारमा कसैको बिहे हुन्थ्यो ।' आफ्नो किताबमा उल्लेख गरेको प्रसंग सम्झँदै मालिनीले बताइन्- एकचोटि परिवारमा एउटा बिहे हुँदा उनले मुखै फोरेर आफ्ना पिता र बहिनीको अगाडि भनिछन्, 'के मलाई यौन अधिकार छैन ?' 'छ' । उनकी बहिनीको जवाफमा जब मालिनी सोध्छिन्, 'कसरी ?' तब दुवैजना नाजवाफ हुन्छन् । सन् १९९६ मा मुम्बईको समाचारपत्र 'मेट्रोपोलिज' मा 'नो सेक्स प्लिज आइ एम अ डिसेबल' प्रकाशित भएपछि आफूले भोग्नुपरेको मानसिक पीडाको उल्लेख गर्दै मालिनी भन्छिन्- 'कसरी वर्षौंदेखि अपांगता भएका व्यक्तिको अधिकारका लागि लडिरहेको उनको आफ्नै संस्था 'स्प्यास्टिक्स सोसाइटी अफ इन्डिया' का 'प्रोफेसनल' हरूले नै जिब्रो टोक्दै उनलाई सोधेका थिए, के लेखेको ? तिम्रा लागि यौन जरुरी छ र ? किन तिम्रा लागि यो यति महत्त्वपूर्ण ?' 'त्यतिबेला म रातभरि रुन्थेँ, जब मेरी आमाले मलाई सोध्नुहुन्थ्यो, 'किन रोएकी ?' 'तपाईंलाई थाहा छ किन' मेरो जवाफमा उहाँ अर्कोतिर फर्केर रुनुहुन्थ्यो ।'
सम्भ्रान्त परिवारमा जन्मेकी, भरपुर पारिवारिक सहयोग र लन्डनजस्तो विकसित सहरमा शिक्षा पाएर हुर्केकी मालिनीका अनुभव त यति कटक्क मन खाने छन् भने दूरदराजका अपांगता भएका महिलाको अवस्था के होला ? समावेशी र महिला अधिकारका चर्का-चर्का नारा उरालिने आजको समाज पनि अपांगता भएका महिलाको यौन अधिकारबारे मौन देखिन्छ । शिक्षा र रोजगारीमा अपांगता भएका व्यक्तिको अधिकारबारे थोरै भए पनि सचेतना आएको पाइन्छ । तर अपांगता भएका महिलासँग निकट सम्बन्ध राख्न वा बिहे गर्न कोही चाहँदैन । यौन मान्छे मात्र नभई जनावरको पनि आवश्यकता हो । तर अपांगता भएका व्यक्तिबारे मान्छेहरू सोच्छन् कि 'उनीहरूलाई यसबारे सोच्नै किन पर्‍यो ? उनीहरूलाई यसको कुनै आवश्यकता किन पर्छ र ?' सुसनको भनाइमा समाजले उनीहरूलाई 'असेक्सुअल' का रूपमा हेर्छ ।
यहाँ मुम्बईमा बसेर म सोच्दै छु, हाम्रो समाज अर्थात् नेपाली समाजमा चुपचाप घरधन्दाको जाँतोमा पिसिइरहेका कयौं 'लाटी' हरू छन्, जसलाई म्वाइँ खान कोही चाहँदैन । विभिन्न शारीरिक र मानसिक अपांगतासाथ बाँचिरहेका कयौं महिला छन्, जो पारिवारिक सहयोग शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्, प्रेम या विवाह गर्ने अधिकार त कल्पनाभन्दा पनि बाहिरको कुरा । शरीरमा बैंस आउँछ, फुल्छ, ओइलाउँछ र यत्तिकै झरेर जान्छ । सार्वजनिक रूपमा 'लाटी' लाई म्वाइँ खान कोही चाहँदैन, तर गोप्य रूपमा भने यौन हिंसाको सिकार सबैभन्दा बढी तिनै महिला हुने गर्छन्, जो बोल्न सक्दैनन् । आफूलाई एकदमै शिक्षित र जान्ने-बुझ्ने ठान्ने हामी बुझ्दैनौं कि शारीरिक अपांगता भएका व्यक्तिहरू दिमागले 'बि्रलियन्ट' हुन्छन् ।
'आँखाले हेर्‍यो, मनले बेर्‍यो, मायाको फेरो कान्छी' नेपाली चलचित्र कान्छीको शीर्ष गीतको एउटा अंश हो यो । त्यसैले माया गर्नलाई कुनै भाषा या शब्दको जरुरत हुँदैन । सक्नुहुन्छ, ढुक्कले माया गर्नुस्, अपनाउनुस्, बिहे गर्नुस्, अपांगता भएका महिलासंग । सक्नुहुन्न, 'लाटीलाई म्वाइँ खाने' जस्ता शब्द प्रयोग गरेर उनीहरूको भावनाको अपमान नगर्नुस् ।
-- सावित्री गौतम - ईकान्तिपुर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis