CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम

५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम


nabilनेपालको नम्बर वन बैँक भनिने नबिल बैँकको एसएमएस बैँकिङबाट किनेको ५ सय रुपियाँको एनटिसीको रिचार्ज पिन नचल्ने भएपछि ठगिएको महसूस गरेको थिएँ। त्यसको तीन दिनपछि म‍ंगलबार राति बल्ल नयाँ पिन हात पर्‍यो। त्यो पनि नबिल
बैँकबाट हैन, बुटवलबाट! यसबीच नबिलले ग्राहकलाई गैर जिम्मेवारपूर्ण व्यवहार गरेवापत् माफी पनि माग्यो, फोन गर्छु भनेर फोन नगर्ने र कम्प्लेन लेखाउँदा पनि दर्ता नगर्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि जाहेर गर्‍यो। ब्लग र सामाजिक सञ्जाल ट्विटरमा यस विषयमा भएको बहसपछि नबिलले द्रुत गतिले अगाडि बढाएको छानबिन प्रश‌ंसनीय थियो। सबै ग्राहकको कम्प्लेनलाई यस्तै छिटो ढंगले समाधान गरिदिए यो बैँक कागजमा मात्र हैन, ग्राहकको मनै जितेर साँच्चिकै नम्बर वन बन्ने गौरव प्राप्त हुन्थ्यो होला।
शनिबार १८ मेमा साँझ साढे ६ बजेतिर नबिलको एसएमएस बैँकिङबाट मैले एनटिसीको ५ सय रुपियाँको एउटा रिचार्ज पिन किनेँ। लगत्तै एसएमएसमा पिन आइपुग्यो। तर त्यो पिन नम्बर राखेर डायल गर्दा रिचार्ज भएन। पटक-पटक डायल गर्दा पनि पिन नम्बर गलत छ भनियो र उल्टै धेरै गलत नम्बर डायल गरेकोले फेरि रिचार्ज गर्नै नहुने बनाइदियो।
भोलिपल्ट आइतबार बिहान १० बज्ने बित्तिकै नबिल बैँकको वेबसाइट हेरेर 4221718 मा फोन गरी एसएमएस बैँकिङ हेर्ने विभागमा फोन दिनुस् भनेर भन्दा रिसेप्सनिस्टले कार्ड डिभिजनमा फोन पास गरिदिइन्। एक पुरुषले फोन उठाए। मैले सबै विवरण सुनाएँ। एकछिन है भन्दै उनले फोन होल्ड मै राखेर केही खोज्दै जस्तो पनि गरे। लास्टमा योबारे हामी हेरेर तपाईँलाई फोन गर्छौँ नि है भन्दै मेरो मोबाइल नम्बर, नबिल बैँकको अकाउन्ट नम्बर सबै लिए।
म त्यहाँबाट आउने फोनको प्रतीक्षामा थिएँ। फोन आउँछ भनी कुर्छु, आउँदैन। साँझ ५ बजे अफिस बन्द हुने बेलासम्म पनि फोन आएन। यसबीच त्यो पिन नम्बर फेरि पनि ट्राइ गरेँ। अझै गलत नै भन्थ्यो।
भोलिपल्ट सोमबार बिहान फोन आउला कि भनेको, लन्च ब्रेकसम्म पनि फोन आएन। लौ भएन, मेरो पाँच सय रुपियाँ खाने नै सुर कसेछ कि क्याहो भन्दै एउटा ब्लग लेखेँ र दिउँसो साढे २ बजेतिर राखेँ। ब्लग राखेपछि साँझ ५ बजे अफिस बन्द हुनुअघिसम्ममा फोन आउला कि जस्तो लागेको थियो, आएन। एक पटक कम्प्लेन लेखाइसकेपछि फेरि फोन गरेर बुझिराख्न आवश्यक ठानिनँ। बरु यस्तो ट्विट गरिदिएँ-

ट्विट बहस

यो ट्विटलाई केही ट्विटेहरुले मुद्दाका रुपमा उठाए र बहसमा नबिल बैँकका पूर्व सिइओ अनिल शाहसमेत जोडिन पुगे।












ट्विटरमा मात्रै हैन, माइसंसारको यही ब्लगमा पनि टन्नै कमेन्ट आए नबिल र अन्य बैँकहरुबाट असन्तुष्ट ग्राहकहरुका।

…अनि आयो नबिलको फोन

ब्लग र ट्विटरमा भएको बहसकै प्रभावले हो कि, भोलिपल्ट बिहान १० नबज्दै फोन आयो नबिल बैँकबाट। सुरु उजुरी दर्ता गराएको ४८ घण्टापछि फेरि के भएको हो भन्ने जानकारी मागियो र योबारे हामी हेर्दैछौँ, पछि फोन गर्छौँ या नयाँ पिन पठाउँछौँ भनियो।
दिनभर फोन आएन। अपराह्न ५ बजेतिर फोन आयो। त्यतिबेलासम्म नबिलले विस्तृत छानबिन गरिसकेको रहेछ। त्यो पिन नम्बरमा त्यो दिन प्रोब्लमै भएको रहेछ। अहिले भने त्यो पिनमा प्रोब्लम छैन रे। ‘हामीले त एनटिसीबाट आएको पिन फरवार्ड गर्ने काममात्र गरेका हौँ’, नबिलको भनाई थियो। मैले भनेँ- पिनसँगै सिरियल नम्बर पनि पठाउनु भएको भए पिनबारे सीधै टेलिकमममा उजुरी गरेर के भएको हो बुझ्न मिल्थ्यो, तपाईँहरु सिरियल नम्बर पनि पठाउनु हुन्न। अनि त्यो पिनले काम गरेन भनेर उजुरी गर्दा पनि पछि फोन गर्छु भनेर कुनै जवाफ दिनुहुन्न।
यसमा नबिल कर्मचारीले हामीबाट जेनेरेट भएको पिनको जिम्मा हाम्रै हो भने। आइतबार बिहान फोन कसले उठाएको थियो भन्ने नाम सोध्नुभएको भए उसलाई कारबाही गर्न मिल्थ्यो भने। त्यो दिन फोन उठाएर मेरो खाता नम्बर, नाम, मोबाइल नम्बर सबै लेखेर हेर्नुस् त रद्दी टोकरीमा पो फ्याँकेका रहेछन्। त्यहाँ इन्ट्री नै भएको रहेनछ। उनले अबदेखि यसरी कम्प्लेन लेखाउँदा टिप्नेको नाम पनि सोध्न आग्रह गरे। लौ है तपाईँहरुलाई पनि काम लाग्छ यो टिप्स। अबदेखि कम्प्लेन लेखाउँदा टिप्ने कर्मचारीको नाम टिपिराख्नुस्।

बुटवलबाट चार्ज भएछ पिन

ब्लग लेख्दा मैले प्रमाणै राख्ने उद्देश्यले पिन नम्बरसहितको एसएमएसको फोटो नै राखिदिएको थिएँ। उनले त्यो चाहिँ नगरिदिनुभएको भए हुने भने। कम्प्लेन लेखाउँदा पनि वास्ता नगरेपछि छानबिन गर्न सजिलो होस् भनेर मैले पिनै सहितको एसएमएस हालिदिएको थिएँ। आइतबार उजुरी लेखाएपछि मलाई बैँकले फोन गरेर यसबारे यस्तो हुँदैछ है भनेर कम्तिमा केही जानकारी दिएको भए मैले ब्लग लेख्नुपर्ने आवश्यकता नै पर्ने थिएन। यो कुरालाई उनले स्वीकारे। माफी पनि मागे। त्यो फोन उठाउने पत्ता लागेको भए कारबाही गर्थेँ पनि भने।
उनका अनुसार नबिलले एनटिसीसँग जानकारी मागेर सोधखोज गरेपछि सोमबार अपराह्न ३ बजेर १६ मिनेट जाँदा बुटवलबाट एउटा मोबाइलमा त्यो पिन प्रयोग गरेर रिचार्ज गरेको भेटियो। उनले मलाई त्यही नम्बरमा फोन गरेर मेरो पिनबाट तपाईँले चार्ज गर्नुभएछ, तपाईँ मलाई अर्को पिन पठाइदिनुहुन्छ कि के गर्नुहुन्छ भनेर सोध्नुस् न भने। त्यसबाट कुरा मिलेन भने पुलिस केस गरौँला भने। निहुँ खोज्ने पाराले भए म किन फोन गर्छु, तपाईँहरु आफै गर्नुस् भन्थेँ होला। लौ त नि भनेर फोन गरेँ, फोन लागेन।
दुई घण्टा जतिपछि फोन गरेँ, लाग्यो। फोन उठाउनले हो मैले रिचार्ज गरेको हुँ तर मसित अहिले पैसा छैन तपाईँलाई पर्सि पठाइदिउँला नयाँ पिन भन्न थाल्यो। मैले अहिले राति आठ बजेभित्र तपाईँले नयाँ पिन पठाउनु भएन भने म यही कुरा बैँकलाई फरवार्ड गरिदिन्छु, उनीहरुले तपाईँको सिम ब्लग गर्लान् वा पुलिस केस के गर्लान्, मलाई थाहा छैन, त्यसको जिम्मेवार तपाईँ हुनुहुनेछ। मैले त तपाईँलाई सूचना मात्रै दिएको हुँ भनेर फोन राखिदिएँ। पछि उनैले फोन गरी नयाँ पिन नम्बर टिपाए। त्यही पिन अनुसार मैले मोबाइलमा सफल चार्ज गरेपछि तीन दिन लामो ५ सय रुपियाँको रामकहानी अन्त्य भयो। यसो यसो भयो है भनेर मैले नबिल कर्मचारीलाई पनि राति नै जानकारी दिएँ। आफ्ना कर्मचारीहरु अलि गतिलो राखेको भए र ग्राहकहरुप्रतिको व्यवहारमा अलि ध्यान दिएको भए माथिल्लो तहका ती कर्मचारीको छानबिनको नाममा यति समय नाश हुने थिएन। मेरो पनि यति धेरै फोन कल, यति धेरै समय नष्ट हुने थिएन।

अरुको भए के हुन्थ्यो होला ?

मैले त ब्लग र ट्‌विटरबाट यसरी आवाज उठाएँ र समस्याको समाधान भयो। अरुको यस्तै समस्या परेको भए के बैँकले सुन्थ्यो होला ? अस्तिको ब्लगमा नै अनेकन् कमेन्ट आएका छन् गुनासोका। यही बैँकका विषयमा अरु पनि छन् गुनासो मेरो। मेरो बैँक खाता पहिला जिरो ब्यालेन्सको थियो। अहिले भने न्युनतम पाँच सय रुपियाँ ब्यालेन्स हुनुपर्ने बनाइएको छ। कहिलेदेखि यो व्यवस्था गरियो भनेर सूचना दिनुपर्छ कि पर्दैन बैँकले ?
तपाईँहरुको पनि बैँकसम्बन्धी यस्तै गुनासा छन् र यसरी नै आवाज उठाउँदा मात्र उनीहरु सुन्न बाध्य हुन्छन् भने तपाईँ पनि सामाजिक सञ्जालका साइटहरुमा आफ्नो गुनासो विस्तृत रुपमा राख्नुस्। 
साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis