काठमाडौँ- राजधानी र वरपरका क्षेत्रमा बिहीबार साँझ परेको मुसलधारे वर्षाका कारण मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द भयो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा ४१.६ मिलीलिटर वर्षा भयो। "पूर्वीय वायुको प्रभाव प्रबल तथा बङ्गलादेश र पश्चिम बङ्गालको न्यून चापका कारण अधिक वर्षा भएको हो," आकष्मिक वर्षाको कारणबारे जानकारी लिँदै उक्त महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने।
अझै दुई–तीन दिन देशका पूर्वी भाग र राजधानीमा अपराह्नतिर पानी पर्ने सम्भावना रहेको बताउँदै उनले सुदूरपश्चिमाञ्चलको मौसम भने सफा रहने जानकारी दिए।
विमान उडाउन र अवतरणका लागि आवश्यक पर्ने स्पष्ट दृष्टि (भिजिविलिटी) एक हजार ६०० मिटर हुनुपर्नेमा त्यो ८०० मिटरमात्र भएकाले विमानस्थल बन्द गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रबन्धक राजेश चित्रकारले बताए।
"कमजोर भिजिविलिटीका कारण सातवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भए," एउटामात्र आन्तरिक उडानमा वर्षाको असर परेको जानकारी दिँदै उनले भने।
कार्यालय समय सकिएको केही क्षणपछि नै परेको भारी वर्षाले राजधानीका अधिकांश सडक जलमग्न हुँदा आवागमनमा कठिनाई भयो भने गन्तव्यसम्म पुग्न नपाएर बटुवाहरू बाटोमै अलपत्र परेका थिए।
भद्रकाली प्लाजामा अवस्थित रासस केन्द्रीय कार्यालय रुद्रमती (टुकुचा) खोलामा आएको बाढी पस्दा जलमग्न भयो। बाढी कार्यालयमा पसेका कारण पत्रकारहरूले सास्ती बेहोर्नुपर्यो।
यसैगरी जमल, पुतली सडक, महागन्ज, टेकु, कालीमाटी, कुपन्डोल, कुमारीपाटी, लगनखेललगायतका सडक जलमग्न हुँदा सवारी साधन र यात्रुहरूले सास्ती व्यहोर्नुपरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता पवनकुमार गिरीले बताए।
वर्षाका कारण अस्तव्यस्त भएको राजधानीको सवारी व्यवस्थापन गर्न आफूहरूलाई हम्मेहम्मे परेको जानकारी दिँदै उनले एक हजार ट्राफिक प्रहरी परिचालन गरिएको बताए।
"ढल निकासको समुचित व्यवस्था नहुँदा कुटो, पीक, साबेल, फलामे डन्डी लिएर ट्राफिक प्रहरीले जमेको पानीलाई निकास दिने प्रयास गरिरहेका छन्,"– विस्तारको क्रममा रहेका सडक पूरा नहुँदा थप समस्या परेको उनले बताए।
-साभार नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !