कलाकार वा साहित्यकारहरू सधैं फरक खोज्छन्। निर्माणाधीन एक चलचित्रमा साहित्यकार बनेका सौखिन पेन्टर राजेश हमालले फरक खोज्ने क्रममै न्युड पेन्टिङको अभ्यास गरेका छन्। नायिका अरुणिमा लामालाई स्टुडियोमा राखेर उनले चित्र कोरेको अभिनय गरेका छन्। उनले उतारेको नारीको निर्वस्त्र चित्र कस्तो छ, त्यो हेर्न त चलचित्र नै हेर्नुपर्ने हुन्छ, तर न्युड पेन्टिङको 'स्टाइल' लाई चलचित्रले कलात्मक रुपमा प्रस्तुत गरेको निर्माणपक्षले जनाएको छ।
फरक खोज्ने क्रममै न्युड पेन्टरका रूपमा विश्वविख्यात एमएफ हुसैनले देश छोडेर विदेशी भूमिमा जीवन बिताउनुपर्यो। उनले हिन्दू धर्मका देवीदेवताहरूको न्युड चित्र कोर्दा ज्यान मार्ने धम्की पाए, उनले आफ्नो नागरिकता त्यागे र विदेशी भूमिमै मृत्युवरण गरे। यद्यपि अहिले न्युड पेन्टिङ चित्रकलाको एउटा सशक्त विधा भैसकेको छ। नेपालमै पनि केही कुचिकार न्युड पेन्टिङमार्फत आफ्नो कला प्रस्तुत गरिरहेका छन्। पाँच वर्षअघि छिः भन्ने समाज अहिले केही उदार भैसकेको न्युड पेन्टरहरू नै बताउन थालेका छन्।
न्युड पेन्टिङलाई नै विषय बनाएर उकेश दाहालद्वारा निर्माणाधीन चलचित्र 'किन किन' मा महानायक हमालले न्युड पेन्टरको अनुभव राम्रैसँग आत्मसात् गरेका छन्। चलचित्रको पर्दाकै लागि किन नहोस् नायिका अरुणिमा लामालाई पूर्ण रूपमा नग्न बनाउँदै राजेशले क्यानभासमा अरुणिमालाई सग्लो रूपमा उतारेका छन्। अरुणिमा पनि राजीखुसी देखिन्छिन्, उनको नग्न क्यानभासका निम्ति। अघि फर्किएर हमाललाई आफ्नो शरीर देखाइरहेकी छिन्, राजेश त्यसलाई चित्रांकन गरिरहेका छन्। चलचित्रमा देखिएको उक्त दृश्यमा पेन्टर र न्युड मोडल सहज भावमा देखिन्छन्। यो चलचित्र साउनको अन्तिम साता सार्वजनिक हुनेछ ।
झट्ट सुन्दा न्युड पेन्टिङ भल्गर लाग्न सक्छ तर कलाकारहरू यसलाई विशिष्ट शैलीको ग्लामरका रूपमा परिभाषित गर्छन्। 'किन-किन' मेकर उकेश पनि न्युड आफैंमा कला भएकाले यसको मनोवैज्ञानिक पक्षलाई उजागर गर्न चलचित्रमा नयाँ प्रयोग गरेको बताउँछन्। 'मैले पटक-पटक न्युड शब्द सुने, यसको अर्थ बुझें र चलचित्रमा न्युडसम्बन्धी कथा प्रयोग गरें,' उकेश भन्छन्- 'हाम्रो समाजले न्युडलाई न्याकेडका रूपमा बुझेको छ, तर न्युड यथार्थ हो, वास्तविकता हो यसलाई अश्लीलताको चश्माले हेर्नेहरू गलत हुन्।'
नारीलाई बुझ्ने सन्दर्भमा सोधिएका पाँचवटै प्रश्नको उत्तर गलत दिएपछि चलचित्रमा राजेश हमाल असफल ठहरिएर एक निबन्ध प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुन्छन्। त्यसपछि उनी महिलालाई नजिकबाट बुझ्ने प्रयास गर्छन्, कथा त्यहींबाट सुरु हुन्छ। प्रारम्भमा उनले श्रीमती करिश्मा मानन्धरसँग उनको न्युड पेन्टिङ गर्ने इच्छा जाहेर गर्छन्।
सहरमा कहलिएका साहित्यकार हमाल करिश्माबाट छोरो जन्माएपछि मात्र भन्ने उत्तर पाएपछि पर्खाइमा हुन्छन्। करिश्मा तयार हुन नसकेपछि उनको इच्छा अधुरै रहन्छ। त्यसको थुप्रै वर्षपछि उनको अरुणिमा लामासँग भेट हुन्छ। अरुणिमाले उनको अधुरो इच्छा पूरा गरिदिने बताउँछिन्, त्यसपछि न्युड पेन्टिङको किस्सा -चलचित्रमा) सुरु हुन्छ।
चलचित्रमा न्युडलाई क्यानभासमा उतार्ने सुटिङ स्पटमा क्यामेरापर्सन, राजेश हमाल र नायिका अरुणिमा लामा मात्र उपस्थित थिए। निर्देशक उकेशलाई पनि नायिकाले बाहिर रहेरै निर्देशन दिन आग्रह गरेकी थिइन्। 'न्युड पेन्टिङ जर्बजस्त विषय हो, न्युड पेन्टिङ गर्नेहरू सधैं चर्चाको घेरामा हुन्छन्।' उकेशले भने- 'नेपालमा पनि यसप्रकारका कलाकार पनि हुनुहुन्छ, सुटिङको दिन महानायक हमालले पनि एक जना पेन्टर नै लिएर आउनुभएको थियो।' नायिका अरुणिमा पनि केही असहजका बीचमा नायक हमाललाई सहज सिन दिन तयार भएको उनले बताए। चलचित्र हेर्नेहरूले कुनै दृश्य भल्गर देख्दैनन्, उकेशले दाबी गरे, न्युड दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
न्युड पेन्टिङ र नेपाल
चित्रकलामा रोमान्टिक र हरेकको ध्यान तान्न सक्ने यो विधा हेर्नेहरू हेरिसकेपछि अश्लील भनेर ट्याग लगाउन पनि पछि पर्दैनन्। नाङ्गा चित्र बनाउने भनेर कलाकारप्रति अपशब्द व्यक्त गर्नेहरू पनि थुप्रै छन्। विजय थापा, रागिनी उपाध्याय, तेजबहादुर चित्रकार, मताराजा महर्जन, अस्मिना रञ्जित, सुदर्शन राणा, वीरेन्द्रप्रताप सिंह, उत्तम नेपालीजस्ता कलाकारले न्युड पेन्टिङमा प्रयोग गरिसकेका छन्। न्युड पेन्टिङका ग्राहक पनि नेपालीको तुलनामा विदेशी बढी भएको कलाकारहरू बताउँछन्। कपिलमणिका अनुसार अहिले नेपालीहरूमा पनि न्युड पेन्टिङसम्बन्धी अवधारणा क्रमशः परिवर्तन हुँदै गएको छ। न्युड पेन्टिङ हेर्नेहरू पावल गायगिन, मनेट, एमएफ हुसैन जस्ता विश्वप्रसिद्ध कलाकारबाट प्रभावित भएर तिनका चित्र हेर्छन्। न्युडको सौन्दर्यबोध गर्नेहरूको संख्या बढ्नेमा कलाकारहरू आशावादी छन्। न्युडका लागि महिला नै किन ? कलाकारहरू भन्छन्- 'नारी सौन्दर्य र कोमलताकी प्रतिमूर्ति हुन् जसलाई चित्रमा उतार्न र हेर्न रुचाइन्छ। नारीलाई ग्ल्यामरका रूपमा पनि लिइन्छ, त्यसैले विश्वबजारले आफ्ना प्रसाधनको विज्ञापनमा उनीहरूलाई प्राथमिकता दिएर उतार्दै आएको छ।'
http://www.ekantipur.com/saptahik/article/?id=10742

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !