विचित्रका शुल्कहरू
उहिले हाम्रो पालामा शिशु कक्षामा भर्ना भएपछि स्कुल नफेरुन्जेल नयाँ भर्ना हुन पाइन्नथ्यो। पास भएपछि खुरुखुरु माथिल्लो कक्षामा हाजिर हुनुपथ्र्यो। भर्ना हुन पैसा पनि तिर्न नपाइने। पाठ्यक्रम पनि हत्तपत्त परविर्तन नहुँदा दाजुदिदीका पुराना पुस्तक पढ्नुपर्ने। सरहरू पनि जहिल्यै एउटै अनुहारका। पट्यारलाग्दो।
अहिले क्या मजा ! स्कुल नफेरे पनि वर्षैपिच्छे आफ्ना बच्चालाई भर्ना गररिहन पाइन्छ। कक्षैपिच्छे नयाँ भर्ना। भर्ना भएपिच्छे नयाँ नयाँ शीर्षकमा नयाँ नयाँ शुल्क विद्यालयलाई बुझाउन पाइन्छ। स्कुलहरूले बर्सेनि पाठ्यक्रम फेरेर पुस्तक व्यापारीलाई सुखी र समृद्ध बनाएजस्तै शुल्कका नयाँ नयाँ शीर्षक फुराएर अभिभावकलाई आनन्द दिन्छन्। वर्षैपिच्छे पाठ्यक्रम नयाँ, भर्ना नयाँ, शुल्क नयाँ, शिक्षकहरू नयाँ। विद्यार्थी र अभिभावकलाई पुरानै स्कुलले पनि सधैँ नयाँ र ताजा अनुभूति दिइरहन्छ। उहिलेजस्तो पट्यारलाग्दो अचेल छैन। रमाइलो छ।
राजधानीको एक स्कुलले एउटा आकर्षक शीर्षक फुराएर नगद संकलन गरेछ। 'क्यापिटलाइजेसन फि' अरे! कुरा ठीकै हो। स्कुलले आफ्नो 'क्यापिटल' बढाउन देशकै 'क्यापिटल'मा बस्ने जनतालाई विषेश सम्मान गरेछ। सरकारले नै लगाउनुपर्ने 'राजधानी शुल्क' एउटा प्राइभेट स्कुलले लगायो। सरकारलाई बाटो देखायो। त्यो स्कुललाई नयाँ शुल्कसूत्र पत्ता लगाएकामा पुरस्कृत गरिनुपर्छ, आलोचना होइन।
अभूतपूर्व रूपमा फस्टाएको स्कुल बिजनेसमा नयाँ नयाँ लगानीकर्ता भित्रिरहेका छन्। नयाँ नयाँ स्कुलले नयाँ नयाँ तरिका नअपनाए स्कुल उद्योग नचल्न पनि सक्छ। अभिभावकलाई आकषिर्त गर्न शुल्कमा पनि नयाँ नयाँ आयाम थप्नैपर्छ। कराँते शुल्क, पौडी शुल्क, लुँडो शुल्क, जुडो शुल्क, स्वास्थ्य परीक्षण शुल्क, खानेपानी शुल्क, शैक्षिक भ्रमण शुल्क, पिकनिक शुल्क, पुस्तकालय शुल्क इत्यादि शीर्षक थोत्रा भइसके। अब नयाँ ल्याउनुपर्छ। अब मन्थ्ली फि वा एनुअल फि मात्रै होइन, डेली फि र विक्ली फिको छुट्टै व्यवस्था गर्नुपर्छ। विद्यार्थीलाई नयाँ युगसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन र स्कुललाई सम्पन्न बनाउन ट्यालेन्ट सो फि, मिस स्कुल फि, मिसेस गुरुआमा फि, मिस्टर ह्यान्डसम सर आयोजना शुल्क, गुरुबा-गुरुआमा सन्तति छात्रवृत्ति शुल्क, चाडपर्व शुल्क, पेट्रोल-डिजेल शुल्क, बर्थ डे शुल्क, पिङ् शुल्क, चिप्लेटी शुल्क, शौचालय शुल्क, ढल तथा सेफ्टी ट्यांकी सफाइ शुल्कलगायत अनेक शुल्क लगाउनुपर्छ।
आफूले जीवनभरि शिक्षाका लागि गरेको खर्चभन्दा छोराछोरीले एकै महिनामा गरेको खर्च बढी हुनु आमाबाबुका लागि गौरवको कुरा हुनुपर्छ। त्यस बेला आफ्नो बिहे उत्रिएको खर्चले अहिले एक कक्षामा बच्चा भर्ना गर्न पनि नपुग हुने कुराले मनोरञ्जन लिएर स्वास्थ्य बलियो बनाउनुपर्छ। उहिले आईए, बीए पढिसकेपछि जागिर खाएर बल्लतल्ल पैसा फलाउन थालिन्थ्यो, अहिले हाम्रा छोराछोरी शिशु कक्षादेखि नै पैसा फलाउने नगदे बाली भएका छन्, सम्झेर आनन्दित हुनुपर्छ। हाम्रा छुनामुनाहरूले सहरका गल्लीगल्लीमा, गाउँका टोलटोलमा स्कुल नामका बढेबढे बिल्डिङ् ठड्याइदिएका छन्। असंख्य स्कुल बस, भ्यान र सञ्चालकहरूका लागि कारहरूको लस्कर लगाइदिएका छन्। हजारौँ लगानीकर्तालाई ठूला उद्यमीका रूपमा स्थापित गरििदएका छन्। हाम्रा लालावालाको यो महान् योगदानका लागि हामीले गौरव गर्नुपर्छ। हामीलाई यस्तो गौरवान्वित बनाउने हाम्रा निजी स्कुलहरूलाई धन्यवाद दिनुपर्छ।
साभार : नेपाल साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !