हाइवे जाम
पूर्व सभासद सदरुल मियाँ हकको हत्या भएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्न ढालिएको रुख। तस्बिर : सन्तोष यादव/रासस
‘तिमीहरु पत्रकारहरु भएर केही गर्न सक्दैनौँ ?’
एक्कासी फोनमा आक्रोशित आवाज सुनियो। कुरा के हो
ठम्याउनै सकिनँ सुरुमा त। आफन्तको आवाज रहेछ। ‘मसित बन्दूक भएको भए त हाइवे जाम गर्ने सबलाई गोली हानेर बरु जेल जान्थेँ होला’, आम्मै नि। कहिले हिंसाको कुरा नगर्ने यी दिदीलाई आज के भएछ ? ‘प्रधानमन्त्रीको नम्बर भए फोन गरेर साफ थर्काउँथे। यस्तो पनि हुन्छ?’ उनको एकोहोरो भडास निकाल्ने क्रम जारी थियो।पछि बल्ल थाहा भयो। दुई दिनदेखि लगातार सप्तरीको हाइवे जाममा परेका रहेछन् उनकी बूढी आमा, जो बिरामी पनि छिन्। हाइवेमा हजारौँ गाडीसँगै अलपत्र भएको खबर फोनबाट सुनेर असहाय हुनुको पीडा उनले मलाई फोनबाट पोखेकी रहिछिन्।
पूर्व सभासद् तथा मुस्लिम नेता सदरुल मियाँ हकको सोमबार राति अबेर घाँटी रेटेर विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्यो। त्यही हत्याको विरोधमा मंगलबार बिहानदेखि हाइवे चक्काजाम गरिएको थियो। सोमबार राति नै नारायणगढबाट हिँडेका रहेछन् आफन्त दिदीकी बूढी आमा। सिट नपाउला वा अप्ठेरो सिट पर्ला भन्ने डरले काठमाडौँदेखिको टिकट काटीकाटी। सप्तरीमा त्यो घटना भयो र जाममा पर्यो।
त्यहाँ त्यो गाडी मात्र हैन, हजारौँ सवारीसाधन बाटोमै थन्किए। विराटनगर, धरान, इटहरी, काँकडभिट्टा र काठमाडौँसहितका यात्रुहरू सप्तरीका विभिन्न ठाउँमा अलपत्र परे। हरेक बसका प्रत्येक यात्रुका आ-आफ्नै पीडा होलान्। यत्रो समयसम्म जाम गरेपछि यात्रुहरूलाई खान, बस्न समेत समस्या भयो।
ती यात्रुहरुले न ती पूर्व सभासदको हत्या गरेका थिए, न उनीहरुको केही दोष थियो यो घटनामा। उनीहरुको दोष हाइवेका यात्रु हुनुमात्रै थियो। उनीहरुलाई नै बन्धक बनाएर सरकारसँग माग पूरा गराउनु थियो उनीहरुलाई।
संवेदनशील घटना भएरै होला, प्रहरीले बल प्रयोग गरेर हाइवे खुलाउन चाहेन। बन्दकर्ताहरुले पनि हजारौँ यात्रुको दुःख र पीडालाई ध्यान दिएनन्। कति यात्रुहरुले उनीहरुलाई सरापे होलान्, त्यसको मतलब थिएन उनीहरुलाई।
सरकार त पूरै लाचार नै बन्यो। बरु निजी क्षेत्र सहयोगका लागि जुर्मुरायो। सप्तरी उद्योग वाणिज्य सङ्घ सप्तरीको अगुवाईमा कञ्चन युवा क्लबको पहलमा अलपत्र परेका यात्रुहरूलाई खाना र नास्ता खुवाइयो हिजो। करिब एक हजार यात्रुलाई उनीहरुले नास्ता र खाना खुवाए पाल टाँगेर।
गृह मन्त्रालयले हिजो राति विज्ञप्ति जारी गरी पूर्वसभासद् मियाँका आश्रित परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने र घटनाको न्यायिक छानबिन गर्ने बताइसकेको छ। यसैका लागि थियो यो सब काम। अब भने ती हजारौँ बन्धक यात्रुहरुलाई आज कुनै पनि बेला मुक्त गरिने होला। अथवा कुनै समूहको थप माग पो बाँकी छ कि ! केही भन्न सकिन्न। आखिर विधिले हैन बलले चलेको रहेछ देश।
यो ब्लग लेख्दालेख्दै ती दिदीकी भाइले ३५ घण्टासम्म हाइवेमा अलपत्र परेपछि बल्लबल्ल घर आइपुगेको स्टायटस फेसबुकमा लेखेको देखेँ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !