भारत टप टेनमा, चीन ११ नम्बरमा
विश्वमा सबैभन्दा बढी विमान दुर्घटना कहाँ हुने गरेको छ ? अहिले नेपालमा छापिएका समाचार र समाचार टिप्पणीहरु र गफहरु सुन्दा लाग्छ नेपालको आकाश विश्वकै सबैभन्दा असुरक्षित छ। यहाँ प्लेन चढ्यो कि दुर्घटना हुने सम्भावना हुन्छ। तर त्यसो हैन। यातायातका साधनमध्ये हवाई यात्रालाई नै सबैभन्दा सुरक्षित मानिन्छ विश्वैभर। त्यसैले विमान दुर्घटना ठूलो समाचार बन्छ र सबको ध्यान आकर्षित हुन्छ।विश्वका जुनसुकै कुनामा भएका विमान दुर्घटनाको पनि तथ्याङ्क राखिएको हुन्छ। यही तथ्याङ्कका आधारमा हेर्ने हो भने विश्वमा सबभन्दा असुरक्षित आकाश अमेरिकाको देखिन्छ। फ्लाइट सेफ्टी फाउन्डेसनले सन् १९४५ देखि राख्ने गरेको तथ्याङ्क अनुसार अहिलेसम्म सबैभन्दा बढी विमान दुर्घटना अमेरिकामा भएको छ। अमेरिकामा भएका ६८६ वटा दुर्घटनामा १० हजार २४५ जनाको मृत्यु भएको छ। प्लेन दुर्घटना हुँदा जमिनमा रहेका १२९ जनाको पनि मृत्यु भएको छ। यसमा सैनिक विमान दुर्घटना, कर्पोरेट जेट दुर्घटना वा विमान अपहरण आदिका घटना जोडिएका छैनन्। यात्रुवाहक विमान, त्यसमा पनि मान्छे मरेको दुर्घटनाको तथ्याङ्क मात्रै यसमा छ। ध्यान दिनुस्, फ्लाइट सेफ्टी फाउन्डेसनको एभिएसन सेफ्टी नेटवर्कले दुर्घटनाको संख्याको अभिलेखमात्र राख्ने गर्छ र यो ब्लगको आधार त्यही अभिलेख हो। नेपाललाई नकरात्मक रुपमा मात्रै देख्न चाहने कसैसित नेपालको आकाश विश्वकै खत्तम छ भन्ने भरपर्दो तथ्याङ्क भए तल कमेन्टमा सेयर गरे हुन्छ। यो ब्लग भएको तथ्याङ्कको आधारमा सबभन्दा बढी दुर्घटना कुन-कुन देशमा भएका छन् भन्ने जानकारी मात्र हो।
अमेरिकामा भएको विमान दुर्घटनाको संख्या दोस्रो स्थानमा रहेको रुसमा भएको दुर्घटनाको संख्याभन्दा दोब्बरभन्दा बढी छ। रुसमा आजसम्म २९९ वटा दुर्घटना भएका छन् भने त्यसमा मर्नेहरुको संख्या ६ हजार ८४२ छ। विमान दुर्घटना हुने क्रममा जमिनमा रहेका व्यक्तिहरु २१ जना मारिएका छन्। सन् १९९१ मा सोभियत संघ विघटन हुनुअघि भएका दुर्घटनाको तथ्याङ्कमा पनि रुसमा नै गाभिएको छ। विघटन हुनुअघि क्षेत्रफलको हिसाबले सोभियत संघ विश्वको सबैभन्दा ठूलो देश थियो।
तेस्रोमा ब्राजिल रहेको छ। त्यहाँ १६३ वटा दुर्घटना भएका छन्। त्यसमा २ हजार ६ सय २१ जना र जमिनमा रहेका ७० जनाको मृत्यु भएको छ।
जनसंख्याको हिसाबले विश्वको सबभन्दा ठूलो छिमेकी देश चीन बढी विमान दुर्घटना हुने देशको सूचिमा ११ औँ नम्बरमा पर्छ। छिमेकी देश भारत भने नौ नम्बरमा पर्छ। भारतमा ९१ र चीनमा ७२ दुर्घटना भएका छन्। भारत एसिया महादेशको सबैभन्दा बढी विमान दुर्घटना हुने सूचिमा दोस्रो नम्बरमा पर्छ। एसियामा सबैभन्दा बढी दुर्घटना इन्डोनेसियामा भएको छ। ९३ दुर्घटनासहित इन्डोनेसिया विश्वमा सबभन्दा बढी दुर्घटना हुनेको सूचिमा छैटौँ नम्बरमा पर्छ। एसियामा बढी दुर्घटना भएको देश फिलिपिन्स पनि हो। त्यहाँ ५८ दुर्घटना भएका छन्।
अहिलेसम्म कहाँ कति दुर्घटना भएको छ? तथ्याङ्क हेर्नुस् माथि फोटोमा -
नेपालमा कति दुर्घटना भएका छन् त ? एभिएसन सेफ्टी नेटवर्कको तथ्याङ्क अनुसार यहाँ मान्छे मर्ने गरी ३१ वटा दुर्घटना भएका छन्, जसमा ६ सय ८३ जनाको मृत्यु भएको छ। सन् १९९२ नेपालको हवाई इतिहासमा सबभन्दा कालो वर्ष हो। त्यो वर्ष जुलाईमा थाई एयरवेजको एयरबस दुर्घटना हुँदा ११३ जना र सेप्टेम्बरमा पीआइएको एयरबस दुर्घटना हुँदा १६७ जनाको मृत्यु भएको थियो।
देख्नु भो त, नेपालभन्दा धेरै असुरक्षित अरु देशका आकाश छन्। नेपालको हवाई यात्रा खत्तमै छ भनी जति प्रचार र हौवा खडा गरिएको छ, त्यो हैन। तर यसको अर्थ नेपाल निकै नै सुरक्षित छ भन्ने पनि हैन। दुर्घटनाका कारणहरुको राम्रोसँग छानबिन नगर्ने, विमान कम्पनीहरुको दोष भए लुकाउने, उडान सुरक्षाका पर्याप्त उपाय नअपनाउने हो भने नेपालको नाम पनि धेरै दुर्घटना हुने सूचिमा आउन धेरै पर्खनु पर्दैन। आकाश यात्राको नियामक संस्था नेपाल उड्ययन प्राधिकरण यसमा गम्भीर हुनु जरुरी छ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !