महिला हास्यकलाकारको क्रेज अचम्म लाग्ने गरी बढेको छ।
पछिल्लो समय स्टेज कार्यक्रमको सहभागिता तथा टेलिभिजनबाट प्रसारण भएका हास्यश्रृंखलालाई आधार मान्ने हो भने दीपाश्री निरौला, कुञ्जना घिमिरे, सविता गुरुङ, अन्जु महर्जन तथा पल्पसा डंगोल अहिले सबैभन्दा बिकाउ महिला हास्यकलाकारका रूपमा स्थापित छन्। उनीहरू नै अहिलेका व्यस्त र लोकप्रिय महिला हास्य कलाकार हुन्।
'मेरी बास्सै' श्रृंखलाका निर्देशक सीताराम कट्टेल अर्थात धुर्मुससँग विवाह गर्नुअघि नै कुञ्जना घिमिरे अर्थात् सुन्तलीले लाखौं दर्शकको मन जितिसकेकी थिइन्। स्कुले जीवनमा आकर्षक नृत्य गरेर धेरैको मन जितेकी कुञ्जनाले एसएलसी दिने बेलासम्म नेपालको नम्बर एक नायिका बन्ने लक्ष्य लिएकी थिइन्। 'जसरी भए पनि नायिका नै बन्छु भन्ने निर्णय गरेकी थिएँ,' कुञ्जना भन्छिन्— 'तर मेरो कर्म हास्यकलाकारितामा रहेछ। आज हास्यकलाकारका रूपमा लोकप्रिय हुन पाउँदा मेरा सबै सपना पूरा भएका छन्।' देशका विभिन्न स्थानमा आयोजना हुने महोत्सवमा धुर्मुस र सुन्तली पहिलो रोजाइमा पर्छन्। 'धुर्मुसलाई बो लाउनेले सुन्तलीलाई छुटाउने कुरै आउँदैन नि,' श्रीमान्को साथ र सहयोगको एक प्रसंगमा सुन्तलीले भनिन्— 'विवाह गरेपछि महिला कलाकारको माग घट्छ भन्थे, तर म त विवाहपछि अझ लोकप्रिय भएकी छु।'
प्रहरी निरीक्षकबाट एक महिनाअघि मात्र रिटायर्ड भएकी सविता गुरुङ करिब तीन दशकअघि पोखराको डाँफे कला मन्दिरले पोखरामै आयोजना गरेको एउटा नाटकमा अभिनय नगरेको भए आज हास्यकलाकारका रूपमा चिनिने कुरामा आशंका व्यक्त गर्छिन्। 'नाटकमा अभिनय गर्दै अघि नबढेको भए म त प्रहरी सेवामा मात्र हुन्थें,' सविता भन्छिन्— 'हास्य कलाकारिताले मेरो जीवनको गति नै परिवर्तन गरिदिएको छ।' जितु नेपाल र शिवहरि पौडेललाई विशेष धन्यवाद दिँदै सविताले हास्यश्रृंखला 'जीरे -खुर्सानी' मार्फत बनेको आफ्नो क्रेज जीवनकै सबैभन्दा ठूलो उपलब्धि भएको बताइन्। 'म एयरपोर्टको ड्युटीमा भएका बेला मह (मदनकृष्ण-हरिवंश) जोडी अमेरिकाको भ्रमणमा गएको देखेकी थिएँ। त्यतिबेला म स-साना भूमिका निर्वाह गर्ने सामान्य कलाकार थिएँ। महजोडीसँग कहिले सँगै अभिनय गर्न पाइएला भन्ने सोच्थेँ, सविताले विगत खोतल्दै भनिन्— 'सन्तोष पन्त दाइको 'मितबा' मा मेरो अभिनय हेरेपछि महदाइले टेलिश्रृंखला 'लालपुर्जा' मा अभिनय गर्न बोलाउनुभयो। उहाँहरूको त्यो निमन्त्रणा र उहाँहरूसँगै लालपुर्जामा गरेको अभिनय म जीवनभर बिर्सन सक्दिनँ।'
पल्पसा डंगोल सानैदेखि नृत्यमा पारंगत थिइन्। काठमाडौंनजिकैको किर्तिपुरमा हुर्किएकी पल्पसा भविष्यमा कुशल नृत्यांगना बनेर आफ्नो नाम राख्ने सपना देख्थिन्। उनको नृत्य हेरेर आहा ! नभन्ने कमै हुन्थे। त्यही क्रममा उनलाई सन् १९९५ मा आयोजना हुन लागेको दोस्रो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउन मन लाग्यो। उनले कीर्तिपुरबाट काठमाडौं आएर मिस नेपालका लागि आवेदन दिइन्। त्यतिबेला सयभन्दा बढी युवतीले आवदेन दिएका थिए। पल्पसा भन्छिन्— 'अन्तर्वार्ता भएको भोलिपल्ट 'तिमी मिस नेपाल प्रतियोगिताका लागि छनौट भयौ' भन्ने खबर पाएको दिन म अहिले पनि बिर्सन सक्दिनँ।' मिस नेपालको सहभागितालाई नै ऐतिहासिक उपलब्धि मानिरहेका बेला पल्पसाले उक्त प्रतियोगितामा मिस बेस्ट डे्रसको उपाधिसमेत जितिन्। उनले लगाएको नेवारी पहिरन उत्कृष्ट भएको थियो। 'त्यसपछि मेरो जीवनले नयाँ गति लियो, म नृत्यबाट अभिनयतर्फ आकषिर्त भएँ,' पल्पसा भन्छिन्— 'अहिले चम्सुरी (मेरी बास्सैमा उनी धुर्मुसकी सासूका रूपमा लोकप्रिय छिन्) का रूपमा लोकप्रिय भएको देख्दा कहिलकाहीं आफैंलाई आफूप्रति विश्वास लाग्दैन।' स्टेज कार्यक्रममा समेत पल्पसाको प्रस्तुति निकै जम्ने दर्शकहरूको प्रतिक्रिया छ। पछिल्लो समय उनले अर्की हास्यकलाकार अञ्जु महर्जन (हात्ती) सँग जोडी बनाएर महोत्सवमार्फत दर्शकहरूलाई हँसाइरहेकी छिन्।
महिलाहरू प्रायः स्लिम शरीर मन पराउँछन्। अञ्जु महर्जनका लागि भने मोटो शरीर नै फलदायी सावित भएको छ। उनी मो टो शरीरकै कारण कला क्षेत्रमा 'मोटी' तथा 'हात्ती' को उपनामले चर्चित छिन्। 'जीरे खुर्सानी' श्रृंखलाले उनलाई लोकप्रिय बनाएको छ। स्टेज कार्यक्रममा पनि उनी उत्तिकै जम्छिन्। पल्पसा डंगोलसँगको अञ्जुको जोडी अहिले चर्चामा छ। 'नाम, दाम, लोकप्रियता सबै कुरा यही हास्य कलाकारिताले दिएको छ,' अञ्जु भन्छिन्— 'हास्यकलाकारले पनि यत्तिको इज्जत पाउँछन् भन्ने कुरा मैले विगतमा कल्पनासमेत गरेको थिइन्।'
---साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !