पोखरा ,वेगनास तालमा पानी हाँस उडिरहेका छन् । हेर्दा पोखरा सुन्दर र कलात्मक छ । गहिरिएर हेर्ने हो भने वेगनाश तालमा जटा फिँजाएका जलकुम्भी देखिनेछन् । कैयौँ मानिसका जीवनका सङ्ला तालमा पनि यस्तै जलकुम्भी भरिएका छन् । शान्ता परियार पनि एक हुन् । उनकी १८ वषर्ीय छोरी छन्- पिङ्की । पिङ्कीका ओठबाहेक शरीरका कुनै पनि अङ्ग चल्दैनन् । ओठ पनि चराको प्वाँखझैं काँपिरहन्छन् । शरीर पनि दुईवर्षे बालिककाको जत्रो । र, शान्ताको आँसु र कहिलेकाहीं
ओठमा फक्रने मुस्कान पिङ्कीकै नाममा नामसारी भएको छ ।
मन्दिर होस् या चोक । कुनै संस्थाले उपलब्ध गराइदिएको ह्विलचेयरमा पिङ्कीलाई राखेर शान्ता 'भीख' माग्छिन् । कहिले दुई सय कमाउँछिन्, कहिले तीन सय । १८ वर्षदेखि दिन उही आँसुमा उदाइरहेको थियो र उही आँसुमा अस्ताइरहेको थियो ।
तर, आजको दिन अलिकति फरक थियो ।
शान्ता दिउँसो १ बजेतिर डेरा फर्केकी थिइन् । उनको डेरामा पाहुना आएका थिए । उनको एककोठे डेरामा एउटा ग्यास, दुइटा पलङ्, सँगै राखिएका भगवान् र हिन्दी सिनेमाका हिरोइनका पोस्टर र थिए- थोत्रा र मैलिएका सिरानी । सानो र थोत्रो टीभी थियो । उनले टीभीमा हेरिरहने नायक उनकै अघि थिए । उनको दुख्ख देखेर हरिवंश आचार्य फुत्त बाहिर निस्केका हुन् ।
हरिवंशले भने, 'म आज तपाईंको कथा सुन्न आएको ।'
उनले पहिला आँसु पुछिन् । पिङ्की जन्मिँदा १ घन्टासम्म रोइनन् । त्यो एउटा अपसकुन थियो । जब अलिकति हुर्किन् । पिङ्कीका बाले भने, 'यो मेरी छोरी होइन ।' थाहा भइसकेको थियो, पिङ्कीसँगै अपाङ्गता हुर्किरहेको छ ।
पिङ्कीका बा घर छाडेर भागे । आमा समूहले खोजेर ल्याए । फेरि उनी भागे । त्यसपछि उनी घर फर्केका छैनन् । पोखरामा कतै बस्छन् । नयाँ विवाह पनि गरेका छन् । 'त्यो त्यस्तै हो ।' शान्ताले आँसु पुछिन्, 'त्यसले रुवाउनु रुवायो ।'
पिङ्कीका अंगहरू नबढे पनि उनको हृदय त बढेकै छ । उनी आमाको दुख्ख देखेर रुन्छिन् । तनक्क तन्किन्छन् । उनको मुखबाट बिरालो रोएजस्तो आवाज निस्किन्छ । उनका आँखाहरू डम्म भरिन्छन् ।
शान्ताको जीवन पिङ्कीमै समर्पित छ । अरू छोरा र छोरी त छन्, तिनीहरूसित हात पाखुरा र आवाज पनि छ । शान्तालाई तिनको चिन्ता छैन- केवल चिन्ता छ पिङ्कीको । पिङ्कीको उपचार पनि भइरहेको थियो तर अलिकति बलिया भएका पिङ्कीका गोडा तीनपल्ट भाँच्चिए । अब शान्तालाई विश्वास छैन, पिङ्की हिँड्न सक्लिन् भनेर । पिङ्की केवल मासुको डल्लोझैँ पल्टिरहने छिन् । उनको दिसा पिसाब देहमै लत्पतिनेछ ।
'सर, कहिलेकाहीं सपनामा म पिङ्कीले हिँडेको, हाँसेको, नाँचेको र दगुरेको देख्छु,' शान्ता भक्कानिइन्, 'झस्केर उठ्छु । हेर्छु । पिङ्कीलाई उस्तै देख्छु । अनि, खुब रुन्छु सर ।'
'अब के गर्नुहुन्छ ?' हरिवंशले आँसु लुकाए ।
'खोइ सर । संघर्ष गर्छु । लड्छु । यदि अब सक्दिनँजस्तो लाग्यो भने... ।' शान्ताका आँसु बर्बरी खसे, 'अब सक्दिनँजस्तो लाग्यो भने आफू पनि मर्छु, यसलाई पनि मार्छु ।'
हरिवंशले आँसु थाम्न सकेनन् ।
उनी बाहिर निस्किए । उनको अनुहार रातो थियो । एउटा गहिरो उदासीमा डुबिरहेका थिए ।
उनले ढोकाबाहिर उभिएकी आफ्नी श्रीमतीका हात समाएर भने, 'हाम्रा दुख्ख त क्यै रैनछन् । अब हामी कहिल्यै दुःखी नहुने ल ।'
आफ्नो विगत, आफ्नो कथा र आफ्नो पीडाले दुःखी नहुने भने पनि टीभी नायक उर्फ हरिवंश आचार्य पन्ध्रदिने यात्रामा धेरैपल्ट दुःखी भए । धेरैपल्ट उनका आँखा टिल्पिलाए । गला अवरुद्ध भयो । अरूको कथा सुनेर ।
मलाई पनि लाग्यो- संसार माटो, पानी, आगो र बतासले मात्र नभएर मानिसका 'कथा'हरूले पनि बनेको हुने रैछ ।
एन्टेना फाउन्डेसनले यस्ता कथाहरू सुन्ने मौका मिलाइदिएको हो । र, असारको कुनै साता दर्शकले टेलिभिजनबाट कथाहरू सुन्न र हेर्न पाउनेछन् । र, दर्शकले हरिवंश गाउँ गाउँमा पुगेको, दुख्खका कथा सुनेको र टिलपिल आँसु निकालेको देख्नेछन् । कति मानिसका कथा यत्ति दुख्ख लाग्दा हुनेछन् कि जीवनले तिनीहरूमाथि 'हाँस्य' र 'व्यंग' गरेझैं लाग्नेछ ।
टीभीबाट बाहिर निस्केर सुरु भएको हरिवंशको यात्रा बल्ल त सुरु भएको छ ।
तनहुँ
ढोरफिर्दी पुग्दा उनी घरमा थिइनन् । हजुरआमा भान्सामा थिइन् । धूवाँ पुत्ताइरहेको थियो । हरिवंश सुस्मिता रानालाई खोज्दै थिए । हजुरआमाले भनिन्, 'सुस्मिता घट्ट गाके छे ।'
'आमा हामी उनको कथा सुन्न आको,' हरिवंशले भने ।
उनी सुस्मितालाई खोज्न ओरालोतिर दुगुरिन्, जहाँबाट उक्लेर हरिवंश आएका थिए । घर सानो थियो । माटोले लिपेको । पिँढीमा दाना खोल्स्याउन राखेका मकैमा धुम थिए ।
एक्कैछिनमा हजुरआमा आइन् र आइन् सुस्मिता ।
सुस्मिता बल्ल १३ वर्षकी भइन् । तर, उनले तेह्रजुनीको दुख्ख पाइसकेकी रैछिन् । १ महिना भयो उनी मामाघर आएको । मामाघरमा आउँदा धेरै नानीहरू उत्साह र उमंग बोकेर आउँछन्- तर सुस्मिता दुख्ख पोकापोकी बोकेर मामाघर आइन् ।
'किन आएको मामाघर ?' हरिवंशले सोधे ।
'सौतेनी आमाले दुख्ख दिएर,' सुस्मिताले सानो स्वरमा भनिन् ।
'कस्तो दुख्ख ?'
सुस्मिताको घर खासमा जिरीबास हो । सौता ल्याएपछि सुस्मिताकी आमाले पिटाइ खाइरहिन् ।
'तँ त मेरो भकुन्डो होस्,' भन्दै पिट्थे । त्यै भएर आमा भागेकी हुन्- सुस्मितालाई लाग्छ ।
आमा भागेपछि सुस्मिता घरमा एक्लै भइन् । सौतेनी आमाले दुख्ख दिन थालिन् । अरबतिर रोजगार रहेका बाबुले सुस्मितालाई कहिल्यै उपहार ल्याइदिएनन् । आउँदा पनि पिट्थे, जाँदा पनि पिट्थे ।
सुस्मिताले साह्रै दुख्ख पाई भनेर हजुरआमाले घरमै ल्याएर राखिन् । तर, सुस्मिताका बाले धम्की दिन थाले, 'अब म तिमेरुलाई बराहथानमा लगेर खसी काटेझैं काट्छु ।'
आखिरमा सुस्मिताका बाले गाविस गुहारे । गाविसले पनि सुस्मितालाई घर जाने आदेश दियो ।
सुस्मितालाई घर लगेर बेस्मारी कुटेपछि बाबु अरब गए ।
सुस्मिताको पहिलो रजस्वला भइसकेको थियो । दोस्रो भएन । अनि त सौतेनी आमाले गाउँ नै उचालिन् ।
सुस्मिताले भनिन्, 'म ब्याउने भएँ भनेर समाज बोलाइन् ।'
त्यही गाउँको एउटा केटालाई दोषी बनाइयो । उसले पनि 'मैले क्यै गरेकै छैन । म ब्या गर्दिनँ' भन्यो । तर, कसैले मानेन ।
हस्पिटलमा चेक गराउँदा डाक्टरले पनि सुस्मिताको पेटमा ४ महिनाको बच्चा छ भनिदिएछ ।
त्यसपछि समाजको बैठक बस्यो । समाजले आरोप लागेको केटालाई धम्की दियो, 'कि त एक लाख तिर । कि त बिहे गर ।'
आखिरमा जबरजस्ती सुस्मितालाई समाजले नै केटाको घरमा हुलिदियो । अहिले पनि सुस्मिताका आँखाका चेप रसाउँछन् । उनी अवरुद्ध गलामा भन्छिन्, 'त्यो केटा मेरो दाइजस्तै थियो ।'
एकदिन सुस्मिता भागिन् । पुलिस चौकी पुगिन् । सबै कथा सुनाइन् । पोखरामा मेडिकल चेक गर्दा उनको पेटमा बच्चा नै रहेनछ ।
'तिम्रो पेटमा बच्चा छ भन्ने डाक्टर त साह्रै खराब रैछ है,' हरिवंशको आवाजमा पीडा मिसियो ।
'अँ,' सुस्मिता टोलाइन् ।
'अनि के भो ?'
'पुलिसले सौतेनी आमालाई बोलाएर ३ लाख रुपियाँ जरिवाना तिर्न भन्यो ।'
'पायौ त ?'
'छैन ।'
हरिवंश एकछिन टोलाए र सोधे, 'अब के गछ्र्यौ ?'
'धेरै पढ्छु,' सुस्मिताका ओठ काँपे, 'सप्पैलाई पढेर देखाइदिन्छु र ईख मार्छु ।'
'धेरै पढेर ठूलो मान्छे भयौ भने तिम्रा बा र सौतेनी आमालाई माफ गरिदिन्छ्यौ ?'
'खै ।' सुस्मिता एकछिन चुप रहिन्, 'अहँ गर्दिनँ । तिनेरुले गर्दा त मैले यत्ति दुख्ख पाएँ ।'
सुस्मिताले आफ्नै बाबाट पाएको त्रास अझैं भुलेकी छैनन् । बाका शब्दहरू उनको कानमा अझैं गुन्जिन्छन्, 'पख्, एकातिर ज्यान, एकातिर टाउको हुँदा थाहा पाउलिस् ।'
सुस्मिताको कथा सुनेर फर्किंदा रात परिसकेको थियो । हरिवंशका कानमा सुस्मिताका शब्दहरू गुन्जिरहेका थिए । यस्तै अँध्यारोमा डराउँदा साना नानीहरू आफ्नै पिताको काख खोज्छन् तर सुस्मिताको जीवनमा त पिताले नै रात पारिदिएका थिए ।
बर्दिया
गुलरियामा शिवा हासमीलाई जिउँदै जलाइयो । हरिवंश त्यो टोलमा पुग्दा जताततै आतङ्क फैलिएको थियो । र, शिवालाई दुई घन्टाअघि मात्रै मृत घोषणा गरिएको थियो । शिवाले हाँस्दै दगुरेका गल्लीहरू मौन थिए । चिया पसलमा गाउँले गुनगुन गफ गरिरहेका थिए ।
'शिवा साह्रै सुन्दर थिइन्,' मानिसहरू भनिरहेका थिए ।
भारतीय च्यानल बढी हेर्ने भएकाले होला हरिवंशलाई धेरैले चिन्दैनथे तर पनि क्यामेरा बोकेर आएको अग्लो, ठूलो भुँडी भएको व्यक्ति ठूलै मानिस हुनुपर्छ- धेरैको अड्कल थियो । त्यसैले उनीहरू आगो लगाएको यहीँनेर हो, उसले आगोमा जल्दै हाम फालेको पानी जमेको खाल्टो यहींनेर हो- भन्दै देखाइरहेका थिए ।
शिवाको हत्या कसले गरेको हो ? रहस्य भरिएको थियो । तैपनि, शिवाका साथीहरू घरबाट बाहिर निस्केका थिएनन् । उनीहरूले थोत्रो घरको अँध्यारो कोठामा भने, 'अब त हामीलाई बाहिर निस्कन पनि डर लागिरहेको छ ।'
एउटी भर्खरै सुन्दर सपना बुन्ने उमेरमा पुगेकी केटी हुर्रहुरती जलिन् । उनको जीवन, सपना र रहर एक्कैछिनमा खरानी भयो । आफूलाई जलाइनुअघिको रात उनले कस्तो सपना देखेकी थिइन् होला ?
आतङ्कित गाउँबाट निस्किएर हरिवंशले गाडीको सिटमा बसेर अघिल्लो सिटमा धेरै बेर निधार टेकाएर घोप्टो परिरहे । आँखा चिम्लिरहे । बोलेनन् ।
शिवाले अस्ति भर्खरै हिँडेको बाटो हुँदै गाडी हुइँकियो ।
शिवाको जिउँदो शरीरबाट निस्किएको धूवाँले भरिएको गाउँबाट अल्लिपर थियो निशा चौधरीको गाउँ ।
भर्खरै सूर्य गुलरियाका बाँसघारीमा खसेर हराएको थियो । तैपनि, मधुरो उज्यालोमा तोरीबारी सुनझैं टल्किरहेको थियो । निशा बस्ने घर एकतले थियो । माटोले लिपेको । दुब्लो कायाकी निशा दुई घन्टादेखि आफ्नो कथा सुनाउन हरिवंशलाई कुरिरहेकी थिइन् । आँगनमा दुइटा पिर्कामाथि बसेर हरिवंश र निशा आमनेसामने भए ।
'मेरा मातापिता टिकापुरमा कमैया थिए । म त्यही कम्लरी भएँ । आफू त कमैया भइयो, भइयो छोरीलाई पढाउनुपर्छ भन्ने बाआमाको सपना थियो । हाम्रा जमिनदार पनि छोरीलाई पढाउ भनिरहन्थे । तर, बुबासित पैसा थिएन । जमिनदारले नै मलाई हाम्रै गाउँको करुणा स्कुलमा निःशुल्क पढ्ने व्यवस्था गरिदिए । स्कुलमा त केवल फिसमात्र निःशुल्क थियो- डे्रस, जुत्ता र टाई पनि त चाहियो । डे्रसका लागि बुबाले जमिनदारसित रिन लिनुभयो ।
मैले रामरी पढ्दै गएँ । त्यसपछि टिकापुरको सप्तऋषि स्कुलमा निःशुल्क पढ्ने मौका पाएँ । ०५९ सालमा एसएलसी पनि पास गरें । बाआमाको खुसीको सीमा नै रहेन तर खुसी धेरै दिनको थिएन ।
क्याम्पस भर्ना हुन मसित फी पनि भएन । मलाई केवल ५ हजार रुपैयाँको आवश्यकता थियो । बाले धेरैसित ऋण माग्नु भो, तर कसैले दिएन । बुबा धान दिउँला, तोरी दिउँला भनेर ऋण माग्न जानुहुन्थ्यो तर साँझ निराश निराश फर्किनुहुन्थ्यो । बुबा थाक्नुभो र मेरो क्याम्पस जाने सपना पनि थाक्यो ।
०५९ सालमै हामी सुकुम्बासी टोलमा बस्न थाल्यौं । त्यसैताका बुबा पनि बित्नुभो । दुईजना सानासाना भाइ र आमाको जिम्मेवारी मैमाथि आइलाग्यो । आमा र म बिहानै कामको खोजीमा टाढाटाढा जान्थ्यौं । धान रोप्ने, धान काट्ने, गिट्टी कुट्ने काम गथ्र्यो । किताब समाएर ज्ञान आर्जन गर्ने मेरा हात पटपटी फुटिसकेका थिए ।
बेलाबेला जागिर पनि खोज्थे तर एसएलसीमात्र पास गरेकोलाई कसले दिने जागिर ? म हतास भइसकेकी थिएँ । एकदिन मैले एउटा एनजीओको काम पाएँ । गाउँगाउँ हिँड्नुपथ्र्यो र दिनको सय रुपियाँ पाइन्थ्यो । यसरी मैले सय सय रुपियाँ गरेर क्याम्पसको फी जम्मा गरे ।
त्यसबेला पढ्नुबाहेक मेरो दिमागका अरू केही थिएन । मैले खुब पढें । किनभने, मसित फेल हुने अप्सन थिएन ।
अहिले म बीबीएस थर्ड इयरमा पढ्छु । जेटीए पनि भएकी छु । भाइहरूलाई पनि पढाएकी छु । म सोचिरहन्छु- भाग्यको पछाडि लागेको भए, म यहाँ आइपुग्थिनँ, म कर्मले आएँ ।
तर, अहिले पनि पुरानो कुरा सम्भिmँदा भक्कानो फुट्छ । सर, ५ हजार रुपियाँ नभएकाले म ५ वर्षसम्म क्याम्पस जान सकिनँ । ५ हजार रुपियाँले मेरो जीवनको पाँच वर्ष खाइदियो ।
हरिवंश एकछिन टोलाए । र सोधे, 'अहिले कस्तो लाग्छ ?'
'मेरा बुबा मलाई त्ाँ मेरो छोरा होस् भन्नुहुन्थ्यो । परिस्थितिले पनि मलाई छोरा मान्छेझैं बनायो ।' निशाको आवाज मलीन भयो, 'तर, मेरो सफलता हेर्न बुबा हुनुहुन्न ।'
जीवनमा सफल भएर मात्र पनि त नहुने रैछ । आफ्नो सफलतामा खुसीका आँसु बगाउनेहरू साथमा भए पो- सफलताको मज्जा हुने रैछ ।
निशाको कथा साँच्चै प्रेरणादायी थियो । गाढा अध्याँरोमा पर... टिलपिलाइरहेको बत्तीजस्तो । जसरी गुलरियाको अँध्यारोमा बत्ती टिलपिलाइरहेको छ ।
'मैले धेरैपल्ट जाँडरक्सी खाँदा कैयौं ५ हजारहरू खेर फालेको छु ।' उदास स्वरमा हरिवंशले भने, 'ती ५ हजारको माया अहिले लागेर आयो । त्यत्तिकै खेर जाने ५ हजारले कसैको जीवन नै परिवर्तन गरिदिन सक्ने रैछ ।'
निशाको मलीन अनुहारलाई छाडेर गाढा अँध्यारो चिर्दै फर्किंदा हरिवंशको हृदयमा अझै निशाका शब्दहरू गुन्जिरहेका रैछन् । उनले भने, 'अहिले समय निशाको पक्षमा छ । आफ्नो खेत नभएका कारण कम्लरी बनेकी निशा अहिले जेटीए भएकी छन् ।'
समयको के कुरा ? त्यसले धनगढीमा कसैको जीवनको उज्यालो सूर्य फुत्त चुँडेर खल्तीमा हालेको छ ।
धनगढी
धनगढीमा सबैको शिरमाथि सूर्य झुन्डिएको छ । तर, एउटा शिरमा छैन । उनी अहिले तारानगरमा बस्छिन् तर उनको आकाशबाट ताराहरू हराएका छन् । सपना, रहर र कलिलो यौवन आफ्नै मितबाले लुटिदिएका छन् । र, उनको नाम पनि कापीका पानाहरूबाट मेटिएका छन् ।
उनी १४ वर्षकी मात्रै थिइन् । रजस्वला पनि भएको थिएन । सपनाको गलबन्दी बुन्दै थिइन् तर एउटा घटना भयो । र उनको सपनाको गलबन्दी अधुरै रह्यो । धनगढी छेउमै उनको घर थियो । र, घर छेउमै उनको नयाँ घर बनिरहेको थियो ।
आमा प्रायः चुपचाप रहन्थिन् भने बा सधैं रक्सी खाएर मितलाई अंगालो मारेर हिँडिरहन्थे । उनलाई मितबा पनि असलै लाग्थे ।
एकदिन उनका बाले 'तँ आज नयाँ घरमा सुत्' भनेर आदेश दिए । नयाँ घरमा त झ्याल पनि थिएन । उनी डराइन्, म सुत्दिनँ भनिन् तर बाको हुंकार अगाडि उनको केही लागेन ।
राति झ्यालबाट मितबा भित्र पसे । बाघले मृगको गर्दन समाएझैं मितबाले उनको गर्दन समाए । उनलाई ओछ्यानमा पछारे र गुह्रंगो पहाडझैं चेपिरहे । उनी बलात्कृत भइन् । मितबा झ्यालबाट हाम्फालेर अँध्यारोमा हराए ।
उनी रोइरहिन् ।
उनलाई लाग्यो घरमा मेरो कुरा कसैले पत्याउँदैन । यदि मैले भनिहालें भने पनि सप्पैले दोष मलाई नै दिनेछन् । उनले आँसु पिउँदै पीडा सहिन्, कसैलाई भनिनन् ।
उनको पेट बढ्दै जान थाल्यो । उनी स्कुले ड्रेसले पेट छोप्थिन् । वाकवाकी लाग्ने र रिङ्गटा चल्ने कहिल्यै भएन । त्यसैले धेरैले थाहा पाएनन् । तर, महिना बढ्दै गएपछि उनको पेट असहज तरिकाले दुख्न थाल्यो ।
पेट दुख्दै जान थालेपछि, उनको सातो गयो । उनी समस्याको माकुरे जालोमा जेलिँदै गएकी थिइन् । मुक्तिको एउटै उपाय थियो, आत्महत्या ।
दीपायलको सेती नदीमा हामफालेर मर्छु भनेर उनी बस चढिन् । बाटोमा कन्डक्टरले भाडा माग्यो तर उनीसित भाडा थिएन । उनले कन्डक्टरलाई सबै कुरा भनिदिइन् । कन्डक्टरले पुलिसको जिम्मा लगाइदियो । पुलिसले उनलाई होटलमा राखेर घरमा खबर पठायो । उनले होटलमै बच्चा जन्माइन् । छोरो भएछ ।
पुलिसले मितबाका विरुद्धमा मुद्दा हाल भन्यो । तर, उनका बाले कुरा मिलाउने तयारी गरे । मितबाले ३ लाख दिन्छु, मिलम् भने ।
कुरालाई गुपचुप राख्नुपर्छ भनेर उनीमाथि दबाब दिन थालियो । तर, उनकी दिदीले मानिनन् । आखिर उनले मुद्दा दिने अठोट गरिन्् तर उनका बाले मुद्दाको कागजमा हस्ताक्षरै गरेनन् । उनका पिताले उनलाई न त माया दिए न त स्नेह । आखिरमा एउटा हस्ताक्षर पनि दिएनन् । फन्किएर हिँडे ।
उनकी दिदीले हस्ताक्षर गरिदिइन् ।
मितबा जेल गए ।
एउटा अध्याय सक्किसकेको थियो । उनी झल्यास्स भइन् । नौ कक्षाको परीक्षा पो आउन थालेको छ । उनी स्कुल गइन् तर उनले त परीक्षै दिन नपाउने रे । उनको खबर सुनिसकेका हेडसरले उनको नाम स्कुलको रजिस्टरबाट मेटिदिएका रैछन् । हेडसरले स्कुलबाट मात्र होइन, जीवनको सारा युद्धबाटै रेस्टिकेट गरिदिएछन् ।
न त स्कुल न त घर । उनी धनगढी आइन् । एउटा डेरामा बस्न थालिन् । उनका बा उनलाई भेट्न कहिल्यै आएनन् । आमाले पनि उनकोतिर आउन छाडेको धेरै भइसकेको छ । एउटा काखे बच्चा, अँध्यारो भविष्य, सबैतिरबाट अपहेलित भइन् । उनीसित दुख्खमा साथ दिने आँसु पनि रहेन ।
'बच्चा कहाँ छ ?' हरिवंशका आँखाका चेप रसाए ।
उनले मलीन स्वरमा भनिन्, 'बच्चा अरूलाई नै दिइसकें । ५ महिनाअघि । पैलापैला माया लाग्थ्यो, त्यसको । अब त्यस्तो लाग्दैन । जीवनमा फेरि त्योसित भेट हुँदैन कि ।'
'अब के गर्नुहुन्छ ?'
'ठेलामा चाउचाउ र चाउमिन बेचेर पैसा जम्मा गर्दै छु,' उनले भनिन्, 'अब पढ्छु ।'
'पढ्नुस्,' हरिवंशले एउटा उदास शून्यता तोड्ने कोसिस गरे, 'पढेर असल केटासित बिहे गर्नुस् ।'
उनी खिस्स हाँसिन्, 'खोइ, मलाई त कसैको विश्वास लाग्दैन ।'
'किन त्यस्तो लागेको ?'
'म बलात्कारमा पर्दा मेरै बाले न्याय दिएनन् । अरूको के कुरा ।'
त्यसपछि लामो शून्यता छायो । त्यही शून्यता बोकेर हरिवंश धनगढीको सडकमा हिँडिरहे ।
'उसको के दोष ?' उनी बर्बराइरहे, 'उसले सानै उमेरमा धेरै कुरा भोगिसकी । मेरो हृदयले ढाँटेको होइन भने उसले संसारकै सबैभन्दा असल लोग्ने पाउँछे । हेर्नु ।'
अछाम
हेर्नलाई सुन्दर थिए- डडेल्धुराका ताराहरू । रातको साढे ९ बजिसकेको थियो । पर... घरमा बलेका बत्ती र आकाशका ताराहरू एकै ठाउँमा गाँसिएजस्ता देखिएका थिए । धूलो र धूवाँविहीन डढेल्धुराको आकाश मनमोहक थियो ।
बिहानै कलिला प्रकाशका धार फालिरहेको सूर्य निन्याउरो देखियो । चिसो स्याँठ चलिरहेको थियो । हरिवंशका कान चिसा भए । उनले उनी टोपी किने । र, यसरी कान छोपे, मानौ, उनी चिसोलेभन्दा पनि अझैं सुन्नुपर्ने कथाले चिसिएका छन् ।
डढेल्धुराबाट डोटी, डोटीबाट अछाम जिप कुदिरहेको थियो । साँफेबगर पुग्दा फेरि ताराहरू स्वागत गर्न आइरहेका थिए ।
सुन्दर ताराहरूले जत्ति मन हर्न खोजे पनि हरिवंशको मन तिनै कथाले हरिरहेका थिए, जुन उनले सुनिसकेका थिए । र, साँफेबगरका बिक्रम आउजीको कथा पनि उनको हृदयमा थपिनेवाला थियो ।
बिहान करिब आधा घन्टा उकालो उक्लेपछि देखियो- बिक्रम आउजीको घर । नौलाकोट गाविसमा ।
नौलाकोटबाट साँफेबगरको हरियो फाँट देखिन्थ्यो । नौलाकोटमा थियो प्रकृतिको सुन्दरता र सँगै थियो बिक्रमको मुटु दुखाउने कथा पनि ।
१६ वर्षे खिरिलो ज्यान । कलिलो मुस्कानधारी बिक्रम कालो ढाकाटोपी लगाएर देखाइरहेका थिए- साना खेतहरू जहाँ उनले काउली, खुर्सानी र लसुन रोपेका छन् । दुई कठ्ठा जमिन अर्कैको हो । र, सानो घर पनि अर्कैको जमिनमा बनेको हो ।
'अर्काले गर खा भनेर देको हो सर,' उनले भने, 'छाडेर जा भनेका दिन म सडकमा हुन्छु ।' बिक्रम एक्कै भए त त्यति डराउँदैनथे, उनको साथमा छन् १४ वर्षे बहिनी । जसको जिम्मेवारी उनको सानो काँधमा आइपुगेको छ ।
'बैनी खै त ?' हरिवंशले सोधे ।
'पानी लाउन गैछ । आजै गाउँले गएर पानीको मूल सफा गर्ने कुरा भा'छ । हरेक घरबाट एकएकजना जानुपर्छ ।'
'बहिनीसित पनि कुुरा गर्ने मन थियो । बोलाउन मिल्दैन ।'
बिक्रम अक्मकिए, 'बोलाउन त हुन्थ्यो सर । हाम्रो आज घरबाट कोही गएन भने १ सय ५० रुपैयाँ तिर्नुपर्छ । खानै धौ धौ छ । त्यत्रो पैसा कसरी तिर्नु ?'
'म दिउँला त्यो पैसा, बोलाएर ल्याउँ,' हरिवंशले भन्नेबित्तिकै बिक्रम दगुरे । आधा घन्टापछि उनकी बहिनी हरिवंशका अगाडि थिइन् । पुरानो सुरुवाल कुर्ता लगाएकी । मैलो खास्टो ओढेकी । डराएडराएजस्ती ।
बिक्रमका पिता ८ वर्षअघि भारतमा बितेका हुन् । घरमा केवल खबर मात्र आयो । त्यसको एक वर्षपछि आमा पनि बितिन् । बिक्रम सानै थिए, गाउँलेले भने, 'तेरा बाआमा एड्स लाएर बितेका हुन् ।'
ज्वरो आउने, टाउको दुख्ने त भइरहन्थ्यो आमालाई । एकदिन एक्कासि रगत उल्टी भयो । त्यसको ४ दिनपछि उनले छाडेर गइन् ।
त्यसपछि, बिक्रमको संघर्ष सुरु भयो । बैनी र आफ्नो पेट पाल्न उनले ढुंगा फुटाल्ने काम गरे । आफैं घरविहीन बिक्रमले अरूको घरको भित्ता चिन्ने काम गरे । त्यस बेला ५ कक्षामा पढ्थे । होमवर्क गर्ने कापी कलम किन्ने पैसा नभएर स्कुलै जान छाडे ।
आफूमा पनि एड्स छ कि भनेर डराएका त थिए तर तीन चारपल्ट चेक गर्दा पनि केही नभेटिएपछि ढुक्क भए । तर, आमाबाबु गुमाउनुको उनको पीडा अझैं साम्य भएको छैन । उनले थाहा पाइसकेका छन् म गरिब छु । गाउँभरिका घरमा बत्ती छ- उनको घरमा छैन । टुकीको उज्यालोमा दाइ बहिनी अँगेनाछेउ टुक्रुक्क बसेर आँसु मुछेर गाँस निल्छन् । मट्टतिेल सकिएको दिनमा गाढा अँध्यारोमै उनको साँझ बित्छ । अर्काको घरको उज्यालो बत्ती देखेर मन पोल्छ । बत्ती बाल्न त मन लाग्छ- महिनापिच्छे तिर्ने रकम उनीसित हुँदैन । दाउराको आगो फुक्दाफुक्दा उनका आँखाभरि धूवाँ भरिएको छ ।
'ग्यास बाल्न मन लाग्दैन ?' उदास स्वरमा हरिवंशले सोधे ।
'काँ सर, ग्यास बाल्ने त ठूलै सपना हो । हामी देख्न सक्दैनौं, त्यस्तो सपना ।' बिक्रम प्रायः सपनामा आमालाई देख्छन् । छेउमै बसेर उनलाई टुलुटुलु हेरिरहेको । केही बोल्दिनन् । झस्केर बिक्रम 'आमा' भन्दै चिच्चाउँछन् । तर, आँखाअगाडि केवल गाढा अँध्यारोमात्र हुन्छ ।
दसैं-तिहार आउँदा, अथवा गाउँमा 'राम' हुँदा उनको हृदय भक्कानिन्छ । बा आमा भएका भए- मलाई दुई चार रुपियाँ दिएर 'जा रमाइलो गर' भन्दा हुन्, भनेर उनको छाती चिरिन्छ ।
'आफ्नो परिवार हुनुजति सुख्ख संसारमा क्यै रैनछ सर,' यत्ति भनेर बिक्रम अबेरसम्म रोइरहे । दाइ रोएको देखेर छेउमा बसेकी बहिनीका आँखाबाट पनि तुरुक्क आँसु चुहिए । टुहुरा दाइ बहिनी प्रायः यसरी नै रोइरहन्छन् । बैनी रोएको देख्दा दाइ रुन्छन् । दाइ रोएको देखेर बहिनी ।
'अब के गर्ने योजना छ ?' हरिवंशले सोधे ।
'म अब एसएलसीसम्म पढ्छु । बैनीलाई सकेजति पढाउँछु । र, राम्रो घरमा बिहे गरिदिन्छु ।'
'भविष्यमा के बन्ने इच्छा छ ?'
'नेता बन्छु सर ।' बिक्रमले आँटिलो स्वरमा भने, 'मजस्तै दुख्ख पाएकाहरूलाई सहयोग गर्छु । मेरो गाउँमा के-के कुराको कमी छ । के-के दुख्ख छ मलाई थाहा छ । मलाई गाउलेले भोट दिन्छन् सर ।'
बिक्रमको आँटिलो जवाफले हरिवंशको ओठमा मुस्कान फैलियो ।
बिक्रमको घरसँगै टाँसिएको कर्कटपाताले बारेको सानो ट्वाइलेट पनि थियो । बिक्रमले रहरले बनाएका रैनछन् । गाउँलाई 'खुला दिसा पिसाबमुक्त' घोषणा गर्ने भएपछि घरघरमा ट्वाइलेट बनाउने नियम आएको रैछ । घरमा ट्वाइलेट नहुनेले सरकारी सुविधा केही नपाउने भएपछि, उनले उधारोमा ट्वाइलेट बनाएका रैछन् । ५ हजार रुपियाँ ऋण लागेको छ । र, सरकारी सुविधा पनि बेपत्ता छ ।
'जब ट्वाइलेट बनाउने मान्छे पैसा लिन आउँछ, बैनी र म भाग्छौ सर,' बिक्रमले भने ।
यसरी हरक्षण दुस्वप्न र खुसीबाट लखेटिरहेका बिक्रमका आँखाबाट भने 'सपना'को चम्किलोपन हराएको छैन ।
बिक्रमको घरबाट निस्केर ओरालो झर्दै गर्दा हरिवंशले भने, 'हाम्रो देशमा खुला दिसा पिसाबमुक्त गाउँ त धेरै छन् । तर, 'भोकमुक्त' गाउँ एउटा पनि छैन ।'
राति होटलमा अचानक हरिवंश झल्यास्स भए, 'ए, व्यान बिक्रमकी बैनीलाई फिर्ता बोलाउँदा मैले १ सय ५० रुपियाँ दिन्छु भनेको थिएँ, बिर्सेछु ।'
उनले थकथक मानिरहें ।
भोलिपल्ट बिहान हिँड्न ढिला हुन्छ भनेर ड्राइभर खुसीरामले बेखुस हुँदै हर्न बजाइरहे तर हरिवंश गायब । अबेरपछि उनी हातमा पोलिथन् ब्याग बोकेर फर्किए । फेरि होटेलमा पसे र रित्तै फर्के । जिपको सिटमा बस्दै सुनाए, 'हिजो बिक्रमकी बैनीलाई जाडोमा काँपेको देखेको थिएँ- एउटा ज्याकेट किन्देको । अलिकति पैसा र ज्याकेट होटेलमा छाडिदिएको छु । होटलवालाले पुर्याइदिन्छ ।'
उनले सन्तुष्ट हुँदै आँखा चिम्ले ।
तर, सुर्खेतमा एउटा असन्तुष्टिको कथा बाँकी नै थियो ।
सुर्खेत
उत्तरगंगाको व्यस्त बजारको एउटा तरकारी पसलको भित्री कोठामा थिइन्, मुना गिरी । मुनाको घर दैलेख हो । मामाघर सुर्खेत । दैलेखबाट सुर्खेत पुग्न केवल एक दिन लाग्छ । तर, मुनालाई हप्तौं लाग्यो ।
१५ वषर्ीय मुना मोबाइल फोनमा अपरिचित मानिससित कुरा गर्दागर्दै फन्दामा परेकी थिइन् । छोरीसित कुराकानी गर्न सजिलो होस् भनेर उनका पिताले मोबाइल किनिदिएका थिए । तर, मुनालाई एक दिन अपरिचित नम्बरबाट युवकको फोन आयो । कुरा भयो । मुनाले सोधिन्, 'मेरो नम्बर कहाँबाट पायौ ?'
उसले भन्यो, 'त्यत्तिकै हानेको तिम्रोमा परेछ ।'
यसरी सुरु भएको कुराकानी हरेक दिन हुन थाल्यो । युवकले आफ्नो नाम रामबहादुर बुढा बतायो । कपासे ब्यारेकको आर्मी हुँ पनि भन्यो । कलिलो सपना देख्ने उमेरकी मुना उसको कुराको फन्दामा पर्दै गइन् ।
एक दिन मामाघर सुर्खेत जान्छु भनेर उनी दैलेखबाट हिँडिन् र कपासेछेउ झरिन् । एकरात कपासेकै होटलमा बित्यो । मुना भन्छिन्, 'हामी दुइटा खाटमा सुतेका थियौ ।'
केटोले अर्को दिन देउती बज्यै लग्यो र सिन्दुर हालिदियो । उसले मुनाका लागि रातो रङ्का कपडा पनि सिलाइदिएको थियो ।
केटोले मुनालाई घर म्याग्दीतिर लैजादा पो बाटामा भन्यो, 'मेरी अर्की स्वास्नी पनि छ । तिमी मेरी स्वास्नीसित कुरा गछ्र्यौ ?'
यत्ति भनेर उसले नम्बर डायल गर्यो । मुनाका चिटचिट पसिना निस्किए । भाउन्न भएर आयो ।
मुना रुन थालिन् । उसले भन्यो, 'मलाई जेठीले राम्रो गर्दिन । आमाले पनि पिट्छिन् । इन्डिया जाऊ ।'
इन्डियामा धेरै चेलीबेटी बेचिएको मुनाले सुनेकी थिइन् । उनी रोइन् । केटोले भन्यो, 'म तिम्लाई बेच्दिनँ । उता मेरा आफन्त छन् । आनन्दले बसौला ।'
र, पनि मुनाले मानिन् ।
उता केटाकी जेठी स्वास्नीले श्रीमान्विरुद्ध बहुविवाहको मुद्दा हालिछन् । पुलिसले उनीहरूलाई बाटोमै समायो ।
केटो अहिले सुर्खेतकै जेलमा छ । बालविवाह र बहुविवाहको मुद्दा खेपिरहेको छ । मुना जीवनको कठिनपूर्ण लामो यात्राबाट बल्ल मामाघर पुगेकी छन् ।
'ठूलो गल्ती गरें,' मुना भन्छिन्, 'ऊसित फोनमा कुरा गर्नै नहुने । बाआमालाई धेरै दुख्ख दिएँ ।'
मुनाको कथा सुनेर हरिवंश गम्भीर भए । उनले भने, 'साना नानीहरू त भिजेको माटो न हुन् । जस्तो बनायो, त्यस्तै बन्छन् । टेक्नोलोजीलाई बहुरूपीहरूले मिसयुज गरेर खत्तमै पारे ।'
यसरी हरिवंशले धेरै नानीहरूका कथा सुने । टेलिभिजनका दर्शकहरूले अब उनलाई नयाँ अवतारको रूपमा पाउनेछन् ।
हरिवंशलाई पनि आफ्नो नयाँ अवतारले खुसी बनाएको छ । त्यसैले त होला, खाल्टाखुल्टीले भरिएको लामो यात्रामा पनि कहिल्यै थकान महसुस गरेनन् । सधैं ऊर्जाशील भए ।
नेपालगन्जबाट प्लेनमा उडेर काठमान्डु पुग्ने रहर पनि शीतलहरले तुहाइदियो । फेरि गाडीमा काठमान्डु हिँड्नुपर्ने भयो- तैपनि हरिवंशको अनुहारमा थकान थिएन । उनी आफूले सुनेर आएका कथाहरूमा रुमल्लिइरहेका थिए ।
राजमार्गमा गाडी कुदिरहेको थियो । राजमार्गको छेउछाउ ठडिएका छडको विज्ञापनमा उनी मदनकृष्ण श्रेष्ठसित हात मिलाएर मुस्कुराइरहेका थिए । बुटवल पुग्दा उनले मोबाइलमा खबर पाए, 'धुन्चेमा ज्वालामुखी बिस्फोट भयो । त्यो फैलिरहेको छ ।'
उनीसँगका सहयात्री आत्तिए तर उनले भने, 'मलाई रत्तिभर विश्वास छैन, प्रलय आउँछ भनेर । पृथ्वी त्यति कमजोर छैन ।'
र, उनी गाडीको सिटमा निदाइरहे । उनको टाउको पृथ्वीझैं यताउता घुमिरह्यो ।
मलाई पनि लाग्यो- यत्ति चाँडै संसारमा प्रलय आउँदैन । किनभने, हरिवंशले भेटेर आएका धेरै नानीहरूको न्याय र सपनाको हिसाब-किताब हुनै बाँकी छ ।
प्रकाशित मिति: २०६९ पुस १४ ०३:०२
kantipur

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !