CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जसलाई जिउँदै खाल्डोमा गाडियो

जसलाई जिउँदै खाल्डोमा गाडियो


Dekendra thapa
कलेन्द्र सेजुवाल/गोविन्द केसी, दैलेख, पुस २२- पत्रकार डेकेन्द्र थापालाई 'प्राण उडेको एकीन नभइ' खाल्डोमा गाडेको रहस्य खुलेको छ। हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरुको प्रारम्भिक बयानमा यस्तो खुलेको दैलेख प्रहरीले जनाएको छ। अभियुक्त लक्षीराम घर्तिमगरका अनुसार २०६१ असार १२ गते अपहरण गरिएपछि थापालाई बिभिन्न गाउँमा सार्दै बयान
लिने काम भएको थियो। तत्कालीन नेकपा माओवादीको जिल्ला बैठक बस्ने पूर्वसन्ध्यामा द्धारी गाविस-१ को स्थानीय विद्यालयमा लगेर लठ्ठी र सिस्नुपानीले यातना दिइएको थियो। 'यातनाले हातखुट्टा भाँचेर बेहोस भएपछि मेरो घरमा लग्यौँ,' लक्षीरामको बयान उद्धृत गर्दै अनुसन्धान अधिकृत इन्स्पेक्टर विनोद शर्माले भने, 'डेकेन्द्रले 'पानी' भनेपछि मैले मुखमा पानी हालिदिएको थिएँ, तर अरु दुईजना साथीले नाडी छामेर मर्‍यो भनेपछि बारीमा लगेर गाड्यौँ।' रानीबनका जयबहादुर शाही र अर्का एक व्यक्तिले नाडी छामेर मरेको घोषणा गरे पनि केहीअघि पानी मागेकाले प्राण उडे-नउडेकोबारे आफूलाई शंका लागेको उनले बताएका छन्।
डेकेन्द्रलाई खाल्डोमा गाडेको दिन तत्कालीन नेकपा माओवादीको जिल्ला बैठक द्धारीमा बसिरहेको थियो। थापाको हत्या गर्नका लागि पार्टीले स्पष्ट निर्देशन दिएको समेत बयानमा खुलेको प्रहरीको भनाइ छ।
लक्षीरामका अनुसार माओवादीले यातनाको बेला मुख्यतयाः दुई प्रश्न उठाएका थिए। खानेपानी आयोजनाको रकम र राजाको कार्यक्रममा उद्‍घोषणलाई मुख्य प्रश्‍न बनाएर यातना दिएको बयानमा उल्लेख छ। 'थापालाई मार्न उतिबेलाको माओवादी जिल्ला नेतृत्वको स्पष्ट निर्देशन रहेको देखिन्छ,' अनुसन्धान अधिकृत शर्माले भने, 'घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा आउनुपर्छ।' यद्यपि, हत्या घटनामा नौजनाको प्रत्यक्ष संलग्नता खुलेको उनले बताए।
प्रहरीले लक्षीरामको प्रारम्भिक बयानको आधारमा अन्य चारजना बीरबहादुर केसी, निरक घर्तिमगर, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरेको छ। उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार दैलेख जिल्ला अदालतले पाँच दिनको म्याद थपेको छ। जाहेरीमा नाम दिइएकामध्ये बमबहादुर खड्का (कट्टी), बमबहादुर खड्का (छिउडीपुसाकोट) र केशव खड्का भने फरार छन्।
बयानको लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिँदा स्थानीयले प्रहरी कदमको स्वागत गर्दै नाराबाजी गरेका थिए। उनीहरुले थापाका हत्यारालाई कडा कारबाहीको माग गरेका थिए। त्यस्तै, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, प्रेस चौतार र दुवै माओवादनिकट पत्रकारका संस्थाले प्रहरी सक्रियताको स्वागत गर्दै अनुसन्धान प्रक्रियालाई दवाव र प्रभावबिना अघि बढाउन माग गरेका छन्।
उता, एकीकृत माओवादी र नेकपा-माओवादीले भने छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी आफ्ना 'निर्दोष' कार्यकर्तालाई छोड्न दवाव दिएका छन्। उनीहरुले सशस्त्र द्वन्द्वका घटनालाई उत्खनन् गरेर पक्राउ गर्नुलाई शान्तिप्रक्रियाविरोधी गतिविधि भनेका छन्। 'कार्यकर्तालाई तत्काल छोडिएन भने यसको परिणाम गंभीर हुन सक्छ,' विज्ञप्तिमा भनिएको छ।
पक्राउ परेका मध्ये लक्षिराम लक्षिराम, निरक र हरिलाल नेकपा-माओवादीका जिल्ला तथा भेरी-कर्णाली राज्य समितिका सदस्य हुन् भने बीरबहादुर एकीकृत माओवादीका जिल्ला कमिटी सदस्य हुन्।
'गल्ती भन्ने ठाउँ बल्ल पाएँ'
पक्राउ परेका अभियुक्त लक्षीरामले प्रहरीसँगको बयानमा घटनाप्रति पश्चाताप गरेका छन्। उनले घटनाबारे बताएर आफै कारबाहीको भागिदार हुन मन लागे पनि 'उचित ठाउँ नपाएको' बताएका अनुसन्धान अधिकृत शर्माले बताए। 'मलाई यो घटनाबारे कहाँ भनेर आत्मालाई शान्ति दिउँ लागेको थियो,' उनले बयानमा भनेका छन्, 'अहिले पक्राउ परेँ, ममाथि कारबाही होस्, अनिमात्र डेकेन्द्रको आत्माले शान्ति पाउनेछ।'
उनले घटनाको चार वर्षपछि शव उत्खनन् गर्न गएको टोलीसमक्ष कुरा राख्न खोजे पनि आफू वनतिर गएकोले मौका नपाएको बताएका छन्। 'आफै प्रहरीमा आएर भन्न पनि सकिएन, अहिले यहाँ आएपछि भन्ने मौका मिल्यो,' उनले भनेका छन्। प्रहरीले लक्षीरामलाई घाँस काट्न जंगल गएको बेला पक्राउ गरेर ल्याएको थियो।

---naagarik nyuj
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis