CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पाँच पटक प्रयास गरें आत्महत्याको

पाँच पटक प्रयास गरें आत्महत्याको


युवाका पीडा अनेक छन्, तीमध्ये लागूऔषध पनि एक हो। हजारौं नेपाली युवा लागूऔषधको दुष्चक्रमा फसे पनि उनीहरू कुन किसिमले बाँचिरहेका छन् भन्ने खोजीनीति भएको पाइँदैन। एकपल्ट लागूऔषधको लत लागेपछि युवक त्यसबाट हत्तपत्त उम्कन सक्दैन। त्यसले लागूऔषध  प्रयोग गर्ने व्यक्तिको जिन्दगी बरबाद त हुन्छ नै, उसको व्यवहारले परिवार, समाज र देशलाई पनि गम्भीर असर पारिरहेको हुन्छ। समाजको  यो कालो पक्ष देखाउन यसपटक साप्ताहिकले १५ वर्षसम्म लागूऔषध सेवनबाट जीवनका सबैभन्दा निःकृष्ट पक्षको अनुभूति गरेका निमेष  श्रेष्ठको कथा अगाडि सारेको छ। निमेष लागूऔषध प्रयोग गर्ने त्यस्ता व्यक्ति हुन्, जसले जिन्दगीको भार थेग्न नसकेर पाँच पटकसम्म  आत्महत्याको प्रयास गरेका थिए। 

धेरै मानिस नराम्रा दिनका कुरा लुकाउन चाहन्छन्, तपाईंले भने हाम्रो आग्रहलाई सजिलै स्वीकार गर्नुभयो, किन ?

मानिसलाई धेरै पीडा भयो भने त्यसलाई सुनाउनुपर्छ। यसले पीडा कम हुन्छ। तपाईंहरूलाई भनेर म आफ्नो पीडा कम गर्न चाहन्छु। अर्को  कुरा, मेरो पीडा सुनेर दुई जनाले पनि यो बाटोमा हिँड्नुहुँदो रहेनछ भन्ने बुझें भने मेरो जीवन सार्थक हुनेछ। 

तपाईंले १५ वर्ष लागूऔषध सेवन गर्नुभयो, यो अवधिमा कस्ता व्यक्ति यसमा फसेको पाउनुभयो ?

जुन युवकले सानैमा चुरोट खान सिक्छ, उसले गाँजा तान्न बेर लगाउँदैन। जसले गाँजा तान्न थाल्छ, ऊ यसमा फस्न सक्छ। विशेषगरी  अभिभावकको माया नपाएका, पैसा एवं गलत संगत भएका युवा यसमा फसिहाल्छन्। 

तपाईं कसरी फस्नुभयो ?

म जन्मँदा मेरो बुवा खसिसक्नुभएको थियो। काठमाडौंको युवक भएकाले घरभाडाको पैसा आउँथ्यो। आमा व्यापार गर्नुहुन्थ्यो। गोजीमा पैसा हुने  तर अभिभावकको गाइड नपुग्ने अवस्थामा गलतको संगतमा जोडिए, अनि फसिहालें।

कति वर्षको उमेरमा ?

१३ वर्षको उमेरमा सिनियर दाइहरूले चुरोट खान सिकाए। मज्जा हुन्छ, एकपल्ट तान् भनेर फुस्ल्याए। चुरोट तान्दा क्या दामी गरी तान्छ यार  भनेर फुक्र्याउँथे। १४ वर्षको उमेरमा मज्जाले गाँजा तान्न थालें। १५ वर्षको उमेरमा म टोलको सबैभन्दा धेरै डोज ब्राउन सुगर पचाउन सक्ने  एडिक्ट भैसकेको थिएँ। 

घर-परिवारलाई थाहा भएन ?

१६ वर्षको उमेरमा थाहा भयो। त्यो बेला ७ कक्षामा फेल भएँ। संगत नराम्रो भयो भनेर काकाले स्कुल परिवर्तन गरिदिनुभयो, तर अर्को  स्कुलमा पनि फेल भएँ। ब्राउन सुगरको खोजी गर्दै दिन बित्थ्यो, पढ्नै सकिएन। त्यसपछि थाहा भैहाल्यो। 

कसरी पाउनुहुन्थ्यो ब्राउनसुगर ?

सिनियर दाइहरूले बेच्थे। आमाको पसल भएकाले मलाई पैसा चोर्न सजिलो थियो। उनीहरूलाई भारतबाट ल्याउने व्यक्तिहरूले दिन्थे। त्यो  सामान मजस्ता भर्खरका युवालाई महँगोमा बेच्थे। यसको च्यानल नै हुन्छ। 

लागूऔषध प्रयोग गर्नेलाई कुन बेला अप्ठयारो हुन्छ ?

जब बिहान-बेलुकाको डोज किन्ने पैसा हुँदैन, त्यो बेला अप्ठयारो मात्र होइन, साह्रै गाह्रो हुन्छ। 

पैसा हुने भएकाले तपाईंलाई त धेरै अप्ठयारो परेन होला ?

पसल सानो थियो। मैले दिनैपिच्छे पैसा चोरेर हैरान पारेपछि आमाले पसल छाडिदिनुभयो। त्यसपछि भने साह्रै गाह्रो हुन थाल्यो। 

पैसा पाउन तपाईंले गरेको सबैभन्दा निकृष्ट काम के थियो ?

आमाले पसल छाडेपछि घरको सामग्री चोरेर बेच्न थालें। सुन, भाँडा-कुँडा र अन्य सामान दिएर दुई-चार दिनको डोज जम्मा पार्थें। एक दिन  चाडबाडमा लगाउने सबैभन्दा राम्रो साडी दिएर मैले दुई दिनको डोज लिएँ। त्यही दिन आमा आफन्तको भोजमा जानुपर्ने थियो तर ठिक्क पर्दा  कुनै साडी थिएनन्। मैले आमाका सबै साडी बेचिसकेको रहेछु। उहाँ दिनभरि-रातभरि रुनुभयो। यो नै थियो मेरो निकृष्ट चोरी। 

धेरैजसो ड्रग युजर पहिले आफ्नो घरको सामान चोरी गर्छन्, त्यसपछि अरूको। तपाईंले पनि त्यसै गर्नुभयो ?

हो, त्यसै गरें। मैले भात पकाउने भाँडासमेत बेचेपछि घरमा कडाइ हुन थाल्यो। त्यसपछि साथीभाइ मिलेर उनीहरूको घरमा चोरी गर्न थाल्यौं।  यसै क्रममा धेरै पटक पक्राउ परेर प्रहरी थाना पनि पुग्यौं। 

कतिपटक थुनिनुभयो ?

छ-सात पटक। 

त्यस्तो बेला लज्जाबोध हुँदैनथ्यो ?

ड्रग युज गर्नुअघि कसरी आजको डोज पुर्‍याउने भन्ने चिन्ता हुन्थ्यो। जब गलत काम गरेर ड्रग लिइन्थ्यो, त्यसपछि म किन यति खराब  भएको भनेर रुन मन लाग्थ्यो। पसलमा पैसा चोरेदेखि नै मलाई हीनताबोध हुन्थ्यो। जब घरका भाँडा र आमाको साडीसमेत चोरेर ड्रग लिने  अवस्था आयो, मलाई लाग्यो, यसरी दुनियाँलाई रुवाएर बाँच्नु ठीक छैन। यही लज्जाबोधमा मैले ५ पटकसम्म आत्महत्याको प्रयास गरेँ। ड्रग पाउनुभन्दा अघि शरीरको भोक शान्त गर्न नसक्नुको पीडा, त्यही पीडाका कारण गर्नुपरेको गलत क्रियाकलाप र ड्रग लिइसकेपछिको  पश्चाताप...। यो यति ठूलो पीडा हो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। यो पीडाका कारण मानिस आत्महत्या गर्न बाध्य हुन्छ। 

पहिलो आत्महत्याको प्रयास कसरी गर्नुभयो ?

त्यो बेला मैले घरको सुन चोरेको थिएँ। सुन चोरेको थाहा हुनुअघि नै म मर्न चाहन्थें। सुन बेचेका कारण मसँग दुई-चार दिनको स्टक थियो।  मैले सोचें, ओभरडोज लिएपछि म बेहोसीमै मर्छु। मैले घरबाहिर एकान्तमा रहेको ट्वाइलेटमा पसेर सामान्यभन्दा दस गुणा बढीको डोज लिएँ।  अरू बेला ठिक डोज लिने भएका कारण गहिरो ट्रिप दिन्थ्यो। यस पटक म त्यही ट्वाइलेटमै ढलें। सोचेको थिएँ, अब कहिलै उठ्नु पर्दैन,  झन्झट खत्तम भयो, तर भाग्यले मर्न दिएन। शरीरले त्यति धेरै डोज पनि पचाइदिएछ। सात घण्टापछि होस खुल्दा म ट्वाइलेटको फोहोरमा  लडिरहेको थिएँ। 

त्यसपछि के गर्नुभयो ?

पटक-पटक मर्ने प्रयास गरे। अरू बेलाभन्दा सयौं गुणा बढी डोज लिएर मर्ने प्रयास गरें। त्यसलाई पनि शरीरले पचाइदिन थाल्यो। हेर्दा-हेर्दा  विष नै हाने पनि मर्न नसक्ने गरी शरीर विखालु हुँदै गयो। मान्छेको शरीर अद्भुत हुँदो रहेछ। बानी लगाउने हो भने यसले जस्तोसुकै बिष  पनि पचाउने रहेछ। 

आत्महत्या गर्ने अरू तरिका पनि थिए, ती तरिका किन अपनाउनुभएन ?

अन्तिम पटक आफ्नो पाँचतले घरको माथिबाट हामफालेर मर्ने विचार गरेको थिएँ। जब हामफाल्न आँटें, मेरो मनमा अचानक आयो, यहाँबाट  हाम फालेर अरू बेलाझैं म त मर्दिनँ। बरु हात-खुट्टा भाँचिएर कुँजो हुन्छु। त्यस्तो भएपछि डोज पनि खोज्न सक्दिनँ। मेरो बिजोग हुन्छ भनेर  मर्ने विचार त्यागिदिएँ। 

यति धेरै विजोग हुँदा पनि ड्रगबाट छुट्कारा पाउने प्रयास किन गर्नुभएन ?

सुरु-सुरुमा परिवारले मलाई रिह्याविट सेन्टर पुर्‍याएको थियो। त्यहाँको क्लास एवं अनुशासनले बिस्तारै लत छुट्थ्यो। एक-दुई महिना राखेर  परिवारलाई जिम्मा दिइन्थ्यो। फर्केर आएपछि एक-दुई दिन टाढा बसे पनि बिस्तारै पुरानै साथीहरूको संगतमा पुगिन्थ्यो। साथीहरूले कर गरे पछि एक डोज त हो नि भनेर लिएपछि फेरि पुरानै कुरा दोहोरिन्थ्यो। 

कतिपटक पुग्नुभयो, रिह्याबिट सेन्टर ?

ड्रग लिएको १५ वर्षमा १७ पटक विभिन्न रिह्याविट सेन्टर पुगें। प्रत्येक पटक यसको नकारात्मक असर, जीवनको बरवादी एवं विभिन्न  किसिमका औषधिले तत्काललाई ड्रगको असर छुट्थ्यो। अब बाहिर गएर सभ्य जिन्दगी बिताउँछु भन्दा समाजले हेर्ने दृष्टिकोण त्यहीं पाउँथें।  हामीजस्ता व्यक्तिसँग कोही पनि संगत गर्न मान्दैनथे। हामी संगत गर्न लायक पनि हुँदैनौं, किनभने उनीहरूलाई दिनुपर्ने दुःख पहिल्यै दिइसके का हुन्छौं। ड्रग्ससँग ८-१० वटा ट्याब्लेट लिएपछि र हतियार लिएर हिँडेपछि त्यसको परिणाम दुःखद हुन्थ्यो। झगडा पथ्र्यो। यस्ता व्यक्तिसँग  असल व्यक्तिले कसरी संगत गर्ने ? त्यसपछि पुरानै संगतमा पुगिन्थ्यो र पुरानै दिनचर्या सुरु हुन्थ्यो। 

झगडा गर्नुहुन्थ्यो ?

गर्थें। केही पैसा लिएर हामी कसैको उक्साहटमा खुकुरी एवं अन्य हतियार लिएर मानिस कुट्न जान्थ्यौं। मेरो कानको साइडमा तपाईंले गहिरो  चोट देख्न सक्नुहुन्छ, यो त्यही बेला खुकुरीले लागेको चोट हो। ड्रगका लागि पैसा लिएर यस्तो काम गर्नु हाम्रो बाध्यता हुन्थ्यो। त्यस्तो बाध्यता  बुझेकाहरूले हामीलाई प्रयोग गर्थे। 

अहिले ड्रग लिनुहुन्न। स्पर्श नेपालमा एचआईभी पीडितहरूको परामर्शदाता हुनुभएको छ। जीवनले यसरी पल्टा खाला भन्ने कल्पना गर्नुभएको  थियो ?

यस्तो होला भन्ने सपना पनि थिएन। पटक-पटक मर्ने प्रयास गर्दा पनि मर्न नसकेपछि, सबैलाई वाक्क बनाएर पनि नथाकेपछि एउटा यस्तो  मोड आउँदो रहेछ, जुन मोडले मानिसलाई परिवर्तन गर्दो रहेछ। 

तपाईंलाई परिवर्तन गर्ने त्यस्तो कुन तत्त्व थियो ?

२८ वर्षको उमेरमा पुग्दा म ८२ वर्षे बूढोजस्तो भएँ। शरीरले ड्रग माग्थ्यो, तर ड्रगको नशा थेग्न सक्दैनथ्यो। यस्तो बेलामा मानिसलाई यो  संसारमा बाँच्न पाए हुन्थ्यो, फेरि एकपटक जीवनका असल कुराको स्वाद लिन पाए हुन्थ्यो भन्ने लाग्दो रहेछ। यही बेला मैले भित्रैदेखि म बाँचेर देखाउँछु भनेर हृदयदेखि नै पुकार गरें। धेरैलाई मैले रिह्याबिट सेन्टर पुर्‍याइदेऊ भनेर बिन्ती गर्न थालें। पहिले पनि मैले यसैगरी बचाइदे ऊ भन्ने गरेको थिएँ। कसैले दया गरेर पुर्‍याइदिन्थे तर अलिकति बलियो भएर र्फकनेबित्तिकै म पुरानै दुष्चक्रमा फस्थें। उक्त कुरा थाहा पाएका  कसैले पनि मलाई सहयोग गरेनन्। अन्तिममा एक जना ड्रग लिन सिकाउने दाइलाई मैले रुँदै यी कुरा भने। उनी ड्रग युजर भएकाले मेरो  पीडा बुझ्थे। उनकै सहाराले म रिह्याविटमा पुगें। 

त्यसपछि सुध्रनुभयो ?

जति सजिलो गरी तपाईंले भन्नुभयो, त्यति सजिलो भएन। उनीहरूले मलाई राख्नै मानेनन्। किनभने यसअघि पनि मैले धेरै युवकलाई यस्ता  सेन्टरबाट भगाएर बिगारेको थिएँ। १० दिन मलाई गेटको पाले बनाएर राखियो। १० दिन मलाई भिन्दै कोठामा राखियो र १० दिन त्यहाँ  आएका युवकसँग  थोरै समयका लागि मात्र भेट्ने व्यवस्था गरियो। यो ३० दिनसम्म मैले केही लिइहाल्छु कि भनेर कडा निगरानी राखिएको  थियो। म सारा पीडा सहेर पनि ड्रग नलिने निर्णयमा पुगेको थिएँ। किनभने म बाँच्न चाहन्थें। ३० दिनसम्म सुत्न सकिनँ, निदाउन सकिनँ, खान  सकिनँ। अरू सुतेको देखेर म भन्थें, 'हे ईश्वर ! मलाई पनि यस्तै निद्रा देऊ।' यस्तो अवस्थामा पनि मैले सहेको देखेपछि सबैलाई विश्वास  भयो। विशेषगरी मनोविद् करुणा कुँवरले मेरो हिम्मत घट्न दिनुभएन। ४५ दिनसम्म म ड्रग नलिइ बसें। यसैबाट जीवन परिवर्तन भयो। 

घर फर्किपछि पुरानो दिनचर्यामा किन र्फकनुभएन ?

घरका सबै मानिसले के सोचेका थिए भने फेरि पुरानै दिनचर्या सुरु हुन्छ, तर मैले घरका मानिसलाई भने, 'मेरो विवाह गरिदिनुहोस्, म बाँच्न  चाहन्छु।' अचानक विवाहको प्रस्तावले घरका मान्छे छक्क परे। मैले थाहा पाइसकेको थिएँ, अब असल श्रीमतीले मात्र मलाई सम्हाल्न सक्छिन्।  निकै कर गरेपछि मात्र परिवारले मेरो विवाह गरिदिए। भाग्य नै भन्नुपर्छ, मेरी श्रीमती असल परिन्। उनले लगातार मेरो औषधि मात्र गरिनन्,  मेरो बाँच्ने चाहनालाई हौसला पनि दिइन्। राम्रो परामर्श र असल श्रीमतीका कारण मैले नयाँ जीवन पाएँ। 

अब ड्रग्स लिनुहुन्न भन्ने के ग्यारेन्टी छ ?

मेरी एउटी छोरी छिन्। उनी हाँस्दा संसार हाँसेको देख्छु। मायालु श्रीमती छिन्, उनको प्रेम देखेर ईश्वरले यही प्रेम पाउन मलाई जन्माएका  हुन् भन्ने लाग्छ। यो स्वर्ग छाडेर भोगिसकेको त्यो नर्कमा को पर्न चाहन्छ ? अब त एचआइभीपीडितहरूको परामर्शदाता पनि नियुक्त भएको  छु।

अश्विनी कोइराला , साप्ताहिक 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis