२० फागुन, काठमाडौं । बैंककमा हृदयघातको उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको होस खुलेको र उहाँले मान्छेसमेत चिन्न थालेको बताइए पनि डाक्टरले अझैसम्म आफन्तहरुलाई बिरामीको छेउमा जान दिएका छैनन् । पारसपत्नी हिमानीले समेत सिसा बाहिरैबाट हेरेर चित्त बुझाइरहनुपरेको छ ।
दिनपछि शनिबार होस खुलेको अस्पतालले जनाएको छ । तर, होस खुलेर मान्छे चिन्न थाले पनि पत्नी हिमानी, छोराछोरी, आमा कोमल र पिता ज्ञानेन्द्र शाहले समेत अहिलेसम्म उपचार कक्षको सिसाभन्दा बाहिरबाटै पारसलाई हेरेर चित्त बुझाउनुपरेको स्रोतले बतायो ।
पतिको होस खुलेकोमा पत्नी हिमानी ज्यादै खुशी छिन् । छोराछोरी, आमाबुबा र आफन्तहरु पनि यस्तो अवस्थामा हषिर्त हुनु स्वाभाविकै हो । तर, पारसलाई भेट्न र बोल्न परिवारजनमा जतिसुकै आतुरी भए पनि डाक्टरहरुले आइतबार साँझसम्म भेटघाटको सुविधान प्रदान गरेका छैनन् ।
‘डाक्टरले आजसम्म सबैलाई सिसा बाहिरबाट मात्रै हेर्न दिएका छन् । भेन्टिलेटरमै राखेकाले पूर्वयुवराजले बोल्ने कुरा पनि आएन ।’ पारसको उपचारमा सहयोग गर्दै आएका एनआरएन थाइल्याण्डका महासचिव सुनील खड्काले आइतबार साँझ अनलाइनखबरसँग भन्नुभयो- ‘शायद भोलि वा पर्सिसम्म आफन्तले भेट्ने र बोल्ने अनुमान लगाउन सकिन्छ ।’
खड्काका अनुसार नियमित प्रेसविज्ञप्ति सार्वजनिक गर्दै आएको अस्पतालले आइतबार विदा भएको र डाक्टर बाहिर गएकाले विज्ञप्ति जारी नगरे पनि बिरामीको स्वास्थ्यमा भने क्रमिक सुधार आइरहेको छ ।
-- अन लाईन खबर