काठमाडौ, -काठमाडौं दरबारमार्गको व्यस्त सडक । बाटैमा पर्ने नाङ्लो रेस्टुरेन्ट । यसै रेस्टुरेन्टमा भेटिए, मिस नेपाल २०१३ का १८ प्रतियोगी सुन्दरीहरू । उनीहरू आ-आफ्ना मिल्ने साथीसँग टेबलमा बसेर गफिँदै थिए । अर्डरअनुसार खाना आउँदै थियो । इटहरीकी ऐश्वर्या उपाध्यायले भनिन्, 'आई एम भेज ।'
यत्तिकैमा उनीसँगै बसेकी विराटनगरकी रेणु पोखरेलले भनिन्, 'ह्वाउ... गुड ।' उनीहरूले खानाको संवाद यत्तिकैमा टुङ्ग्याए, अनि सुरु भयो मिस नेपालको प्रसंग । विराटनगरमै बीए पहिलो वर्ष अध्ययन गर्दै गरेकी रेणु मिस नेपालमा सहभागी हुन कलेज पढाइ हापेर काठमाडौं आएकी थिइन् । एक महिनादेखि उनी नयाँ बानेश्वरमा दिदीसँग बस्दैछिन् । प्रतियोगितामा सहभागी हुन पाउनुमा उनी जति खुसी थिइन्, पढाइ बिगि्रँदै गएकोमा दुःखी पनि । विराटनगरमा भएको अडिसनबाट २० वषर्ीया रेणु मात्रै छनोट भएकी थिइन् । उनले त्यसले गर्दा पनि आफूलाई चुनौती थपिएको भयो रे ।
'विराटनगरबाट सम्भवतः म नै पहिलो मिस नेपाल सहभागी हुँ,' उनले भनिन् 'मप्रति पूरै जिल्लाको आशा छ, त्यसैले चुनौती पनि उत्तिकै छ ।' राम्री र अग्ली भए मिस नेपालमा पुुग्न सकिन्छ भन्ने उनको सोच अहिले प्रशिक्षणसम्म आइपुग्दा बदलिएको छ । 'सुन्दरी भए पुग्छ भन्ने सोच थियो,' उनले भनिन्, 'भ्रममा रहेछु, यसले व्यक्तित्व विकास गर्न सिकायो ।'
उनी अडिसनमा छनोट भएदेखि जिल्लावासी, साथी र आफन्तका शुभकामना ओइरो लागेको छ । धेरैको आशा र विश्वासले गर्दा अझै मिहिनेत गर्नुपर्ने आँट जुटेको छ, उनलाई । यो वर्ष मिस नेपालको अडिसन धरान, विराटनगर, पोखरा, चितवन र काठमाडौंलगायत पाँच स्थानमा पुगेको हुँदा फरक र भिन्न क्षेत्रका युवतीले अवसर पाएका छन् ।
आयोजकको यसै पक्षलाई प्रशंसा गरिन्, ऐश्वर्याले । काठमाडौंमा बसेर एमबीबीएसको तयारीमा लागेकी १९ वषर्ीया ऐश्वर्याले अबको मिस नेपाल साझा फूलबारीजस्तै खुला र फराकिलो हुनुपर्ने धारणा राख्छिन् । उनको विचारमा काठमाडौं बाहिरका हरेक युवती पनि सक्षम, सुन्दर र इन्टेलिजेन्ट हुन्छन् भन्ने छ ।
काठमाडौंमा जन्मिएर इटहरीमा हुर्किएकी ऐश्वर्याले उचित अवसर मिल्ने हो भने केन्द्र बाहिर बसेर पनि सक्षम हुन सकिन्छ भन्ने विचार राख्छिन् । ऐश्वर्याको विचारमा समर्थन गर्दै धरानकी मेघना श्रेष्ठले भनिन्, 'सबै क्षेत्र, जाति, वर्ण वा समुदायको सहभागिता बढाउन मिस नेपालको अर्थ र महत्त्व बुझाउन जरुरी छ ।'
उनले रुकुम, रोल्पा, हुम्ला, जुम्ला जस्ता विकासोन्मुख क्षेत्रहरूमा पनि ब्युटी प्याजेन्टको संस्कार बसाल्नु आवश्यक रहेको बताइन् । जिल्ला र क्षेत्रीयस्तरका स-साना ब्युटी प्याजेन्टले मिस नेपाल आइपुग्न तयार पार्ने उनको मान्यता छ । 'धेरैले मिस नेपाललाई बाहिरी सुन्दरताको होडबाजी भनेरमात्र बुझ्ने गरेका छन्,' २२ वषर्ीया मेघनाको गुनासो थियो ।
काठमाडौंमा बसेर म्यानेजमेन्टमा स्नातक तेस्रो वर्ष पढ्दै गरेकी मेघनाले ५ वर्षअघि 'मिस टिनकलेज' को फस्ट रनरअप पनि भएकी थिइन् । सानैदेखि मिस नेपाल बन्छु भन्ने उनको इच्छालाई धरानबाटै सन् २०११ मा मलिना जोशीले मिस नेपालको ताज पहिरिएपछि मेघनालाई थप हिम्मत जुटेको बताइन् ।
उनको धेरै लगाव भने पुख्र्यौली थलोमा छ । ब्युटी प्याजेन्टमा पहिलोपटक सहभागी भएकी १९ वषर्ीया रोजिशाले मिस नेपाललाई सुन्दरताको प्रतिस्पर्धा मात्रै नभएर युवतीलाई आत्मबल बढाउने, ग्रुमिङ गर्ने र सक्षम बनाउने थलोका रूपमा बुझेकी छन् । 'म जहिले पनि नारीको आर्थिक पक्ष बलियो हुनुपर्छ भन्ने मान्यता राख्छु,' उनले भनिन् ।
रोजगारीको सिलसिलामा काठमाडौंमा बस्दै आए पनि २० वषर्ीया रचना भारतीले आफ्नो जिल्ला महेन्द्रनगर -कञ्चनपुर) बाट प्रतिनिधित्व गरेकी छन् । ललितपुरको बीएन्डबी हस्पिटलमा नर्सिङ पेसामा कार्यरत रचनाले मिस नेपालको ताज पहिरिनुको पछाडि दुई वटा कारण देखाइन्, 'पेसालाई सपोर्ट' र अर्को 'जिल्लाको नाम राख्ने' ।
अहिले उनी अफिसमा बिदा नै लिएर मिस नेपालको ताज जित्ने सपना साकार पार्न लागिपरेकी छन् । 'आफूले सक्दो प्रयास गर्ने हो, हेरौं, के हुन्छ,' रचनाले भनिन्, 'तर कञ्चनपुरकी ठिटी यहाँसम्म आउनु चानचुने होइन ।' धनगढीकी माया साउदचाहिँ बैङ्लोरमा बीएस्सीको परीक्षा दिएर छुट्टीमा आएकी हुन् ।
फुर्सदको समयलाई सदुपयोग गर्दै उनले मिस नेपालमा सहभागी हुने जमर्को गरिन् । मोडलिङ क्षेत्रमा भारतमा पनि उपाधि पाइसकेकीले यी २३ वषर्ीया सुन्दरीका लागि ब्युटी प्याजेन्ट खासै नौलो होइन । तर अवसर प्राप्तिका लागि उनी मिस नेपालमा सहभागी भएकी हुन् ।
'समाजसेवा गर्ने मेरो रहर हो,' उनले भनिन्, 'यो उद्देश्यलाई मिस नेपालले सपोर्ट गर्छ ।' फिलिपिन्समा एमबीबीएस अध्ययनरत पोखराकी रक्षा थापालाई कलेजले बिजनेस गर्न नेपाल पठाएको हो । उनी भने मौका छोपेर मिस नेपालको मैदानमा उत्रिएकी छन् । उनी फिलिपिन्सको 'मिस युनिभर्सिटी' की फस्ट रनरअप पनि हुन् । 'विदेशमा जतिसुकै नाम कमाए पनि खासै फरक पर्ने रहेनछ,' उनले भनिन्, 'आफ्नो देश नै प्यारो हुन्छ ।'
पोखराकी सुन्दरी सिपोरा गुरुङ भलिबल खेलाडी हुन् । भलिबल कोर्टमा मात्र आफ्नो जादू सीमित राख्न चाहन्नन्, उनी । त्यसैले त खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने एनएसजेएफ अवार्डमा 'पपुलर प्लेयर अफ द इयर' को अवार्ड समेत जितिसकेकी सिरोपा यसपल्ट अर्को सफलता चुम्ने तरखरमा छिन् । 'मिस नेपाल बनेरै पोखरा र्फकन्छु,' उनले भनिन् । उनको भनाइलाई मान्ने हो भने सिपोरा खेलकुद क्षेत्रलाई ग्ल्यामरको दर्जा दिन मिस नेपालमा आएकी हुन् रे । 'विश्वमै हेर्ने हो भने स्पोर्ट्स र ग्ल्यामर क्षेत्र उस्तै-उस्तै लाग्छन्,' १९ वषर्ीया सिपोराले भनिन्, 'तर हाम्रो देशमा त्यस्तो संस्कार विकास भइसकेको छैन । स्पोर्ट्स पनि ग्ल्यामरको एउटा पाटो हो भन्ने बुझाउने कोसिस गर्छु ।' अभिनेत्री समेत बनेकी उनको अहिलेको लक्ष्य मिस नेपाल जित्ने हो । त्यसपछि उनी नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बन्न चाहन्छिन् ।
काभे्रकी सुमी लामा, मकवानपुरकी सुजाता बलामी, स्याङ्जाकी विन्दु केसी, झापाकी अस्मिता सिटौला र रिजु श्रेष्ठ पनि मिस नेपालको दौडमा आ-आफ्नो प्रयास गर्दैछन् ।
ललितपुरकी प्रतिमा गिरी, काठमाडौंकी ओसिमा बानु, सृतिमा शाह, इशानी श्रेष्ठ, समीक्षा श्रेष्ठ गरेर उपत्यकाका पाँच युवती पनि मिस नेपाल २०१३ को उपाधि जित्न तम्तयार छन् । चैत ७ गते हुने १८ औं संस्करणको मिस नेपालको ताज कसले पहिरिएला ?
-- कान्तिपुर संवाददाता, मधु शाही, इकान्तिपुर