CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कुलतबाट छुटकारा दिलाउने केही उपायहरु -- डा. सुशील देवकोटा

कुलतबाट छुटकारा दिलाउने केही उपायहरु -- डा. सुशील देवकोटा

कूलत भन्नाले नराम्रो लत भन्ने बुझिन्छ। यस अर्थमा कुनै पनि किसिमका नराम्रो बानीको लत पर्नु नै कूलतमा पर्नु हो। सामान्यतया हामीले कूलत भन्नाले गांजा चरेस तान्ने वा मादक पदार्थ सेवन गरी हिड्ने बानीलाई मानेता पनि कूलत भन्ने शब्दले व्यवहारजन्य विभिन्न नराम्रा बानीहरुलाई पनि अंगालेको हुन्छ। यसैकारण यसपटकको अंकमा हामी परम्परागत हिसाबमा कूलत भनिएका र समग्र हिसाबमा कूलत भित्र पर्ने अन्य अवस्थाहरुबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएका छौं।  
रु गाँजाबाट  कसरी छुटकारा पाउने? 

अहिले सम्म गरिएका मध्ये सबैभन्दा ताजा तथ्यांकको अनुसार करीब ३० प्रतिशत मानिसहरु गांजाको सेवन गर्ने गर्दछन्। सुन्दा थोरै प्रतिशत सुनिए पनि यी ३० प्रतिशत मध्ये धेरैजसो गांजाको कूलतमै फसेका हुन्छन्। यो प्रतिशत दिन प्रतिदिन बढ्दै गएको पाइएको छ किनकि मानिसहरु गांजाको नियमित सेवनबाट मानव शरीरमा कतिसम्म नकारात्मक प्रभाव पर्न सक्छ भन्ने तथ्यबाट अनभिज्ञ रहेको पाइएको छ। यसले गांजा सेवन गर्ने व्यक्तिहरुको शारीरिक, मानसिक तथा भावनात्मक क्षेत्रमा असर पारिरहेको हुन्छ भने उक्त व्यक्तिको कारण सामाजिक असर पनि प्रशस्त मात्रामै परिरहेको हुन्छ। कुनै पनि किसिमको लतले त्यो व्यक्तिलाई आफ्नो दायीत्वबोध गर्न बाट बञ्चित गर्नुका साथै हरेक किसिमका सम्बन्धबाट उदासिन बनाउंछ। तल विशेषतः गांजाको कूलतबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा केही बुंदाहरु उल्लेख गरिएका छन् :  
१) सबैभन्दा ठूलो कुरा भनेको कूलतमा फसेको ब्यक्तिको यसबाट छुटकारा पाउने चाहना हो। तपाईं यदि कूलतमा फस्नु भएको हो भने यसबाट किन छुटकारा पाउनुपर्छ भन्ने कारणहरु खोतल्न थाल्नुहोस् र यो कारण तपाईंसंग सम्बन्धित हुनुपर्छ। अरु कसैको लागि होइन, बल्की यो कूलतबाट निस्कन सकेको खन्डमा कसरी आफ्नो जीवन परिवर्तन हुन सक्छ भन्ने विभिन्न कोणबाट विश्लेषण गरी कारण खोज्नुपर्छ।  
२) धेरैजसो मानिसहरु पिडा, तनाव वा यस्तै केही कुराबाट छुटकारा पाउन गांजा सेवन गर्दछन्। यही गलत धारणाको कारण नै कतिपय मानिसहरु गांजाको कूलतमा फसी अझ बढी मानसिक तनाव, पिडा आदिलाई निम्त्याइरहेका हुन्छन्। तनाव सबैको जीवनमा हुन्छ तर तनावबाट छुटकारा पाउने हानिकारक उपाय भन्दा पनि सरल उपायको खोजीमा लाग्नुपर्छ। यस्ता उपायहरु शारीरिक व्यायाम, मिठो संगीतको श्रवण, उपन्यास कथा आदिको अध्ययन आदि हुन सक्छन्। तनावबाट मुक्तिको लागि कुनै तनावपूर्ण उपाय तिरै लाग्नु बुद्धिमानी कदापी होइन।  
३) गांजालाई आफ्नो जीवनबाट हटाउने अर्को उपाय आफ्नो जीवनशैलीलाई अर्थपूर्ण कार्यमा व्यस्त बनाउनु हो। यसको निम्ति कुनै संगीत सिक्ने, कुनै सामाजिक संस्थामा आबद्ध भई सकारात्मक कार्यहरुमा व्यस्त रहने आदि हो। तपाईंको सकारात्मक र अर्थपूर्ण व्यस्तताले गांजालाई बिर्सन मद्दत गर्दछ।  
४) तपाईं आफ्नो कूलतबाट छुटकारा पाउन परिवार तथा साथीभाईसंग नजिक हुनु आवश्यक छ, जसले तपाईंलाई यो सकारात्मक कार्यको लागि सहयोग गर्नेछन्। गांजाले  पार्ने नकारात्मक प्रभावको बारेमा अझ बढी थाहा पाउनको निम्ति तपाईं कुनै किसिमको परामर्श पनि लिन सक्नुहुन्छ। तपाईंले के सम्झनु आवश्यक छ भने तपाईं एक्लैले गांजा विरुद्धको लडाईंमा सफलता पाउन सक्नुहुन्न। यसको निम्ति तपाईंलाई परिवार तथा साथीभाइको सहयोग आवश्यक पर्छ। यो लडाईंको क्रममा तपाईंले आफ््नो यो सकारात्मक कार्यमा साथीभाइ तथा परिवारको मायाले घेरिएको महसुस गर्नु आवश्यक छ।  
५) गांजा सेवन गरिरहेका मानिसहरुबाट परै रहनुहोस्। अरुले सेवन गरिरहेको देख्नुभयो भने तपाईंले यो छोड्न सक्नुहुने छैन। यसैकारण हरेक कुराबाट यदि तपाईं पूर्ण छुटकारा पाउन चाहनुहुन्छ भने यसको सम्झना गराउने हरेक कुराबाट परै रहनु आवश्यक हुन्छ। राम्रा साथीको समीप जानुहोस् अनि नराम्राबाट परै रहनुहोस्। यदि तपाईं यसबाट छुटकारा पाउने नै हो भने यो तपाईंले गर्नैपर्ने कामहरु मध्येको एक हो।  
६) आफू गांजाको कूलतमा फसेको स्वीकार गर्नुहोस्। यो तथ्यलाई स्वीकार गरेपछि मात्र तपाईं गांजा छाड्ने बाटोमा लम्कन सक्नुहुन्छ। यदि तपाईंले यसलाई कुनै समस्या वा जोखिमको रुपमा हेर्न सक्नुभएन भने तपाईं यसलाई त्याग्न पनि  सफल हुनुहुने छैन।  
ग्जाको कूलतमा फसेका व्यक्तिहरुको आफ्नो मात्र नभै वरिपरि, पारिवारिक सम्पूर्ण वातावरणनै धमिलो हुन सक्ने भएको कारण समयमै यसबाट छुटकारा पाउन शीघ्र कदम चाल्नु अत्यावश्यक छ। यसैगरी सामान्य हिसाबमा लिइने अर्को एउटा कूलत मादक पदार्थको सेवनबाट पनि कतिपय व्यक्तिहरु चाहेर पनि छुटकारा पाउन सकिरहेका हुंदैनन्। यसैकारण मादकपदार्थको कूलतबाट कसरी छुटकारा पाउने भन्ने बारेमा पनि केही चर्चा गर्नु आवश्यक हुन्छ।  
कतिपय मानिसहरुको मादक पदार्थको सेवन गर्नु सामान्य कुरा हो भन्ने भ्रम रहेको छ, अझ कतिपयमा त यो स्वस्थ कुरा हो भन्ने विश्वास पनि रहेको पाइन्छ। हो पक्कै पनि मादक पदार्थमा क्यालोरीको मात्रा अत्यधिक रहेको हुन्छ अनि यसले अत्यधिक शक्ति पनि प्रदान गर्दछ तर हाम्रो शरीरलाई अत्यधिक शक्ति पनि हानिकारक हुन सक्छ भन्ने कुराको ख्याल गर्नु आवश्यक छ। अत्यधिक मादक पदार्थ सेवनको कारण विभिन्न थरिका रोगहरु लाग्न सक्छन्, जसमा उच्च रक्तचाप देखि मुटु सुन्निने सम्मका रोगहरु छन्। मादक पदार्थको लत छुटाउनको निम्ति गर्नुपर्ने केही कार्यहरु यस प्रकार रहेका छन् :  
१) मादक पदार्थ सेवन गर्नेहरुले गनुपर्ने पहिलो कार्य भनेको आफ्नो दैनिक मात्राको निर्क्यौल गर्नु हो। अझ तपाईं दिनदिनै सेवन गर्ने मध्येको एक हुनुहुन्छ भने त तपाईंले मादक पदार्थ सेवन गर्ने समय, मात्रा तथा किसिमको बारेमा पनि ख्याल राख्नुपर्ने हुन्छ। दिनदिनै सेवन गर्ने मादक पदार्थको यसरी निगरानी गरियो भने अत्यधिक मादक पदार्थ सेवन गरिने जोखिमबाट बच्न सकिन्छ।  
२) आफ्नो उचाई र वजन अनुसारको मात्रा निर्धारण गर्नुहोस्। विज्ञहरुले महिलाको हकमा बढीमा एक पेग र पुरुषको हकमा बढीमा २ पेग सम्म ठिकै हुने बताएका छन्। एक पेग भनेको करिब १५० मिलि हो। यो भन्दा बढी मात्राको मादक पदार्थ सेवन हानिकारक हुन सक्छ।  
३) आफ्नो शरीरले धान्न सक्ने मात्र पिउनुहोस्। कतिपय व्यक्तिहरु पाएको खन्डमा टन्न पिउने र त्यसपछि बान्ता गर्न थाल्छन्, यो बानी झन् हानिकारक हो। यसको कारण पेट तथा अन्य स्थानमा रहेका मांशपेशीमा तनाव त पर्छ नै साथमा मादक पदार्थले गर्ने हानी पनि यथावत नै रहन्छ।  
४) कहिले पनि मादक पदार्थ खाली पेटमा सेवन नगर्नुहोस्। कुनै खानेकुराको साथमा मात्र मादक पदार्थको सेवन गरियो भने सो मादक पदार्थ सोसिने र यसले तुरुन्त प्रभाव देखाउने क्रम कम हुन सक्छ।  
५) मादक पदार्थको पेगको बिचमा पानीको सेवन पनि गर्नुहोस् जसको कारण तपाईंलाई छिटै पेट टन्न भए जस्तो लाग्छ र तपाईं अझ बढी मादक पदार्थ सेवन गर्नबाट बच्नुहुन्छ।  
६) यदि मादक पदार्थ खाने दिन पहिले नै थाहा छ भने आज म यति खान्छु भन्ने पहिले नै निर्क्यौल गर्नुहोस्। यदि तपाईंलाई सजिलो लाग्छ भने एलार्म लगाउन पनि सक्नुहुन्छ।  
७) यदि तपाईं सांच्चै नै मादक पदार्थ छोड्ने हो भने मादक पदार्थका बोतलहरुलाई पनि आफ्नो घर भन्दा निकै पर छोड्नुपर्ने हुन्छ।
-- देशप्रेम साभार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis