CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कतै बन्द फिर्ता, कतै तोडफोड (अपडेट)

कतै बन्द फिर्ता, कतै तोडफोड (अपडेट)


मिथिलेश यादव, लहान, फागुन २३ - नेकपा –माओवादीको बन्दले आह्वानले आज यहाँका स्कुल कलेजमा पठन पाठन अवरुद्ध बनेको छ। अघिल्लो दिन माओवादी कार्यकर्ताहरुले बजार कलकारखाना, शैक्षिक संस्थान लगायत बन्द गर्न माइकिङ्ग गरेका थिए। माइकिङ्गका कारण स्कुल सञ्चालकले बिहिबार विद्यार्थीलाई बन्द भन्दै फर्काएका छन्। प्याब्सनका अध्यक्ष मुरारी प्रसाद साहले भने, ‘बन्दकर्ताहरु स्कुलस्कुल पुगेर बन्द गराएका छन्। पहिला फोन गरेर स्कुल
नखोल्न सम्झाए त्यसपछि कार्यकर्ता पठाएर बन्द गर्न लगाए, उनले भने।
बन्दकर्ताहरु बिहानैदेखि यहाँको बजार बन्द गराउँदै हिँडेका छन्। उनीहरुले खुलेका पसललाई बलपूर्वक बन्द गराउँदा बन्दकर्ता र पसलेबीच लहानमा घम्साघम्सी समेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुको उपस्थित बाक्लो बनाएको छ। बलपूर्वक पसल बन्द गराउँदा तैनाथ सुरक्षाकर्मीहरु टुलुटुलु हेर्नेबाहेक केही नगरेको स्थानीय वयापारी शैलेन्द्र यादवले बताए।
बन्दको कारण पूर्व-पश्चिम राजमार्गमा एम्वुलेन्स, दुध बोकेको गाडी, प्रेसका गाडी मोटरसाइकल बाहेकका सवारीसाधन गुडेको देखिँदैन्।
अपडेट...
भीम चापागाईं, इलाम, फागुन २३ (नागरिक) - संघीय गणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण आज पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित छ। बन्दका कारण मेची राजमार्गमा कुनैपनि सवारीका साधन चल्न सकेका छैनन्। शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार सबै ठप्प छन्। बन्दले पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा ठप्प भएको प्रहरीले बताएको छ। इलाममा मोटरसाइकलहरु भने छिटफुट रुपमा चलेका छन्।
यसैबीच एक समूहले इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ। क्याम्पसमा विहान ९:१५ बजेतिर प्रवेश गरेको युवा समूहले स्टाफ कक्ष र सामान्य प्रशासन रहेको भवनको सिसा फुटाएको क्याम्पसले जनाएको छ। त्यस समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा ढुङ्गा हानेको प्राध्यापकहरुले बताएका छन्। तोडफोड गर्ने समूह बन्दकर्ताहरुको हो या होइन भन्ने पत्ता नलागेको क्याम्पसले बताएको छ।
इलामका प्रहरी नायव उपरीक्षक भीम दाहालले जिल्लामा कुनै अप्रिय घटनाको जानकारी भने नआएको जानकारी दिए।
अपडेट...
कलेन्द्र सेजुवाल, सुर्खेत, फागुन २३ - नेकपा-माओवादीले घोषणा गरेको नेपाल बन्द सुर्खेतमा फिर्ता भएको छ। जिल्लामा सञ्चालित दुईवटा महोत्सवलाई मध्यनजर गरी आज बिहान ९ बजेदेखि बन्द फिर्ता गरिएको पार्टीका जिल्ला सेक्रेटरी ठम्मर बिष्टले जानकारी दिए।
सुर्खेतमा अहिले दोस्रो घरेलु, सांस्कृतिक तथा पर्यटन महोत्सव र धार्मिक महायज्ञ सञ्चालन भइरहेका छन्। महोत्सव आयोजकको अनुरोधलाई स्वीकार गरी बन्द स्थगित गरिएको बिष्टले बताए।
यसैगरी बाग्लुङस्थित नागरिकन्युजकर्मी दिलीप पौडेलका अनुसार प्रमुख तीन दल र मधेशी मोर्चाले प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने तयारीको विरोधमा नेपाल संघीय गणतान्त्रिक मोर्चाले आह्वान गरेको बन्दले धौलागिरीको जनजीवन प्रभावित भएको छ।
मोर्चामा आवद्ध नेकपा-माओवादी, नेकपा एकिकृत लगायत दलले आज बिहानैदेखि नाराबाजी गर्दै हिँडेर यातायात अवरोध गरेका छन्।
आज धौलागिरीको पर्वत, म्याग्दी, बाग्लुङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन् । सवारी नचल्दा काठमाडौं, पोखरा, चितवन, बुटवल, बीरगंज लगायतका शहर हिँडेका यात्रु अलपत्र परेका छन्। सदरमुकामबाट ग्रामिण क्षेत्रमा पनि सवारी चलेका छैनन्।
यहाँका शैक्षिक संस्थामा पठनपाठन हुन सकेको छैन। कुश्मा, बाग्लुङ, बेनी बजार बन्दले सुनसान छ। बालबालिका सडकमा खेलिरहेका छन्। उद्योग, कलकारखाना पनि सञ्चालनमा आएका छैनन्। हिजो साँझ मसाल जुलुस प्रदर्शन गरेका थिए।
दलहरु विदेशीको इशारामा प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने निर्णय गरेर राष्ट्रिय स्वाधिनतालाई तिलाञ्जली दिएर गैर संवैधानिक काम गरेकोले बाध्य भएर बन्द गर्नु परेको नेकपा-माओवादी बाग्लुङका इन्चार्ज टेकबहादुर केसी 'आजाद'ले बताए।
यसैगरी काठमाडौं उपत्यकामा पनि बन्दको प्रभाव परेको छ । फाट्टफुट्ट मोटरसाइकल र केही निजी सवारी साधन चलेका छन् भने अधिकांश शिक्षणसंस्था, कलकारखाना, पसल र निजी कार्यालय बन्द छन् ।
सवारीसाधन नचलेपछि गन्तव्यमा पुग्न सर्वसाधारण पैदल हिँडिरहेका छन् ।
यस्तै काभ्रेमा राजधानी दैनिकको भ्यानमाथि बन्दकर्ताले तोडफोड गरेको नागरिकन्युजकर्मी मधुसुदन गुरागाईंले बताएका छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis